Websoft University

www.radiomakalu.com || 021-522512


राज्यको बेवास्ताले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल शिक्षा सञ्चालन हुन सकेन






इटहरी , भदौ १२ गते । पर्याप्त पूर्वाधार र भौतिक संरचनाका बाबजुद पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थित हुन सकेको छैन। विश्वविद्यालयमा अत्याधुनिक ८ वटा भवन, लाइब्रेरी, प्रयोगशाला कक्ष भए पनि त्यसको उपयोग हुन नसकेको हो।

८ सय ५ बिघा क्षेत्रमा फैलिएको मोरङको गोठगाँउमा अवस्थित विश्वविद्यालय हाल गौचरणको रूपमा परिणत हुन थालेको छ। केन्द्रीय कार्यालय विराटनगर बाट ४० किलोमिटरको दुरीमा पर्ने विश्वविद्यालय खस्किँदो अवस्थामा छ। विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारहरुको न्यून उपस्थितिका कारण पनि विश्वविद्यालय चलायमान बन्न सकेको छैन। उपकुलपतिले खासै चासोका साथ विश्वविद्यालयलाई नदिएको कारण यस्तो अवस्था सृजना भएको पूर्वाञ्चल विश्वविद्यालयका डिन सिद्धार्थ कोइराला बताउँछन्।

विश्वविद्यालय सरोकार समाजका अध्यक्ष रञ्जन ओझा पनि उपकुलपतिको अकर्मण्यताको कारण समस्या आएको बताउँछन्। विश्वविद्यालयलाई योजना बिहिन अवस्थामा राखेर अस्तव्यस्त बनाएको उनको आरोप छ।

२०५० सालमा एक विकास क्षेत्र एक विश्वविद्यालयको अवधारणा विकास भएसँगै पूर्वाञ्चल विश्वविद्यालयको स्थापना भएको हो। यही अवधारणा अनुसार ०५२ सालमा विश्वविद्यालय सञ्चालन ऐन बनेको थियो।



स्थापनाका बखत कार्यालयको अभावले गर्दा तत्कालीन नेसनल ट्रेडिङको भवन विराटनगरमा कार्यालय राखेर काम सुरु भएको थियो। पछि विश्वविद्यालयको लागि जग्गा प्राप्त भएपछि तत्कालीन कुलपति गिरिजाप्रसाद कोइरालाले सोही स्थानमा केन्द्रीय कार्यालय राख्न निर्देशन दिएका थिए। तर भवन अभावको कारण देखाउँदै विराटनगरमै भाडाको घरबाट कार्यालय सञ्चालन हुन थाल्यो। हालसम्म पनि केन्द्रीय कार्यालय भाडाकै घरमा अवस्थित छ।

२०६५ सालदेखि गोठगाँउमा भवन निर्माण कार्य सुरु भएको थियो। १८ करोडको लागतमा ८ वटा भवन निर्माण भएको विश्वविद्यालय सहयोग समितिका अध्यक्ष लोकप्रसाद संग्रौलाको भनाए छ।

उनका अनुसार तत्कालीन अवस्थामा २ सय बिघा जग्गामा जडीबुटी खेती तथा प्रशोधनकेन्द्र बनाउने, दुई बिघामा भवन निर्माण गरी विभिन्न संकाय सञ्चालन गर्ने योजना बनेको थियो। तीन सय बिघामा नयाँ जातका बिरुवा रोप्ने र बाँकी जग्गामा स्टेडियम र सुपर मार्केट बनाउने योजना रहेको थियो। तर तत्कालीन माओवादी द्वन्द्वका कारण योजना असफल भयो।

गिरिजाप्रसाद कोइराला अस्वस्थ हुन थालेपछि विश्वविद्यालयले गति लिन छाडेको संग्रौला बताउँछन्। 'राजाको शासनकालका उपकुलपति जगतबहादुर केसीको पालामा मेडिकल शिक्षा सञ्चालन हुने भनिए तापनि पछि गणतन्त्र आएपछि उक्त मुद्दा सेलाएर गयो,’ उनी भन्छन्, ‘हामीले उपकुलपतिले कुनै काम गर्न सकेनन् भनेर बारम्बार अन्दोलन गर्‍यौं तर राजनीतिक दलको प्रभावले गर्दा काम हुन सकेन।’ पूर्वप्रधामन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल र हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बारम्बार ज्ञापन पत्र बुझाएपनि केही काम हुन नसकेको उनको भनाइ छ।



विश्वविद्यालयमा एमबिबिएस, एमडी, नर्सिङ, बी फर्मा, बिएन, बिएसी नर्सिङ लगायत मेडिकल शिक्षा सञ्चालन गर्न माग उठ्दै आएको छ। तर कुन सरकारको पालामा गर्ने र कसले जस पाउने भन्ने कारणले गर्दा कुनै पनि काम हुन नसकेको संग्रौला बताउँछन्।

हरेक निर्वाचनमा चुनावी एजेण्डाको रूपमा विश्वविद्यालयलाई प्रयोग भइरहेको छ। हाल प्रदेश सरकारले प्रदेशकै मातहतमा ल्याउने गरी प्रक्रिया अगाडि बढाइएको छ। कोसी अस्पताललाई संघीय इकाइ अस्पताल बनाउने र विश्वविद्यालयलाई पनि त्यसकै मातहतमा ल्याउनको लागि प्रदेश सरकार लागि परेको छ।

उता विश्वविद्यालयका उपकुलपति घनश्याम लाल दास राज्यलेनै अरू विश्वविद्यालयलाई भन्दा पूर्वाञ्चल विश्वविद्यालयलाई विभेद गरिएको बताउँछन्। कुलपतिले आश्वासन मात्र दिने तर बजेट दिन कन्जुस गर्ने हुँदा समस्या आएको उनको भनाइ छ। तर पनि कोसी अञ्चल अस्पताललाई मेडिकल शिक्षाको प्रयोगशाला बनाएर मेडिकल शिक्षा सञ्चालन गरिने उनी बताउँछन्। ‘कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्ने विषयमा अध्ययन भइरहेको छ,’ उनी भन्छन्, ‘पर्याप्त बजेट आएमा आगामी एक वर्ष भित्रमा पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल शिक्षा सञ्चालन हुन्छ।’

हाल स्नातकोत्तर शैक्षिक कार्यक्रमहरू सञ्चालनका लागि गोठगाउँ परिसरमा तीन वटा नयाँ आंगिक क्याम्पसहरूको सञ्चालन गरी उक्त आंगिक क्याम्पसमार्फत कृषि शैक्षिक कार्यक्रमको सञ्चालमा आएका छन्। भेटेरिनरी, फरेस्टी एवं वातावरण शैक्षिक कार्यक्रम सञ्चालन शैक्षिक सत्र २०१८ देखि सुरु हुने विश्वविद्यालयले जनाएको छ। - विनय बाह्रकोटी , स्वास्थ्य खबर दैनिकबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget