Websoft University

www.radiomakalu.com || 021-522512


खेलाडी किनबेचले तताएको विश्व फुटबल

खेलाडी किनबेचले तताएको विश्व फुटबल



लन्डन : सिजनको अन्त्यसँगै फुटबल खेलाडीको क्लब ट्रान्सफरले अहिले बजार तातेको छ । खेलाडी किनबेचले फुटबल बजार तातेसँगै इङ्लिस प्रिमियर लिग क्लब आर्सनलले आफ्ना प्रभावशाली स्ट्राइकर एलेक्सिस सान्चेजलाई आठ करोड पाउन्डमा बिक्री गर्न लागेको जनाएको छ । यसअघि सान्चेज आर्सनलकै प्रतिद्वन्द्वी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा जान लागेको हल्ला चलेको थियो ।
आर्सनलले भने सान्चेज म्यानचेस्टर सिटी नभई फ्रान्सेली क्लब पेरिस सेन्ज जर्मन (पीएसजी) वा जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध हुन लागेको जनाएको छ । आर्सनललाई उद्धृत गर्दै बेलायती समाचारपत्र सन्डे एक्प्रेसले यस्तो समाचार प्रकाशित गरेको छ । ‘२८ वर्षीय सान्चेजलाई पीएसजी वा बायर्नमा जानका लागि अनुमति दिइएको छ । उनी म्यानचेस्टर सिटी जाने कुरा निराधार हो तर, यसको अन्तिम निर्णय भने सान्चेजले नै लिनेछन्’, आर्सनलले भनको छ ।
यसैगरी म्यानचेस्टर युुनाइटेडका कप्तान वेन रोनी आफ्नो ‘ब्वाईहुड क्लब’ एभर्टन फर्किएका छन् । अघिल्लो सातामात्र रोनीले चिनियाँ क्लबबाट खेल्ने हल्ला चलेको थियो । रोनी म्यानचेस्टर युनाइटेडका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । प्रभावशाली खेलाडी रोनीले म्यानचेस्टर युनाइटेडका लागि पाँच सय ५९ खेल खेल्दै दुई सय ५३ गोल गरेका छन् ।
रोनी म्यानचेस्टर युनाइटेडमा १३ वर्ष बिताएर एभर्टन फर्किएका हुन् । म्यानचेस्टर युनाइटेडमा आबद्ध हुनुअघि ३१ वर्षीय रोनी सन् २००२ देखि सन् २००४ सम्म एभर्टनमै थिए । रोनीले म्यानचेस्टर युनाइटेडमा रहँदा पाँचवटा इङ्लिस प्रिमियर लिग उपाधि जिते । यसबीचमा उनले म्यानचेस्टर युनाइटेडलाई एक/एकपटक च्याम्पियन्स लिग र एफए कपको उपाधि पनि चुमाए । उनी एभर्टनबाट दुई करोड ७० लाख पाउन्डमा म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए ।
यसैगरी स्विडेनका चर्चित स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले भने म्यानचेस्टर युनाइटेडसँग नयाँ सम्झौता गर्न लागेको समार सन्डे मिररले प्रकाशित गरेको छ । ३५ वर्षीय इब्राहिमोभिच विगत केही समयदेखि घुँडाको समस्याका कारण आराम गरिरहेका छन् । चोट निको हुनासाथ उनले म्यान युनाइटेडसँग नयाँ सम्झौता गर्ने उक्त समाचारमा जनाइएको छ ।
यसैगरी चर्चित बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन् । लुकाकुलाई भित्राउन म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होले पनि ठूलै कसरत गरेका थिए । लुकाकु एभर्टनबाट नौ करोड ७० लाख अमेरिकी डलरमा म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका हुन् । २४ वर्षीय लुकाकुमाथि अर्को इङ्लिस क्लब चेल्सीले पनि आँखा लगाएको थियो । तर, निकै लामो छलफलपछि लुकाकुले चेल्सीभन्दा म्यानचेस्टर युनाइटेड नै आफ्ना लागि उपयुक्त गन्तव्य हुने निर्णय लिए । चेल्सी उनको पूर्वक्लब पनि हो ।
म्यानचेस्टर युनाइटेडसँग लुकाकुले पाँच वर्षका लागि सम्झौता गरेका हुन् । म्यानचेस्टर युनाइटेडको इतिहासमा लुकाकु दोस्रो सबैभन्दा महँगा खेलाडी पनि बनेका छन् । म्यानचेस्टर युनाइटेडका सबैभन्दा महंगा खेलाडी भने पल पोग्बा हुन् । यसअघि पोग्बा ११ करोड ६० लाख अमेरिकी डलरमा म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए । लुकाकु र पोग्बा निकैै मिल्ने साथी हुन् ।
यसैगरी टोट्टनहामका मिडफिल्डर इरिक डायरलाई म्यानचेस्टर युनाइटेडले किन्न लागेको भन्ने समाचार भने निराधार भएको टोट्टनहामले जनाएको छ । यसअघि २३ वर्षीय इरिकलाई म्यानचेस्टर युनाइटेडले पाँच करोड पाउन्डमा किन्न लागेको चर्चा चलेको थियो । न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीका फाविन डेल्फलाई क्लबमा अनुबन्ध गर्न लागे पनि फाविनले भने स्टोक सिटी रोजेको खबर डेली मेलले छापेको छ । अघिल्लो सिजन ऋणमा इटालियन क्लब एएस रोमा पुगेका बार्सिलोनाका सेन्टर ब्याक थोमस भर्माइलेनलाई यो सिजन न्युक्यासल युनाइटेडले अनुबन्ध गर्न लागेको छ ।
यसैगरी ब्राजिलियन खेलाडी डानी आल्भेस इटालियन सिरिए क्लब युभेन्ट्सबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध भएका छन् । पीएसजीले आल्भेससँग दुई वर्षका लागि सम्झौता गरेको छ । ब्राजिलियन खेलाडी डगलस कोस्टा भने ऋणमा युभेन्ट्समा आबद्ध भएका छन् । २६ वर्षीय कोस्टा यसअघि जर्मन क्लब बायर्न म्युनिखबाट ब्यवसायिक फुटबल खेल्थे ।
यसैगरी फ्रान्सको यू—२० राष्ट्रिय फुटबल टोलीका युवा मिडफिल्डर आमिन हारित जर्मन क्लब साल्केमा आबद्ध भएका छन् । २० वर्षीय आमिन एक करोड युरोमा जर्मन क्लबमा आबद्ध भएका हुन् । चेल्सीका पूर्वखेलाडी १९ वर्षीय स्ट्राइकर डोमिनिक सोलान्की भने अर्को इङ्लिस क्लब लिभरपुलमा आबद्ध भएका छन् । लिभरपुलले उनका लागि ३० लाख पाउन्ड खर्चिएको समाचारमा जनाइएको छ ।
अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी भने स्पेनिस क्लब बार्सिलोनामै रहने भएका छन् । उनले आगामी चार बर्षका लागि बार्सिलोनासँग सम्झौता गरेका छन् । मेसीले बार्सिलोनासँग प्रति साता पाँच लाख पाउन्ड पाउने गरी नयाँ सम्झौता गरेका हुन् । कर छलीको आरोप लागेपछि क्लब छाड्ने चर्चा चलेका पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो पनि अन्ततः रियल म्याड्रिडमै रहने भएका छन् ।
जर्मन स्ट्राइकर लुकास पोडोलस्की भने जापानी क्लब भिसेल कोबेमा आबद्ध भएका छन् । पोडोलस्कीको आगमनबाट क्लबको स्तर उकास्न मद्दत पुग्ने विश्वास क्लबका पदाधिकारीले व्यक्त गरेका छन् । फ्रान्सेली स्ट्राइकर एलेकजेन्डर लाकाजेट्टी पनि ६ करोड ८० लाख अमेरिकी डलरमा इङ्लिस क्लब आर्सनलमा आबद्ध भएका छन् । उनी यसअघि फ्रान्सेली क्लब लियोनबाट व्यावसायिक फुटबल खेल्थे ।
फ्रान्सेली डिफेन्डर थेओ हर्नान्डेज स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका छन् । एट्लेटिको म्याड्रिडका १९ वर्षीय खेलाडी हर्नान्डेजले अघिल्लो सिजन आल्भेसबाट व्यावसायिक फुटबल खेलेका थिए । स्पेनिस मिडफिल्डर इग्नासियो कामाचो र इङ्ल्यान्डको युवा टोलीका खेलाडी कायलेन हिन्ड्स जर्मन क्लब उल्फ्सबर्गमा आबद्ध भएका छन् । २७ वर्षीय कामाचो सन् २०२१ र १९ वर्षीय हिन्ड्स सन् २०२० सम्म उल्फ्सबर्गमा रहनेछन् ।
रियल म्याड्रिडका स्ट्राइकर जेम्स रोड्रिग्वेज भने लोनमा जर्मन फुटबल क्लब बायर्न म्युनिखमा आबद्ध भएका छन् । २५ वर्षीय रोड्रिग्वेज सन् २०१४ मा मोनाकोबाट ६ वर्षका लागि रियल म्याड्रिडमा आबद्ध भएका थिए । यसअघि लिभरपुलले रोड्रिग्वेजमाथि आँखा लगाएको थियो । उनका लागि लिभरपुलले ६ करोड ६० लाख पाउन्ड खर्चने तयारी गरेको थियो ।
कुन खेलाडी कहाँ
(१) म्यानचेस्टर युुनाइटेडका कप्तान वेन रोनी आफ्नो ‘ब्वाईहुड क्लब’ एभर्टन फर्किए ।
(२) स्विडेनका चर्चित स्ट्राइकर ज्लाटन इब्राहिमोभिच म्यानचेस्टर युनाइटेडसँग नयाँ सम्झौताको तयारीमा ।
(३) बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु नौ करोड ७० लाख अमेरिकी डलरमा म्यानचेस्टर युनाइटेडमा । लुकाकु पल पोग्बापछिका सबैभन्दा महंगा खेलाडी।
(४) ब्राजिलियन खेलाडी डानी आल्भेस इटालियन सिरिए क्लब युभेन्ट्सबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनमा ।
(५) ब्राजिलियन खेलाडी डगलस कोस्टा भने जर्मन क्लब बायर्न म्युनिखबाट ऋणमा युभेन्ट्समा ।
(६) फ्रान्सको यू—२० राष्ट्रिय टोलीका युवा मिडफिल्डर आमिन हारित एक करोड युरोमा जर्मन क्लब साल्केमा ।
(७) चेल्सीका पूर्वखेलाडी १९ वर्षीय स्ट्राइकर डोमिनिक सोलान्की ३० लाख पाउन्डमा इङ्लिस क्लब लिभरपुलमा ।
(८) अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी बार्सिलोनामै र कर छलीको आरोप लागेपछि क्लब छाड्ने चर्चा चलेका पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडमै रहने ।
(९) जर्मन स्ट्राइकर लुकास पोडोलस्की जापानी क्लब भिसेल कोबेमा आबद्ध ।
(१०) फ्रान्सेली स्ट्राइकर एलेकजेन्डर लाकाजेट्टी ६ करोड ८० लाख अमेरिकी डलरमा इङ्लिस क्लब आर्सनलमा आबद्ध ।
(११) फ्रान्सेली डिफेन्डर थेओ हर्नान्डेज स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट अर्को स्पेनिस क्लब रियल म्याड्रिडमा ।
(१२) स्पेनिस मिडफिल्डर इग्नासियो कामाचो र इङ्ल्यान्डको युवा टोलीका खेलाडी कायलेन हिन्ड्स जर्मन क्लब उल्फ्सबर्गमा ।
(१३) लिभरपुल जाने अनुमान गरिएका रियल म्याड्रिडका स्ट्राइकर जेम्स रोड्रिग्वेज लोनमा जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध ।- अन्नपूर्ण बाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget