Websoft University

www.radiomakalu.com || 021-522512


भूकम्पले क्षतिग्रस्त लाङटाङमा पर्यटकवृद्धि





रसुवा, कात्तिक ११ गते । भूकम्पले विनाश भएको लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रको पदयात्राका लागि यो सिजनमा पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ ।
विनाशकारी भूकम्पका कारण लाङटाङ पूरै बस्ती उजाड भएको थियो । लाङटाङको पूरै क्षेत्रविस्थापित भएको थियो । स्थानीय पर्यटन व्यवसायीहरू फर्केर आवास तथा होटल निर्माण गरेर व्यवसाय सुरु गरेपछि पर्यटक आउन थालेका हुन् । बाटोघाटो, खाना बास, होटललज निर्माण भएकाले पर्यटक आगमन बढेको स्थानीय गोसाईकुण्ड गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष सुप्पा लामाले जानकारी दिनुभयो ।
लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत शिव गैरेका अनुसार साउन र भदौमा ६५५ जना पर्यटक आएकामा शरद् ऋतु असोज र कात्तिक पहिलो सातासम्म दैनिक सयभन्दा बढीपर्यटक आएका छन् । पर्यटकको आगमनले स्थानीयस्तरमा चहलपहलसमेत बढ्न थालेको बताइएको छ ।

पर्यटकको आगमनले निकुञ्जको प्रवेश शुल्कवापत पर्यटकबाट मूल्य अभिवृद्धि करसमेत करिब ७० लाख रुपियाँ राजस्व सङ्कलन भइसकेको लाङटाङ राष्ट्रिय निकुन्ज कार्यालयले जनाएको छ । यहाँ आउने पर्यटकमा बेलायत, जर्मनी, फ्रान्स, इजरायल, नेदरल्याण्ड्स, अष्टे«लिया, स्वीट्जरल्याण्ड, जापान, दक्षिण कोरिया, अमेरिकालगायत देशका छन् ।
गतवर्ष यस अवधिमा दुई हजार ९७८ पर्यटक आएका थिए भने यस वर्षको कात्तिकभरमा झण्डै तीन हजार पाचसय पर्यटक आउने अनुमान गरिएको निकुञ्जका प्राविधिक रमेश बस्नेतले बताउनुभयो ।
गत आर्थिक वर्षमा१३ हजार ७८९ विदेशी पर्यटकको आगमन भएको जनाइएको छ । पर्यटकहरू लाङटाङ क्षेत्रको मनमोहक दृश्य, गोसाइँकुण्ड एवं स्थानीय कला, संस्कृति, भेषभूषा अवलोकन गरी फर्कने गरेको स्थानीय व्यवसायी फिन्जो तामाङले बताउनुभयो ।
स्याफ्रुबेंसीबाट एउटा मार्ग खाम्जिङ, शेर्पागाउँ र अर्काे मार्ग खोलाको तीरैतीर जाने बताउँदै घोडातबेलाका पर्यटन व्यवसायी ढिण्डुप तामाङले स्याफ्रुबाट पर्यटक हिँडेपछि एक दिन लामा होटल र अर्काे दिन क्याङ्जिन पुग्ने गरेका छन् ।
समुद्री सतहदेखि तीन हजार नौसय मिटर उचाइको क्याङ्जिनबाट पर्यटकले दोर्जे लाक्पा, चेर्कोरी, क्यान्जि रीलगायत अग्ला स्थानको अवलोकन गर्ने गरेका छन् । क्यान्जिन हिमउपत्यका पुगेका पर्यटकको बसाइ कम्तीमा तीन दिन हुने भएका कारण होटल व्यवसायीले सिजन अनुसार मनग्य आम्दानी गर्ने गरेको बताइएको छ ।
एक विदेशी पर्यटकले एकछाक खानपिनमा कम्तीमा दुई हजार रुपियाँ खर्च गर्छन् । व्यवसायीको सेवाले घरमै बसेर मनग्य आम्दानीको वातावरण सिर्जना भइसकेको लाङटाङ पुनःनिर्माण एवं व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाले बताउनुभयो ।
विसं.२०७२ को विनाशकारी भूकम्पले हिमाली पर्यटकीय स्थान लाङटाङको पूरै क्षेत्र मानवविहीन हुन पुगेको अवस्थामा दाताको सहयोग र स्थानीय बासिन्दाको मेहनतबाट अहिले लाङटाङ क्षेत्रको पुनःनिर्माण भइ सुधारोन्मुख भएको छ । होटल लज निर्माण भएका छन् ।
कादुर संस्थाको सहयोगबाट सय किलोवाट क्षमताको विद्यत् उत्पादन भई वितरण भइसकेको छ । होटेल लजमा आएका विदेशी पाहुनालाई नुहाउन तातोपानीको समेत व्यवस्था छ । उच्च हिमाली पर्यटकीय क्षेत्र लाङटाङको क्यान्जिन सुदृढ भइसकेकाले अब पाँचसयभन्दा बढी पर्यटकले त्यस क्षेत्रमा बास बस्न सहज हुने स्थानीय व्यवसायी नेरूप तामाङले जानकारी दिनुभयो ।
ठूलोस्याफ्रु क्षेत्रमा समेत पर्यटकको चहलपहल ह्वात्तै बढेको ठूलोस्याफ्रुका तेम्बा लामाले बताउनुभयो । धुन्चेतर्फबाट गोसाइँकुण्ड मार्गमा चन्दनबारी र१४ हजार एकसय फिटको उचाइमा अवस्थित गोसाइँकुण्डमा पर्यटक पुग्ने गरेको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले जानकारी दिनुभयो ।
तामाङ सम्पदा मार्गअन्तर्गत गोल्जङ, गत्लाङ, चिलिमेको पुरानो तातोपानी, नागथली, थुमन, टिमुरेको खैदीहुँदै बृद्धिमसम्मको क्षेत्रमा समेत पर्यटक फाट्टफुट्ट रूपमा जाने गरेका छन् । पर्यटकको सेवाबाट केही हदसम्म आयआर्जन भइरहेको चिलिमेका रामबहादुर तमाङले बताउनुभयो ।
- हेमनाथ खतिवडा , गोरखापत्र दैनिकबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget