Websoft University

www.radiomakalu.com || 021-522512


फुटसलमा फड्कोः पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भिड्ने यस्तो छ तयारी




नेपालमा फुटसल अहिलेसम्म सौख र फिटनेसका लागि मात्रै खेलिँदै आएको थियो । तर, यसले विस्तारै व्यवसायिक रुप लिन थालेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अहिले पहिलोपटक फुटसलको राष्ट्रिय टिम निर्माणमा जुटेको छ । एएफसी एसियन फुटसल च्याम्पियनसिपको अक्टोबरमा हुने छनौट प्रतियोगिताका लागि टिम निर्माण गर्न लागिएको हो । फुटसलमा नेपालले भाग लिने यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

विश्वमा फुटसलको लामो इतिहास भए पनि नेपालमा भित्रिएको भने ५-६ वर्ष मात्र भयो । व्यवसायिक प्रयोजनका लागि भित्रिएको फुटसल पछिल्लो समय युवा पुस्तामाझ अत्यधिक लोकपि्रय ‘हव’को रुपमा विकसित हुँदै गएको छ ।

सुरुमा काठमाडौं उपत्यकामा केन्द्रित फुटसल बिस्तारै मोफसलका शहरहरु पोखरा, धरान, चितवनमा बिस्तारित हुँदैछ ।

फुटसललाई शहरीया युवाहरुले ‘फिटनेस सेन्टर’ का रुपमा लिने गर्छन् । तर, त्यसबाट बाहिर निस्केर प्रतियोगिताका रुपमा पनि यसलाई खेलाउन सुरु गरिएको छ । हालै रेडबुलले प्रायोजन गरेको फुटसल लिग निकै सफल भएको थियो ।

विशुद्ध आयआर्जनका लागि स्थापना भएका फुटसल मैदानहरु खेलाडी उत्पादनको केन्द्र बन्दैछन् । एन्फाले फुटसल क्लवहरुबीचको लिग गराएर राष्ट्रिय टोली बनाउने प्रक्रिया सुरु गरिसकेको छ ।

राष्ट्रिय टोलीको तयारी

६ महिनाअघि एन्फा सदस्य रमेश रायमाझीको नेतृत्वमा फुटसल समिति गठन गरिएको छ । सो समिति अहिले राष्ट्रिय टोली छनौट प्रक्रियामा लागेको छ ।

एएफसीका प्रशिक्षक आएर केही समयअघि नेपालमा १९ जनालाई फुटसल प्रशिक्षण तालिम दिएका थिए । उनीहरुलाई एक-एक क्लबको जिम्मा दिएर लिग गराउने योजनामा एन्फा छ ।

‘हामीले रेडबुल राष्ट्रिय लिगका आयोजकहरुसँग पनि छलफल गरेका छौं, १६ क्लबहरु छनौट गरी हामीसँग भएका १९ मध्ये १६ जनालाई प्रशिक्षक बनाएर लिग गराउने सोचेका छौं, बाँकी तीन जनालाई छनौट समितिमा राख्नेछौं’ समितिका संयोजक रायमाझीले भने ।



एएफसीले सन् १९९९ देखि नै एसियन फुटसल च्याम्पियनसीप सुरु गरेको थियो । तर, नेपालले यस प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदैछ । यसका लागि गत फेब्रुअरीमा एन्फाले नाम दर्ता गरेको थियो ।

‘हामीले अहिले फुटसलको नीति-नियम बनाउँदैछौं’ रायमाझीले भने, ‘कस्ता खेलाडीलाई खेल्न दिने, फुटबल खेलिरहेकालाई समावेश गराउने/नगराउनेबारे हामी सल्लाह गरी निर्णय गर्दैछौं ।’

उनले ३५ वर्षभन्दा कम उमेरका खेलाडीलाई समावेश गराउने सोचमा आफूहरु रहेको जानकारी दिए ।

रायमाझीले आसन्न एसियन फुटसल च्याम्पियनसिपमा सम्बन्धित मुलुकका फुटबल संघ अन्तर्गतको फुटसल टोलीले मात्रै सहभागिता जनाउन पाउने व्यवस्था गरिएपछि सबै प्रष्ट भएको र प्रतियोगिताको आधिकारिक संस्था एन्फा भएको उल्लख गरे ।

नेपाल फुटसल संघले के गर्छ ?

नेपाली फुटसलको सर्बोच्च संस्थाको रुपमा ९ महिनाअघि राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघ दर्ता भएको छ । यसले काठमाडौंमा रहेका झण्डै २ सय मध्ये १०० फुटसल मैदानहरुलाई आफू मातहत ल्याएको दावी गरेको छ ।

संघका अध्यक्ष देवकुमार अधिकारीले देशैभरका फुटसललाई संघको दायरामा ल्याउने प्रकृया भइरहेको बताए । उनले भने, ‘नेपाली फुटसलको आधिकारिक निकाय हुनुका नाताले हामी सबैलाई दायरामा ल्याएर फुटसल लिग सञ्चालन गर्नेबारे योजना बनाइरहेका छौं ।’

उनले एन्फाले राष्ट्रिय टिमका लागि छनौट लिग सञ्चालन गर्न लागेको आफूलाई जानकारी नभएको र त्यसो हो भने सहकार्य गरी लिग सञ्चालन गर्न तयार रहेको बताए । ‘समान प्रकृतिका संस्था स्थापना गरी विवाद बढाउने र खेलकुदलाई मारमा पर्ने नेपालको परम्परा हो, हामी त्यसको पक्षमा छैनौं, एन्फासँग सहकार्य गरी अघि बढ्न तयार छौं,’ उनले भने, ‘सदस्यसचिवले मिलेर अघि बढ्न भन्नुभएको छ ।’

निकट भविश्यमै दक्षिण एसियाली फुटसल लिग आयोजना गर्ने योजना उनले सुनाए । त्यस्तै खेलकुद परिषदले सहयोग गरेमा आफ्नै फुटसल मैदान निर्माणबारे पनि संघले सोचेको जानकारी दिए ।

फुटसल मैदानहरु पछिल्लो समय लागूऔषध प्रयोगकर्ताको केन्द्र बन्दै गइरहेको, तथा अन्य धेरै बिकृतिहरुबारे आफू जानकार रहेको बताउँदै अध्यक्ष अधिकारीले अनुगमन र मापदण्ड पूरा गरेका फुटसलहरुले मात्र संघको सम्बन्धन पाउने बताए ।

लागूऔषधको ‘हव’ भन्दै गएको भन्दै प्रहरीले केही महिनाअघि काठमाडौंका सबै फुटसल मैदानहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो । त्यसको व्यापक विरोध भएपछि प्रहरी आफ्नो निर्णयबाट एक दिनमै पछि हटेको थियो ।

एएफसी एसियन कप छनौट आगामी अक्टोबरमा हुने भनिए पनि मिति र आयोजक मुलुक तय भइसकेको छैन । दक्षिण तथा मध्य एसिया छनौटको समूह एमा रहेको नेपालको समूहमा उज्वेकिस्ताज, किर्गिस्तान र तुर्किमिनिस्तान छन् ।

के हो फुटसल ?

सामान्य भाषामा भन्दा फुटसल भनेको मिनी फुटबल हो । फरक के हो भने यो इण्डोर खेलिन्छ । फुटबल मैदानभन्दा निक्कै सानो ४० मिटर लामो र २० मिटर चौडा ‘हार्ड कोर्ट’ मा खेलिने फुटसलमा प्रत्येक टिममा एक गोलरक्षकसहित ५ खेलाडी मात्र हुन्छन् ।

यसका नियमहरु लगभग सबै फुटबलसँग समान छन् । फुटसल खेल्ने स्थानलाई मैदान वा कोर्ट दुवै शब्द प्रयोग गरिन्छ । फुटसलमा प्रयोग गरिने बल ४ नम्बरको हुन्छ, जबकि फुटबलमा ५ नम्बरको बल प्रयोग गरिन्छ ।

फुटसल सामान्यतः २४ मिनेट प्रति हाफ खेलाइन्छ । दुई हाफको बीचमा १५ मिनेटको बिश्राम हुन्छ । फाउल, फ्रीकिक, पेनाल्टी, रातो, पहेँलो कार्ड सबै फुटबलका नियमहरु यसमा लागू हुन्छन् । पेनाल्टी एरिया गोल पोष्टको केन्द्रबाट ६ मिटर टाढा हुन्छ ।

फुटसलमा गोलरक्षकलाई ब्याक पास दिन पाइँदैन भने बल ‘कलेक्ट’ गरिसकेपछि गोलरक्षकले ५ सेकेण्डभन्दा बढी समय बल होल्ड गर्न पाउँदैन । यदी बढी समय लिएमा विपक्षी टिमलाई इनडाइरेक्ट फ्रीकिक दिने अधिकार रेफ्रीलाई हुन्छ ।

फुटसलको इतिहास, विवादपछि जन्मेको शब्द ‘फुटसल’

फुटसल नामाकरण १९८५ मा स्पेनमा भएको दोस्रो फुटसल विश्वकपका क्रममा भएको हो । स्पेनिस भाषामा ‘फुटोबल साला’ भनिने गरेकोमा त्यस प्रतियोगितामा आधिकारिक रुपमा फुटसल शब्दको प्रयोग भएको थियो । खासमा फुटोबल शब्द फुटबलसँग मिलेको भन्दै विश्व फुटबल महासंघले विवाद गरेपछि फुटसल शब्द प्रयोगमा ल्याइएको थियो ।

तर, नाम फरक भए पनि यस खेलको जन्म भने सन् १९३० मा भएको हो । बास्केटबल कोेर्टमा यस प्रकारको खेल सुरु गरेका उरुग्वेका जुहान कार्लोस सेरियानीलाई फुटसल जन्मदाताको रुपमा लिइन्छ । स्थानीय भाषामा यसलार्इ ‘फुटोबल डे सालोना’ भनिन्थ्यो । फुटबलको नियमलाई आधार मानेर सेरियानीले फुटसलको नियमहरु समेटेर ‘रुल्स बुक’ समेत प्रकाशन गरेका थिए । सन् १९३० को पहिलो फुटबल विश्वकप जितपछि उरुग्वेमा फुटसल खेल्न थालिएको थियो ।

फुटसल खेललाई व्यवस्थित गर्न १९६५ मा उरुग्वे, पाराग्वे, पेरु, अर्जेन्टिना र ब्राजिलको सहकार्यमा दक्षिण अमेरिकी फुटसल फेडेरेसनको स्थापना भएपछि यसले अझै व्यापकता लियो । सन् १९७१ मा पुराना सदस्यहरुका साथमा बोलिभिया, पोर्चुगल लगायतका मुलुकहरुसमेत समेटेर फेडेरेसन इन्टरनेसनल फुटोबल डे सालोन एफआईएफयुएसए (विश्व फुटसल फेडेरेसन)को स्थापना भयो । सन् १९८२ मा यस संस्थाले पहिलो फुटसल विश्वकपको आयोजना ब्राजिलमा गर्‍यो र पहिलो संस्करणको च्याम्पियन घरेलु टिम बन्यो ।

फिफाका तत्कालिन महासचिव सेप ब्लाटरले सन् १९८५ मा इण्डोर फुटबललाई पनि फिफामै समाहित गराउने उद्देश्यले एकीकरणको प्रस्ताव ल्याए । जसअनुसार फुटसलको केन्द्रीय कार्यालय ब्राजिलमा रहने सहमति थियो । तर, फिफाको कांग्रेसमा भएको मतदानमा एकीकरणको विपक्षमा मतदान भयो ।

फिफाले आफ्नै तरिकाले यसलाई विस्तार गर्न चाहेको थियो तर १९८९ को एफआईएफयुएसए कांग्रेसले यसलाई अनुमति दिएन ।

विवादका बीच फिफाले १९८९ देखि फिफा फुटसल विश्वकप सुरु गर्‍यो । यसको पहिलो विजेता पनि ब्राजिल नै भयो । ब्राजिल फिफा फुटसल विश्वकपको सर्बाधिक ५ पटकको बिजेता हो ।

सन् २००२ मा एफआईएफयुएसएले आफ्नो नाम परिवर्तन गरी एशोसियसन मुण्डियल डि फुटसल (विश्व फुटसल संघ) बनायो । अहिलेसम्म विश्व फुटसल संघले ११ र फिफाले ८ पटक फुसटल विश्वकपको आयोजना गरिसकेका छन् ।-कुशल तिमल्सिना

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget