Websoft University

www.radiomakalu.com || 021-522512


२० वर्षपछि फर्किएको खुसी


२० वर्षपछि फर्किएको खुसी
काठमाडौं, बैशाख  ३१ गते । आइतबार हुने स्थानीय तहको निर्वाचनले २० वर्षपछि खुसी फर्किएको मतदाताले बताएका छन् । संविधानसभाबाट निर्मित संविधान कार्यान्वयनका क्रममा संघीयतामा स्थानीय सरकारबाट सेवा पाउने र समग्र विकासको ढोका खुल्ने भएकाले खुसी फर्किएको उनीहरूको भनाइ छ ।
२० वर्षपछि हुन लागेको पहिलो चरणको स्थानीय निर्वाचनमा दलभन्दा व्यक्ति छनोट गर्नुपर्नेमा मतदाताको जोड छ । मतदानका लागि नुवाकोटको बेलकोटगढी नगरपालिका ८ मा भोट हाल्न काठमाडौंबाट पुगेका डा. विष्णु दाहालले भन्नुभयो, ‘निर्वाचन त गाउँमा बढी लागेको यहाँका नागरिकमा देखिएको उत्साहले बतायो । पार्टीका उम्मेदवारलाई भन्दा राम्रो उम्मेदवारलाई छनोट गर्नेको संख्या बढी पाएँ ।' २० वर्षमा हजारौं नयाँ पुस्ता बेरोजगार भइरहेकोमा उनीहरूको वृत्ति विकाससँगै नेतृत्व गर्ने अवसरलाई उहाँले खुसी र उत्साहका रूपमा लिनुभएको छ ।
‘पार्टीकै कार्यकर्तामा पनि भोट क्रस हुने अवस्था विश्लेषण गर्दा युवा पुस्ता अब ‘हाम्रोभन्दा राम्रो उम्मेदवार' मा केन्द्रित भएको पाएको छु । यसले देश विकासको ढोका खोल्नेछ', नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकसमेत रहेका दाहालले थप्नुभयो, ‘संविधानले स्थानीय सरकारलाई दर्जनौं अधिकार दिएकाले पनि सकारात्मक पाटो बढी देखिन्छ ।'
निर्वाचन आइतबार हुने पक्का भएकोमा अधिकांश मतदाता खुसी रहेको बूढानीलकण्ठ नगरपालिकाकी मतदाता हुमादेवी अर्यालको भनाइ छ । झन्डै दुई दसक कर्मचारीले स्थानीय निकाय धानेका थिए । त्यसबीच विकास निर्माणका काम हुन नसकेकाले जनप्रतिनिधि आउनु स्वागतयोग्य कुरा भएको उहाँको भनाइ छ । ६९ वर्षीया अर्यालले अबको स्थानीय तहमा कर्मचारीबाट सेवा प्रवाहमा ढिलासुस्ती नहुने आशा गर्नुभएको छ । विगतका निर्वाचनमा भोट माग्न मात्र गाउँघर पुग्ने र जिते वा हारेपछि फर्किएर नआउने परिपाटीबाट मतदाता दिक्क भएका छन् । ‘नेताले जनताको सेवा राम्ररी गरून्, जनतालाई नबिर्सिऊन्', उहाँले भन्नुभयो ।
प्रदेश नं ३, ४ र ६ मा आइतबार पहिलो चरणको स्थानीय निर्वाचन भइरहेको छ । मतदाता दोस्रो चरणमा हुने भनिएका बाँकी १, २, ५ र ७ नम्बर प्रदेशमा पनि पहिलोजस्तै निर्वाचन भए मात्र देशवासीमा खुसीको लहर आउने अपेक्षामा छन् । भक्तपुरस्थित सूर्यविनायक नगरपालिका १ बालकोटका रुद्र दंगाल पहिलोपटक स्थानीय तहको निर्वाचनमा भोट हाल्दै हुनुहुन्छ । ‘१२ बर्से जात्रा आउँदा त कत्रो महत्वव हुन्छ, यो त २० वर्षमा आएको हो । खुसी हुनु स्वाभाविकै हो । म त यसलाई ठूलो चाड मान्छु', दोस्रो चरणमा पनि पहिलोजस्तै वातावरण बन्नुपर्नेमा जोड दिँदै उहाँले थप्नुभयो, ‘गर्व गर्न लायक स्थानीय सरकार बनून् । तलदेखि माथि विकास हुँदै जाओस् ।'
स्थानीय सरकारबाट नागरिकले शिक्षा, स्वास्थ्य, राजनीतिक, सामाजिक, आर्थिक सबै क्षेत्रमा विकास चाहेका छन् । ‘जीवनसँग जोडिएका सबै क्षेत्रमा परिवर्तन देखियोस् जसले जनताको जीवनस्तर सुधारिनेछ', उहाँले भन्नुभयो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आउँदा अब विकास होला भन्दै बाटो हेरेको तर कहिल्यै नभएको कागेश्वरी मनोहरा नगरपालिका ८ का केशव ढकालले बताउनुभयो । ‘पञ्चायती शासन सकिएका यतिका वर्ष त विकास भएन । अब त विकास पक्कै हुन्छ', उहाँले भन्नुभयो, ‘अबको पाँच वर्षमा धेरै अपेक्षा गर्दिनँ तर कम्तीमा हिलो र धुलो बाटो हिँड्नु नपरोस् । खानेपानीको चिन्ता नहोस् । दैनिक उपभोग्य सामग्रीको अभाव र महँगी नहोस् । विष हालेका खाद्यान्न खाएर अनेकथरी रोग नलागून् ।'- अन्नपूर्ण बाट , गोपीकृष्ण ढुंगाना

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget