Websoft University

www.radiomakalu.com || 021-522512


तालमेलका नाममा महिलालाई पछि हटाउँदै दल

तालमेलका नाममा महिलालाई पछि हटाउँदै दल
उम्मेदवारी फिर्ता लिन लगाइएका बायाँबाट क्रमश : शोभा डंगोल, कल्पना अधिकारी र लक्ष्मी थापा ।
धादिङ , वैशाख २३ गते  ।  स्थानीय तहको निर्वाचन नजिकिँदैछ । प्रत्येक गाउँ, टोल र समुदाय चुनावी रन्कोले तातिरहेको बेला धादिङमा भने तीन नेत्रीको बेग्लै चर्चा चुलिएको छ । हरेक चिया पसलका चुनावी बहसमा उनीहरूको चर्चा हुनुमा कुनै नौलो कारण भने केही छैन छ त केवल उनीहरूको त्याग र बलिदानी । आफ्नो पार्टीको हितका लागि व्यक्तिगत स्वार्थ त्याग गरेर प्रमुख पदबाटै उम्मेदवारी फिर्ता लिएपछि उनीहरूको चर्चा चुलिएको हो । त्यसरी पद त्याग गर्नेहरूमा नीलकण्ठ नगरपालिकाको मेयर र उपमेयर पदका प्रत्यासी शोभा डंगोल र कल्पना अधिकारी तथा ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएकी लक्ष्मी थापा हुनुहुन्छ ।
आफूले उम्मेदवारी दिएको पार्टीले अर्को पार्टीसँग चुनावी तालमेल गरेपछि उनीहरूले पद त्याग गर्नुपर्ने अवस्था उत्पन्न भएको हो । धादिङमा निकै महत्वका साथ हेरिएको नीलकण्ठ नगरपालिकाको उपमेयर पदबाट उम्मेदवारी फिर्ता लिनुभएकी कांग्रेसनेत्री कल्पना अधिकारीले भन्नुभयो, 'राजनीति भनेकै यस्तै रहेछ । नचाहँदानचाहँदै पनि पछि हट्नुपर्ने । आफूले चाहेर फिर्ता लिएको त होइन तर पार्टीले निर्णय गरेकाले त्यसलाइ समर्थन गरेकी हुँ । जनता साथमा हुँदाहुँदै पनि त्याग गरेकी हुँ । उम्मेदवारी दिँदा जुन जोस र उत्साह थियो फिर्ता लिँदा केही असर त परिहाल्छ तर पनि पार्टीलाई नै सर्वोपरि ठानेकी छु । पछि हट्नुपर्दा केही खल्लो महसुस त भएकै छ ।'
यसै त नीलकण्ठ नगरपालिका कांग्रेसको पकड क्षेत्र मानिन्छ । त्यसमाथि धादिङको राजनीतिमा महिलाबाट सक्रिय र निकै नै प्रतिभाशाली व्यक्तिका रूपमा उदाएकी अधिकारीको उपमेयरमा उम्मेदवारी परेकै दिनदेखि जित सुनिश्चित ठानिएको थियो । अधिकारीको उम्मेदवारी फिर्ताले धादिङ कांगे्रसका असल कार्यकर्ता दुःखी भएका छन् । एक कार्यकर्ताले भने, 'राजनीति भनेको यस्तै रहेछ । जसलाई जनताले रुचाएको छ उसले अवसर कहिल्यै नपाउने ।' मेयर पदकै दाबी गरिरहेकी कल्पनालाई धादिङ कांग्रेसले उपमेयरमा उठाएको थियो ।
उम्मेदवारी मनोनयनका क्रममा धादिङका २ वटा स्थानीय तहको प्रमुख पदमा महिला उठाएको माओवादी केन्द्रले दुवै महिलाको उम्मेदवारी फिर्ता लिएको छ । स्थानीय तहको निर्वाचनमा निकै महत्वपूर्ण मानिएको धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा मनोनयन दर्ता गराउनुभएकी शोभा डंगोल र ज्वालामुखी गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गराउनुभएकी लक्ष्मी थापाको उम्मेदवारी माओवादी केन्द्रले फिर्ता लिएको छ । डंगोलले भन्नुभयो, 'पार्टीको एजेन्डा र झन्डा बोकेर हिँडेकी मान्छे म । पार्टीले नै टिकट दियो फेरि पार्टीले नै पछि हटाएपछि हट्नु परिहाल्यो । यत्रो वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई धोका दिन सकिनँ र उम्मेदवारी फिर्ता लिएँ । उम्मेदवारी दिएरै फिर्ता लिनुपर्दा नरमाइलो अनुभवचाहिँ भएको छ ।' शोभा र लक्ष्मीको उम्मेदवारी माओवादी केन्द्रले कांग्रेससँग तालमेल गरेपछि फिर्ता भएको हो । लक्ष्मीले पनि पार्टी निर्देशनअनुरूप आफूहरू चलेकाले आफूले उम्मेदवारी फिर्ता लिएर पार्टीलाई सहयोग गरेको बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा सरकारले नै महिलाको प्रतिनिधित्व ग्यारेन्टी गरेको छ । नगर र गाउँपालिकाका प्रमुख पदहरूमध्ये एउटा पदमा महिलालाई अनिवार्य उठाउनुपर्ने भनिएको भए पनि चुनावी तालमेलका कारण धादिङका राजनीतिक दलहरूले भने तालमेलका नाउँमा महिलालाई पछि हटाएका छन् । । फरकफरक पार्टीहरूबीच चुनावी तालमेल गरेको अवस्थामा प्रमुख पदमध्ये एकमा महिला हुनैपर्छ भन्ने बाध्यता नरहेकाले धादिङका राजनीतिक दलहरूले चुनावी तालमेल गर्दा महिलाको मात्रै उम्मेदवारी फिर्ता गराएका छन् । नीलकण्ठ नगरपालिकामा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिने गरी चुनावी तालमेल भएपछि यसको सिकार दुवै पार्टीबाट महिला नै परेका छन् ।
माओवादी केन्द्रका तर्फबाट नगर उपप्रमुखको चर्चामा रहेकी डंगोललाई पार्टीले एकाएक प्रमुख पदमा उठाएपछि उनको मनोनयनलाई जिल्लामा अर्थपूर्ण तरिकाले हेरिएको थियो । मंगलबार बिहानसम्म उपप्रमुखको चर्चामा रहेकी डंगोलको एक्कासि मेयरमा उम्मेदवारी परेपछि अन्य दलका उम्मेदवार चकित भएका थिए । माओवादी केन्द्रकै एक कार्यकर्ताले भने, 'पार्टी नेतृत्व तहबाटै चुनावी तालमेल गर्ने कुरा उठिरहेको थियो । त्यसमा सहज होस् भन्नका लागि उहाँलाई मेयर पदमा उठाएको हुन सक्छ ।'
जिल्लाको गंगाजमुना गाउँपालिकामा नयाँ शक्ति पार्टीका तर्फबाट सरस्वती सिंखडाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । उम्मेदवारी दर्ताको दिन प्रमुख पदमा ३ जना महिला मात्रै रहेको धादिङमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदा १ जना मात्रै प्रमुख पदमा महिला देखिएका छन् ।
यस्तो छ चुनावी तालमेल
आसन्न स्थानीय तह निर्वाचनका लागि धादिङमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । दुई दलले स्थनीय तहको निर्वाचनका लागि नगर र गाउँपालिकामा भागबन्डा गरेर तालमेल मिलाएका हुन् । २ नगरपलिका र ११ गाउँपालिका रहेको धादिङमा एउटा नगरपालिका र ५ वटा गाउँपालिकामा प्रमुख र उपप्रमुखको भागबन्डा मिलाएको दुवै दलले बताएका छन् ।नीलकण्ठ नगरपालिकाको मेयरमा कांग्रेसका भीम ढुंगाना र उपमेयरमा माओवादी केन्द्रका मनराज भण्डारी छन् । दुई पार्टीबीच तालमेल मिलेपछि कांग्रेसबाट उपमेयरमा उम्मेदवारी दिएकी कल्पना अधिकारीले मनराज भण्डारीलाई सघाउनुभएको छ माओवादी केन्द्रबाट मेयरमा उम्मेदवारी दिएकी शोभा डंगोल श्रेष्ठले कांग्रेसका भीम ढुंगानालाई सघाउनुहुने भएको छ ।
त्यस्तै चुनावी तालमेलपछि गजुरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसकी शर्मिला बिसुराल, बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका हरि डल्लाकोटी र उपाध्यक्षमा कांग्रेसका देवीप्रसाद सिलवाल हुनुहुन्छ । त्यस्तै थाक्रे गाउँपलिकाको अध्यक्षमा माओवादी केन्द्रका जिन्दगी थापा, उपाध्यक्षमा कांग्रेसका रामकुमार लामा, ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका विनोद तिमिल्सिना र उपाध्यक्षमा माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठ, गल्छी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका विनोद कार्की र उपाध्यक्षमा माओवादी केन्द्रका मीरा झ्यारी हुनुहुन्छ ।- अन्नपूर्ण बाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget