Websoft University

www.radiomakalu.com || 021-522512


राजपाको आन्दोलनले अशान्त बन्यो तराई-मधेस

राजपाको आन्दोलनले अशान्त बन्यो तराई-मधेस


नवलपरासीमा प्रदर्शनमा उत्रिएका राजपाका नेता कार्यकर्तालाई पक्राउ गर्दै प्रहरी । तस्बिर : अन्नपूर्ण

काठमाडौं,जेठ ३१ गते ।   संविधान संशोधन, तराई-मधेसमा जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या थप्नुपर्ने, मधेस आन्दोलनमा पक्राउ परेका सबैलाई रिहा गरी आन्दोलनपछि लगाइएका सबै मुद्दा फिर्ता हुनुपर्नेलगायत माग सम्बोधन नगरी स्थानीय तहको निर्वाचन गर्न लागिएको भन्दै बन्दहडतालमा उत्रिएको राष्ट्रिय जनता पार्टी (राजपा) बन्दको पहिलो दिन मधेस अशान्त भएको छ ।
यसअघिका आन्दोलनमा एमालेप्रति बढी आक्रोशित मधेसी पार्टीका कार्यकर्ता यसपटक भने यसअघि आन्दोलनमा सहकार्य गरेको मधेसकेन्द्रित अर्को दल संघीय समाजवादी फोरम नेपालप्रति नै बढी आक्रामक बनेका छन् । राजपा सत्तारूढ कांग्रेस-माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेभन्दा पनि बढी फोरममाथि नै खनिएको छ । वीरगन्जमा फोरम नेपालको कार्यालय तोडफोड भएको छ ।
असार १४ को निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको राजपाले 'मधेस, थरूहट र लिम्बुवान क्षेत्रका चारदिने बन्द' आह्वान गरेको पहिलो दिन तराई-मधेस क्षेत्र अशान्त देखिएको हो ।
राजपा नेपालको आमहडतालका कारण जनकपुरसहित धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा,रौतहटसहितका जिल्लामा प्रभाव परेको हो । बन्दले सार्वजनिक यातायातका सवारीसाधन, शैक्षिक संस्था, व्यापारिक प्रतिष्ठान, वित्तीय संस्था, कलकारखाना, उद्योगधन्धा पूर्ण रूपमा ठप्प भए । जनकपुरबाट चल्ने लामो तथा छोटो दूरीका सवारी सञ्चालनमा नआउँदा यात्री अलपत्र परेका थिए ।
कांग्रेस कार्यालय तोडफोड
परासी : राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले नवलपरासी क्षेत्र नं ५ का सांसद विक्रम खनालको कार्यालय र कांग्रेसको क्षेत्रीय कार्यालय तोडफोड गरेका छन् । मधेसका माग पूरा नभएसम्म प्रमुख तीन दलका पार्टी कार्यालय र सम्पर्क कार्यालय राख्न नदिने भन्दै राजपाका कार्यकर्ताले मंगलबार सांसद खनालको सदरमुकाम परासीस्थित सम्पर्क कार्यालय र कांग्रेस क्षेत्र नं ५ को कार्यालय तोडफोड गरेका हुन् ।
स्थानीय निर्वाचनको विरोधमा आह्वान गरिएको बन्दका क्रममा सवारीसाधन तोडफोड र उच्छृङ्खल गतिविधि बढाएको भन्दै प्रहरीले १५ जना कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई एक घन्टापछि छाडिएलगत्तै तोडफोड गरिएको हो ।
प्रहरीले छाडेपछि फर्कंदै गरेका जिल्ला नेतासहितको जुलुसले सांसद खनालको कार्यालय र क्षेत्रीय समितिको कार्यालय तोडफोड गरेको प्रहरीले जनाएको छ । आन्दोलनका कारण सांसद खनालको कार्यालय बन्द रहे पनि ताला फोडेर तोडफोड गरिएको हो । कार्यालयभित्र पसेर उनीहरूले कुर्सी, टेबल र दराज तोडफोड गरेका छन् । केही कुर्सी सडकमा फालिदिएका छन् । राजपाका कार्यकर्ताले प्रहरीकै अगाडि ढुंगा प्रहार गर्दै तोडफोड गरे पनि प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन ।
दुईवटा स्कोर्पियो गाडी तोडफोड
बन्दको अवज्ञा गरेको भन्दै राजपा कार्यकर्ताले मंगलबार परासीमा दुईवटा स्कोर्पियो गाडी र ई-रिक्सा तोडफोड गरेका छन् । चुनाव प्रचारप्रसारका टी-सर्ट लगाएर आएका केही राजनीतिक दलका कार्यकर्तालाई कुटपिट गरेका छन् । राजपाका कार्यकर्ता तोडफोड र आक्रमणमा उत्रिन थालेको भन्दै प्रहरीले जिल्ला अध्यक्ष पुरन चौधरीसहित १५ कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई एक घन्टापछि रिहा गरिएको जिल्ला प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो । मन्त्रालयको आदेशमा सबैलाई छाडिएको उहाँको भनाइ छ ।
कांग्रेस जिल्ला समिति नवलपरासीले पार्टीको ५ नं क्षेत्रीय समितिको कार्यालयमा भएको तोडफोडको निन्दा गरेको छ । कांग्रेस जिल्ला सभापति विष्णु लामिछानेले मंगलबार विज्ञप्ति निकाल्दै पार्टी कार्यालय र सम्पर्क कार्यालयमा तोडफोड गर्दैमा समस्या समाधान नहुने भन्दै राजपाका जिल्ला नेता एवं कार्यकर्तालाई आन्दोलनका क्रममा संयमित हुन आग्रह गर्नुभएको छ ।
मेयर उम्मेदवारको गाडी पनि तोडफोड
नेपालगन्ज : कांग्रेसका नेपालगन्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार डा. सुरेशकुमार कनोडियाको गाडी तोडफोड गरिएको छ । चुनाव प्रसारप्रसारका क्रममा मंगलबार बिहान साढे ८ बजे त्रिभुवन चोक पुग्नुभएका डा. कनौडियाको बा १४ च १३८७ नम्बरको गाडीमा ढुंगामुडा प्रहार गरी तोडफोड गरिएको हो । आफ्नो पार्टीको प्रचारमा रहेको गाडी तोडफोडका क्रमका प्रकाउ परेका राष्ट्रिय जनता पार्टी बाँकेका नेता ललित रौनियारलाई छुटाउन उहाँ भने जिल्ला प्रहरी कार्यालय पुग्नुभएको थियो ।
ढुंगा प्रहार गरेको अभियोगमा राजपा नेता रौनियारलाई प्रहरीले पक्राउ गरेको थियो ।डा. कनौडियाले रौनियारलाई छुटाउन सदासयता देखाएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले बताउनुभयो । 'शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन गराउने सम्बन्धमा समेत कुरा भयो', उहाँले भन्नुभयो । राजपाका केन्द्रीय सदस्य आदेश अग्रवालले बन्दमा गाडी चलाएको कारण तोडफोड भएको बताउनुभयो ।
राजपाका सहमहामन्त्री पशुपतिदयाल मि श्रले फेसबुक स्टाटसमार्फत पक्राउ परेका रौनियारलाई नछोडिए गाउँमा पस्ने सबै प्रचार गाडी तोडफोड गर्ने चेतावनीसमेत दिनुभएको छ ।राजपाको बन्द असर भने नेपालगन्जमा सामान्य परेको छ । त्रिभुवन चोक, बीपी चोक र नेपालगन्ज गुलरिया सडकअन्तर्गतको मानपुरमा बन्दकर्ताले सडक अवरुद्ध गरेका थिए ।
नौवटा सवारी तोडफोड
विराटनगर : बन्द उल्लंघन गरेको भन्दै राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले विराटनगरका विभिन्न स्थानमा मंगलबार नौवटा सवारी साधन तोडफोड गरेका छन् । एउटा माइक्रोबस, एउटा कार, तीन सिटी सफारी र चारवटा टेम्पोमा तोडफोड भएको प्रहरीले जनाएको छ । बन्दकर्ताले बा ३ ख ८३७४ नम्बरको माइक्रोबस, को १ ह ४२१८, को १ ह ४७२५ र को १ ह ७६२८ नम्बरको सिटी सफारी तोडफोड गरेका छन् ।
त्यस्तै को १ ह १६८३, को १ ह ७६२, को १ ह १६७६ र को १ ह ७५२ नम्बरको टेम्पोमा पनि तोडफोड गरेर क्षति पु¥याइएको छ । तोडफोडमा संलग्नलाई भने प्रहरीले पक्राउ गरेको छैन ।
बन्द उल्लंघन गरेको भन्दै राजपा कार्यकर्ता मंगलबार बिहानैदेखि तोडफोडमा उत्रिएका थिए । बिहान केहीबेर शान्तजस्तै देखिए पनि बन्दकर्ता दिउँसोबाट अराजक बनेर तोडफोडमा उत्रिएका हुन् ।
राजपाले आयोजना गरेको आमहडतालको प्रभाव मंगलबार विराटनगरमा परेको छ । बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेनन् । केही फाट्टफुट्ट सवारीसाधन सञ्चालन भए पनि बन्दकर्ताले अवरोध गरे । शैक्षिक संस्था, बजार, पसल, उद्योग कलकारखाना पूर्ण रूपमा ठप्प भए । बिहानैदेखि विराटनगरका चोकचोकमा निस्किएका बन्दकर्ताले पसल र सवारीसाधन बन्द गराए ।
सवारीसाधनमा तोडफोड
जनकपुरधाम : राजपा नेपालले आह्वान गरेको आमहडतालका कारण मंगलबार जनकपुरका सरकारी कार्यालयमा पनि सेवाग्राहीको न्यून चाप देखियो । आमहडताल सफल पार्न राजपा नेपालका कार्यकर्ताले जनकपुरमा बिहानैदेखि प्रदर्शन गरेका हुन् । राजपा कार्यकर्ता लाठी लिएर मोटरसाइकलमा बसी बजार बन्द गराउन सक्रिय भएका थिए भने नगरका मुख्य चोकमा टायर बाली विरोधसमेत गरिएको थियो ।
यसैबीच बन्द आह्वानकर्ताले जनकपुरमा आधा दर्जनभन्दा बढी सवारीसाधनमा तोडफोड गरेका छन् । बन्दकर्ताले मुजेलियास्थित सशस्त्र प्रहरी बेस क्याम्पअघि एउटा टिपर, पुल चोकनजिक ट्र्याक्टरसहित विभिन्न स्थानमा सवारीसाधनमा तोडफोड गरेका हुन् ।
यता, राजपाबाट छुट्टिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै नगरका विभिन्न भागमा उहाँका पोस्टर लगाएर व्यंग्यात्मक कुरा लेखेर विरोधसमेत जनाइएको छ ।
टायर बालेर सडक अवरुद्ध
राजविराज : बन्दको पहिलो दिन मंगलबार राजविराजका शैक्षिक संस्था, उद्योग, कलकारखाना, व्यापार र यातायात ठप्प रहे । भित्री बजार फाट्टफुट्ट चले पनि मुख्य बजार बन्द रह्यो । बन्दका कारण राजविराजबाट लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेन् ।
पूर्व-पश्चिम लोकमार्ग भारदह, शम्भुनाथ र कदमाहालगायत स्थानमा आन्दोलनकारीले यातायात अवरुद्ध गरे । बन्दले पूर्वतर्फ जाने ४० र पश्चिमतर्फ जाने १८ वटा सवारीसाधन राजमार्गमा अलपत्र परेको प्रहरी नायव उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिनुभयो । सप्तरीका विभिन्न स्थानमा रोकिएका ५८ वटा बस, ट्रक, माइक्रो बस, जिप र कारमा सवार सयैाँ यात्रु दिनभर अलपत्र परे ।
सुरुङ्गा ३ स्थित सडकखण्डमा उदयपुरतर्फ बालुवा लिएर गइरहेको ना ६ ख २६२५ नम्बरको ट्रकमा प्रदर्शनकारीले ढुंगा प्रहार गरी सामान्य क्षति पुर्याएको स्थानीयले बताए । मंगलबार बिहानैदेखि राजपाका नेता-कार्यकर्ताले ठाउँठाउँमा टायर बालेर सरकार र निर्वाचनविरुद्घ नाराबाजी गरेका थिए । राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव, महासचिव मनीषकुमार सुमन, सहमहासचिव जयप्रकाश ठाकुरलगायतको अगुवाइमा राजपा कार्यकर्ताले दिनभर राजविराज नगरक्षेत्रमा प्रदर्शन गरेका हुन् ।- अन्नपूर्ण बाट , जिल्ला व्यूरो

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget