Websoft University

www.radiomakalu.com || 021-522512


विहे गर्ने उमेर नपुग्दै सम्बन्धविच्छेद

विहे गर्ने उमेर नपुग्दै सम्बन्धविच्छेद

प्युठान वैशाख १९ गते  । सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटना बढ्दै गएका छन् । बालविवाह न्यूनीकरणमा सरोकारवाला निकाय क्रियाशील रहे पनि कम उमेरमै विवाह गर्ने क्रम जिल्लामा अझै रोकिएको छैन । कलिलै उमेरमा विवाह गर्नेहरूले वर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्ने गरेको पाइएको छ । अधिकांश सामाजिक सञ्जालकै माध्यमबाट प्रेमसम्बन्ध राखेर विवाह गर्नेहरूले अदालत गएर सम्बन्धविच्छेद गर्ने गरेका छन् ।
जिल्ला अदालतको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सात जोडीले विवाह गर्ने उमेर नपुग्दै सम्बन्धविच्छेद गरेका छन् । कार्यालयका स्रेस्तेदार प्रेम पौडेलका अनुसार चालु आर्थिक वर्षको वैशाख दोस्रो सातासम्म २० वर्षमुनिका ६ जोडीले अदालतमा आएर सम्बन्धविच्छेद गरेका छन् । 'सम्बन्धविच्छेदको माग गर्न आउनेमा धेरै पत्नीहरू हुन्छन्', उहाँले भन्नुभयो, 'पतिले सम्बन्धविच्छेद मागेर हुँदैन ।' जिल्लाका बांगेसाल, मरन्ठाना, मर्कावाङ, रम्दी र प्युठान नगरपालिकास्थित थापडाँडा, दाखाक्वाडीलगायत क्षेत्रबाट सम्बन्धविच्छेद गर्न आएको जानकारी उहाँले दिनुभयो । 'धेरैले प्रेमसम्बन्ध राखेर विवाह गर्ने गरेको पाइएको छ', उहाँले भन्नुभयो, 'धेरै जोडी विवाहपछि आपसमा मेल नखाने भन्दै पछुताएर छुट्टिन्छन् ।'
जिल्लामा विगत तीन वर्षदेखि बालविवाह न्यूनीकरणका लागि निरन्तर अभियान सञ्चालन भइरहेका छन् । गाउँ तहमा कम उमेरमा विवाह गर्न नहुने सोचाइको विकास भए पनि अझैसम्म यसको व्यावहारिक अभ्यास हुन नसकेको यस क्षेत्रमा कार्यरत सामाजिक अगुवा बताउँछन् । 'अभियान अझै पनि प्रभावकारी हुन सकेका छैनन्', मानवअधिकारका क्षेत्रमा क्रियाशील महिला अधिकारकर्मी पार्वता आचार्यले भन्नुभयो, 'विवाह गर्ने बालबालिकालाई नै सचेत गराउन समस्या छ ।' विभिन्न बाल संगठनमा आबद्ध बालबालिकाले नै बालविवाह गर्ने गरेको भेटिएको उहाँले बताउनुभयो । 'अभिभावक र बालबालिकालाई सँगै राखेर सचेतनाका कार्यक्रम निरन्तर चलाउनुपर्ने देखिन्छ', आचार्यले भन्नुभयो, 'निश्चित समयका लागि चलाइएका अभियानले दिगो समाधान हुन सक्दैन ।'

जिल्ला बालकल्याण समिति प्युठानले २०७२ सालभर जिल्लामा भएको विवाहलाई आधार मानी गरेको सर्वेक्षणअनुसार कुल विवाहको ४५ प्रतिशत बालविवाह भएको देखिएको छ । बालविवाहमध्ये ७५ प्रतिशत भागी (प्रेम) र २४ प्रतिशत मागी (मञ्जुरी) विवाह भएको जानकारी जिल्ला बालअधिकार अधिकृत यादव खनालले दिनुभयो । 'बालविवाहले धेरै समस्या निम्त्याएको छ', उहाँले भन्नुभयो, 'यसैका कारण सम्बन्धविच्छेद गर्नेहरू पनि धेरै छन् ।' बालविवाहले समाजमा बहुविवाह, घरेलु हिंसा, शारीरिक अक्षमता, यौन रोगलगायत समस्या निम्तिने गरेको खनालले बताउनुभयो ।
बर्सेनि बालविवाह गर्ने क्रम नरोकिँदा जिल्लालाई सन् २०२० सम्म 'बालमैत्री स्थानीय शासन' लागू भएको घोषणा गर्ने अभियानमा समेत चुनौती देखिएको यस क्षेत्रमा क्रियाशील सरोकारवाला निकाय बताउँछन् । तीन वर्षअघि गरिएको सर्वेक्षणमा ३३ प्रतिशत बालविवाह भएको देखिएपछि यसको न्यूनीकरणमा सरोकारवाला निकायले चासो देखाएका हुन् । २० वर्ष उमेर नपुगी विवाह गरेमा उमेरको प्रकृतिअनुसार ६ महिनादेखि ३ वर्षसम्म कैद र दस हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको जानकारी अधिवक्ता एवं जिल्ला बालकल्याण समिति प्युठानका अध्यक्ष मेघराज भट्टले दिनुभयो ।- अन्नपूर्ण बाट



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget