Websoft University

www.radiomakalu.com || 021-522512


उपल्लो मुस्ताङीलाई लोमान्थाङबाटै नागरिकता र राहदानी


मुस्ताङ, साउन १५ गते । उपल्लो मुस्ताङका छ गाविसका सर्वसाधारणले अब लोमान्थाङबाटै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी पाउने भएका छन् ।

सरकारले लोमान्थाङमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी गरेपछि हप्तादिन लगाएर सदरमुकाम जोमसोम आउनुपर्ने बाध्यता अन्त्य हुने भएको हो । लोमान्थाङ, छोसेर, छुसाङ, छोन्हुप, घमी र सुर्खाङ गाविसका सर्वसाधारणको समस्यालाई ध्यानमा राखेर इलाका प्रशासन कार्यालय सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

यसअघि लोमान्थाङमा सीमा कार्यालयमार्फत उपल्लो मुस्ताङवासीका दैनिक समस्या समाधान गर्ने प्रयास गरिए पनि त्यसलाई थप प्रभावकारी बनाउन इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो ।

सीमा प्रशासन कार्यालयमा जनशक्ति काम र अधिकार पनि कम हुने भएकाले त्यसबाट स्थानीयको आवश्यकता पूरा गर्न नसकेपछि त्यसलाई हटाइएको उहाँले बताउनुभयो । “यसले दुर्गम क्षेत्रका सर्वसाधारणलाई एउटा सिफारिसका लागि हप्ता दिन लगाएर सदरमुकाम जोमसोम आउनुपर्ने बाध्यता सदाका लागि अन्त्य हुनेछ,” प्रजिअ अधिकारीले भन्नुभयो, “साउन महिनाको अन्तिम हप्तासम्म हामीले यो कार्यालय सञ्चालमा ल्याउनेछौँ ।”

उपल्लो मुस्ताङका छ गाविसमा करिब तीन हजार जनसङ्ख्या छ । इलाका प्रशासन कार्यालयमा शाखा अधिकृतको नेतृत्वमा दुई जना सुब्बा, एकजना खरिदार र एकजना कम्प्युटर अपरेटरसहित पाँच जनाको दरबन्दी स्वीकृत भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । कार्यालयका लागि टेलिफोन, इन्टरनेट, विद्युत्जस्ता अतिआवश्यकीय सामग्रीको व्यवस्थापन पछि सेवा प्रवाह सुरु गरिने बताइएको छ ।

“पहिलो चरणमा एक टोलीले त्यसको सबै कुराको अध्ययन गरेर फर्किएको छ, अब छिट्टै सेवा प्रवाह गर्ने गरि टोली जाँदैछ”, उहाँले भन्नुभयो, “सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली पनि सँगै रहनेछन् ।” जोमसोमदेखि ९३ किलोमिटरको दूरीमा पर्ने लोमान्थाङमा इलाका प्रशासन कार्यालय सञ्चालमा आए स्थानीयले नागरिकता, राहदानी, सार्वजनिक मुद्दा मामिला र फोटोसहितको मतदाना नामावली दर्ता जस्ता सरकारी सुविधा गाउँ तहमै पाउने छन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget