
‘मधेशी मोर्चा पनि पहिलो चरणको निर्वाचनमा सहभागी हुन्छ’
काठमाडौं वैशाख १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनमा मधेशकेन्द्रित दलहरु पनि सहभागी हुने बताउनु भएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध व्यवस्थापिका संसदमा आइतबार कांग्रेस र माओवादी केन्द्रका दुई सय ४९ जना सांसदहरुको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता गराएपछि उत्पन्न भएको नयाँ राजनीतिक परिस्थितिमा प्रधानमन्त्री प्रचण्डले त्यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
‘महाअभियोग प्रस्ताव दर्ता भएपछि राजनीतिमा एक खालको तरंग आएको छ । तर महाअभियोगको आफनो प्रक्रिया छ,त्यो संसदीय प्रक्रियामा जान्छ । यसले निर्वाचनमा कुनै असर गर्दैन’ प्रधानमन्त्री प्रचण्डले सोमबार लाजिम्पाटमा विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई आफनो पार्टीमा प्रवेश गराउने क्रममा भन्नुभयो ।
निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनका लागि मंगलवार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । ‘मनोनयन दर्ता हुन्छ र बैशाख ३१ गते पहिलो चरणको निर्वाचन हुन्छ । यसमा कुनै भ्रम पाल्न जरुरी छैन । तपाईहरु पनि सबै भ्रममा नपरी मनोनयनमा सहभागी हुनुहोस’प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘मनोनयन दर्ता भएपछि निर्वाचनबारे सबै अन्यौल हटछ्,तपाईहरु सबै निर्वाचनमा होमिनुस ।’
प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको निर्वाचन भन्दा पहिले संविधान संशोधन नहुने पनि प्रष्ट पार्नु भएको छ । ‘पहिलो चरणको निर्वाचनसम्म संविधान संशोधन बिधेयक अघि नबढे पनि यसले निर्वाचनलाई कुनै असर गर्दैन । मधेशी मोर्चा पनि पहिलो चरणको निर्वाचनमा सहभागी हुन्छ । स्वस्थ ढंगले निर्वाचनमा प्रतिस्पर्धा गरौ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।- अन्नपूर्ण बाट
Post a Comment