Websoft University

www.radiomakalu.com || 021-522512


‘सरकार गठनमा बखेडा'

‘सरकार गठनमा बखेडा'

                                    ओली-दाहाल भेट


काठमाडौं , पुस १ गते । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सुविधाजनक बहुमत पाएका वाम गठबन्धनका दुई प्रमुख नेता एमाले अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल सरकार गठन एवं पार्टी एकता टुंग्याउन छलफलमा बसेका छन्।

दुवै तहको निर्वाचन परिणाम सार्वजनिक भएपछि गठबन्धनका शीर्ष दुई नेता ओली र दाहालबीच शुक्रबार पहिलोपटक भेटवार्ता भएको छ। राजधानीमा भएको ओली-दाहालको एक घन्टा लामो भेटवार्ता निर्वाचन परिणाम र भावी सरकार गठनमा केन्द्रित रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

उनले भने, ‘दिउँसो ३ देखि ४ बजेसम्म दुई नेताबीच चुनावमा वाम गठबन्धनले पाएको बहुमत र भावी रणनीति छलफल भएको थियो।' दुवै नेता नयाँ सरकार र पार्टी एकता प्रक्रियालाई छिट्टै निर्णायक चरणमा पुर्‍याउनेमा सहमत भएको दाबी स्रोतले गरेको छ।

६०-४० को भागबन्डामा आ-आफ्नै पार्टीको चिह्नमा निर्वाचन लडेका उनीहरूले सरकार सञ्चालन र पार्टी नेतृत्व कसले गर्ने भन्ने विषयलाई प्रमुख दिएर छलफल गरेको दाबी स्रोतको छ। ओली-दाहालले देउवा नेतृत्वको कामचलाउ सरकारले धमाधम नियुक्ति गरेको विषयमा छलफल भएको थियो।

दुवै नेताले नयाँ सरकार गठनका विषयमा अनावश्यक कानुनी बखेडा झिकेर सरकारले ताजा जानदेशको अवमूल्यन गरेको तर्फ गम्भीरतापूर्वक छलफल गरेका थिए।

नयाँ सरकार गठन, पार्टी एकता प्रक्रिया, राष्ट्रियसभा गठन र समसामयिक राजनीति लगायतमा नेताद्वयबीच गम्भीर परामर्श भएको जानकारी माओवादी सचिवालय स्रोतले दिएको छ।माओवादी स्रोतले भन्यो, ‘नेताद्वयको परामर्श एक साताभित्र वाम गठबन्धनलाई बहुमत दिने मतदातामाझ परिणामुखी सन्देश पुर्‍याउन नै केन्द्रित थियो।'

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ओली दाहालबीच सरकार गठन र पार्टी एकता केही दिनभित्रै टुंगोमा पुर्‍याउने विषयमा छलफल भएको जानकारी दिए। एमाले अध्यक्ष ओलीसँग भएको वार्ताबारे जानकारी दिँदै उनले भने, ‘दुवै विषयलाई कसरी अगाडि बढाउने भन्ने बारेमा एक÷दुई दिनभित्रै पार्टी एकता संयोजन समितिको बैठकले तय गर्नेछ।'

एमालेका एक नेताले भने, ‘दुई पार्टीबीच पार्टी एकताका लागि सैद्धान्तिक सहमति मात्र भएको छ। तर, दुवै पार्टीका कमिटी एकै बनाउने, राजनीतिक दस्तावेज तयार पार्नेलगायत प्राविधिक काममा यी दुई पार्टीबीच छलफल भइसकेको छैन। मोटामोटी रूपमा दुवै पार्टीका अध्यक्षहरू कार्यकारी भूमिकामा रहने भने पनि त्यसको ठोस निर्णय भएको छैन। यस्तो अवस्थामा सरकार गठन अगावै पार्टी एकता हुने कुरा कठिन छ।'
राष्ट्रपति-ओली वान् टु वान् वार्ता


राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार वान् टु वान् वार्ता भएको छ। वार्ता वान् टु वान् भएकोले आफूले केही भन्न नसक्ने जानकारी राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले दिए। ताजा जनादेश वाम गठबन्धनका पक्षमा आएपछि राष्ट्रपतिलाई भेट गर्न गएका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेशलाई लिएर विवाद झिकेको स्मरण गराएका थिए।

राष्ट्रपतिसमक्ष ओलीले राखेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘नयाँ सरकार गठनका विषयमा पनि अनावश्यक कानुनी बखेडा झिकेर सरकारले ताजा जानदेशको अवमूल्यन गरेको छ। एमाले र माओवादी एकल संक्रमणीय प्रणालीमा नभएर बहुमतीय प्रणालीमा राष्ट्रियसभा गठनको पक्षमा छ।' सरकारले असोज दोस्रो साता राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय प्रणालीबाट गराउनुपर्ने प्रावधान राखेर अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई सहमतिको बाटोबाट समस्याको निकास खोजी सत्ता हस्तान्तरण प्रक्रियामा जान सुझाएकी थिइन्। प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई बिहीबार भेटेका थिए। - चिरन्जिवी ढुंगाना , अन्नपूर्ण पोस्टबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget