Websoft University

www.radiomakalu.com || 021-522512


प्रहरी निर्वाचनमा, म्यादी सडक सुरक्षामा

प्रहरी निर्वाचनमा, म्यादी सडक सुरक्षामा

बुटवल, वैशाख २७ गते ।    पहिलो चरणको निर्वाचन हुने प्रदेशमा प्रहरी खटिएपछि रूपन्देहीको सुरक्षामा म्यादी प्रहरी सहयोगी भएका छन् । सरकारले वैशाख ३१ को चुनावलाई म्यादी प्रहरी भर्ना गरेको थियो । प्रदेश नं ५ मा दोस्रो चरणको निर्वाचन जेठ ३१ मा हुने भएपछि बेकामे बनेका म्यादीलाई जिल्ला प्रहरीले ड्युटीमा खटाएको हो । रूपन्देहीबाट चार सय जना प्रहरी प्रदेश नं ३, ४ र ६ को निर्वाचन सुरक्षामा खटिएका छन् । ‘जिल्लाभर दुई हजार ७२ म्यादीलाई भीडभाड हुने स्थानमा खटाइएको छ', रूपन्देहीका प्रहरी प्रवक्ता बेलबहादुर पाण्डेले भन्नुभयो, ‘सात प्रहरी निरीक्षकसहित चार सयजना पहिलो चरणको निर्वाचनमा खटिएका छन् ।' प्रहरीको सट्टा म्यादीलाई आठ घन्टा ड्युटीमा लगाइएको छ ।
निर्वाचन सुरक्षामा खटिनुपर्ने नभएकाले घरपायक पर्ने गरी म्यादीलाई खटाइएको हो । मर्चवार क्षेत्रमा घर भएकाहरू सोही क्षेत्रमा खटिएका छन् भने बुटवलतर्फ घर हुनेलाई बुटवलमै खटाइएको प्रहरीले जनाएको छ । निर्वाचनमा भने घरपायकको सुविधा हुनेछैन । आठ घन्टा ड्युटी बसेपछि घर जान पाइने प्रहरी प्रवक्ता पाण्डेले बताउनुभयो । ५५ दिनका लागि नियुक्ति पाएका म्यादीको निर्वाचन सरेका कारण समयावधि थपिएको छ । चारवटा प्रदेशमा खटिने म्यादी असार पहिलो साता मात्रै बिदा हुनेछन् । २० दिन समयावधि थपिएकाले उनीहरूले सोहीअनुसारको तलब सुविधा पाउनेछन् ।
दुई हजार म्यादी अट्ने ब्यारेक नभएकाले पनि घरपायक ड्युटी मिलाइएको प्रहरीको भनाइ छ । बुटवल नगरक्षेत्रमा मात्रै सात सयजना म्यादी प्रहरी परिचालन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मुकुन्द मरासिनीले जानकारी दिनुभयो । ‘बुटवल क्षेत्रमा चौबीसै घन्टा म्यादी खटिएका छन्, उनीहरूको अभ्यास भएको छ, सुरक्षामा पनि सघाउ हुन्छ', उहाँले भन्नुभयो ।
म्यादीले ट्राफिक नियम पालना नगर्नेहरूलाई सम्झाउने गरेका छन् । उनीहरूले वृद्धवृद्धा तथा असक्तलाई सडक पार गराउनेदेखि गाई धपाउनेसम्मका काम गरेका छन् ।
सडकमा खटिने म्यादीले ट्राफिक नियम पालना नगर्नेहरूलाई सम्झाउने गरेका छन् । उनीहरूले वृद्धवृद्धा तथा असक्तलाई सडक पार गराउनेदेखि गाई धपाउनेसम्मका काम गरेका छन् । ट्राफिक चोकमा खटिएका पाल्पा सिलुवाका म्यादी प्रहरी जगत विकले कतिपय मानिसले म्यादी भनेर अटेर गर्ने गरेको बताउनुभयो । ‘नियम पालना गर्नुभन्दा कतिपयले अटेर गर्नुहुन्छ । सम्झाइबुझाइ गर्छौं', उहाँले भन्नुभयो । दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा खटिने म्यादी जेठ १५ गतेपछि मात्रै मतदान केन्द्रमा खटिनेछन् । दोस्रो चरणको मनोनयन दर्ता जेठको १९ गते छ ।
कांग्रेस उम्मेदवारको लडेर मृत्यु
तुलसीपुरः स्थानीय तहको निर्वाचनका लागि प्रचारमा हिँडेका कांग्रेस सल्यानका एकजना उम्मेदवारको मृत्यु भएको छ । प्रचारका क्रममा रहेका कुमाखमालिका गाउँपालिका १ मा कांग्रेसका तर्फबाट सदस्यका उम्मेदवार दलबहादुर रानाको प्रचारको क्रममा लडेर मृत्यु भएको हो । आइतबार गाउँकै टाटकेमा मतदातासँग भेटघाट गर्नुभएका उहाँ एक घरको माथिल्लो तलाबाट खस्नुभएको थियो । गाई बाँध्ने किलोमा परेर घाइते हुनुभएका उहाँको उपचारका क्रममा मंगलबार निधन भएको सल्यान प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि भारतको लखनऊ लगिएको थियो ।
विकासको आश्वासन देखाउँदै भोट
बनेपाः आसन्न स्थानीय चुनाव नजिकिएसँगै उम्मेदवारहरू मतदातालाई विकासको आश्वासन देखाएर भोट माग्न व्यस्त छन् । सडक, खानेपानी, विद्युत्, पुनर्निर्माणलगायत विषयको विकास गर्ने प्रतिबद्धतासहित उम्मेदवारले भोट माग्ने गरेका छन् । विकासका आश्वासनसहित दलका कार्यकर्ता-उम्मेदवार चुनावी कार्यक्रममा खटिएपछि चुनावी परिणाम कसले हात पर्छ भन्नेमा ठूलै बहस हुन थालेको छ । जिल्लाको ग्रामीण क्षेत्र कोसीपारि, डाँडापारिका तेमालका क्षेत्रमा दलका नेता-कार्यकर्ताले विकास गर्ने आश्वासन देखाएर मतदातालाई आकर्षित गर्दै आफ्ना पार्टीका उम्मेदवार जिताउन सक्रिय हुने क्रम बढेको छ । लामो समय दलीय प्रतिनिधिको भरमा सञ्चालित स्थानीय निकायको अनुभव गरेका नागरिक अब स्थानीय तहमा हुने विवाद कम सुन्नुपर्ने र विकासले गति लिनेमा आशावादी छन् । त्यसैले उनीहरू पार्टीभन्दा पनि क्षमतावान् उम्मेदवारलाई मतदान गर्ने बताउँछन् ।


चुनाव प्रचारका लागि नेता-कार्यकर्ता जिल्लाका सहरी क्षेत्रमा पार्टीको झन्डासहित विभिन्न कार्यक्रम गर्न व्यस्त देखिन्छन् । भित्ते पोस्टरमा रोक लगाएपछि सडक चुनाव चिह्न र झन्डा अंकित तोरणले भरिएका छन् । आआफ्ना चुनावी गीत घन्काउँदै नेता-कार्यकर्ता गाउँगाउँ पुगेर कोणसभा गर्न व्यस्त छन् । कतिपय स्थानमा दलले मोटरसाइकलर्‍याली पनि गर्ने गरेका छन् । चिया पसलदेखि बाटो, सडक सबै स्थानमा चुनाव र उम्मेदवारको बहस बढ्दै गएको छ । जिल्लामा २६ दलसहित केही स्वतन्त्र उम्मेदवार निर्वाचनमा सहभागी छन् ।
६ नगरपलिका तथा ७ गाउँपालिका रहेको काभ्रेका ग्रामीण क्षेत्रमा उस्तै चुनावी माहोल बनेको छ । भूकम्पपछि पुनर्निर्माणको चिन्ता बोकेका मतदाता सबैथोक त्यागेर चुनाव प्रचारमा लागेका छन् । सडक पुगेका ग्रामीण बस्तीमा पनि मोटरको प्रयोग गर्दै चुनाव प्रचार कार्य भएको देखिन्छ । बिकट भेग भनेर चिनिएको जिल्लाको डाँडापारिअन्तर्गतको खानीखोला महाभारत तथा कोसीपारी चौरी देउराली, भुम्लुबीच भेग तेमालका गाउँगाउँसम्म दलहरूले प्रचार कार्यक्रम सञ्चालन गरेका छन् । जिल्लामा एक सय ८९ वटा मतदानस्थलमा तीन सय सात मतदान केन्द्रमा सातजनाका दरले कर्मचारी खटिनेछन् । त्यसकै हाराहारीमा सुरक्षाकर्मी खटिनेछन् । सुरक्षाकर्मीलाई समेत तालिम दिइसकिएको छ । २७ गतेदेखि मतदान केन्द्रमा कर्मचारी खटिनेछन् ।
चुनाव प्रचार गर्न सामाजिक सञ्जाल
आसन्न स्थानीय निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवार र दलका कार्यकर्ताले चुनाव प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग गर्दैै आएका छन् । गाउँगाउँसम्म इन्टरनेटको पँहुच हुन थालेपछि फेसबुक तथा ट्वीटरमार्फत उम्मेदवारको व्यक्तिगत विवरण र घोषणापत्र सहित भोट माग्न थालेका हुन् । सामाजिक सञ्जाललाई नेता-कार्यकर्ताले आफ्ना दलका एजेन्डा र कार्ययोजना प्रस्तुत गर्दै प्रचारप्रसारका गतिविधि सार्वजनिक गर्ने माध्यमका बनाएका छन् । पोस्टर, झन्डा, ब्यानर प्रयोग गर्दा खर्चिलो र सहर फोहोरसमेत हुने भएकाले प्रचारप्रसारको उपयुक्त माध्यम सामाजिक सञ्जाल बन्दै गएको विभिन्न दलसम्बद्ध नेता-कार्यकर्ताको भनाइ छ ।
विप्लवका पाँच कार्यकर्ता पक्राउ
निर्वाचनलाई दृष्टिगत गरी काभ्रेमा निर्वाचन बिथोल्न खोज्ने पाँच विप्लव कार्यकर्ता पक्राउ परेका छन् । उम्मेदवारको सुरक्षालाई दृष्टिगत गरी अपरेसन गर्ने क्रममा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी सहकुलबहादुर थापाले बताउनुभयो । जिल्लामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटाइसकिएको उहाँले जानकारी दिनुभयो । निर्वाचन चहलपहल बढेसँगै जिल्लामा सुरक्षा व्यवस्था र सुरक्षा जाँच बढाइने भएको छ । नियमित जाँचका अतिरिक्त आकस्मिक जाँच र जिल्ला भित्रिने नाकामा थप कडाइ गरिएको एसपी थापाको भनाइ छ ।
चुनावी सुरक्षाका लागि सादा पोसाकका प्रहरीको संख्या उल्लेख्य बढाइएको छ । राजमार्ग र जिल्लाका विभिन्न स्थानमा आकस्मिक जाँचसँगै नाकामा कडाइ गरी होटल तथा लजमा निगरानी बढाइएको उहाँको भनाइ छ । निर्वाचन बहिष्कारको घोषणा गरेका समूह र परम्परागत आपराधिक गिरोह सुरक्षा चुनौतीका रूपमा रहेकाले त्यस्ता समूहमाथि कडा निगरानी राखिएको उहाँले बताउनुभयो । उम्मेदवार बस्ने क्षेत्रमा सुरक्षा निगरानी कडा बनाइएको उहाँको भनाइ छ ।- अन्नपूर्ण बाट , लक्ष्मण पोखरेल

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget