Websoft University

www.radiomakalu.com || 021-522512


‘भूकम्पका बेला रेडियो नेपालमा टेकओभर गरें’

Hari Sharan Lamichhane (1)
 काठमाडौं , असार १९ गते । ‘यो रेडियो नेपाल हो, अब हरिशरण लामिछानेबाट समाचार सुन्नुस् ।’ रेडियोमा समाचार भट्याउने एउटा चिरपरिचित आवाज हो यो ।
जतिबेला ०४६ सालको आन्दोलन उत्कर्षमा थियो, हरिशरण लामिछाने रेडियो नेपालमा करारमा काम गर्थे । उनी जिल्ला समाचार पढ्ने गर्थे ।
‘काठमाडौंमा आन्दोलन चलिरहँदा राजा वीरेन्द्र पश्चिमाञ्चल भ्रमणका क्रममा पोखरामा थिए,’ हरिशरणले पुराना दिन सम्झँदै भने, ‘राति ११ बजे रेडियो नेपाल बन्द हुनुभन्दा अगाडि पनि एउटा न्युज बुलेटिन चाहियो भनेर वीरेन्द्रले नै चाहना राखेछन् ।’
त्यसै क्रममा तुरुन्ताको तुरुन्तै समाचारवाचकको खोजी भयो । बाहिरबाट रेडियोमा काम गरिरहेका हरिशरण मात्रै थिए । रेडियोका कार्यकारी निर्देशकले बोलाएर इच्छा बुझे । उनले यो अवसर गुमाउने प्रश्नै थिएन । केही दिनको अभ्यासपछि नै समाचार पढ्न थाले ।
उनी बिहान र बेलुका रेडियोमा काम गर्थे । दिनभरि चाहिँ जुलुसमा नारा लाउँदै हिंड्थेँ ।’
त्यसयता अहिलेसम्म निरन्तर रुपमा हरिशरण देश-विदेशको खबरसहित रेडियोमा निरन्तर आवाज दिइरहेका छन् ।
त्यो बेचैन ठिटो
जिन्दगी उतारचढावकै यात्रा हो । हरिशरणले यो सुनेका हैनन्, भोगेरै आएको यथार्थ हो ।
त्रिचन्द्र क्याम्पसमा आईएस्सी पढ्दै गरेको समयमा उनको सपना थियो – सेनाको सेकेन्ड लेफ्टिनेन्ट बन्ने । त्यसका लागि भिड्न आइएस्सी पास गर्नुपर्थ्यो । सेनामा जान उमेरको सीमा पनि तोकिएकै थियो । २१ वर्ष । तर, त्यतिबेला जिन्दगीको लेखालाई उनको सपना मञ्जुर भएन सायद । उनले सुनाए – ‘मलाई आइएस्सी पहिलो वर्षमै ब्याक लाग्यो । पछि ब्याकपेपर दिएर पास गर्दासम्म आर्मीमा जाने उमेर हद नाघ्यो ।’
त्यसपछि उनलाई आफैंले केही गर्नुपर्ने हुटहुटीले बेचैन गरायो । बुवा बिरामी भएर थलिएकाले जेठोबाठोको हिसाबले उनकै काँधमा थियो आर्थिक भार । त्यो चुनौतीका बीच स्वरोजगार बन्ने बाटो खोजे ।
त्रिचन्द्रमै पढ्दा बुवा बितेपछि बरखी बार्दाको सेतो लुगामै उनले कन्सर्ट सञ्चालन गरे । उनले सुस्केरा हाल्दै भने, ‘घरको दायित्व यस्तो थियो, मलाई आँसु पुछ्ने पनि समय थिएन ।’
संघर्षका दिनमा साथीहरुसँग समूह बनाएर सांगीतिक कन्सर्ट आयोजनामा हात हाले । कहिले फाइदा हुन्थ्यो, कहिले भने लगानीसमेत उठ्दैनथ्यो ।
एक समय कन्सर्टको प्रचार गर्न साथीको घरबाट टेपरेकर्डर मगाएर ल्याएका थिए । तर, कार्यक्रमकै क्रममा हरायो । भर्खरका ठिटाहरुको सातो गयो । हत्तपत्त जोसुकैको घरमा नहुने भएकाले त्यो समयमा टेपरेकर्डर ठूलै कुरो मानिन्थ्यो । हरिशरणले आफ्नो चढ्दाचढ्दैको साइकल बेचेर टेपरेकर्डरको पैसा बुझाए ।
त्रिचन्द्रमै पढ्दा बुवा बितेपछि बरखी बार्दाको सेतो लुगामै उनले कन्सर्ट सञ्चालन गरे । उनले सुस्केरा हाल्दै भने, ‘घरको दायित्व यस्तो थियो, मलाई आँसु पुछ्ने पनि समय थिएन ।’
एउटा काममा हात हालेर कमाइ नहुने देखेपछि विभिन्न पाटोमा उनले आफ्नो परीक्षण गरिरहे ।
काठमाडौंमा त्योबेला भिडियो हलहरु खुबै चलेको समय थियो । नयाँ-नयाँ फिल्म आयो कि त तिनमा विभिन्न कम्पनीको विज्ञापन बनाएर हाल्ने काममा लागे उनी ।
यसले केही पैसा आम्दानी भयो । यही बाटोबाट नयाँ ढोकाहरु पनि खुल्ने पर्खाइमा थिए उनी । वसन्त चौधरीले खोलेको ग्रुप थ्री नामको रेकर्डिङ स्टुडियोमा विज्ञापन रेकर्ड गर्न जाँदा नीर शाहसँग भेट भयो । नीर आफूले निर्देशन गरेको ‘वासुदेव’ फिल्मको डबिङ गर्न त्यहाँ व्यस्त रैछन् ।
विज्ञापनमा हरिशरणको आवाज सुनेर नीरले उनको बारेमा सोधखोज गर्दै तारिफ गरे । घघडान मानिएको व्यक्तिबाट प्रशंसाका शब्द सुनेपछि हौसिए उनी ।
म्युजिक नेपाल र ‘चुजी’ नारायण गोपाल
कन्सर्ट आयोजना र विज्ञापनमा आवाज रेकर्ड गर्ने क्रममै हरिशरण गीत-संगीत र मनोरञ्जनको दुनियाँमा हेलिँदै गए । पछि बुवाका साथी प्रदीप उपाध्यायले म्युजिक नेपालको स्टुडियोमा काम गर्न बोलाए । उपाध्याय त्यहाँ साउन्ड इञ्जिनियर थिए । हरिशरण भन्छन् – ‘मैले त्यहाँ संगीत प्रवर्द्धन र प्रचार प्रसारको काम सम्हालेँ ।’
रेडियो र टेलिभिजनमा निश्चित समय किनेर गीत र एल्बमहरुको प्रमोसनमा म्युजिक नेपाल केन्द्रित भयो । उनले ‘संगीत सौगात’ नामक कार्यक्रम चलाए ।
त्यो समयमा नारायण गोपालकै सुर र भाकामा लट्ठिनेहरुको जमात थियो सबैतिर । गीत रेकर्ड गर्ने र बज्ने माध्यम रेडियो नेपाल मात्रै थियो । तर, के कुरामा असन्तुष्टि बढेर नारायण गोपाल ‘रेडियो नेपालमा त छिर्दै छिर्दिनँ’ भनेर बसेका थिए । त्यही बीचमा म्युजिक नेपालको स्टुडियो खुलेको थियो ।
त्यसै क्रममा नारायण गोपालको एउटा अडियो एल्बम त्यहीँबाट निकाल्ने कुरा भयो । नाम पनि जुराइयो ‘नारायण गोपालको गीति यात्रा’ । रेकर्डिङको क्रममा करिब दुई वर्ष हरिशरणले नारायण गोपालको संगत गर्ने मौका पाए । अडियो क्यासेट निकाल्दा गीतहरुभन्दा अगाडि त्यसबारे परिचय पनि रेकर्ड गरेर हाल्ने चलन थियो । साहित्यिक रुपमा खिपेर लेखिन्थे परिचयका पंक्तिहरु ।
उनी सम्झन्छन् – ‘२-३ महिनाको अन्तरालमा साहित्यिक बान्कीमा मैले परिचयको स्क्रिप्ट तयार पारेर सुनाउँथेँ । तर नारायण गोपाललाई चित्तै नबुझ्ने ! यो त भएन भनेर पन्छाउनुहुन्थ्यो ।’
नारायण गोपालको ‘चुजी’ शैलीले हरिशरणका शब्द र अक्षर तिखारिन मद्दत नै पुग्यो । उनले पछि कवितात्मक लयमा लेखे –
‘बदलिन पनि सक्छन् रे बसिसकेका रीतहरु
भेटिन पनि सक्छन् रे हराइरहेका प्रीतहरु
त्यसैले सधैं सजीव हुन्छन् नारायण गोपालका गीतहरु ।’
नारायण गोपाललाई बल्ल घत पर्‍यो । ‘ल, यसलाई अब तिम्रै आवाजमा रेकर्ड गर्ने’ भनेर हरिशरणलाई नै जिम्मा लगाए । उनले सम्झिए – ‘यसरी गीति यात्राको परिचयमा मेरो आवाज आएपछि त्यसबाट नै आम श्रोतामा मेरो पनि परिचय स्थापित भयो ।’
पछि नेपाल एकेडेमीमा आयोजना गरिएको नारायण गोपालको स्वर्णिम साँझमा पनि उनले उदघोषण गरे ।
संगीतको पखेटा, समाचारको आकाश
म्युजिक नेपालमा काम गर्दा र रेडियोमा सांगीतिक कार्यक्रम चलाउँदै जाँदा उनले रेडियो नेपालको विश्वास पनि जित्दै थिए । यस्तैमा रेडियो नेपालमा करारको जागिर पाए ।
Hari Sharan Lamichhane (5)
सुरुवाती समयमा जिल्ला समाचार पढ्ने जिम्मेवारी थियो उनको । तर, ०४६ सालको आन्दोलनताका आकस्मिक रुपमा मूलधारको समाचारवाचक बनेपछि भने समाचारको विषय फराकिलो भएसँगै आवाजको प्रभाव पनि विस्तारित भयो ।
हरिशरण हिसाब गर्छन्- ‘८-१० वर्ष म्युजिक प्रोमोसनमा काम गरेँ । विज्ञापनमा स्वर दिएँ । रेडियोको काम छँदै थियो । सांस्कृतिक कार्यक्रम तथा कन्सर्टहरु आयोजना तथा सञ्चालन गरेँ । विदेशमा पनि कार्यक्रम चलाएँ । विदेशको कार्यक्रमपछि भने विस्तारै स्थापित हुन थालेँ र आर्थिक रुपमा पनि अलिक उभिन सक्ने भएँ ।’
संगीतको मञ्चबाट उदाए पनि समाचारकै दुनियाँलाई उनले कार्यक्षेत्र बनाएका छन् । अहिले रेडियो नेपालमा वरिष्ठ समाचार सम्पादकको भूमिकामा छन् ।
रेडियोका सहकर्मीका बीचमा उनले ‘क्राइसिस म्यान’ को छवि बनाएका छन् । अर्थात् जस्तोसुकै समय र परिस्थितिमा मैदानमा उत्रिन तम्तयार । नयाँ जोखिम उठाउन अग्रसर । भन्छन् – ‘नयाँ सोच र काम अघि बढाउनुपर्‍यो भने लौ है हरिशरण भनेर भरोसा गर्छन् साथीहरु । प्रसारणलाई आधुनिकीकरण गर्ने कार्यमा सारथि बन्न पाउँदा गर्व लाग्छ ।’
नयाँपन रुचाउने उनले सधैं नयाँ पुस्तालाई मञ्च दिने र हौस्याउने काम गरे ।
म्युजिक नेपालबाट रेडियोमा कार्यक्रम चलाउँदा उनले नयाँ पुस्ताको रुचिलाई ध्यानमा राख्दै पप संगीतको कार्यक्रम चलाए । मूलधारमा नचिनिएका कलाकारका गीतलाई स्थान दिन्थे । संगीतमा लागेपछि युवायुवती सिर्जनशील बाटोमा लाग्छन्, व्यस्त भएर दुर्व्यसनमा फस्ने समय पनि पाउँदैनन् भन्ने उनी सोच्थे । त्यस बेला उनी लागूऔषधविरुद्धको अभियानमा स्वयंसेवक भएर पनि खटिएका थिए ।
युवालाई संगीत र अन्य सिर्जनशील क्षेत्रमा प्रेरित गर्नुपर्छ मान्यता अहिले पनि राखेकै छन् ।
कन्सर्टको प्रचार गर्न साथीको घरबाट टेपरेकर्डर मगाएर ल्याएका थिए । तर, कार्यक्रमकै क्रममा हरायो । हरिशरणले आफ्नो चढ्दाचढ्दैको साइकल बेचेर टेपरेकर्डरको पैसा बुझाए
एफएम रेडियोको बीउ
रेडियो नेपालको आवाज छोप्ने गरी अहिले देशभरि पाँच सयभन्दा बढी एफएम रेडियो सञ्चालनमा छन् । गाउँ-गाउँमा सामुदायिक रेडियोदेखि व्यावसायिक एफएम सञ्चालित छन् । तर यी एफएम रेडियोको बीउ भने ०५२ सालमा रेडियो नेपालले नै रोपेको थियो ।
फ्रिक्वेन्सी मोडुलेसनको एक सय मेगाहर्जमा ‘एफएम काठमान्डू’ सुरु गर्दा यसको सक्रिय सदस्य बन्न पुगे हरिशरण । त्यतिबेला बेलायतबाट ब्रोडकास्ट जर्नालिज्ममा ग्राजुएट गरेर उनी भर्खर नेपाल आएका थिए । उनले विषयवस्तु र रविन शर्माले व्यवस्थापकीय जिम्मेवारी हेर्ने जिम्मा पाए । हरिशरण भन्छन्, ‘त्यतिबेलाका रेडियो नेपालका निर्देशक शैलेन्द्रराज शर्मा केही नयाँ गरौं भन्ने सोचका हुनुहुन्थ्यो । उहाँकै पहलमा एफएम स्थापना गर्ने काम सुरु भएर करिब एक वर्षको गृहकार्यपछि प्रसारण सुरु गरियो ।’
उतिबेला पप संगीतले युवा पुस्तामा प्रभाव जमाउँदै थियो । तर परम्परालाई निर्वाह गर्दै आएको रेडियो नेपालले युवाको रुचि समेट्ने अवस्था नरहेपछि एफएम रेडियोको आवश्यकता सोचिएको थियो । काठमाडौंको जीवनशैलीलाई सुहाउँदो हुने कार्यक्रम प्रसारण गर्ने लक्ष्यसहित ५-६ महिना रेडियो नेपालकै टिमले सञ्चालन गर्‍यो एफएम । पछि भने निजी एफएमहरुले समय किनेर कार्यक्रम चलाउन थाले ।
यसपछि त निजी र सामुदायिक तवरबाट एफएम स्टेशनहरु खुल्ने लहर नै चल्यो । उतिबेला एफएम रेडियोले युवाहरुलाई संगीतमा प्रोत्साहन दिँदै नयाँ प्रतिभा चिनाउने मञ्च दिंदा आलोचना पनि खेप्नुपर्‍यो । हरिशरण सम्झिन्छन्, ‘अग्रज कलाकारले समेत पप संगीतले हाम्रो संस्कृति बिगार्छ भनेर विरोध गरे ।’ तर १५-२० वर्षअघि पप संगीतमा लागेका कलाकार अहिले राष्ट्रिय स्तरमा परिचित भएको देख्दा उनी खुसी मान्छन् । यसका साथै संगीतमा युवा आकर्षण बढेर अहिले सबैजसो रेकर्डिङ स्टुडियोहरु भरिभराउ हुनुलाई उनले सकारात्मक परिवर्तनका रुपमा लिएका छन् ।
अनुहार नचिनेर के भो ?
सार्वजनिक कार्यक्रमहरुमा जाँदा अनुहारले उनी कमै चिनिन्छन् । आवाजको जादु देखाउने मान्छेले बोलेपछि भने सबैजना कान ठाडो पार्छन् । तर मान्छेहरुले नचिन्दा उनी खल्लो मान्दैनन् ।
Hari Sharan Lamichhane (4)
हरिशरण भन्छन् – ‘सेलिब्रिटी हुने चाहना मलाई कहिल्यै भएन । हामी मिडिया पर्सनको जिम्मेवारी गम्भीरखालको हुन्छ । हामीले त आफैं चिनिने र देखिनेभन्दा अरुलाई पो देखाउने हो ।’
उनको विचारमा सेलिबि्रटी भएर चिनिएपछि आफ्नो मौलिकता र प्राकृतिकपन गुमाउनुपर्ने हुन्छ । कार्यक्रमहरुमा जाँदा मान्छेहरुले के-कसरी हेर्लान्, कस्तो देखिन्छु भन्दै हरपल सजग भएर आफ्नो स्वाभाविकता खुम्च्याउनुपर्छ । यसैले मान्छेहरुले अनुहारबाट नचिन्नुको फाइदा सार्वजनिक जीवनमा उनले खुलेर आफ्नो शैलीमा रमाउने मौका पाएका छन् । यसमै तृप्त छन् उनी ।
दम्पत्ती एउटै क्षेत्रमा
हरिशरण २६ वर्षदेखि रेडियो नेपालमा अनवरत छन् । उनकी जीवनसाथी पुनम पौडेल पनि कान्तिपुर टेलिभिजनमा एक दशकअघिदेखि समाचारवाचिकाका रुपमा सक्रिय छिन् । पति-पत्नी एउटै क्षेत्रमा काम गर्दा फाइदा-बेफाइदा के हुने रैछ त ? सोधियो उनलाई ।
‘एक त पत्रकारिता पेसाको मर्म र धपेडी थाहा हुने भएकाले बुझाइराख्नुपर्दैन, आफैंमा समझदारी हुन्छ,’ उनले केलाए – तर एक-अर्काको संस्थाले नयाँ के गर्दै छ त भनेर खासै चासो राखिन्न । व्यक्तिगत तवरमा काम के-कसो चल्दैछ भनेर आपसी कुरा हुन्छ ।’
एउटै पेसामा उस्तै कथा-व्यथा हुने भएकाले नयाँपनबारे जिज्ञासा नहुने उनको अनुभव छ ।
भूकम्पमा कमाएको साख
गत वर्ष भूकम्पका बेला आफूले गरेको रेडियो कर्ममा हरिशरण गर्व गर्छन् ।
बैशाख १२ मा भूकम्प जाँदा उनी रेडियो नेपाल रहेको सिंहदरबार परिसरमै थिए । बिहान सात बजेको समाचार पढेर कपनस्थित घर गए पनि एउटा पुस्तक विमोचनमा सहभागी हुन जाने क्रममा सिंहदरबारमै फर्केका थिए । वन मन्त्रालयको क्यान्टिनमा चिया खान लाग्दा कम्पनले भागदौड मच्चियो । हरिशरण पनि आत्तिएर खुला चउरतिर भागे ।
समाचार वाचक भागिसकेकाले प्राविधिक मीनरुवा बज्राचार्य गीत बजाइरहेकी थिइन् । भूकम्प गएको पाँच मिनेटपछि नै हरिशरणले प्राविधिकसँग समन्वय गर्दै लाइभ अपडेट दिए
तर, केहीबेरमै उनले एक मिनेटको दूरीमा रहेको रेडियो नेपाल सम्झिए-‘अफिस र सहकर्मीको अवस्था के-कसो होला ?’
सबैजना डराएर लाखापाखा लागिरहेका बेला उनी रेडियोको मास्टर कन्ट्रोलरुममा पस्दा प्राविधिक मीनरुवा बज्राचार्य एक्लै रैछिन् । समाचार वाचक भागिसकेकाले उनी गीत बजाइरहेकी थिइन् । भूकम्प गएको पाँच मिनेटपछि नै हरिशरणले प्राविधिकसँग समन्वय गर्दै लाइभ अपडेट दिए-
‘रेडियो नेपालको यो विशेष प्रसारणमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । अहिले केहीबेर अघि मात्रै निकै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । यो भूकम्प ७.९ रेक्टर स्केलको रेकर्ड गरिएको जानकारी हामीले प्राप्त गरेका छौं ।’
त्यसरी आफूले स्वविवेकले रेडियोलाई नियन्त्रण लिएकोलाई उनी ‘टेक ओभर’ भन्छन् । पछि पो उनलाई कसरी हिम्मत गरेछु भन्ने लागेछ ।
‘जापानी सहयोगमा बनेको भवनले भूकम्पको धक्का थाम्छ भन्ने लागेको हुनुपर्छ,’ त्यो दिनको अनुभूति सुनाए- ‘अर्कोतिर यस्तै विपदको बेला सञ्चारकर्मीको दायित्व हुन्छ भन्ने लाग्यो ।’
विस्तारै रिपोर्टर र प्राविधिकहरु जम्मा हुँदै गएपछि कार्यक्रम चलाउन सहज भयो । भूकम्पपछि अलमलिएका र आत्तिएका सर्वसाधारणलाई रेडियोबाटै सजग र आश्वस्त पारे । राज्यका अत्यावश्यक सेवा क्षेत्रले लिएको अग्रसरता र विभिन्न ठाउँका सर्वसाधारणबाट स्थानीय वस्तुस्थितिको अपडेट लिएर हामी राज्य र जनताको बीचमा पुल बन्यौं ।’
भूकम्पपछिको क्षतिको विवरण, उद्धार कार्य, पीडितहरुको अवस्था र राज्यका निकायलाई उत्तरदायी बनाउने गरी रेडियो नेपालले त्यो समयमा लगातार ७२ घण्टा कार्यक्रम चलायो । हरिशरण १२ घन्टा खटिए । अन्य निजी सञ्चार माध्यमलाई ‘नोटिस’ हुन नदिई रेडियो नेपालले गुमेको साख स्थापित गर्‍यो ।
आफ्नो २६ वर्षे रेडियो पत्रकारितामा उनी त्यसलाई ठूलो परीक्षा मान्छन्, जसमा उनी आफ्नो हेराइमा र अरुको मूल्यांकनमा पनि पास भए ।
भूकम्पका बेला सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीले आफ्नो कामबाट सलाम पाउन योग्य काम गरेको उनको मूल्यांकन छ ।
मिडिया र सामाजिक अभियान
जीवनको लामो कालखण्ड रेडियो पत्रकारिता गर्दै आउँदा हरिशरणलाई सञ्चार माध्यमको काम नियमित सूचना र सन्देश प्रवाहमा मात्रै हुनुहुन्न भन्ने लाग्छ । ‘एक्टिभिजमकै काम मिडियाले गर्नुपर्छ भन्ने लाग्छ मलाई,’ उनको सोच छ- ‘सही र गलत नछुट्याई समाजका घटना र प्रचलनमा समाचार अपडेट मात्रै घोकेर बस्दा हाम्रो धर्म पूरा हुँदैन ।’
Hari Sharan Lamichhane (2)
यही भावनाले उनले लागूऔषध विरुद्ध स्वयंसेवी भूमिकामा आफूलाई उतारेका थिए कुनै समय ।
यस्तै सरकारी र निजी मिडियाको साँध र सीमाना पनि उनलाई चित्त बुझ्दैन । उनी भन्छन्, ‘सरकारी स्वामित्वमा रहेर पनि व्यावसायिक प्रतिस्पर्धामा उत्रिन पाउनुपर्छ । मिडियाको एउटै आचारसंहिता हुन्छ । राजनीतिक आवरणमा राखियो भने प्रगति हुन सक्दैन ।’
उनले पछिल्लो समय रेडियोको पुनर्संरचनाका लागि यही कुरा उठाउँदै आएका छन् ।
कुनै विषयमा जनमत र दबाव निर्माण गर्न पछिल्लो समय नेपालमा इन्टरनेटको सामाजिक सञ्जालले खेलेको भूमिका उनलाई गज्जब लाग्छ । ‘आफैंलाई प्रकाशन गर’ भन्ने थिममा तत्काल प्रतिक्रिया दिने फेसबुक र टि्वटरको शक्तिलाई न्यू मिडियाको क्रान्ति मान्छन् उनी ।
पछिल्लो समय हरिशरणले अन्य चार साथीसँग मिलेर ‘कथा नालापानीको’ नामक वृत्तचित्र बनाएका छन् । त्यसलाई युरोप र अमेरिकामा प्रदर्शन गर्ने हतारो छ । पुर्खाको बहादुरी र लगनशीलतालाई समेट्दै ऐतिहासिक विषयमा बनाइएको वृत्तचित्र नेपालमा सानो समूहमा प्रिमियर शो गराइसके ।
पाँच वर्षअघिसम्म रेडियो उदघोषणसम्बन्धी ट्रेनिङ इन्स्टिच्युट नै चलाउँथे । अहिले सीमित तर व्यवस्थित काममा मात्रै आफूलाई केन्द्रित बनाएका छन् ।
कतैबाट निम्ता आए भने तालिम दिन जान्छन् पनि । धेरैवटा रेडियो स्टेशन स्थापनामा जग बनिसकेका छन् उनी ।
रेडियो पत्रकारितामा साढे दुई दशक खारिएको अनुभवले केही समय एभिन्यूज टेलिभिजनमा समाचार प्रमुखका रुपमा समेत काम गरे ।
रेडियोमा जवानी खियाएका ‘क्राइसिस म्यान’ को अब कस्तो जोखिमसँग खेल्ने सोच होला ?
उनले सुनाए, ‘मिडियाको नियमित कामसँगै मिडिया पर्सनको अभियन्ता अवतारलाई अघि बढाउँछु ।’
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget