Websoft University

www.radiomakalu.com || 021-522512


‘गोरखापत्रलाई थप प्रतिस्पर्धी र पठनीय बनाउनुपर्छ’



काठमाडौंँ, वैशाख २५ गते । गोरखापत्र प्रकाशनको ११७ वर्ष प्रवेशको अवसरमा गोरखापत्र संस्थानले आइतबार भव्यतासाथ स्थापना दिवस मनाएको छ । बिहान नौमती बाजासहित नयाँसडकस्थित संस्थान प्राङ्गणबाट विविध भाषा, भेषभूषा र सांस्कृतिक कार्यक्रमसहित सुरु भएको स्थापना दिवसको ¥याली कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा गएर कार्यक्रममा परिणत भएको थियो । वार्षिकोत्सवका अवसरमा संस्थानले वरिष्ठ व्यक्तित्वहरूको सम्मान, रक्तदान कार्यक्रम तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो ।
त्यस अवसरमा आयोजित मूल कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले गोरखापत्रले लामो इतिहास बनाए पनि अहिलेसम्म व्यवस्थित र राम्रो भवन निर्माण गर्न नसकेको टिप्पणी गर्नुभयो । “सरकारको पूर्ण स्वामित्वमा रहेको रेडियो नेपालसँग चार सय रोपनी जग्गा छ तर गोरखापत्र नयाँ सडकमा साँघुरिएर पुरानो भवनमा बस्न बाध्य छ” भन्दै उहाँले चाँडै सरकारले गोरखापत्रलाई आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
बजारमा निजी क्षेत्रका अन्य प्रतिस्पर्धी समाचारपत्रहरू आए पनि गोरखापत्रको जस्तो विविधता, सन्तुलन र गाउँबेसीको समाचार कुनै अखबारले पस्कन नसकेको चर्चा उहाँले गर्नुभयो । गोरखापत्रको स्तरीयताका लागि सरकारको तर्फबाट आवश्यक सबै सहयोग हुने तर गोरखापत्रकै टिमले मेहनत गरेर पत्रिकालाई थप प्रतिस्पर्धी र पठनीय बनाउनुपर्ने उहाँले सुझाव दिनुभयो ।
गोरखापत्रले समाजका निम्ति ज्ञान र विचार उत्पादनको काम गरिरहेको बताउँदै मन्त्री कार्कीले नेपाली भाषा स्थापित गर्ने काममा पनि गोरखापत्रको योगदान अविस्मरणीय रहेको तथ्य प्रस्तुत गर्नुभयो । नेपाली भाषाजस्तै मुलुकका सबै भाषा र भेषभूषालाई सबैले माया गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले गोरखापत्रलाई समयानुकूल प्रतिस्पर्धी बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि सरकारको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाउनुभयो । गोरखापत्रलाई आर्थिक र भौतिक रूपमा सबल र सक्षम बनाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
सञ्चार एवं कानुनविद्् काशीराज दाहालले गोरखापत्र नेपालीको राष्ट्रिय सम्पदा भएको बताउनुभयो । एक सय वर्ष पुगेका सबै चिजवस्तु पुरातŒव विभागमा राखिन्छन् भन्दै उहाँले गोरखापत्रको ११७ वर्ष प्रवेशले यो पत्रिका आफैँमा पुराताŒिवक राष्ट्रिय सम्पदा भएको तर्क गर्नुभयो । उहाँले मुलुक सङ्घीयतामा गएकाले गोरखापत्रको प्रकाशनलाई पनि सोहीअनुरूप व्यवस्थापनको खाँचो रहेको सुझाव दिनुभयो ।
संस्थानका महाप्रबन्धक सुशील कोइरालाले गोरखापत्रको प्रकाशनकै दिन वैशाख २४ लाई सरकारले राष्ट्रिय पत्रकारिता दिवसको मान्यता दिनु आफैँमा गौरवको विषय भएको बताउनुभयो । नेपाली पत्रकारिताको विकास गोरखापत्रकै जगमा भएको चर्चा गर्दै उहाँले सङ्घीय संरचनाअनुरूप गोरखापत्रको विकासको पहल तीव्र गतिमा भइरहेको बताउनुभयो ।
विभिन्न भाषाभाषीको पृष्ठ प्रकाशनले गोरखापत्रको गरिमा अझै बढाएको प्रसङ्ग जोड्दै महाप्रबन्धक कोइरालाले सरकारको अनुदानबिनै गोरखापत्र आर्थिक रूपले सक्षम रहेको बताउनुभयो । गोरखापत्रलाई थप प्रतिस्पर्धी बनाउन सरकारी विज्ञापन एकपटक गोरखापत्रमा अनिवार्य रूपमा प्रकाशनको व्यवस्था गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।
महाप्रबन्धक कोइरालाले गोरखापत्रको सुरुदेखिको अङ्कलाई डिजिटल आर्काइभिङ गर्ने काम पनि सुरु भइसकेकाले चाँडै काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
सरकारलाई सबैभन्दा बढी कर तिर्ने पत्रिका पनि गोरखापत्र रहेको बताउँदै उहाँले आगामी दिनमा पनि सबैको साथ र सहयोगले त्यसलाई निरन्तरता दिने बताउनुभयो ।
गोरखापत्र दैनिकका प्रधान सम्पादक निर्मलकुमार आचार्यले गोरखापत्रको समग्र विकासका लागि यसलाई पूर्ण रूपमा प्रकाशनगृहका रूपमा विकास गर्नु आवश्यक रहेकाले त्यसैअनुरूप ऐनकानुन बन्नुपर्ने बताउनुभयो ।
संस्थानका अध्यक्ष गोविन्द पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा प्राध्यापक पी. खरेल, गोरखापत्र संस्थान आधिकारिक ट्रेड युनियनका अध्यक्ष विष्णुप्रसाद खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सम्मान कार्यक्रम
गोरखापत्रले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ बाट प्राध्यापक पी. खरेललाई सम्मानित गरेको छ । सम्मानको राशि नगद ५५ हजार ५५५ रुपियाँ रहेको छ । अघिल्लो वर्ष वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी सोही पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।
त्यस्तै संस्थानले पाँचजना वरिष्ठ व्यक्तित्वलाई गोरखापत्र सम्मानले सम्मानित गरेको छ । सम्मानित हुनेमा भारतदत्त कोइराला, गोकुलप्रसाद पोखरेल, राधारमण उपाध्याय, शिव रेग्मी र मदनकुमार भट्टराई हुनुहुन्छ । उहाँहरू सबैलाई प्रमुख अतिथि तथा सञ्चारमन्त्री कार्कीले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मानित गर्नुभयो । त्यसैगरी नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठानको तर्फबाट दी राइजिङ नेपालका नायब कार्यकारी सम्पादक गान्धीराज काफ्लेलाई पुरस्कृत गरिएको थियो ।
यस्तै राष्ट्रव्यापी खुला लघुकथा प्रतियोगिताबाट तीनजना स्रष्टा सम्मानित हुनुभयो । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नुभएका दिव्य गिरी, दोस्रो स्थान प्राप्त देवा अधिकारी र तृतीय स्थान प्राप्त गर्नुहुने खेमराज पोखरेललाई नगदसहित सम्मानपत्रले मन्त्री कार्कीले सम्मानित गर्नुभयो । प्रमाणपत्रसहित प्रथम हुनेलाई नगद १० हजार, दोस्रोलाई नगद सात हजार र तृतीयलाई नगद पाँच हजार रुपियाँ राशि प्रदान गरिएको थियो ।
समारोहमा यस वर्षको मधुपर्क सम्मानका लागि साहित्यकार श्यामदास वैष्णव र भाषाविद् प्रा.डा. चूडामणि बन्धुलाई चयन गरिएको जानकारी दिइएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७२÷७३ मा सबैभन्दा बढी विज्ञापन उपलब्ध गराउने जोइन मिडिया हाउस प्रालि, अनामनगर; भेराइटिज कन्सल्टिङ, त्रिपुरेश्वर र कलश एडभर्टाइजिङ बबरमहललाई पनि सो अवसरमा सम्मानित गरिएको थियो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम तथा नृत्यहरू प्रस्तुत गरिएको थियो । गोरखापत्रमा विभिन्न ३७ भाषाका पृष्ठ प्रकाशन हुन्छन् । भाषा पृष्ठका संयोजक तथा सहसंयोजकहरूले आफ्नो सांस्कृतिक पोसाकमै कार्यक्रममा उपस्थिति जनाउनुभएको थियो ।
यसैबीच सूचना तथा सञ्चारमन्त्री कार्कीले नेपाली भाषा मानकको आधार बन्नमा गोरखापत्र र यसका सहप्रकाशनको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।
दोस्रो राष्ट्रिय पत्रकारिता दिवस २०७४ को अवसरमा आइतबार बिहान यहाँ आयोजित प्रभातफेरीको समापन कार्यक्रममा मन्त्री कार्कीले यस्तो बताउनुभएको हो । “नेपाली भाषा सबै जाति र वर्गको सम्पर्क भाषाका रूपमा स्थापित हुनुमा नेपाली सञ्चारजगत्को भूमिका महŒवपूर्ण छ”, उहाँले भन्नुभयो ।
“आजको पत्रकारिता हिजोको जस्तो जिम्मेवार हुन नसकेकोप्रति दुःख व्यक्त गर्दै उहाँले मुलुक सङ्क्रमित र अशान्त रहेका बेला नेपाली मिडिया र नागरिक समाजले मध्यस्थकर्ताको भूमिका खेल्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “तर मिडियाहरू अहिले दलीय हिसाबमा विभाजित हुँदा यस्तो भूमिका निर्वाह गर्न सकिरहेका छैनन् । ”
पत्रकारिताले जहिले पनि सरकारको रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न सक्नुपर्ने भन्दै मन्त्री कार्कीले भन्नुभयो, “अहिले नेपाली मिडिया संयमित, मर्यादित र खबरदारी गर्ने भूमिकामा हुनुपर्छ । ” मिडिया संयमित नहुँदा समाजमा अराजकता आउनसक्ने र त्यसले अधिनायकवादको जन्म हुनसक्ने खतरा उहाँले औँल्याउनुभयो ।
सञ्चार सचिव महेन्द्रमान गुरुङले मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न हुन गइरहेका बेला नेपाली मिडियाले समन्वयकारी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताउनुभयो । पत्रकारिताको दिवसमा उहाँले शुभकामना व्यक्त गर्नुभयो ।
संविधानविद् काशीराज दाहालले संविधानको कार्यान्वयन नै अहिलेको प्रमुख मुद्दा रहेकाले मिडियाले त्यसमा भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । मुलुकमा विधिको शासन कायम हुन नसकेको, संविधानको सीमा मिचिने गरिएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले मुलुकको परिवर्तनका कार्यसूचीलाई संस्थागत गर्नमा नेपाली प्रेसको भूमिका आवश्यक रहेको बताउनुभयो । “पत्रकारिता दिवसले प्रेस स्वतन्त्रता दिवसको प्रवद्र्धनमा प्रेरणा प्रदान गरोस्”, उहाँले शुभकामना व्यक्त गर्नुभयो ।
दिवसका अवसरमा बिहान प्रभातफेरी आयोजना गरिएको थियो । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी गोरखापत्र संस्थानको प्राङ्गणमा आएर कोणसभामा परिणत भएको थियो । त्यस क्रममा सञ्चार मन्त्रालयका सचिव गुरुङले वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित हुने आठजना पत्रकारको नाम सार्वजनिक गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget