Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेस नेतृत्वको असफलता

कांग्रेस नेतृत्वको असफलता


वाम गठबन्धनले स्थिरता, समृद्धि र सुशासनको नारा दिएको छ, तर ओली र दाहालसँग यसको वस्तुगत आधार छैन 





चारपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवालाई पाँचौंपटक प्रधानमन्त्रीको रूपमा उतारेर निर्वाचनमा गएको नेपाली कांग्रेसले ऐतिहासिक पराजय भोग्यो । देउवाको असामयिक सत्तारोहण र नेतृत्व पूर्णरूपले असफल भएको आज आएर मात्र प्रमाणित भएको छ । देउवाका कतिपय कदम उनकै दलभित्र अधिनायकवादी चरित्रका देखिएका छन् । यो आलेख तयार पार्दासम्म देउवाले पराजयको जिम्मेवारीसमेत लिएका छैनन्, जुन लोकतन्त्रको न्यूनतम मर्यादा हो । आफ्नो नेतृत्वमा सरकार बनाउने नारामा पहिलोपल्ट निर्वाचनमा गएका देउवा अनुमोदन भएनन् । पार्टी अध्यक्षकारूपमा देउवाले सामूहिक निर्णय लिएको देखिएन । कतिपय महत्वपूर्ण निर्णयमा देउवाका दलका युवा नेताले विमति जनाएको देखिएको छ ।

गगन थापा जस्ता जीवनको सम्पूर्ण ऊर्जा दलमा लगाएका कार्यकर्ताले देउवाका निर्णय छापाबाट थाहा पाउनुको पीडा अझै व्यक्त गरेका छैनन् । झापा- १ मा प्रदेशसभामा वाम गठबन्धनभन्दा कांग्रेसको करिब १३ हजार मत कम भएको अवस्थामा कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा करिब तीन हजार मतले मात्र पराजित भएका छन् । यो शर्माको पराजय होइन, कांग्रेसको पराजय हो । यसको जिम्मा कसले लिने ?२०४८ सालदेखि लगातार वाम वर्चश्व रहेको झापामा वाम वर्चस्व कायम छ, तर कैलालीमा कांग्रेसको संगठन किन ध्वस्त भयो?

मोरङमा कांग्रेसको पराजयको कारण के हो ? पञ्चायतदेखि अहिलेसम्म कांग्रेसलाई जीवितै राख्ने कार्यकर्ताको अवमूल्यन गरेर आरजू देउवालाई निर्वाचनमा उतारियो, किन ? एक सामान्य नागरिकसँगको संवादमा एक अन्तर्वार्तामा देउवाले ‘तपाईं बर्ता बोल्दै हुनुहुन्छ’ भनेर झपारेका थिए । राष्ट्रप्रमुखले नागरिकको आदर र सम्मान गर्नुपर्छ भनेर सल्लाह दिने देउवाको कुनै सल्लाहकार भएन । सोही अन्तर्वार्तामा देउवाले प्रश्नकर्तालाई ‘जबर्जस्ती गर्न पाइन्छ ? ’ भनेर प्रतिप्रश्न गरेका थिए । सार्वभौमसत्ताका मालिक जनताले आफ्नो प्रश्नको जवाफ कुनै न कुनै रूपमा लिएरै छोड्छन् । जनताले त्यो प्रश्नको मार्मिक रूपले जवाफ लिए, क्षति कांग्रेसलाई भयो ।

संविधानसभामार्फत लेखिएको संविधान मात्र स्वीकार्य हुन्छ भनेर युद्धमा गएका पुष्पकमल दाहालले पहिलो संविधानसभामा प्रधानमन्त्री बन्ने मौका पाए, एमालेका दुईजना प्रधानमन्त्री भए, माओवादीकै अर्का नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री भए, संविधान बनेन । अन्ततः दोस्रो संविधानसभा निर्वाचन हुनुपर्‍यो र नेपाली जनताले सुशील कोइरालालाई ठूलो दलको नेताको रूपमा अनुमोदन गरे ।



फलानो-ढिस्कानो खालको विश्लेषक नभएर स्वतन्त्र विश्लेषक नेपालले पाएको दिन इतिहासमा चारवटा महत्वपूर्ण कुरा लेखिएलान्, जसको उपयोग कांग्रेसले गर्न सकेन । पहिलो, गणतन्त्रको स्थापनामा गिरिजाप्रसाद कोइरालाको भूमिका, दोस्रो, संविधान निर्माणमा सुशील कोइरालाको भूमिका र उनले केपी ओलीलाई संविधानको सर्तमा राखेको प्रधानमन्त्रीको प्रस्ताव, तेस्रो ओलीसँग वाक्युद्धमा रहेका मधेसवादी दलसँगको सार्थक वार्ता र चौथो, संविधान कार्यान्वयनको लागि तीनवटा महत्वपूर्ण निर्वाचनको समापन ।

यदि यसबीचमा कांग्रेसले केही मूर्खतापूर्ण र अलोकप्रिय कदम नचलेको भए यी मुद्दा कांग्रेसका लागि पर्याप्त थिए । संविधान निर्माणपश्चात् सुशील कोइरालाबाट सरकार निर्माणका सम्बन्धमा एक गलत निर्णय भयो । कांग्रेसले त्यसको समीक्षा आजसम्म गरेको छैन । कालान्तरमा कांग्रेसको नेतृत्वमा आएका देउवाले आफू सत्तामा जानेसिवाय अरू कुनै मुद्दा देखेनन् ।

औचित्य पुष्टि नगरी ओलीको सरकार ढाल्नु कांग्रेसको अर्को कमजोरी थियो । निर्वाचनको पूर्वसन्ध्यामा सरकारको नेतृत्व गर्ने मौका मिलेको बेला त्यो कसले गर्ने भन्ने विषयमा कांग्रेसले छलफल गरेन । देउवा स्वयं सत्ताका लागि तत्पर भए । त्यो अनुचित कदम हो भन्ने सायद देउवाले सुन्न चाहेनन् । कदम सही नै भए पनि अलोकप्रिय कदम निर्वाचनअघि चाल्नु मूर्खता हुन्छ ।

कांग्रेसले प्रतिपक्षमा बसेर वा पुष्पकमल दाहालकै नेतृत्वमा निर्वाचनमा जानु उचित हुन्थ्यो । लोकमानसिंह कार्की प्रकरणमा देउवा मौन रहे । प्रहरी नेतृत्वको चयनमा गृहमन्त्रीले राजीनामासम्म दिए, तर त्यो विमतीलाई ढाकछोप गरियो । त्यसैमा सुशीला कार्कीलाई महाभियोग लगाइयो र फिर्ता लिइयो । देउवाले दाहालसँग स्थानीय निर्वाचनमा एउटा विवादित सम्झौतासमेत गरे । स्थानीय निर्वाचनको बीचैमा देउवाको सत्तारोहण भयो ।

सरकार बनाउनसमेत देउवाले ४९ दिन खेर फाले, त्यसपछि बनेको मन्त्रिपरिषद्को आकार भद्दा-मजाक भयो । कतिपय आफ्नै दलका योग्यलाई पाखा लगाएर देउवाले अक्षमताको अर्को परिचय दिए । यी हुन् निर्वाचनको मुखमा गरिएका देउवाका निर्णय जसको प्रतिरक्षा गर्न कार्यकर्तालाई सजिलो थिएन । उता स्थानीय निर्वाचनको आँकडामा टेकेर ओलीले बजारमा उपलब्ध दाहाललाई अस्वीकार गर्नै नसक्ने एउटा प्रस्ताव राखे । दाहाल बजारमा उपलब्ध छन् भन्ने पाठ ओलीले देउवाबाटै सिकेका हुन् ।

वाम गठबन्धन बनिसकेपछि पनि लोकतान्त्रिक कित्ताको भोट आकर्षित गर्ने ठाउँ बाँकी थियो । माओवादीको हत्या, हिंसाको सिकार एमाले पनि भएको छ । ओली त्यस विद्रोहका एक प्रमुख आलोचक हुन् । त्यसैले नातावाद, कृपावाद, वंशवादका आधारमा उम्मेदवार चयन गर्नु उपयुक्त थिएन । उता वामले नयाँ ढाँचामा एकीकृत भएर निर्वाचनमा जाने निर्णय गरे, यता कांग्रेसले त्यही पुरानै ढर्रामा । ४० प्रतिशत स्थान माओवादीलाई दिँदा ओलीलाई व्यापक असजिलो भएको थियो । त्यति असजिलो कांग्रेसले खेप्न सकेन । आरजू देउवाका लागि कतिपय अन्यलाई असहज समायोजन गरियो । निर्वाचनमा जनतालाई तरंगित पार्ने, उत्साहित पार्ने र कांग्रेसले आर्थिक क्रान्तिको सुरुआत गर्छ

भन्ने कुनै नारा कांग्रेसले तय गर्न सकेन । प्रकाशमान सिंह, रामचन्द्र पौडेल र देउवा सबै प्रधानमन्त्रीको रूपमा प्रस्तुत भए, आआफ्नै डम्फू बजाउँदै । वाम गठबन्धनको भयले कांग्रेसका नेता आफ्नै क्षेत्रमा केन्द्रित भए, रक्षात्मक भए ओलीले त्यस भयको पूर्ण लाभ लिए । ओली देउवालाई परास्त गर्न डडेलधुरामै पुगे । कृष्णप्रसाद सिटौलालाई हराउन एमालेले उम्मेदवार नै दिएन ।

विमलेन्द्र निधिलाई हराउन साँठगाँठ गरे । निर्वाचनको मुखमा सत्तामा गएर कुशासनको भारी कार्यकर्ताको पिठ्युँमा राखेर पनि बर्दियामा वामदेवलाई पराजित गरेर सञ्जयकुमार गौतम निर्वाचित भएका छन् । एमालेको सम्पूर्ण शक्ति लगाएर गगनलाई गलाउन सकिएन, गगन निर्वाचित भए । यिनीहरूको सामथ्र्यको उच्च मूल्यांकन गर्ने बेला भइसक्यो ।

यो बेमौसमको सत्तामा रमाएकाले कांग्रेसले आक्रामक हुन पाएन । माओवादीको हत्या, हिंसामा कांग्रेसले बोल्न छोडिसकेको थियो, माओवादीसँग उसले सहकार्य गरिसकेको थियो । निर्वाचनजस्तो महत्वपूर्ण समयमा देउवाले गृह मन्त्रालय आफैंसित राखे । उता कम्युनिस्टहरूले बमले प्रहार गरे, यता ओलीले त्यो प्रायोजित प्रहार हो भनिरहे ।

नाकाबन्दीले भारतविरोधी भाव देखिएको बेला देउवाले दिल्लीमा सार्वजनिक सभामा नेपालमा दुईतिहाइ ल्याएर संविधान संशोशन गरिने भनेर आए । यता राप्रपासँग गठबन्धन गर्ने घोषणा गरे, उता सिटौलालाई देउवाले मनाउन सकेनन् । संविधान निर्माण गर्ने र त्यसपछि आन्दोलनरत मधेसीलाई मूलधारमा ल्याउने, स्थानीय निर्वाचन सम्पन्न गर्ने र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसमेत तोकिएको समयमा गर्ने कांग्रेसले निर्वाचनमा रक्षात्मक हुनुपर्‍यो । हेलिकप्टरमा चढेर सर्वहारा वर्गका नेताले नेपालीले चन्द्रमा जाने, जहाज किन्ने, हिमालयबाट रेल भित्याउने आदि हावादारी नारा लगाए ।
बालकृष्ण ढुंगेलको गिरफ्तारीको विरोध गर्ने दाहालले माडीमा गएर युद्धपीडितले न्याय पाउनुपर्ने, दोषीले दण्ड पाउनुपर्ने भनिरहे । स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गरेका गगन थापालाई स्वास्थ्योपचारमा करोडौं लाभ लिएका ओलीले नै प्रहार गरे । बूढीगण्डकी स्वदेशकै लगानीमा बनाउने निर्णय कांग्रेसले ग‍र्‍यो, उता राष्ट्रवादी मानिएका नेता ओलीले त्यो गेजुवालाई बेचेरै छोड्ने भनिरहे । वाम विश्लेषक, वाम शिक्षक, वाम विद्यार्थी, वाम मजदुर, वाम कलाकार वा वाम लेखकद्वारा ओलीको गठबन्धनको खुलमखुला प्रचार-प्रसार भयो । देउवा सरकारले गरेका विगतका केही मुख्य गल्तीको कारणले लोकतान्त्रिक विश्लेषक, विद्यार्थी वा मजदुर आदिको सामर्थ्य शिथिल देखियो । यसमा सबभन्दा बढी नैतिक जिम्मेवारी सबभन्दा ठूलो पदमा बस्ने व्यक्ति हुन्छ ।

वाम गठबन्धनले स्थिरता, समृद्धि र सुशासनको नारा दियो । स्थिरता पनि पक्कै दिनेछ, जुन मुलुक र जनताका लागि सकारात्मक कदम हो । तर ओली र दाहालले समृद्धि र सुशासन स्थापित गर्लान् भन्ने वस्तुगत आधार छैनन् । तर वाम गठबन्धनलाई जनताले करिब दुईतिहाइले अनुमोदन गरेको र कांग्रेसको पराजय भएको सत्य हो ।

राजनीतिमा पाँच वर्षको समय लामो समय होइन । यस अवधिमा विगतमा भएका गल्तीको मूल्यांकन र भविष्यका लागि सैद्धान्तिक बाटो निर्धारण गर्नुपर्ने हुन्छ । द्वन्द्वपीडितको आवाज उठाउनुपर्ने हुन्छ । पाँच वर्षपछि देशलाई नेतृत्व दिन सक्ने नेतृत्व तयार गर्नुपर्ने हुन्छ । स्मरण रहोस्, भारतमा बीजेपी आधा दर्जन पूर्व अध्यक्ष जीवित हुँदाहुँदै पनि नयाँ नेताको खोजी गरेर नरेन्द्र मोदीको नेतृत्वमा निर्वाचनमा गएको थियो । उनले विकासको नारा दिए र अध्यक्षमा नयाँ व्यक्तिको खोजी गरे र निर्वाचन बीजेपीले जित्यो । यो निर्वाचनले कांग्रेसलाई नयाँ पुस्ताको नेतृत्व खोज्ने अवसर दिएको छ।

देउवा नेपाल विद्यार्थी संघका प्रथम सभापति हुन् । जीवनमा उनले ठूलो संघर्ष र त्याग गरेका छन् । देउवाको जिब्रोमा तत्कालीन पञ्चहरूले करेन्टसमेत लगाएका थिए । एक सामान्य परिवारबाट आएका देउवालाई जनताको सर्वोच्च प्रतिनिधि बन्ने अवसर मिलिसकेको छ ।

निर्वाचनमा पराजित भए पनि आफ्नो दलमा एउटा थिति बसाल्ने सुअवसर देउवालाई प्राप्त भएको छ । त्यो हो निर्णायक भूमिकामा नरहने गरी सभापति पदबाट राजीनामा दिने । गुटउपगुटको वास्ता नगरी क्षमताका आधारमा कार्यवाहक अध्यक्षको नियुक्ति गरिदिने । जनताको हृदयमा बस्ने योभन्दा उपयुक्त मौका अब देउवासँग सायद नहोला । - डा. घनश्याम भट्ट , अन्नपूर्ण पोस्टबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget