Websoft University

www.radiomakalu.com || 021-522512


५२ घुस्सा ५३ ठक्कर


५२ घुस्सा ५३ ठक्कर
कुनै बेला एसएलसीसरहको परीक्षा दिन नेपाली विद्यार्थीहरू कलकत्ता वा इलाहाबाद पुग्नुपथ्र्यो, सातु-चामल बोकेर । पटना विश्वविद्यालयले त्रिचन्द्र कलेजलाई मान्यता दिएपछि पनि त्रिभुवन विश्वविद्यालय स्थापना नभएसम्म पटनामा जाँच दिनु जानुपथ्र्यो । ज्यानबहादुर प्रधान, दिनेशानन्द वैद्य, यज्ञराज जोशी, इन्द्रबहादुर नकर्मी, अम्बरबहादुर कार्की, शेषराज दली, रघुवर वैद्य, कुलनाथ लोहनी, कर्णबहादुर श्रेष्ठ, रामनारायण शुक्ला, रामप्रसाद जोशी र तोरणबहादुर शाह जस्ता विद्यार्थीले १९९१ सालमा नेपालबाटै एसएलसी उत्तीर्ण गर्दा उनीहरूको ठूलो इज्जत भएको त्यसबेलाको गोरखापत्रले छापेको पाइन्छ ।


युवराज गौतम

आफ्ना ३८ वर्षीय दाजु देवशमशेरलाई हटाएर ३५ वर्षकै उमेरमा प्रधानमन्त्री भएका चन्द्रशमशेरका पालासम्म १६१ वटा मात्र विद्यालय रहेको नेपालमा विद्यार्थी र शिक्षक संख्या थोरै भए पनि भारतका नामी स्कुलहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता भएको देखिन्छ । १९८५ सालको प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट ठहरिएका रामप्रसाद मानन्धर एमएसम्म नै सर्वोत्कृष्ट भए । नेपालको पढाइ कमजोर थिएन भन्ने यो एउटा उदाहरण हो । अरू कुरामा पनि नेपाल नामी थियो ।

रूसमा अक्टोबर क्रान्ति सम्पन्न भएकै वर्ष (सन् १९१७) अमेरिकाबाट विद्युत् इन्जिनियर भएका पद्मसुन्दर मल्लले छोरीलाई पनि खरसाङ (दार्जिलिङ) लगेर पढाए, ब्रिटिस शासनका बेला । ती बालिका (वृन्दा शाह) पछि गएर भारतका लागि नेपाली राजदूत भइन् । उनले शिक्षा, संस्कार र सम्पत्तिको सदुपयोग गरिन् ।

सम्पत्ति कमाउन समय लाग्दैन । मध्यरातमा डकैती गरेर भोलिपल्ट बिहानै करोडपति पनि बन्न सकिन्छ । अर्थात् असल हुन मात्र समय लाग्छ, सफल हुन समय लाग्दैन । सभ्य र संस्कारी बन्न धेरै वर्ष लाग्छ ।


राष्ट्र र जनताको हितमा विवेकपूर्वक काम गर्ने हो भने प्रत्येक नेपालीले दिनको पाँच-पाँच रुपैयाँ छुट्टै दान दिएर दिनैपिच्छे करोडौं रुपैयाँको 'विकास कोष' बनाउन सकिन्छ तर सत्ता होइन, राष्ट्र सर्वोच्च हुन्छ र राजस्वको सदुपयोग मात्र हुनेछ भनेर जनतालाई आश्वस्त तुल्याउन सक्ने महानायक खोइ ?

तनहुँका यदुनाथ खनाल हुन् वा इलामका नरेन्द्रनाथ बाँस्तोला, दाङका टेकनाथ गौतम हुन् वा कास्कीका लेखनाथ पौड्याल, अर्घाखाँचीका दधिराम मरासिनी हुन् वा पाँचथरका स्वामी प्रपन्नाचार्य ती सबैले आफू र परिवारको मात्र चिन्ता गरेनन् । समाज र राष्ट्रलाई पनि योगदान गरे । जीवनमा बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाएका धेरै संघर्षशील, विचारशील, विवेकशील, देशभक्त र सुशील चरित्रहरू मिलेर नेपाल राष्ट्र बनेको हो । कैयन् आरोह-अवरोह भोग्नुपरे पनि नेपालको अस्तित्व सुरक्षित रहेको हो । नेपाल एउटा निश्चित क्षेत्रफल मात्र होइन, विश्वकै उदाहरणीय राष्ट्र हो । त्यसैले यसको गाथाजगत् प्रसिद्ध र विपुल चहकिलो छ ।

कालीगण्डकी नदीबाट मात्र २२ हजार किलोवाट विद्युत् उत्पादन हुन सक्छ भनेर मेहनतपूर्वक तयार पारिएको प्रतिवेदन सिंहदरबार जल्दा खरानी भएको कुरा पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले सुनाएका थिए । २००७ सालको क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेका कोइराला भन्थे, 'राजनीतिमा सक्रिय हुनेहरूले राष्ट्रलाई होइन, दलहरूलाई प्राथमिकता दिन थाले । पृथ्वीनारायण शाहले एकीकरण गरेको राष्ट्र २००७ सालपछि दलहरूको सत्ता संघर्षको सिकार भयो ।

नेपाल सिंगापुर, मलेसिया र दक्षिण कोरियाभन्दा बलियो र स्वावलम्बी थियो, तर विस्तारै घृणित राजनीतिले थला पर्दै गयो ।' पुरानो बानेश्वरस्थित उनको निवासमा झन्डै तीन घन्टा भएको वार्तामा मातृकाबाबु भावुक देखिन्थे । उनले पञ्चायतकालमै भनेका थिए, 'पञ्चहरूमा बढेको गुटबन्दी र भ्रष्टाचारले निर्दलीय प्रणाली धरापमा परेको छ । यसले गर्दा जनतामा उत्साह मर्दै गएको छ ।' बानेश्वर हाइटमै घर भएका टंकप्रसाद आचार्यले झैं कोइरालाले पञ्चायत व्यवस्थाको विरोध त गरेनन्, तर वृद्धवस्थामा उनी निकै निराश देखिन्थे । टंकप्रसादमा त्यस्तै चिन्ता थियो ।

अन्वेषकहरूले सत्य उत्खनन गर्दा सम्बन्धित व्यक्ति र स्रोतको विश्वसनीयता जाँच्नैपर्छ । २०१७ सालतिर काठमाडौंका सक्रिय युवकहरू धर्मरत्न यमी (तुलाधर) तथा भुवनलाल प्रधानलगायतका उपत्यकाका पचासौं सामाजिक, साहित्यिक, राजनीतिक, प्राज्ञिक र सांस्कृतिक क्षेत्रका व्यक्तिहरूबाट सूक्ष्मरूपमा सूचना लिन्थे, राजा महेन्द्र । उनका सचिव, सल्लाहकार, सहयोगी प्रायः सबै योग्य र मिलनसार थिए । त्यसैले उनी आफ्नो कार्यक्रम र उद्देश्यमा सफल भए । असल काम गर्नेलाई नगद, घर, जग्गा आदि बकस दिएर स्वतन्त्र ढंगले काम गर्न प्रोत्साहन दिन्थे राजा महेन्द्र ।

झन्डै १२ वर्षअघि नेपाल टेलिभिजनमा पंक्तिकारले सञ्चालन गरेको अन्तर्वार्तामा राजनीतिज्ञ तथा इतिहासविद् भुवनलाल प्रधानले यसको खुलासा गरेका छन् । धर्मरत्न यमी र भुवनलाल प्रधानलाई घर किन्न राजा महेन्द्रले चालीस-चालीस हजार रुपैयाँ बकस दिएका थिए । साहित्यकार धर्मराज थापादेखि लिएर पचासौं राजनीतिज्ञ, कर्मचारी र स्रष्टाले त्यसरी नगद र जग्गा जमिन बकस पाएका उदाहरण छन् । 'तिमीहरूले राष्ट्रको लागि ढुक्क भएर काम गर्नू, गाँस, बासको व्यवस्था म गरिदिउँला' राजा महेन्द्रले त्यसरी हौसला दिने गरेको त्यसबेलाका चर्चित व्यक्तिहरू सुनाउँछन् । त्यस्तो उदार व्यवहारले राष्ट्रलाई बेफाइदा भएन ।

हाम्रा पुर्खाले बाँच्नको निम्ति आफ्नो मात्र स्वार्थ हेरेनन्, समाज र राष्ट्रको पनि रक्षा गरे । वनजंगल, नदी, पहाड, ताल, गाउँ, सहर सबैको संरक्षणमा ध्यान दिए । कान्तिपुर, ललितपुर र भक्तपुरमा मात्र सयकडौं ढुंगेधारा बनाए । सभ्यता झल्काउने हजारौं मन्दिर, धर्मशाला, गुम्बा, देवालय बनाए । डा. रमेश ढुंगेलसहितको टोली गोरखा जाँदा पंक्तिकारले नरेश्वर गाउँमा राजा रणबहादुर शाहले बनाएको मन्दिर दर्शन गर्ने मौका पाएको थियो । संवत् १८६८ मा गीर्वाणयुद्धविक्रम शाहले स्थापना गरेको काठमाडौंको स्तम्भ-अभिलेखमा बागमती नदी (त्यसबेला वाग्वति भनिएको छ) को वर्णन छ, 'जसको शुद्ध पानीको सधैं सेवनले पाप नास गर्छ, दुःख हर्छ, कल्याण गर्छ, मुक्ति दिन्छ, ती वाग्वतीको म शरण पर्छु ।' (शाहकालीन कला र वास्तुकला, डा. जगदीशचन्द्र रेग्मी, पृष्ठ ४२१)

आजका करोडपति, सभ्य र अत्यन्त टाठाबाठा भन्नेहरूले राजनीति मात्र होइन, नदी, ताल, वनजंगल, गाउँ र सहरलाई प्रदूषित र विकृत बनाएका छन् । पोखराका केही 'सभ्य' नवधनाढ्यहरूले नै फेवाताल फोहोर बनाएर पुरिरहेका छन् । काठमाडौंवासीले बागमती, विष्णुमती सबै विकृत बनाएका छन् । प्रदूषण नगर्ने हो भने सफाइ गर्नै पर्दैन, नदीले आफैं नुहाउँछ । विदेशीको सहायता चाहिँदैन ।

धर्म, संस्कृति र सभ्यता हरेक राष्ट्रको पहिचान हो । नेपाल अधिराज्यको संविधान २०१५ मा भनिएको छ, प्रत्येक नागरिकले प्रचलित परम्पराको मर्यादा राखी सनातनदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्न सक्नेछ । तर कसैले कसैको धर्म परिवर्तन गराउन पाउने छैन ।' नेपालको संविधान २०१९ मा धर्मसम्बन्धी हकमा त्यस्तै व्यवस्था छ । नेपाल अधिराज्यको संविधान २०४७ मा धर्मसम्बन्धी हकमा (धारा १९) धर्म परिवर्तन गर्न-गराउन नपाइने स्पष्ट उल्लेख छ ।

गणतन्त्रात्मक संविधान २०७२ मा राष्ट्रलाई धर्म निरपेक्ष किन घोषणा गरियो र यसलाई अवसरवादीहरूले किन उत्कृष्ट संविधानको रूपमा शिरोधार्य गरे भन्ने कुरा जगजाहेर नै छ । पुर्खाले बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाएर आर्जेको राष्ट्र, स्वधर्म, परम्परा, सभ्यता आज विस्तारै निर्जीव बन्दै गएको छ । दलहरूलाई राष्ट्र होइन, सत्ता मात्र चाहिएको हो भने विदेशीद्वारा निर्देशित संविधान र राज्यसत्ता नै निर्विकल्प मानिदिए हुन्छ । हाम्रा भावी पुस्ता आफ्नै राष्ट्रमा अल्पमतमा पर्ने अवस्था सिर्जना गर्न वर्तमान संविधान उत्कृष्ट मात्र होइन, सर्वोत्कृष्ट छ । राष्ट्रलाई टुक्रा-टुक्रा बनाउन संघीयताले क्रसर मेसिनकै काम गर्ने देखिन्छ ।

गणतन्त्रले राष्ट्र कति शान्त, सुखी र समृद्ध बनाउँछ भन्ने बुझ्न धेरै दुःख गर्नै पर्दैन, कंगो, रुवान्डा, सुडान, सियरालियोन, मोजाम्बिक, सेन्ट्रल अफ्रिकन रिपब्लिक, नाइजेरिया, लाइबेरिया, बुर्किनाफासो आदिलाई हेरे पुग्छ । दसवटा प्रमुख दरिद्र राष्ट्रमा पर्ने मोजाम्बिक, नाइजर, बुरुन्डी, मालावी, कंगो, सेन्ट्रल अफ्रिकन रिपब्लिक, लाइबेरिया, जिम्बावे र इरिट्रिया जस्ता राष्ट्रमा कहाँ छैन गणतन्त्र ? गणतन्त्रले राष्ट्र धनी र शान्त बन्छ भनेर स्विट्टजरल्यान्ड हेर्न गएका नेताले दस वर्षमा नेपाललाई सुडान बनाउन लागेको हामीले देखिरहेका छौं ।
बजार गएका बाबुले पापा ल्याउँछन् भनेर अवोध केटाकेटीले पर्खे झैं हामी जनताले दस वर्षमा दसवटा प्रधानमन्त्री हेरिसकेका छौं । बाउन्न घुस्सा त्रिपन्न ठक्कर बेहोरिसकेका छौं । युगकवि सिद्धिचरणले लेखेका छन्, 'सहु, सहु, सहु बाबू, सहनै नसके पनि ।' हाम्रो नियति त्यस्तै छ । सहिरहेका छौं।

नेपाली जनता भोट हाल्ने मेसिन होइनन्, तर निर्णय गर्ने अर्कै छ । आज सर्वाधिकार विदेशीमा सुरक्षित छ । सिंहदरबारमा बस्नेहरू कारिन्दा र नौसिन्दा जस्ता छन् । न्याय, राजनीति र कूटनीतिका महत्वपूर्ण फैसलामा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका 'बोधार्थ' मात्र बुझ्ने फाँटवाल जस्ता बनेका छन् ।सिक्किमको निर्णय दिल्लीले गरे झैं विगत दस वर्षयताका हरेक महत्वपूर्ण कुराको छिनोफानो बाह्यशक्तिले गर्ने दुर्भाग्यपूर्ण परिस्थिति ठूला दलहरूले नै सिर्जना गरेका हुन् । त्यसैले ठूलो हुन दूतावासको दुलो खोज्ने प्रवृत्ति बढेको छ ।

राष्ट्रका बहुसंख्यक जनतालाई राष्ट्रिय भावधारामा समेट्ने कुनै प्रोज्ज्वल तथा सुयोग्य व्यक्तित्व दीर्घसोच, स्वतन्त्र चिन्तन र अदम्य स्वाभिमानका साथ लोभ, पूर्वाग्रह तथा हीन भावना त्यागेर हाम्रा बीचमा उभिन्छन् भने जनताले पक्कै पनि भरोसा गर्न सक्छन् । दल, गुट, जात, कान्ला, खोल्सा र ढिस्कोलाई आधार मानेर हिँड्नेहरू र कार्यालयमा विदेशीका तस्बिर सजाउनेहरू एउटा दलका नेता बन्लान्, राष्ट्रनायक हुन सक्दैनन् । अर्थात् संकीर्ण विचार, घृणा, उन्माद, जलन, प्रलोभन, प्रतिशोध, प्रत्युत्पादक चिन्तन, विद्वेष र पीडा बिर्सेर सबै नेपालीलाई अभिभावकको माया र संरक्षण दिन सक्ने नायक खोजेको छ राष्ट्रले । त्यसपछि मात्र राष्ट्र गतिशील बन्न सक्छ।

बालकृष्ण समले अमरसिंह नाटकको भूमिकामा लेखेका छन्, 'अमरसिंह थापाले यस देशलाई रगत छ्यापीछ्यापी हाडले बज्र नठोकेको भए फेरि अमरसिंह कुन आधारमा लड्न पाउँथे ! पृथ्वीनारायण शाहले नेपाललाई एकसूत्रमा नबाँधेको भए वा बाँध्ने प्रयत्न नगरेको भए फेरि स्थुङ्को, गौतम बुद्ध, मानदेव, अंशुबर्मा, जयस्थिति मल्ल, राम शाह, महिन्द्र मल्ल, प्रताप मल्लहरूले कला, साहित्य, संस्कृति, शिल्प, दर्शन, नीति, राष्ट्रियता, वीर्य र पुरषार्थद्वारा यस देशलाई नबनाएको भए पृथ्वीनारायण शाहले कुन केन्द्रमा त्यो सूत्र बाँध्न पाउँथे ? '

समले भने झैँ नेपाल छ, त्यसैले हामीले नेपाली भन्न पाएका छौं । नेपाल साझा घर हो नेपालीको । नेपालमा विकार मात्रै छ भन्दै युरोप र अमेरिकातिर बसेर अग्ला बार्दलीबाट उपदेश दिने प्रवासीहरूले नेपालमै बसेर एक-एकवटा वरपीपल रोपे पनि दस वर्षपछि लाखौं वृक्षले करोडौंलाई छहारी दिने थियो । स्वदेशमा द्वन्द्व, हड्ताल, भूकम्प, नाकाबन्दी, बेरोजगार, अभाव, तनाव, बेमेल र वैमनस्यका कारण मनोवैज्ञानिक रूपले क्लान्त बनेका करोडौं नेपालीले नेपाल आमा जीर्ण भए पनि उनलाई बचाउन केही न केही गरिरहेका छन् । बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाँदै आएका तर कुनै विदेशी शक्तिको वन्दना नगर्ने लाखौं युवा स्वदेशमै केही गर्न र यही माटोमा मर्न चाहन्छन् । यो प्रबल राष्ट्रिय चेतनाले विदेशीका आज्ञाकारीहरूलाई पनि सोच्न बाध्य बनाएको छ । ठूलाठूला प्रवचन होइन, जनताले स्पष्ट परिणाम देख्न सकिने परिवर्तन खोजेका छन् । त्यस्तो परिवर्तन ल्याउन इमानदार र राष्ट्रवादी नेतृत्व खोजेका छन् ।

दक्षिण एसियामा सामूहिक भावनाको सम्मान गर्दै समूहको खेलाडी (टिम प्लेयर) बन्ने नेतृत्वले सफलता पाइरहेको देखिन्छ । एक्लै उभिन खोज्ने व्यक्ति (लोनर) राजनीतिमा काम लाग्दैन । आफ्ना विचारमा अडिग रहन नसक्ने र घाँस देख्नासाथ सिँगौरी खेल्दै दौडिने राजनीतिक पशुहरू पनि परिदृश्यबाट विस्तारै हराउँदै जानेछन्, कोमिन्ताङ जस्तै । जनभावना बुझ्न नसक्दा ब्रिटेनको संसदीय निर्वाचनमा थेरेसा मेले कन्जरभेटिभ पार्टीलाई बहुमत दिलाउन सकिनन् । यस्ता पछिल्ला घटनाबाट पनि राजनीतिज्ञहरूले शिक्षा लिएनन् भने अहंकार, एक्ले ढेडु प्रवृत्ति वा अवसरवादले उनीहरूलाई धराशायी बनाउँछ, धुलिसात् तुल्याउँछ । किनभने राजनीतिक दल भनेको नेताको व्यक्तिगत सम्पत्ति वा नोकरचाकरको बथान होइन । तसर्थ सार्वजनिक जीवनमा आएका व्यक्तिले मेरो दलबारे सदस्य नै नभएका व्यक्तिले किन टिप्पणी गर्छन् भनेर सामाजिक सन्जाल वा मिडियामा हप्काउन मिल्दैन । दल भनेको जमिनदारी होइन ।

ब्रिटिस लेखक एन्डी मारिनोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मकथामा घतलाग्दो कुरा लेखेका छन्, 'गुजरातको मुख्यमन्त्री छँदा मोदीले पारदर्शी र जिम्मेवार नेताको व्यवहार देखाए । करोडौं भारतीयको मन जितेपछि उनलाई राष्ट्रको नेतृत्व दिँदा केही गर्छन् कि भन्ने विश्वास प्रबल हुँदै गयो ।'

विश्वासयोग्य नेतृत्वले मात्र राष्ट्र हाँक्न र स्थायित्व दिन सक्छन् भन्ने उदाहरण धेरै देशमा पाइएको छ । 'आफ्नी छोरी नखरमाउली, तन्नेरीलाई दोष' भन्ने नेपाली उखान हामीले सुनेका छौं । राष्ट्र र जनताको हितमा विवेकपूर्वक काम गर्ने हो भने प्रत्येक नेपालीले दिनको पाँच-पाँच रुपैयाँ छुट्टै दान दिएर दिनैपिच्छे करोडौं रुपैयाँको 'विकास कोष' बनाउन सकिन्छ तर सत्ता होइन, राष्ट्र सर्वोच्च हुन्छ र राजस्वको सदुपयोग मात्र हुनेछ भनेर जनतालाई आश्वस्त तुल्याउन सक्ने महानायक खोइ ? दल, गुट, क्षेत्र वा जातभन्दा माथि उठेर सम्पूर्ण नेपालीलाई एउटै चिन्तनधारामा डोर्‍याउन सक्ने महानायक खोइ ? समयले यही प्रश्न गरिरहेको छ ।- अन्नपूर्ण बाट ,
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget