Websoft University

www.radiomakalu.com || 021-522512


नयाँ वर्षमा घुम्न जाने ९ ठाउँ, कहाँ जाने ?




न जाडो, न गर्मी । घुमफिर गर्नका लागि यतिबेलाको मौसम निकै उपयुक्त मानिन्छ । त्यसमाथि नयाँ वर्ष पनि आउँदै छ । नयाँ वर्षमा हामीमध्ये धेरैले घुम्न जाने योजना बनाउँछौं । तर, घुम्ने ठाउँको बारेमा जानकारी नहुँदा अलमलिइरहेका हुन्छौं । घुम्न जाने ठाउँबारे पर्याप्त पूर्वसूचना नहुँदा रमाइलो गर्न जाँदा सास्ती खेप्नुपर्ने अवस्था समेत आउँछ ।

त्यस्तो अवस्था नआओस् भनेर हामीले केही घुम्नैपर्ने ठाउँहरुको बारेमा आवश्यक जानकारी पस्किएका छौंः
१.नगरकोट

राजधानी काठमाडौंबाट ३२ किलोमिटरको दूरीमा रहेको सहजै पुग्न सकिने ठाउँ हो नगरकोट । यो ठाउँ सूर्योदयको रमणीय दृश्य हेर्नका लागि विश्वको उत्कृष्ट दश स्थानमध्येमा पर्छ । यति मात्र होइन, नगरकोटबाट लाङटाङ हिमशृंखला र अझ सफा मौसममा त सगरमाथा समेत अवलोकन गर्न सकिन्छ ।



कसरी पुग्ने

काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको कमलविनायक हुँदै नगरकोट पुग्न सार्वजनिक बसमा दुई घण्टा लाग्छ ।
२.कालिञ्चोेक

काठमाडौंबाट सवारी साधनमा सहजै जान सकिने अर्को मनमोहक ठाउँ दोलखाको कालिञ्चोक हो । प्रकृतिको हरियालीका साथै हिमाली दृश्य हेर्न पाइने भएकाले आन्तरिक पर्यटकले निकै रुचाउने गरेका छन् । कालिञ्चोक भगवतीको मन्दिर भएकाले यो ठाउँ धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसरबाट लाङटाङ, रोलवालिङ हिमशृंखला देख्न सकिन्छ ।

चिसो मौसममा यस क्षेत्रमा हिउँ पर्ने भएकाले राजधानीवासी हिउँ खेल्नकै लागि समेत जाने गर्छन् ।



कसरी पुग्ने

काठमाडौंदेखि पाँच घण्टाको बस यात्रामा दोलखा सदरमुकाम चरिकोट पुगिन्छ । चरिकोटदेखि कुरीसम्म १७ किलोमिटर कच्ची बाटो छिचोल्न भाडाको जिप पाइन्छ । हिउँ परेको बेला भने जिपमा जान गाह्रो हुन्छ । कुरीबाट एक घण्टाको ठाडो उकालो हिँडेपछि समुद्री सतहदेखि तीन हजार ८ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोक भगवती मन्दिर पुगिन्छ ।
३. पोखरा

हिमाल, ताल, गुफा, छाँगा र साहसिक खेलहरु एकै स्थानमा भएको पोखरालाई पर्यटनको राजधानी नै मानिन्छ । विश्वको उत्कृष्ट पदयात्रा अन्नपूर्ण, पुनहिल, मुस्ताङ जाने प्रवेशद्वार पनि हो पोखरा ।

पोखरामा घुम्नका लागि तालबाराही मन्दिर, महेन्द्र गुफा, डेभिड फल्स, बेगनास ताल, विन्ध्यवासिनी मन्दिर, स्तुपा लगायत प्रशस्त ठाउँ छन् । यसका साथै पोखरा आसपासको ठाउँले पनि लोभ्याउँछन् ।

हिमाल राम्ररी हेर्ने हो भने अलि डाँडातिर उक्लनुपर्ने हुन्छ । अन्नपूर्ण, माछापुच्छ्रे हिमशृंखला हेर्न सराङकोट उपयुक्त ठाउँ हो । पोखराबाट एक घण्टामै पुग्न सकिने धम्पुसबाट पनि आँखै अगाडि माछापुच्छ्रे नियाल्न सकिन्छ । धम्पुस आफैंमा आकर्षक पर्यटकीय स्थल हुँदै हो ।



पदयात्रा गर्न अधिकांश पर्यटकले रुचाउने म्याग्दीको पुनहिलको यात्रा पनि तपाईंको लागि रोमाञ्चक हुन सक्छ । पोखराबाट पुनहिलको पदयात्रा गरेर पाँचौं दिनमा पोखरा फर्किन सकिन्छ । पहिलो दिन तिखेढुंगा, दोस्रो दिन घोरेपानी, तेस्रो दिन घोरपानीबाट सूर्योदयको दृश्य हेर्न पुनहिल टावर गएर पुनः घोरेपानी, टाडापानी, घान्द्रुक हुँदै पाँचौं दिन पोखरा पुगिन्छ । पुनहिलबाट विश्वको सातौं अग्लो धौलागिरी हिमालको मनमोहक दृश्य हेर्न सकिन्छ ।

पुनहिल पदयात्रालाई लम्ब्याउँदै अन्नपूर्ण बेसक्याम्पसम्म पनि जान सकिने भएकाले यो क्षेत्रको पदयात्रा पर्यटकमाझ निकै पि्रय छ ।

कसरी पुग्ने

काठमाडौंबाट सार्वजनिक बसमा ६ घण्टाको यात्रामा पोखरा पुग्न सकिन्छ । सोझै हवाई यात्रा पनि गर्न सकिन्छ ।
४. मुस्ताङ

आन्तरिक पर्यटकहरुले जीवनमा एकचोटि घुम्नैपर्ने ठाउँको सूचीमा मुस्ताङको नाम छुटाउँदैनन् । ट्राभल गाइडबुकमा विश्वकै ख्यातिप्राप्त ‘लोन्ली प्लानेट’ ले पनि मुस्ताङलाई उत्कृष्ट गन्तव्यमा राखेको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथका रहेको यो ठाउँ प्राकृतिक सुन्दरताको खानी मानिन्छ ।



यातायात सुविधा सहज भएपछि पछिल्लो समय मुस्ताङमा आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको छ । जोमसोमदेखि माथिल्लो मुस्ताङसम्मै यातायात सुविधा उपलब्ध छ । यो मौसममा खासगरी माथिल्लो मुस्ताङ घुम्न लायक ठाउँ हो । जोमसोमबाट एक दिनको जिप यात्रामा पुग्न सकिने (हिँड्दा तीन दिन) उपल्लो मुस्ताङमा यहाँको फरक जीवनशैलीले लोभ्याउँछ । देशमा गणतन्त्र आइसक्दा पनि मुस्ताङी राजाको ठाँट र सम्मान नमूनाकै रुपमा रहेको छ । मुस्ताङ क्षेत्रमा कागबेनी, नौतले गुफा, थकाली संस्कृति, मनमोहक प्राकृतिक दृश्य र कोरला नाका प्रख्यात छन् ।

कसरी पुग्ने

काठमाडौंदेखि नै निजी सवारी साधनमा मुस्ताङसम्म पुग्न सकिन्छ । जोमसोमदेखि छुसाङसम्म जान जिप पाइन्छ । खोलामा पुल नभएका कारण पुल तरेपछि अर्को गाडी चढ्नुपर्छ । माथिल्लो मुस्ताङ गाडीबाट ६ घण्टाको यात्रामा पुग्न सकिन्छ ।
५.चितवन

जंगल सफारी, थारु संस्कृति अवलोकनका लागि चितवन निकै प्रख्यात छ । आकर्षणको केन्द्र चितवन राष्ट्रिय निकुञ्ज रहेको यो ठाउँमा खासगरी वाइल्ड लाइफमा रुचि हुनेहरु जाने गर्छन् । जंगल सफारीमा गैंडा र अन्य जनावर हेर्न सकिन्छ । चितवनमा सौराहा र मेघौली पनि घुम्न लायकका ठाउँ हुन् । मेघौलीमा सूर्योदयको दृश्य हेर्न र शान्त वातावरणमा होमस्टेको मज्जा लिन सकिन्छ ।



कसरी पुग्ने

काठमाडौंबाट चितवनसम्म सुविधाजनक बस चल्छन् । ६ घण्टाको यात्रापछि सौराहा पुग्न सकिन्छ ।
६. लुम्बिनी

गौतम बुद्धको जन्मस्थल लुम्बिनीे बौद्धमार्गीका साथै शान्तिगामी स्वदेशी र विदेशी पर्यटकको मनमा बसेको ठाउँ हो । बौद्ध दर्शन अध्ययन-अनुसन्धान गर्नेहरुका लागि पनि लुम्बिनी महत्वपूर्ण स्थल हो ।

लुम्बिनीको मुख्य आकर्षण केन्द्रविन्दु मायादेवी मन्दिर हो । मन्दिर परिसरमा अशोक स्तम्भ र पवित्र पोखरीले आकर्षण थपेका छन् ।

मायादेवी मन्दिरमा बुद्धको जन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति रहेको छ । मन्दिरभित्र ईसापूर्व पाँचौं शताब्दीदेखि सातौं शताब्दीसम्मका भग्नावशेष अवलोकन गर्नु जोकोहीको लागि दुर्लभ अवसर हुन सक्छ ।



लुम्बिनी पुगिसकेपछि बुद्धसम्बन्धी अन्य पर्यटकीय ठाउँ नपुग्नु अपूरो यात्रा हुन सक्छ । बुद्धले आफ्नो जीवनकालको २९ वर्ष बिताएको शाक्य राज्यको राजधानी कपिलवस्तुको तिलौराकोट अर्को पुग्नैपर्ने ठाउँ हो । यो ठाउँ लुम्बिनीबाट २८ किलोमिटर दक्षिण-पश्चिममा पर्छ । कपिलवस्तुमा बुद्धसँग सम्बन्धित गोटिहवा, सग्रहवा, निग्लीहवा, अरौराकोट र सिसहनिया पनि घुम्न सकिन्छ ।

यस्तै, भैरहवादेखि करिब ३५ किलोमिटर पूर्वमा रहेको प्राचीन कोलिय वंशको राजधानी तथा मायादेवीको माइती देवदह पनि महत्वपूर्ण छ । देवदह वरिपरि अन्य पुरातात्विक स्थल पनि छन् ।

कसरी जाने ?

काठमाडौंदेखि आठ घण्टाको बस यात्रामा लुम्बिनी पुगिन्छ । हवाई मार्गबाट जान चाहनेहरु भैरहवा विमानस्थलमा उत्रेर जानुपर्ने हुन्छ । भैरहवाको बुद्ध चोकबाट लुम्बिनी २० किलोमिटरको दूरीमा पर्छ ।
७. बर्दिया

तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज रहेको बर्दिया थारु संस्कृतिका हिसाबले पनि प्रख्यात छ । नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज खासगरी बाघ हेर्नका लागि कहलिएको छ । निकुञ्ज क्षेत्रमा ५४ प्रजातिका स्तनधारी, चार सय प्रजातिका चराचुरुंगी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछा पाइन्छ ।



तपाईंलाई थारु संस्कृति मन पर्छ भने बर्दिया खानी हो । यहाँको भादागाउँमा खोलिएको होमस्टे पर्यटकमाझ पि्रय छ । निकुञ्ज नजिकै रहेको ठाकुरद्वारा मन्दिर पनि धार्मिक हिसाबले निकै महत्वपूर्ण छ । मन्दिरमा लिच्छविकालीन मूर्तिहरु समेत छन् । बर्दिया र कैलाली जोड्ने कर्णाली चिसापानी पुल पनि पर्यटकको आकर्षणको केन्द्र हो ।

कसरी पुग्ने ?

काठमाडौंदेखि नेपालगञ्जसम्म हवाई यात्रा पनि गर्न सकिन्छ । बसमा जाँदा भने १२ घण्टा लाग्छ । नेपालगञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज पुग्न ९० किलोमिटरको दूरी पार गर्नुपर्छ ।
८. रारा

घुमफिर रुचाउने जोकोही नेपालीको चाहना हुन्छ, देशकै सबैभन्दा ठूलो ताल रारा पुग्ने । समुद्री सतहबाट दुई हजार ९ सय ९० मिटर उँचाइमा रहेको तालले घामको किरण अनुसार रङ फेरेको अद्भूत देखिन्छ । रारा तालको पूरै आकृति हेर्न मुर्मा टप उपयुक्त ठाउँ हो, जुन करिब ४ हजार मिटरको उँचाइमा छ । विदेशी पर्यटकको आगमन बढ्न नसके पनि रारामा आन्तरिक पर्यटक उल्लेख्य मात्रामा पुग्ने गर्छन् ।



कसरी पुग्ने ?

नेपालगञ्जदेखि ५० मिनेटको हवाई यात्रापछि मुगुको ताल्चा विमानस्थल पुगिन्छ । ताल्चाबाट तीन घण्टाको पैदल दूरीमा रारा ताल पुगिन्छ । यस्तै, सुर्खेतबाट जाँदा दुई दिनको बसयात्रापछि मुगुको गमगढी र त्यहाँबाट तीन घण्टाको पैदलपछि राराको भूमि टेकिन्छ ।
९. खप्तड

प्राकृतिक सुन्दरताको अनुपम उपहार हो खप्तड । डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थलमा रहेको खप्तड क्षेत्रलाई सुदूरपश्चिमकै भूस्वर्ग पनि भनिन्छ । हिउँदमा हिउँले सेताम्मे हुने यो ठाउँ यतिबेला हरियालीले छपक्क हुन्छ । बैशाखदेखि असारसम्म यहाँका फाँटहरु रंगीचंगी फूलहरुले ढाकिन्छ । खप्तड क्षेत्रको मुख्य विशेषता भनेकै विशाल फाँटहरुमा फुल्ने फूलहरु हुन् । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरु छन् । ठूला-साना गरी २२ वटा फाँट पनि यहाँको आकर्षण हो ।



कसरी पुग्ने ?

काठमाडौंदेखि धनगढीसम्म ६५० किलोमिटर बसको यात्रा । धनगढीबाट आठ घण्टाको बस यात्राबाट डोटीको सिलगढी पुगेपछि पैदल यात्रा सुरु हुन्छ । बगलेगसम्म गाडी चल्ने भएकाले जिप रिजर्भ गरेर पनि जान सकिन्छ । सिलगढीबाट सुरु हुने पैदल यात्राको पहिलो दिन झिगराना पुगिन्छ भने अर्को दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ ।-भरतबन्धु थापा, अनलाइनखबर बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget