Websoft University

www.radiomakalu.com || 021-522512


प्रमको भारत भ्रमण चैत २३ बाट



काठमाडौँ, चैत १७ गते । प्रधानमन्त्रीमा फागुन ३ गते दोस्रो पटक नियुक्त हुनुभएका केपी शर्मा ओलीको पहिलो भारत भ्रमण चैत २३ देखि २५ (अप्रिल ६ देखि ८) सम्म हुने भएको छ । परराष्ट्र मन्त्रालय नेपाल र भारतले शुक्रबार एकसाथ विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको भ्रमण तय भएको बताएका छन् ।
‘प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाट कि चीनबाट’ जिज्ञासा भइरहँदा भारतबाट हुने समाचार मिडियामा यसअघि नै सार्वजनिक भएको थियो । तर, त्यसबारे परराष्ट्र मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गरेको थिएन । दुवै देशका सरकारबीच एकसाथ सूचना सार्वजनिक गर्ने सहमतिअनुसार शुक्रबार प्रधानमन्त्रीको भ्रमण कार्यतालिका सार्वजनिक गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताउनुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष आमन्त्रणमा प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लाग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले समकक्षी भारतीय प्रधानमन्त्री मोदीसँग विशेष भेटवार्ता गर्नुहुनेछ । दुवै प्रधानमन्त्रीबीच आपसी सम्बन्ध र हितका विषयमा छलफल हुनेछ । त्यस्तै, भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेनकैया नायडूसँग पनि प्रधानमन्त्री ओलीको भेटवार्ता हुने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सोहीअनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय वरिष्ठ मन्त्रीहरूसँग भेटेर दुई देशबीच आपसी हितका विषयमा छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्रीका साथ भ्रमणमा सरकारका मन्त्रीहरू, प्रतिनिधिसभाका केही सदस्यहरू, नेपाल सरकारका सचिवहरू र उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, भारतीय परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाल र भारतबीचको सम्बन्ध अति प्राचीन समयदेखिको हो । भ्रमणकाक्रममा दुई देशबीचको आपसी हित, परस्पर सम्बन्धका विषयमा समीक्षासहितको छलफल हुने विज्ञप्तिमा जनाइएको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओली उत्तराखण्डस्थित पन्तनगरमा अवस्थित गोविन्द वल्लभ पन्त कृष तथा प्रविधि विश्वविद्यालयको कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । सो कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री ओली २५ गते स्वदेश फर्किनुहुनेछ । प्रधानमन्त्रीले चैत १३ गते नेपालस्थित विदेशी राजदूतसँगको ब्रिफिङ कार्यक्रममा नेपालले दुई छिमेकी मुलुक भारत र चीनसँग समदूरीको सम्बन्ध कायम राख्ने बताउनुभएको थियो । सोहीअनुसार अन्य मित्रराष्ट्रहरूसँग पनि नेपालको सम्बन्ध दुईपक्षीय हितअनुकूल र समान हैसियतमा हुने चर्चा गर्नुभएको थियो ।
यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७२ फागुन ७ देखि ११ गतेसम्म भारतको भ्रमण गर्नुभएको थियो । भ्रमणअघि नेपाली सीमामा भारतले नाकाबन्दी लगाएको थियो । नाकाबन्दीको अवस्थामा भारतको भ्रमणमा नजाने अडान प्रधानमन्त्री ओलीले लिनुभएपछि भारतीय सरकारले नाकाबन्दी खुला गरेको थियो । सोपछि प्रधानमन्त्रीको भारत भ्रमण सम्पन्न भए पनि भ्रमणको अन्त्यमा सामान्यतः जारी गरिने दुई देशको संयुक्त वक्तव्य समेत जारी गरिएको थिएन ।
प्रधानमन्त्रीले भ्रमणपछि आफ्नो भारत भ्रमण सफल भएको बताउनु भए पनि दुई देशबीचको तिक्तता कायम थियो । लगत्तै प्रधानमन्त्री ओली चीनको भ्रमणमा गई चीन सरकारसँग व्यापार तथा पारवहन सम्झौतामा हस्ताक्षर गरेर फर्कनुभएको थियो । त्यसले नेपाल–भारत सम्बन्ध थप चिसिन पुगेको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget