
बुटवल : अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि विश्वास नेपालले जितेका छन् । प्रतियोगिताको अन्तिम दिन मंगलबार पश्चिमाञ्चल च्याम्पियन गणेश रायमाझीलाई हराउँदै विश्वासले उपाधि हात पारेका हुन् । उनले पुरुष एकलसँगै डबल्सतर्फको उपाधि पनि जिते । डबल्स स्पर्धामा उनको जोडी गणेश रायमाझी थिए । एकलतर्फको फाइनलमा भने विश्वासले गणेशलाई नै २-१ को सेटले पराजित गरेका थिए ।
पुरुष एकलतर्फको फाइनल खेलमा विश्वासले गणेशलाई २१-१५, १८-२१ २१-१९ अंकले हराए । पहिलो भएका विश्वासले पाँच हजार र दोस्रो भएका गणेशले दुई हजार रुपैयाँ नगद पुरस्कार पनि पाए । पहिलो र दोस्रो हुने खेलाडी आगामी असारमा काडमाडौंमा आयोजना हुने इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताका लागि छनोट पनि भएका छन् ।
पुरुष डबल्सतर्फको फाइनल खेलमा विश्वास र गणेशको जोडीले गोपाल टण्डन र धु्रवविक्रम शाहको जोडीलाई २१-१२, १८-२१, २१-१४ अंकले पाखा लगायो । प्रतियोगिताका विजयी खेलाडीलाई प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनी र नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष यानेन्द्र जीसीले पुरस्कार वितरण गरे । तीनदिने प्रतियोगितामा महिला एकलतर्फको उपाधि भने जेशिका रायमाझीले जितेकी थिइन् । उनले फाइनलमा पूजा विष्टलाई २१-१८, २१-११ को सोझो सेटमा पराजित गरेकी थिइन् ।
प्रत्येक विधामा पहिलो र दोस्रो हुने खेलाडीले काठमाडौंमा आयोजना हुने अन्तिम चरणको प्रतियोगितामा भाग लिन पाउनेछन् । प्रतियोगिताको समापन समारोहमा प्रहरी नायब उपरीक्षक मरासिनी, पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष जीसी, मुख्य रेफ्री किरण कारञ्जित, बुटवल ब्याडमिन्टन क्लबका अध्यक्ष पीताम्बर ज्ञवाली, रूपन्देही रोडाढुंगा व्यवसायी संघका अध्यक्ष गोपाल ज्ञवाली, एम्स कलेज बुटवलका प्रमुख दीपक ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Post a Comment