Websoft University

www.radiomakalu.com || 021-522512


धरान-इटहरी-बिराटनगरको चुनावी विश्लेषणः एमालेमा सकस, कांग्रेसमा छटपटी


धरानमा माओवादी बलियो, इटहरीमा राप्रपा निर्णायक हुने


इटहरी, चैत २० गते । एक नम्बर प्रदेशमा तीनवटा उपमहानगरपालिका छन्- बिराटनगर, इटहरी र धरान । ०५४ सालको स्थानीय चुनावमा तीनवटै नगरमा मेयर/उपमेयर एमालेले जितेको थियो । अहिले एमालेलाई विगतको साख जोगाउनुपर्ने सकस छ भने कांग्रेसलाई चाहिँ तीनवटै उपमहानगरपालिकामा चारतारे फण्डा फहराउने छटपटी जागेको छ ।

एमालेले मेची महाकाली अभियानको मैझारो गरेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले यसैसाता मोरङ र सुनसरीका पार्टी कार्यक्रमहरुमा सम्वोधन गरेका छन् । यसले पनि पूर्वी शहरहरुमा कांग्रेस-एमालेवीच चुनावी भिडन्तको ‘फायर’ खुलिसकेको संकेत गर्छ ।

एक नम्बर प्रदेशका यी तीनवटै उपमहानगरपालिकाको चुनावी राजनीतिबारे अनलाइनखबरले यहाँ एकमुष्ट विश्लेषण गर्ने प्रयास गरेको छः
धरानः सांस्कृतिक शहरमा त्रिपक्षीय भिडन्त

पूर्वाञ्चलको सुन्दर नगरी धरान नवघोषित उपमहानगरपालिका हो । यो शहर इटहरी र बिराटनगरजस्तो व्यापारिक एवं औद्योगिक नभएर सांस्कृतिक शहरका रुपमा परिचित छ । नेकपा एमालेको राष्ट्रवादी एजेण्डा एवं जातीय पहिचानको विरोधले यो सहरमा प्रत्युत्पादक भूमिका खेल्यो भने अचम्म नमान्दा हुन्छ । किनभने धरान आदिवासी जनजातिहरुको बलियो पकड रहेको विशिष्ट शहर हो ।

धरान उपमहानगरपालिकाको राजनीतिक शक्ति सन्तुलनको चर्चा गर्नुपूर्व यहाँ मेयरका आकांक्षीहरु को-को छन् भन्ने चर्चा गरौंः





धरान उपमहानगरपालिकामा दलहरुभित्र धेरै आन्तरिक प्रतिस्पर्धीहरु छैनन् । एमालेले माधव नेपाल पक्षका नेता तारा सुब्बालाई मेयरको उम्मेद्वार बनाउने लगभग पक्काजस्तै छ ।

त्यसैगरी माओवादी केन्द्रले युवा नेता अइन्द्रविक्रम वेघालाई मेयरको टिकट दिने करिब पक्कापक्की छ ।

कांग्रेसबाट भने धरानको मेयरमा दुईजनाको नाम चर्चामा छ । देउवा पक्षका किशोर राई र रामचन्द्र पौडेल पक्षका तिलक राई दुुबैजना मेयरका दाबेदार हुन् ।

किशोर कांग्रेसका पूर्वनगरसभापति हुन् भने तिलक वर्तमान नगरसभापति हुन् । किशोर देउवा पक्षका भएकाले उनले टिकट पाउने सम्भावना बलियो छ । तर, उम्मेद्वार छनौट गर्ने भूमिका रामचन्द्र पौडेल रहने भएकाले तिलकको उम्मेद्वारीको सम्भावना पनि उत्तिकै बलियो छ ।

पार्टी नेतृत्वमा देउवाको प्रभाव बढी नै रहे पनि धरानमा रामचन्द्र पौडेल पक्ष नै बलियो रहेको मानिन्छ ।

धरानको राजनीतिक सन्तुलनः धरान उपमहानगरपालिकामा एमालेको उपस्थिति बलियो मानिन्छ । तर, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पनि यो उपमहानगरपालिकाको एउटा प्रभावकारी भोट बैंक हो । दोस्रो संविधानसभामा धरान अन्तरगत पर्ने सुनसरी क्षेत्र नं १ मा संघीय समाजवादीले ३८ सय भोट ल्याएको थियो । त्यस्तै जनमुक्ति पार्टीले एक हजार मत पाएको थियो । राप्रपा नेपालको मत ११ सय थियो ।

गत संविधानसभा चुनावमा यहाँबाट एमालेले १४ हजार र कांग्रेसले १२ हजार मत ल्याएको थियो भने तेस्रो भएको माओवादीको मत ९ हजार थियो ।

विगतको मत परिणामलाई आधार मानेर विश्लेषण गर्दा धरानमा एमाले र कांग्रेस नै मेयरका लागि मुख्य प्रतिपर्धी हुन् । तर, पछिल्लो समयमा माओवादीले सुकुम्वासी बस्तीमा आफ्नो स्थिति सुधार गरेको स्थानीय पत्रकारहरुको विश्लेषण छ ।

धरानमा पनि एमाले र कांग्रेस एक्लाएक्लै लडे भने एमालेले जित्ने सम्भावना बढी रहेको विश्लेषकहरुको भनाइ छ । तर, कांग्रेसले माओवादी वा संघीय समाजवादीसँग तालमेल गरेको अवस्थामा एमालेले हार्न सक्ने अनुमान गर्न थालिएको छ ।

नेपाली कांग्रेस एक्लैले प्रतिस्पर्धा गरेर धरानमा एमालेलाई जित्न नसक्ने दाबी एमाले कार्यकर्ताहरुले गर्दै आएका छन् । यसको कारण के हो भने कांग्रेसका उम्मेद्वारवीच हुने अन्तरघात ।

विगतमा पनि कांग्रेसका उम्मेदरवारले यहाँ आफ्नै पार्टीभित्रबाट हुने अन्तरघातका कारण हार व्यहोर्दै आएका छन् । दोस्रो संविधानसभामा धरानको अन्तरघातको मुद्दा सानेपासम्म पुगेको थियो । र, अहिले मेयरको चुनावमा कांग्रेसभित्रैबाट अन्तरघात हुने र त्यसको पफाइदा एमालेले पुग्ने अनुमान सोही पार्टीका नेताहरुले गर्न थालेका छन् ।

जहाँसम्म तालमेलको कुरा छ, धरानमा एमाले र संघीय समाजवादीवीच तालमेलको सम्भावना न्यून देखिन्छ । त्यस्तै माओवादी र एमालेवीचमा पनि धरानमा तालमेलको स्थिति कमै देखिन्छ । बरु संघीय समाजवादी र माओवादीवीच तालमेल हुने सम्भावना रहेको स्थानीय विश्लेषक बताउँछन् । यस्तो तालमेल भएको अवस्थामा एमाले, कांग्रेस र माओवादी-संघीय समाजवादीवीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

यद्यपि संघीय समाजवादी फोरमले अहिलेसम्म चुनावमा भाग लिने निर्णय गरिसकेको छैन । तर, उसले चुनावमा भाग लिएन भने उसको भोट बैंक एमालेको विरुद्धमा प्रयोग हुने ‘खतरा’ छ ।

सुनसरी क्षेत्र नं १ को विगतको मत परिणामलाई हेर्दा एमालेको १४ हजार र कांग्रेसको १२ हजार मत भएजस्तै माओवादी र संघीय समाजवादीको एकीकृत मत १२ हजार ८ सय पुग्छ । यसवीचमा माओवादीले सुकुम्वासीको मत बढाएको दाबी गरिएको छ । धरानको निर्वाचनमा सुकुम्वासीको मतलाई निर्णायक मान्ने गरिएको छ ।
उदाउँदो इटहरीः कांग्रेस र एमालेवीच राप्रपा र माओवादी निर्णायक

सुनसरी जिल्लाको उदीयमान शहरका रुपमा रहेको इटहरी नगरपालिकाबाट महानगरपालिकामा अपग्रेड भएको हो । यो धरानजस्तो सांस्कृतिक एवं बिराटनगरजस्तो औद्योगिक शहर नभएर व्यापारिक सेन्टरका रुपमा रहेको ‘बिजनेस सीटी’ हो ।

विगतमा इटहरीमा एमालेले नगरपालिकाको नेतृत्व गरेको थियो । यसपटक पनि एमाले र कांग्रेसवीचमा प्रतिस्पर्धा हुँदैछ । तर, यो नगरपालिकामा राप्रपा र माओवादीको मतले निणर्ायक भूमिका खेल्न सक्छ । माओवादी भन्दा पनि यहाँ राप्रपाको भूमिका बलियो हुन सक्छ । त्यसो त इटहरीमा नयाँशक्ति पार्टीको पनि केही चहलपहल छ ।

इटहरी उपमहानगरपालिकाको मेयरमा एमालेबाट पूर्वमेयर सर्वध्वज साँवाको नाम चर्चामा छ । त्यसैगरी पार्टीका जिल्ला अध्यक्ष द्वारिकलाल चौधरी र इटहरी खानेपानी आयोजनाका अध्यक्ष रामप्रसाद चौलागाईको नाम पनि एमालेका तर्फबाट मेयरको उम्मेद्वारका रुपमा चर्चामा छ ।

त्यसो त बिराटनगरमा पूर्वमन्त्री लालबाबु पण्डित मेयरमा उठ्ने चर्चा भएजस्तै इटहरीमा बहालवाला सांसद रेवतीरमण भण्डारीको नामसमेत एमालेले अगाडि सारेको छ ।

करिब १० महिनापछि कार्यकाल सकिन लागेको सांसद पदबाट राजीनामा दिएर भण्डारी इटहरीको मेयरमा चुनाव लड्ने सम्भावना रहेको एमाले नेताहरु बताउँछन् । भण्डारी नै चुनाव लड्न आएमा एमालेको जीत सहज हुने स्थानीय पार्टी नेताहरुको दाबी छ ।

इटहरीको मेयरमा नेपाली कांग्रेसका तर्फबाट हेमकर्ण पौडेलको नाम बढी चर्चामा छ । पौडेलका साथै पार्टीका २ नं क्षेत्रीय सभापति मणिराम श्रेष्ठ र उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रोहित प्रसाईको नाम पनि कांग्रेसमा चर्चा छ ।

कांग्रेसका हेमकर्ण पौडेल शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुबै गुटमा पहुँच राख्ने नेता मानिन्छन् । बेलाबखत विवादमा समेत आउने गरेका उनी अरु कांग्रेस नेताहरुभन्दा इटहरीमा अलि बढी चर्चामा छन् ।

त्यसैगरी इटहरी उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रका तर्फबाट सागर सुवेदी, भीम सुवेदी र रामकुमारी चौधरीको चर्चा छ । चौधरी दोस्रो संविधानसभामा सुनसरी २ मा उम्मेद्वार बनेकी थिइन्, जहाँ उनको निराशाजनक मत आएको थियो ।

त्यसो त माओवादीका युवा नेता शिव डाँगी पनि इटहरीको मेयरमा उठ्ने चर्चा छ । तर, संखुवासभा स्थायी घर भएका उनको इटहरी नगरपालिकाको मतदाता सूचीमा नाम भए/नभएको माओवादीकै नेताले स्पष्ट बताएका छैनन् ।

उपेन्द्र यादवको पार्टीले निर्वाचनमा भाग लिने स्थिति आएमा पदम अधिकारी सो पार्टीबाट मेयरका दाबेदार हुन् ।

इटहरीको शक्ति सन्तुलनः शक्ति सन्तुलनको हिसाबले हेर्दा इटहरीमा सबै दलहरु एक्लाएक्लै चुनाव लडेको अवस्थामा एमाले र कांग्रेसवीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको पकड राम्रो भएता पनि पछिल्लो समयमा कांग्रेसले पनि आफ्नो पोजिसन सुधार गरेको दाबी गरेको छ ।

उपमहानगरपालिका बन्ने क्रममा खनार गाविस पनि इटहरीमा मिसिएको छ । यसले गर्दा त्यहाँको मतले एमालेलाई घाटा लगाउने विश्लेषण कांग्रेसका नेताहरुले गरेका छन् । तथापि खनार राप्रपाको प्रभाव भएको क्षेत्र हो । खनारकै बासिन्दा रहेका पूर्वगाविस अध्यक्ष रोहितबहादुर कार्की यसपटक इटहरी नगरपालिकाको मेयरमा चुनाव लड्ने चर्चा छ ।

इटहरी नगरपालिकामा राप्रपाको मत पनि बलियो छ । राप्रपाका नरेन्द्र चौधरी र पूर्वमन्त्री रामकुमार सुब्बा व्यक्तिगतरुपमा समेत ५/७ हजार भोटको प्रतिनिधित्व गर्ने नेता हुन् । यही कारणले गर्दा इटहरीमा राप्रपाको मत कांग्रेस र एमालेमध्ये कसले तान्न सक्छ, उसको जित सुनिश्चित हुने देखिन्छ ।

इटहरीका एक स्थानीयको विश्लेषणमा कांग्रेस र एमाले एक्लै लडेको अवस्थामा कसले जित्छ भन्न सकिँदैन, तर राप्रपा र माओवादीमध्ये कसैसँग तालमेल भयो भने जसले तालमेल गर्छ, उसैले जित्ने सम्भावना बढी देखिन्छ ।

यद्यपि राप्रपा र माओवादीले एमालेसँग भन्दा कांग्रेससँग तालमेल गर्ने सम्भावना बढी रहेको विश्लेषण स्थानीयको छ ।
बिराटनगरः कांग्रेसको गढमा एमालेको रहर

काठमाडौंपछि सबैभन्दा बढी ९ वटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लाको एक मात्रै उपमहानगरपालिका हो बिराटनगर ।

नेपाली कांग्रेसको प्रभाव क्षेत्रमा रुपमा बिराटनगरलाई लिइने गरिन्छ । यद्यपि सोही कांग्रेसले ०५४ सालको स्थानीय निर्वाचनमा साख जोगाउन सकेन । सो स्थानीय निर्वाचनमा एमालेले मेयर र उपमेयर दुबै जितेको थियो । एमालेका तर्फबाट रमेशचन्द्र पौडेलले कांग्रेसका अमृत अर्याललाई पराजित गरेका थिए । उपमयेरमा पनि कांग्रेसका उपेन्ऽकान्त लाललाई एमालेका भुराज राईले पराजित गरेका थिए ।

पूर्वप्राध्यापक समेत रहेका पौडेल एमाले पार्टीको वैद्धिक फोरममा रहेर हाल काठमाण्डौमा उपभोक्ता अधिकारकर्मीका रुपमा कार्यरत छन् । उपमेयर भएका भूराज राई भने एमालेको राजनीति त्यागेर हाल संघीय समाजवादी फोरममा आवद्ध छन् ।



त्यसो त ०७० सालको संविधानसभाको मत परिणामलाई हेर्ने हो भने बिराटनगरमा एमालेको जित सजिलो देखिँदैन । दोस्रो संविधानसभाको जस्तै स्थिति रह्यो भने बिराटनगरको आउँदो चुनावमा एमाले र कांग्रेसको वीचमा नभई फोरम र कांग्रेसका वीचमा चाहिँ चुनावी प्रतिस्पर्धा हुने स्थिति नआउला भन्न सकिँदैन ।

किनभने, बिराटनगरसँग जोडिएका मोरङका तीनवटै चुनाव क्षेत्रमा ०७० सालमा एमाले र कांग्रेसवीचमा हैन कि मधेसी दल र कांग्रेसका वीचमा प्रतिस्पर्धा भएको थियो । कांग्रेसले जितेका तीनै सीटमा फोरम लोकतान्त्रिक र हालको संघीय समाजवादी फोरम दोस्रो स्थानमा थिए ।

हाल उपमहानगरपालिका रहेको बिराटनगर शहरले तीनवटा चुनाव क्षेत्र छोएको छ । निर्वाचन क्षेत्र नं ५, ६ र ७ बिराटगरमा समेटिएका छन् । यी तीनवटै चुनाव क्षेत्रबाट दोस्रो संविधानसभामा कांग्रेसले जितेको थियो । तीन क्षेत्रमध्ये दुईवटामा एमाले चौथो स्थानमा थियो भने एउटामा तेस्रो स्थानमा आएको थियो ।

कांग्रेस नेता अमृत अर्यालले १५ हजार मत ल्याएर जितेको ५ नम्बर क्षेत्रमा एमालेका रामलाल साह २५ सय मात्रै मत ल्याएर चौथो भएका थिए । त्यस्तै महेश आचार्यले १२ हजार पाएर जितेको मोरङ ६ नम्बर क्षेत्रमा एमालेका महेश भट्टराई ५६ सय मतका साथ तेस्रो भएका थिए ।

डा. शेखर कोइरालाले १२ हजार ९ सय मत ल्याएर जितेको क्षेत्र नं ७ मा एमालेकी यशोदा अधिकारी ४५ सय मतसहित चौथो स्थानमा थिइन् । मोरङको ५ नम्बर र ६ नम्बर दुबै क्षेत्रमा एमालेको मत माओवादीको भन्दा थोरै छ ।

यो स्थितिमा गुणात्मक फेरबदल आएन भने मधेसी मतदाताको समेत निर्णायक भूमिका रहने बिराटनगरमा एमालेको हालत निकै पातलो हुन सक्छ । ०५४ सालको चुनावमाजस्तो एमाले हाल सरकारमा रहेको अवस्था पनि छैन । र, एमालेले यतिबेला मधेसी समुदायलाई चिढ्याएको अवस्थामा चुनाव हुन गइरहेको छ ।

यस्ता छन् बिराटनगरमा मेयरका आकांक्षीः स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा बिराटनगरमा मेयर र उपमेयरका आकांक्षी बढेका छन् । मेयर र उपमेयर बन्ने होडमा पूर्वमन्त्रीदेखि सांसदसमेत देेखिएका छन् ।



बिराटनगर उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तर्फबाट जिल्ला सचिव नागेश कोइराला, नगर सभापति भीम पराजुली, फूलकुमार लालवानी, विश्वनाथ रिजालको नाम चर्चामा छ ।

एमालेले लालबाबु पण्डितलार्इ अघि सारेपछि उनलार्इ काउन्टर गर्न कांग्रेसले डिला संग्रौलालाई अघि सारेको छ । मोरङका पूर्वसभापति एवं सांसद अमृत अर्यालले फूलकुमार लालवानीको नाममा समर्थन गर्ने संकेत दिएका छन् । केन्द्रीय राजनीतिमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको लबिङ भन्दा भिन्नै नेता कृष्ण सिटौलाको लविङमा रहेका नगरका सभापति पराजुली पनि उत्तिकै चर्चामा छन् ।

कांग्रेसबाट उपमेयरमा सुनिता घिमिरे, प्रमिला थापा, रेखा पराजुली, विजेता अधिकारी, सुनकुमारी कार्की विन्दा कार्की, रीता पोख्रेल चर्चामा छन् ।

विराटनगरको कांग्रेस राजनीतिमा पार्टी सभापति शेरवहादुर देउवादेखि उपसभापति रामचन्द्र पौडेलसहितले फरक फरक व्यक्तिलाई मेयर र उपमेयरको पदमा इच्छाएको देखिन्छ । पार्टीका शिर्ष तहका नेतामात्र हौइन दोश्रो तहका नेताहरु डा शेखर कोइराला डा. मिलेन्द्र रिजाल, महेश आर्चाय, नेतृ सुजाता कोइरालाले समेत मेयर र उपमेयर आफुनिकटका व्यक्तिलाई समर्थन गरी अघि वढाएको अवसथा व्यक्ति रहेको वुझिएको छ ।

सांसद एवं मोरङ कांग्रेसका पूर्वसभापति अमृत अर्यालले विराटनगर उपमहानगरपालिकाको मेयर र उपमेयरका लागि धेरै आकाक्षी देखिएकाले मेयर र उपमेयरको संमायोजन गर्न गाह्रो भएको वताए । उनले भने ‘टिकट मिलाउनै गाह्रो देखिएको छ। नेतृत्वका लागि युवाहरूकै बाहुल्य देखिन्छ ।’

काग्रेसका मोरङ सभापति एव संसाद डिकवहादुर लिम्वुले आगमी वैशाख ७ गते भित्र पार्टीको तफैवाट मेयर र उपमेयरको नामको टुङ्गो लगाइने वताए ।

नेपाली कांग्रेसजस्तै एमालेभित्र पनि बिराटनगर उपमहानगरपालिकाको मेयरमा धेरैको नाम चर्चामा छ । पूर्व मन्त्रीदेखि सभासद समेतको नाम मेयरको चर्चामा छ । पूर्व स्थानीय प्रशासन मन्त्रीसमेत रहेका लालबाबु पण्डित एवं सांसद यशोदा अधिकारी पनि आंकाक्षी देखिएका छन् ।



त्यसैगरी एमाले मोरङ अध्यक्ष विनोद ढकाल, पूर्वअध्यक्ष महेश रेग्मी र एमालेका नगर इञ्चार्ज सागर थापाको नाम पनि मेयरका रुपमा चर्चामा छ । एमाले मोरङका संगठन विभाग प्रमुख बाबुराम कार्की पनि मेयरका दाबेदार हुन् ।



एमालेबाट उपमेयरमा सावित्रा रेग्मी, विमला घिमिरे, शिल्पा कार्की र लीला रिजालको नाम चर्चामा छ । सावित्रा एमालेको केन्द्रीय समितिमा पराजित हुन् । उनी एमाले मोरङका पूर्वअध्यक्ष महेश रेग्मीकी श्रीमती हुन् । जिल्ला सदस्य विमला घिमिरे केन्द्रीय सदस्य जीवन घिमिरेकी श्रीमती हुन् । अनेमसंघमा आवद्ध शिल्पा कार्की महिला उद्यमी हुन् ।

एमाले मोरङका अध्यक्ष विनोद ढकालले चैत २१ गते बस्ने पार्टीको सचिवालय वैठकले मेयर र उपमेयरको उम्मेदवारको टुङ्गो लगाउने बताएका छन् ।



बिराटनगरमा माओवादी केन्द्रले भोगेन्द्र यादवलाई मेयरका रुपमा अघि सारेको छ । यादव मधेसी मूलका हुन् । एमाले र कांग्रेसले पहाडी मूलका उमेद्वारलाई उठाउने सम्भावना बढी रहेका कारण मधेसीको भोट बटुल्न माओवादीले यादवलाई मेयरमा अघि सारेको धेरैको अनुमान छ ।

माओवादीले नमिता न्यौपानेलाई उपमेयरका रूपमा अघि सारेको छ । यादव र न्यौपाने दुवै युवा हुन् । यादव माओवादी केन्ऽ विराटनगरका इञ्चार्ज समेत हुन् भने उपमेयरकी उम्मेदवार न्यौपाने बिराटनगर संयोजक हुन् ।

मधेस केन्द्रित दलहरुले चुनावमा भाग लिने निश्चित नभइरहेको अवस्थामा उनीहरुका तर्फबाट कुनै पनि उम्मेद्वारको चर्चा छैन । त्यस्तै राप्रपाको अवस्था मोरङमा सुनसरीको भन्दा केही कमजोर छ ।-अनलाइनखबर पूर्वीब्यूरो

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget