काठमाडौं, साउन २० गते । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेकोमा बधाइ दिएको छ । साथै प्रचण्डको कार्यकालको सफलताको कामनासमेत नयाँशक्तिले गरेको छ ।

प्रचण्डलार्इ भूकम्पपछिको पुनर्निर्माण गर्न, बढ्दो महंगी नियन्त्रण गर्न,भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, तराई मधेशको आन्दोलनको समाधान गर्न तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न समेत सफलता मिलोस् भन्ने कामनासमेत देवकोटाले गरेका छन् ।
संविधानको कार्यान्वयन, विनाशकारी भूकम्पपछिको पुनर्निर्माण, महंगी,भ्रष्टाचार, कालाबजारी, तस्करी र अराजकताबाट जनताले मुक्ति खोजेको बताउँदै नयाँशक्ति नेपालको विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणकालीन न्यायको व्यवस्थापनका साथै केही समययता अन्तराष्ट्रिय सम्बन्धमा देखा परेको तिक्तताको समाधान गरी सन्तुलित परराट्र सम्बन्ध कायम गर्नुपर्ने जस्ता चुनौतीहरु वर्तमान सरकारका सामु खडा छन् ।’
यो सरकारले मुख्यतः तराई मधेस र थारुवान क्षेत्रका जनताका साथै आदिवासी जनजाति, मुस्लिम, दलित समुदायको समेत मागहरु संविधानको संशोधनमार्फत पूरा गर्नुपर्ने नयाँ शक्तिको माग छ । साथै यही अवसरमा अस्थिरताको मुख्य कारक बनेको असफल संसदीय व्यवस्थाको सट्टामा स्थायित्व र विकासका लागि पूर्णसमानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था गर्नु उपयुक्त हुने नयाँ शक्ति नेपालले प्रचण्डलार्इ सुझावसमेत दिएको छ ।-अनलाइनखबरबाट
Post a Comment