Websoft University

www.radiomakalu.com || 021-522512


रोशन र मनीता उत्कृष्ट खेलाडी

रोशन र मनीता उत्कृष्ट खेलाडी

                                              अम्बिकाबहादुर स्मृति जुडो


काठमाडौं : बन्दी सहायता नियोग (पाम) का रोशनबहादुर दोङ र त्रिभुवन आर्मी क्लबकी मनीता श्रेष्ठ प्रधान आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवै आआफ्नो तौलसमूहका विजेता खेलाडी हुन् । पहिलो दिन शनिबार रोशनले पुरुषतर्फको ५५ केजीभन्दा मुनिको तौलसमूहमा र मनीताले महिलातर्फको ५७ केजीभन्दा मुनिको तौलसमूहमा स्वर्ण पदक जितेका थिए ।
मनीताले उत्कृष्ट इप्पोनको उपाधि पनि हात पारिन् । पुरुषमा उत्कृष्ट इप्पोनको उपाधि नेपाल पुलिस क्लबका श्रीराम मकाजूले हात पारे । स्व. अम्बिकाबहादुरको परिवारको प्रायोजनमा नेपाल जुडो संघद्वारा आयोजित उक्त प्रतियोगिताको अन्तिम दिन आइतबार पुरुष र महिलातर्फ समान चार÷चार स्पर्धा भएको थियो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको लुम्बिनी हलमा भएको पुरुष ६० केजी तौलसमूहमा पुलिस क्लबका उमेश मगरले स्वर्ण पदक जिते । उनले फाइनलमा केन्द्रीय जुडो डोजोका किरण गडेललाई पराजित गरे ।
यसैगरी ७३ केजीमुनि पुलिस क्लबका सञ्जित डंगोल पहिलो भए । उनले फाइनलमा आर्मी क्लबका जंगबहादुर सारुलाई हराए । ९० केजीमुनि इप्पोनमा उत्कृष्ट ठहरिएका श्रीरामले फाइनलमा आर्मीका दिलबहादुर मगरलाई पाखा लगाउँदै स्वर्ण जिते । एक सय केजीभन्दा माथिको तौलसमूहमा कुनै पनि प्रतिद्वन्द्वी नपाएका कारण पुलिस क्लबका राजन जोशी स्वतः विजेता बने ।
महिलातर्फको ४४ केजीमुनि बाँकेकी सोनिया भट्ट च्याम्पियन बनिन् । सोनियाले फाइनलमा होप्याडकी पुष्पा भण्डारीलाई हराइन् । ५२ केजीमुनि पुलिस क्लबकी दिलकुमारी छन्त्याल र ६३ केजीमुनि आर्मी क्लबकी फुपूल्हामु खत्री पहिलो भए । उपाधि भिडन्तमा दिलकुमारीले केन्द्रीय जुडोकी रोजिना थापामगरलाई र फुपूले पुलिस क्लबकी पूर्णा राईलाई पाखा लगाए । ७८ केजीमुनि आर्मी क्लबकी पुनम श्रेष्ठ पहिलो भइन् । पुनमको स्पर्धामा पनि अन्य खेलाडीले नाम दर्ता गराएका थिएनन् ।
राष्ट्रिय टिम छनोटको आधार मानिएको उक्त प्रतियोगितामा पुरुष र महिलातर्फ समान आठ÷आठ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुषको ५५ केजीमुनि र महिलाको ४४ केजीमुनिबाहेक सबै स्पर्धामा पहिलो र दोस्रो हुने खेलाडी राष्ट्रिय टोलीमा छनोट भएका छन् । पुरुषको ५५ केजीमुनि र महिलाको ४४ केजीमुनिको स्पर्धा राष्ट्रिय टिम तयारीमा राखिएको छैन । प्रतियोगितामा २३ टोलीका एक सय ४० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा आर्मी क्लबले सर्वाधिक ६ स्वर्ण, चार रजत र ६ कांस्य पदक जित्यो । दोस्रो स्थानमा रहेको पुलिस क्लबले ६ स्वर्ण, दुई रजत र चार कांस्य पदक हात पा¥यो । दुई स्वर्ण र दुई कांस्य पदकसहित पाम तेस्रो स्थानमा रह्यो । केन्द्रीय जुडो डोजो र बाँकेले पनि एक÷एक स्वर्ण पदक जिते । बाँकी टोली भने स्वर्ण पदकविहीन रहे ।
पदक विजेता सम्मानित
गत जुलाईमा भएको दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल दुई खेलाडी र प्रशिक्षकलाई नेपाल जुडो संघले नगद पुरस्कारसहित सम्मान गरेको छ ।किर्गिस्तानको बिस्केकमा भएको १८औं जुनियर एसियाली जुडोकी कांस्य विजेता मनीता श्रेष्ठ प्रधानलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो । सो प्रतियोगिताका टिम प्रशिक्षक वीरेन्द्र रञ्जित पनि ६ हजार रुपैयाँबाट पुरस्कृत भए ।
यसैगरी थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक अन्तर्राष्ट्रिय युनिभर्सिटी जुडो प्रतियोगिताका कांस्य विजेता उमेश मगर पाँच हजार रुपैयाँबाट सम्मानित भए । प्रशिक्षक सूर्यनारायण श्रेष्ठले पनि तीन हजार रुपैयाँ पुरस्कार पाए । सम्मानित खेलाडी र पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले पुरस्कार वितरण गरे ।
अन्तर्राष्ट्रिय जुडोमा छानिए श्रीराम
नेपाल जुडो संघले पूर्वघोषणा गरेबमोजिम श्रीराम मकाजू पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताका लागि छनोट भएका छन् । पुरुष ९० केजीमुनिको तौलसमूहमा पहिलो हुने खेलाडीलाई उक्त प्रतियोगितामा सहभागिताको अवसर दिने जुडो संघले घोषणा गरेको थियो । प्रतियोगिता अक्टोबर ५ तारिखमा ताजकिस्तानको दुसानबेमा हुने नेपाल जुडो संघले जनाएको छ ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget