Websoft University

www.radiomakalu.com || 021-522512


रोनाल्डोको ह्याट्रिकले रियल सेमिफाइनलमा


रोनाल्डोको ह्याट्रिकले रियल सेमिफाइनलमा
                                                          च्याम्पियन्स लिग फुटबल
म्याड्रिडः घरेलु मैदानमा खेलिएको क्वार्टरफाइनलको दोस्रो लेग खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि स्पेनिस ‘पावर हाउस' रियल म्याड्रिड बलियो जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई हराउँदै युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग खेलमा ४-२ गोलले विजयी भएको रियल समग्रमा ६-३ कूल गोलभिन्नताका आधारमा सेमिफाइनलमा पुगेको हो । अघिल्लो साता बायर्नको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा पनि रियल २-१ गोलले विजयी भएको थियो ।
अर्को स्पेनिस क्लब एट्लेटिको म्याड्रिड पनि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न सफल भयो । एट्लेटिको क्वार्टरफाइनलको दोस्रो लेग खेलमा इङ्लिस प्रिमियर लिग च्याम्पियन लेस्टर सिटीलाई उसैको मैदानमा १-१ को बराबरीमा रोक्दै समग्रमा २-१ कुल गोलभिन्नताका आधारमा सेमिफाइनलमा पुगेको हो । गत साता आफ्नै घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा एट्लेटिको १-० गोलले विजयी भएको थियो ।
बायर्नविरुद्घको ह्याट्रिकसँगै पोर्चुगिज स्टार रोनाल्डो च्याम्पियन्स लिगमा एक सय गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् । च्याम्पियन्स लिगको साबिक विजेतासमेत रहेको रियलले सेमिफाइनलमा स्थान पक्का गर्न खेलको अतिरिक्त समयसम्म संघर्ष गर्नु परेको थियो । निर्धारित समयको ८४ औं मिनेटमा आर्टुरो भिदाल दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो । उनले त्यसअघि छैटौं मिनेटमै पहिलो कार्ड पाएका थिए । बायर्न एक खेलाडी कम भएपछि रियलले लगातार तीन गोल थपेको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५३औं मिनेटमा रोबर्ट लेवान्डोवस्कीले पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ७६औं मिनेटमा रोनाल्डोले जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसको दुई मिनेटपछि नै रियलका डिफेन्डर सर्जियो रामोसबाट आत्मघाती गोल भएपछि बायर्नले खेलमा पुनः २-१ को अग्रता बनाएको थियो । च्याम्पियन्स लिगमा रामोसको यो एक सयौं खेल थियो ।
निर्धारित समयमा दुवै टोलीको कूल गोलभिन्नता पनि बराबर भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । एक सय पाँचौं मिनेटमा रोनाल्डोले व्यक्तिगत रूपमा दोस्रो गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्‍याएका थिए । यद्यपि टेलिभिजन रिप्लेमा रोनाल्डोको उक्त गोल अफ साइड देखिएको थियो । रोनाल्डोको गोल अफ साइड देखिए पनि मैदानमा तत्काल बायर्नका खेलाडीले समेत कुनै आपत्ति जनाएका थिएनन् ।

Yamaha
यसैगरी एक सय १०औं मिनेटमा मार्सेलोको कलात्मक पासमा अर्को गोल थप्दै रोनाल्डोले ह्याट्रिक पूरा गरेका थिए । त्यसको दुई मिनेटपछि नै रियलका लागि मार्को एसेन्सियोले चौथो गोल गरेका थिए । खेलपछि रियलका प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डोको मुक्त कण्ठले प्रशंसा गरे । ‘टोली अप्ठ्यारो स्थितिमा हुँदा रोनाल्डो जहिले पनि खरो ओर्लंदै आएका छन्', जिदानले भने, ‘क्वार्टरफाइनलको दुबै लेगमा रोनाल्डो एक्लैले पाँच गोल गरे, मेरो अभिव्यक्तिलाई तथ्यांकले पनि पुष्टि गर्छ ।' क्वार्टरफाइनलको पहिलो लेग खेलमा पनि रियलका लागि दुवै गोल रोनाल्डोले नै गरेका थिए । त्यतिबेला उनी युरोपियन क्लब फुटबलमा एक सय गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।
बायर्नका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने घुमाउरो तरिकाले रेफ्रीको निर्णय क्षमतामाथि प्रश्न उठाए । उनले भिदालको दोस्रो पहेँलो कार्ड र रोनाल्डोको अफ साइड गोलका कारण आफ्नो टोली दबाबमा आएको बताए । सर्वाधिक ११ पटकको च्याम्पियन्स लिग विजेता रियल लगातार सातौं पटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यसपटक पनि उपाधि जित्न सफल भए रियल सन् १९९२ पछि लगातार दुई पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो टोली बन्नेछ ।
रियलले सन् २०१४ र सन् २०१६ को फाइनलमा आफ्नै सहरको प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडलाई हराउँदै उपाधि हात पारेको थियो । यसपटक पनि एट्लेटिको म्याड्रिड सेमिफाइनलमा पुगिसकेको छ । लेस्टरविरुद्घको दोस्रो लेग खेलको २६औं मिनेटमा सल निग्वेजले एट्लेटिको म्याड्रिडका लागि सुरुआती गोल गरेका थिए । ६१औं मिनेटमा घरेलु टोली लेस्टरका जामी भर्डीले जवाफी गोल गरेका थिए ।- एजेन्सी


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget