Websoft University

www.radiomakalu.com || 021-522512


मुग्लिन-नारायणगढ सडकखण्डमा फेरि खस्यो पहिरो


मुग्लिन-नारायणगढ सडकखण्डमा फेरि खस्यो पहिरो

इच्छाकामना चितवन :  अस्पतालमा आमा भेट्न भरतपुर जान लागेकी तनहुँ किहुकी मिठु सिग्देल नारायणगढ-मुग्लिन सडकखण्को चारकिलोमा पहिरो गएका कारण बाटोमै अलपत्र पर्नुभयो । अन्तिम अवस्थाकी आमाको मुख हेर्न हिँडे पनि चार किलोमा पहिरो गएपछि उहाँ बाटोमै अलपत्र पर्नुभएको हो ।
सडक नखुलेपछि उहाँले आक्रोशित हुँदै भन्नुभयो, ‘यात्रुले यस्तो सास्ती पाउँदा केही नगर्ने सरकार किन चाहियो हामीलाई ।' लामो प्रयासपछि राति बाटो खुलेपछि उहाँ त्यसतर्फ जानुभएको छ । सिग्देलकी ७० वर्षीय आमा तारा लम्सालको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मुग्लिन-नारायणगढ सडकखण्डको इच्छाकामना गाउँपालिका-६ चारकिलोमा पहिरो खसेको हो । पहिरोका कारण दिउँसोदेखि नै सडक अवरुद्ध भएको थियो । साढे तीन बजे गएको पहिरो साँझसम्म पनि हटाउन सकिएको थिएन । पानी नपर्दा पनि खसेको पहिरो हटाउन समय लागेपछि यात्रु बिचल्लीमा परेका हुन् । यात्रुहरू पहिरो जोखिमको उक्त क्षेत्रमा रात काट्न बाध्य थिए । सडक निर्माणका क्रममा लापरवाही भएको कारण आफूहरूले सास्ती पाएको यात्रुको गुनासो छ।
पानी नपर्दा पनि चारकिलोमा पहिरो खसेपछि यात्रुको विचल्ली ।
सामान्य अवस्थामा पनि आफूहरूले दुःख पाएको भन्दै यात्रुले सरकारी संयन्त्रको आलोचना गरेका छन् । पहिरो हटाउन समय लागेपछि यात्रु थप आक्रोशित बनेका थिए । सानी छोरीका साथ नारायणगढ जान लागेकी पोखराकी विमला शर्मा पनि बिचल्लीमा पर्नुभयो । तीन घन्टा कुर्दा पनि पहिरो हटाउने संकेत नदेखेपछि दुःख पाएको उहाँको गुनासो छ । ‘हेर्दा हेर्दै पहिरो खस्यो, तीन घन्टाभन्दा बढी भयो बाटोमा बसेको, दुःख पाइयो', शर्माले भन्नुभयो, ‘ज्यान जोखिममा राखेर बसेका छौं, राति कसरी बस्ने ? '

पहाडबाट ढुंगा खसेका कारण पहिरो हटाउन निकै समय लागेको थियो । मोटरसाइकल र ठूला सवारीसाधन बाटोमै रोकिएका थिए । पहिरो खसेपछि दुईवटा लोडर प्रयोग गरी हटाउन सुरु गरिएको थियो ।
करिब ३ हजार घनमिटरको पहिरो खसेको नारायणगढ सडक आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो । जोखिम हुने भन्दै साँझ परेपछि पहिरो हटाउने काम रोकिएको थियो । सडक आयोजनाको ३३.६ चेनमा पर्ने चार किलोमा पहिरो खसेको हो । ‘ठूलो पहिरो भएका कारण सफा गर्न समय लागेको इन्जिनियर खनालले जानकारी दिनुभयो । साँझसम्म एकतिहाइ मात्र पहिरो हटाइएको थियो । ढुंगा खसेका कारण पहिरो पन्छाउन कठिनाइ भएको थियो । नारायणगढतर्फ जाने सवारीसाधन मुग्लिनमा रोकिएका थिए ।
चार किलोमा प्रायः पहिरो गइरहन्छ । तोपे खोलादेखि चेपाङ डाँडासम्मको दुई किलोमिटर दूरीमा पर्ने १२ स्थान पहिरोको जोखिममा रहेको सडक आयोजनाले जनाएको छ । सडक स्तरोन्नति गर्दा पहाड कटान गर्नुपरेकाले पहिरो खस्न थालेको स्थानीय बताउँछन् । यात्रु आफूहरूको मर्कालाई वास्ता नगरिएको गुनासो गर्छन् । वैकल्पिक बाटो नहुँदा सामान्य पहिरो जाँदा पनि यात्रुले सास्ती पाउँदै आएका छन् ।
फेरि म्याद थपियो
नारायणगढ-मुग्लिन सडक आयोजना निर्माणका लागि फेरि म्याद थप गरिएको छ । सडक स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीलाई करिब साढे दुई महिना म्याद थप गरिएको हो । सडक विभागले २३ असारमा गरेको निर्णयअनुसार २०१८ फेब्रुअरी २० सम्मका लागि समय थपिएको आयोजनाका इन्जिनियर खनालले जानकारी दिनुभयो । सुरुको सम्झौताअनुसार २०१७ को अप्रिल २३ मा सक्नुपर्ने थियो । भूकम्प र नाकाबन्दीका कारण निर्माण कार्य प्रभावित भएको भन्दै समय-सीमा बढाउन माग गरेका थिए ।
दोस्रो पटक थपिएअनुसार २०१७ को डिसेम्बर २१ मा सक्नुपर्ने थियो । त्यसपछि पनि दुई पटक म्याद थपिएको थियो । निर्माण कम्पनीले ३ सय दिनभन्दा बढी माग गरेका थिए । पहिला थप गर्दा नै पर्याप्त समय नदिएको भन्दै पुनः समय थप्न उनीहरूले माग गरेका थिए । म्याद थप गरेपछि पुनः तालिका बन्नेछ । अहिलेसम्म ५१.४ प्रतिशत मात्र काम सम्पन्न भएको छ । ‘म्याद थप गरेपछि बन्न सक्ने आशा देखियो', खनालले भन्नुभयो ।- अन्नपूर्ण  बाट , तस्बिर अनिल ढकाल

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget