Websoft University

www.radiomakalu.com || 021-522512


उपत्यकाका चार दिशामा चार नयाँ सहर

उपत्यकाका चार दिशामा चार नयाँ सहर
काठमाडौं , वैशाख २६ गते ।  सरकारले काठमाडौं उपत्यकाका चार दिशामा चार नयाँ सहर निर्माण गर्ने भएको छ । सहरी विकासमन्त्री अध्यक्ष रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणको भौतिक विकास समितिले चार दिशामा चार सहर बनाउने भनी आइतबार गरेको निर्णयलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो । पाँच वर्षमा ४५ अर्ब रुपैयाँ खर्चिने गरी नयाँ सहर बनाउने निर्णय भएको हो ।
काठमाडौंको पूर्व उत्तरमा एक लाख रोपनी क्षेत्रफलमा नयाँ सहर बनाइने छ । उक्त सहरको भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन गर्न सार्वजनिक क्षेत्रबाट एक सय अर्ब र निजी क्षेत्रबाट चार सय अर्ब गरी ५ सय अर्ब रुपैयाँ लगानीमा निर्माण गरिने भएको हो । झन्डै पाँच वर्षभित्र ५ अर्ब रुपैयाँ लगानी हुने प्रारम्भीक अनुमान गरिएको उक्त नयाँ सहरको संरचना जग्गा एकीकरण प्रविधि र प्रकृयाबाट गरिने छ । काठमाडौंको दक्षिण पश्चिम, पूर्व दक्षिण र उत्तर दिशामा १०, १० हजार रोपनी क्षेत्रफल ओगटेको नयाँ सहरको भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन गर्न सार्वजनिक क्षेत्रबाट १० अर्ब र निजी क्षेत्रबाट ४० अर्ब रुपैयाँ लगानी हुने सहरी विकास मन्त्रालयका प्रवक्ता डा. रमेशप्रसाद सिंहले जानकारी दिनुभयो । यी सबै लगानी पनि पाँच वर्षभित्रै हुनेछ ।
सहरी विकास राज्यमन्त्री, सहरी विकास मन्त्रालय, भूमिसुधार तथा व्यवस्थापन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरु, मध्यमाञ्चल क्षेत्रीय प्रशासक, काठमाडौं र ललितपुर महानगरपालिकाका कार्यकारीअधिकृत, भक्तपुर र कीर्तिपुर नगरपालिकाका कार्यकारीअधिकृत, विषय विज्ञहरु, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख लगायतको आइतबार सहरी विकास मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौंको इसान (पूर्व उत्तर) दिशामा बनाइने सहरको पूर्वमा भक्तपुरको नगरकोट जाने सडकदेखि तेलकोट भञ्ज्याङसम्म, पश्चिममा जोरपाटी क्रिकेट स्टेडियम, मूलपानीहुँदै मनोहरा पुल (भक्तपुर जाने पुरानो बाटो) सम्म, उत्तरमा साँखु बजार र साँखु जाने मूल सडक र दक्षिणमा भक्तपुरको पुरानो बाटो हुनेछ । यसमा नेपाल सैनिक प्रतिष्ठान खरिपाटी, देकोमिबा इतापाके जग्गा एकीकरण आयोजना, सिन्टीटार जग्गा एकीकरण आयोजना र दिव्येश्वरी जग्गा एकीकरण आयोजना र योजना अनुमति लिई प्लानिङ गरिएका क्षेत्रहरु बाहेकको क्षेत्रमात्र भनी तोकिएको छ ।
काठमाडौंको आग्नेय (पूर्व दक्षिण) दिशामा हुने सहर भक्तपुरकै नयाँ सहर विस्तार क्षेत्र हुनेछ जसमा कटुन्जे, गुण्डु, दधिकोट, सिरुटार, बालकोट आदि पर्नेछन् । यसको पूर्वमा अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिरहुँदै सूर्यविनायक वनलाई बाहिर पार्दै हुने भित्री भाग, पश्चिममा खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर ठिमीहुँदै अरनिको राजमार्ग सिमाना, उत्तरमा पनि अरनिको राजमार्ग सिमाना र दक्षिणमा भक्तपुरको सिलामगाल, रानीकोट जंगलछेउ अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार, विरुवाहुँदै खहरेसम्म हुनेछ । यसमा पनि योजना अनुमति लिइ प्लानिङ गरिएका क्षेत्रहरु बाहेकको क्षेत्रहरुमात्र हुनेछन् ।
काठमाडौंको नैऋत्य (दक्षिण पश्चिम) दिशामा ललितपुरमा नयाँ सहर बनाइने भएको हो । जसमा साबिकको खोकनाको वडा नम्बर १ देखि ८ सम्म र बुङमतिको वडा नम्बर १ को भैसीपाटी छम्पी जाने मुख्यबाटोबाट बस्ततर्फमात्र, २ देखि ६ सम्मको सबै क्षेत्र पर्नेछन् । यस सहरको पूर्वमा छ्यासीकोटदेखि साबिक सैंबु गाविसको सीमानाहुँदै फर्सिडोल, बागमती नदीको झोलुंगे पुलसम्म, पश्चिममा बागमती नदी, उत्तरमा साबिकको सैंबु गाविसको सीमाना र दक्षिणमा बागमती नदी पर्नेछ ।
यसमा पनि योजना अनुमति लिई प्लानिङ गरिएका क्षेत्रहरु पर्नेछैनन् । बायब्य दिशामा भने काठमाडौंका टोखा, झोर, फुटुङ, सांगा, काभ्रेस्थली, मनमैजु र गोंगबुसम्म पर्नेछ ।प्राधिकरणका प्रमुखआयुक्त डा. भाइकाजी तिवारीले चारै नयाँ सहर बाहिरी चक्रपथले छुने भएकाले हालको चक्रपथभित्रका बासिन्दा आन्तरिक रुपमा बसाई सर्ने अवस्था हुँदा उकुसमुकुस कम हुँदै जाने जानकारी दिनुभयो । उहाँले अन्नपूर्णसँग भन्नुभयो, 'अब हालको अव्यवस्थित काठमाडौं महानगर पनि व्यवस्थित हुनेछ र बाहिर अव्यवस्थित भइरहेको अवस्था पनि व्यवस्थित हुँदै जानेछ । क्रमशः यी चार सहर अन्तर्राष्ट्रिय स्तरका हुनेछन् ।'- अन्नपूर्ण बाट, गोपीकृष्ण ढुंगाना


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget