Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री देउवाका चुनौती




अमरदीप मोक्तान

काङ्ग्रेस सभापति शेरबहादुर देउवा मङ्गलबार संसदबाट चौथो पटक नेपालको ४०औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका छन् । बारम्बार प्रधानमन्त्री बन्ने भाग्यशालीमध्येका एक नेता भए पनि शेरबहादुर देउवामाथि हमेसा असफलको पदवी झुण्डी नै रह्यो । शेरबहादुर देउवा विगतमा प्रधानमन्त्री हुँदाको समय र परिस्थिति र यस पटकको प्रधानमन्त्री पदमा आकाश जमिनको फरक छ । यस पटकको प्रधानमन्त्री पद काँडा नै काँडाबीचमा फूलेको गुलाव फूलजस्तै छ । जनताले सुम्पेको कार्यभार सफलतापूर्वक सम्पन्न गर्न सके शेरबहादुर देउवा गुलावको फूल जस्तै नेपालको इतिहासमा सुन्दर र सुभाषित हुने छन् । जनताले सुम्पिएको अभिभारा पूरा गर्न सकेनन् भने राष्ट्रले त कष्ट पाउने नै छ भने शेरबहादुरको नाम नेपाली इतिहासमा कलङ्कित प्रधानमन्त्रीका रुपमा अङ्कित हुने छ ।

विगतमा जे–जस्ता आक्षेप लागे पनि प्रधानमन्त्रीका रुपमा बाबुराम भट्टराईदेखि प्रचण्डसम्म आइपुग्दा प्रायजसो प्रधानमन्त्रीले कुनै न कुनै रुपमा राम्रो कार्य गरेर इतिहासमा नाम दर्ज गराएका छन् । बाबुराम भट्टराईको सडक विस्तार योजना, नेपालको अर्थनीतिलाई सही दिशामा ल्याउन सबैलाई करको दायरामा ल्याउने कार्य तथा अनुगमन कार्यलाई तीव्रता दिएर उपभोक्ता हितको संरक्षन गर्ने कार्य सराहनीय थियो । रुग्ण र अस्वस्थ भए पनि स्व. सुशील कोइरालाद्वारा नेपालको ऐतिहासिक संविधानको घोषणा गर्नु प्रशंसनीय थियो । नेपालको ऐतिहासिक संविधान घोषणापश्चात क्षुब्ध हँुदै भारतले लगाएको अघोषित नाकाबन्दीविरुद्ध खड्गप्रसाद ओलीले अडिग र अटल भएर सामना गर्नुको साथै मित्र राष्ट्र चीनसँग ऐतिहासिक पारवहन सन्धि गरेर भारतको बङ्गाल बिहार, उत्तर प्रदेश, उत्तराखण्ड परिवेष्ठित मुलुकबाट उन्मुक्ति दिलाउँदै भूपरिवेष्ठित नेपालमा परिणत गर्नु नेपाल र नेपाली जनताले युगौँ युगसम्म याद रहने सहासिक कार्य थियो । खड्ग ओलीले देखाएको अदम्य साहसिक निर्णयको तत्कालीन रुपमा लाभ नदेखिए पनि उल्लेखित ऐतिहाशिक निर्णयका कारण भविष्यमा नेपाल विकासशील राष्ट्रको श्रेणीमा परिणत हुने अवस्यम्भावी छ । पुष्पकमल दाहालको दस महिने कार्यकालको सन्दर्भमा भन्नुपर्दा यस पटक विगतको तुलनामा प्रचण्डमा धेरै परिपक्वता देखियो ।

प्रचण्ड कार्यकालको उपलब्धि

१) प्रथम चरणको नगरपालिका र गाउँपालिकाको सफलताका साथ सम्पन्न गर्नु ।

२) मित्र राष्ट्र चीनसँग वान बेल्ट वान रोड परियोजनामा हस्ताक्षर गर्नु ।

३) काठमाडौँ–निजगढ द्रुतमार्गको शिलान्यास गरी नेपाली सेनालाई सडक निर्माण गर्ने जिम्मा दिने निर्णय गर्नु । मधेसी दलद्वारा मधेसी शब्दरहित पार्टीको नामकरण गर्नु प्रचण्ड कार्यकालमा भएका कार्यहरु हुन् । त्यसको श्रेय प्रचण्डको पोल्टामा नै जान्छ ।

४) सबैभन्दा महत्वपूर्ण दुवै छिमेकी मित्र राष्ट्र चीन र भारतसँग सन्तुलन बनाउँदै मित्रतापूर्ण सम्बद्ध कायम गर्नुले प्रचण्डको राजनीतक परिपक्वता पुष्टि हुन्छ ।

नेपाल संवेदनशील घडीमा उभ्भिएको बेला ४०औँ प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवाको कार्यकाल सफल हुने वा न हुने त्यो नेपाली जनताले हेर्न बाँकी नै छ । शेरबहादुरको विगतको प्रधानमन्त्रित्व काललाई फर्केर हेर्दा सफल र असफलको मिश्रण भए पनि असफलताको पल्ला नै भारी देखिन्छ । स्मरण रहोस् शेरबहादुर प्रधानमन्त्रित्व कालमा राजनीतिलाई दुर्गन्धित गर्ने पजेरो काण्ड, सांसद खरिद–बिक्री जस्तो राजनीतिक विकृतिको सुरुवात भएको थियो भने तत्कालीन माओवादीसँग राजनीतिक परिपक्वता प्रदर्शित नगर्नुको कारण नेपाल दस वर्षे जनयुद्धमा होमिन पुग्यो । तेस्रो पटकको प्रधानमन्त्रित्व कालमा राजा ज्ञानेन्द्रले असफलताको बिल्ला भिराउँदै शेरबहादुरलाई अपदस्थ गर्दै शासन सत्ता आफ्नो हातमा लिएका थिए ।

एकातर्फ शेरबहादुर ३८८ सभासदको विशाल बहुमत प्राप्त गर्दै नेपालका ४०औँ प्रधानमन्त्री बनेको अवस्था छ भने दोस्रोतर्फ दोस्रो चरणको नगरपालिका र गाउँपालिकाको चुनावलगतै प्रदेश र केन्द्रको चुनाव सम्पन्न गर्नु पर्ने, एमाले जस्तो शक्तिशाली विपक्षको सामना गर्नुपर्ने, संविधानमा असन्तुष्ट पक्षलाई लिएर अघि बढ्नुपर्ने, संविधानको पूर्ण रुपमा कार्यान्वयनका चरणमा आउने व्यवधानलाई कुशलतापूर्वक समाधान गर्नुपर्ने र संविधान संशोधन गरेर सम्पूर्ण नेपालीको चित्त बुझ्ने गरी सर्वस्वीकार्य बनाउने विशाल अभिभारा पनि शेरबहादुरको काँधमा छ ।

कहिलेकहीँ समय र परिस्थिति नकारात्मक देखिए पनि त्यसभित्र सकारात्मक कुरा लुकेको हुन्छ । शेरबहादुर समक्ष समय कम र चुनौतीको भण्डार साथै महत्वपूर्ण परीक्षाको घडी पनि हो । शेरबहादुरको यो कार्यकालमा राम्रो, असल र उत्कृष्टबाहेक भुल र गल्ती भन्ने शब्दको कुनै स्थान छैन र स्थान पाउनु पनि हँुदैन । शेरबहादुरको एक भुलले उनको राजनीति हमेसाका लागि अन्त्य हुने नै छ भने नेपाल र नेपालीमाथि भयङ्कर विपदको अवस्था आउन सक्छ । तसर्थ शेरबहादुरले बुद्धिमत्ता प्रकट गर्दै विनाभेदभाव सबैलाई साथ लिएर एकएक पाइला अगाडि बढाउनुपर्छ । शेरबहादुरका काँधमा आएको चुनौती ठूलो अवसर पनि हो । यो अवसरको दुरुपयोग गरिए नेपाल अस्वस्थ हुने छ भने सदुपयोग गर्न सके नेपाल स्वस्थ, सबल नेपालमा परिणत हुने बाटो खुल्ने छ र नेपालको इतिहासमा कुनै पनि राष्ट्रमा बिरलै नेताले प्राप्त गर्ने ‘युग पुरुष’को उपाधिले शेरबहादुर विभूषित हुने छन् ।

डाडा खर्क, दोलखा
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget