Websoft University

www.radiomakalu.com || 021-522512


मेयरको टिकट: पार्टी कामलाई हेर्ने कि व्यावसायिकतालाई?


मेयरको टिकट: पार्टी कामलाई हेर्ने कि व्यावसायिकतालाई?

डा. लोक भट्टराई
‘निर्वाचनमा निश्चित रूपमा त्यो व्यक्ति नै सही साबित हुन्छ, जसलाई कसरी उम्मेदवारीको मनोनयन प्राप्त गर्ने हो, त्यो थाहा छ ।’ स्थानीय तहको आसन्न निर्वाचनका सन्दर्भमा प्रसिद्ध अमेरिकी राजनीतिज्ञ तथा अमेरिकाको प्रतिनिधि सभाका पचासौं सभामुख न्यु गेंग्रीको यो भनाइ सबै देश, काल र सन्दर्भको लागि अर्थपूर्ण लाग्छ । अनुभवी, योग्य, सिर्जनशील, र न्यायप्रेमी व्यक्ति जनताबाट चुनिन सके त राम्रो हो तर वास्तविकतामा न्यु गेंग्रीले संकेत गरे झैं त्यो बिरलै सम्भव हुन्छ र मनोनयन प्रक्रियाभित्रको राजनीति बुझ्नेले नै प्रायः चुनावको पासा आफ्नो पक्षमा पार्ने गर्छन् ।
नेपालमा यसपालि स्थानीय तहको निर्वाचन भिन्न परिस्थितिमा हुन गइरहेको छ, तर सोअनुरूप यो चुनाव परम्परागत चुनावभन्दा के कारणले फरक र महत्वपूर्ण छ भन्नेबारे ठोस सूचना र बहसहरू यथेष्ट मात्रामा प्रवाहित भएको देखिन्न । आसन्न चुनावको सन्दर्भमा यसलाई रिक्त विषयका रूपमा किन लिन सकिन्छ भने त्यस्तो जानकारीले मात्र जनताले एक हदसम्म आफ्नो लागि सही उम्मेदवार को हुन सक्छ भन्ने छनोट गर्ने आधार पहिचान गर्न सक्छन् । पहिलाभन्दा धेरैजसो नगरपालिकाहरूको भौगोलिक दयारा फैलिएको, स्थानीय तहको अधिकार क्षेत्र बढेको र त्यसले जनजीवनमा पार्न सक्ने पृथक् प्रभाव नै खासगरी यस सन्दर्भमा विचारणीय देखिन आएको छ ।
यो चुनाव पनि सदा झैं आखिर देशका प्रमुख राष्ट्रिय पार्टी र तिनले मनोनीत गरेका उम्मेदवारहरूकै बीच हुने हो । वास्तविकता त्यस्तो भए पनि पार्टीहरू यसपालिको स्थानीय तहको बदलिएको स्वरूप र आवश्यकताअनुरूप उम्मेदवार मनोनयन गर्न साबिकभन्दा फरक मापदण्ड आवश्यक छ भन्नेमा सचेत भएको र तिनले आवश्यक ‘होमवोर्क’ गरेको जस्तो देखिन्न । प्रायः पार्टीहरूमा ग्रुपिज्म, शक्तिको खेल, पार्टी एवं सार्वजनिक पदको लागि पार्टीका तर्फबाट चुनाव लड्नेबीच आवश्यक भागबन्डा र सन्तुलन आदि–आदि कुरा नै टिकट वितरणका बेला पेचिलो बन्ने गर्छ र ती कुराले अबको स्थानीय राजनीतिक आवश्यकतालाई सम्बोधन गर्छ भन्ने देखिन्न । पार्टीहरूभित्र हिजो व्यवस्थापिका–संसद्को चुनावमा टिकट नपाएकाहरूबारे वा भोलि कसलाई दिनुपर्ने हुन्छ भन्नेसमेत यो चुनावमा जोडघटाउ त गरिन सक्छ, तर त्यसले पनि यहाँ उठाउन खोजेको विषयमा समाधान भने प्रस्तुत गर्दैन ।
विचारणीय के छ भने संसद्मा प्रतिनिधित्व गर्नको लागि जो योग्यता चाहिने हो, त्योभन्दा धेरै फरक खालको योग्यता आवश्यक पर्छ, स्थानीय तहको नेतृत्वको लागि । एकजना सांसदको लागि जसरी विषयगत नीति र कानुन बनाउने विषयमा जनचाहनाको प्रतिनिधित्व गर्नु पहिलो काम हो त्यस्तो ज्ञान र सीपको थोरै मात्र आवश्यक पर्छ, अबको नगरपालिका मेयरको लागि (यहाँ जहाँ–जहाँ नगरपालिकाको मेयरको कुरा गरिएको छ, ती प्रायः सबै कुरा सन्दर्भअनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुखको हकमा पनि लागू हुन्छ भनी बुझ्नुपर्छ) ।
भीड अघिपछि लगाई हिँड्ने, हिजो बन्द–हडतालमा गरेको ध्वंसको फेहरिस्तलाई पार्टीमा योगदानका रूपमा लिइने वा पैसा खर्च गर्ने धाक र रबाफले नै फेरि मनोनयन प्रक्रियामा निर्णायक काम गर्‍यो भने अबको स्थानीय तह कस्तो बन्ला ?
बरु मेयर बन्ने व्यक्तिमा त नगरपालिकाको स्रोत र सम्भावनाको पर्याप्त ज्ञान, व्यक्तिगत र पेसागत सिर्जनशीलता, प्रायः अर्थतन्त्रका सबै सेक्टरको धेरथोर ज्ञान, योजना बनाउने र कार्यान्वयन गराउने ज्ञान, अनुभव, सीप र शैली, वित्तीय व्यवस्थापन क्षमता, न्यायप्रतिको आस्था वा निश्पक्षता, मिलेर काम गर्ने वा मिलाएर लैजाने क्षमता जस्ता कुरामध्ये जतिसक्दो धेरै कुरामा जो व्यक्ति काबिल छ त्यो नै सहि उम्मेदवार हुन सक्छ । जुन पार्टीले त्यसरी उम्मेदवार मनोनयन गर्दा यी कुराको सही आकलन गर्छ । सम्भवतः त्यसैले तिनको सफलता पनि निर्धारण गर्छ । तर साथमा त्यसो हुन प्रायः मतदातामा यस्तो चेतना र खोजी पनि उत्तिकै आवश्यक हुन्छ । त्यसविपरीत भीड अघिपछि लगाई हिँड्ने, हिजो बन्द–हडतालमा गरेको ध्वंसको फेहरिस्तलाई पार्टीमा योगदानका रूपमा लिइने वा पैसा खर्च गर्ने धाक र रबाफले नै फेरि मनोनयन प्रक्रियामा निर्णायक काम गर्‍यो भने अबको स्थानीय तह कस्तो बन्ला ? सजिलै अनुमान गर्न सकिन्छ ।
त्यसो भएकाले पार्टीहरूले पनि मेयरका दाबेदारहरूबाट सकेसम्म माथि भनेजस्तो व्यावसायिकताको माग गर्ने र ती कुरालाई उम्मेदवार मनोनयन प्रक्रियामा सर्वोपरि राख्न सके देश र जनताप्रति न्याय गरेको हुनेछ । यसको अर्को परिपूरक कडी भने विभिन्न पार्टीबाट उठ्न चाहने प्रत्याशी स्वयं पनि हुन् । मेयर पदका लागि दाबी गर्दा सके प्रत्येकले आफूमा मेयरको हैसियतले काम गर्ने के–कस्तो शैक्षिक योग्यता, अनुभव, व्यावसायिक ज्ञान र सीप छ, राम्रोसँग खुलाएर पार्टीभित्र छलफलको लागि च्यालेन्ज गर्ने परिपाटी त जोकसैले सुरु गराउन सक्छ, अन्ततोगत्वा परिवर्तन त कोही न कोहीबाट सुरु हुनैपर्छ ।
त्यसो भएमा माथि भनेजस्तो ज्ञान, सीप र अनुभव कुन पार्टीको कुन उम्मेदवारमा छ भन्ने कुराको स्थानीय तहमा छलफल बढाउन सम्भवत स्थानीय सरोकारवाला समूहहरूको पनि सम्भाव्य भूमिका हुन सक्छ । त्यस्ता समूहले यस्तो चेतनामूलक काम गर्दा कुनै पार्टीको पक्ष वा विपक्षमा लागेर मात्र गर्न सकिन्छ भन्ने पनि सही होइन । तर भनेजस्तो यी सबैको अभाव रह्यो भने पनि आखिर जनता कसै न कसैलाई भोट दिन त बाध्य हुने नै छन्, तर त्यसको परिणाम त्यति नयाँ खालको नहुने प्रस्टै छ । यसरी माथि भनेझैं मेयरका उम्मेदवारमा चाहिने व्यावसायिकताको कुरा गरिरहँदा आसन्न अप्ठ्यारा र चुनौतीको कुरा पनि गर्नु आवश्यक हुन्छ र त्यस्तो चुनौती नेपालमा चलिआएको परिपाटी र सोचका कारणले बढी पेचिलो बन्न जान्छ भन्ने कुरा बिर्सनु नहुनेछ ।
पार्टीप्रतिको समर्पण र योगदानको मापदण्ड र त्यसका अगाडि व्यावसायिकताको प्रश्न
पार्टीले निर्वाचनका लागि टिकट वितरण गर्दा पार्टीप्रतिको समर्पण र योगदानलाई पनि हेर्नुपर्छ भन्ने मान्यता रहिआएको छ र सिद्धान्ततः त्यसमा स्वयंमा कुनै खराबी छैन, यद्यपि त्यस्तो लेखाजोखा केकति भएको छ र त्यस्तो मूल्यांकनका आधारहरू प्रस्ट छ छैन भन्ने कुरा अर्को छुट्टै छलफलको विषय हो । अब प्रश्न उठ्छ– त्यसरी उम्मेदवारहरू छनोटका क्रममा पार्टीप्रतिको समर्पण र योगदानलाई उच्च महत्व दिइरहँदा यहाँ भनेजस्तो व्यावसायिकताको आवश्यकता पूरा हुन्छ कि हुन्न ? नेपालमा रहेभएको स्थिति हेर्दा प्रायः धेरैजसो पार्टीका कार्यकर्तामा आवश्यक व्यावसायिकताको अभाव रहेको र त्यो पनि परिवर्तित स्थानीय तहको नेतृत्व गर्न चाहिने जस्तो व्यावसायिकताको त झन् ठूलै अभाव देखिन्छ ।
पार्टी संगठनको संख्यात्मक वृद्धिमा जोड दिइरहँदा पार्टीहरूले भविष्यमा स्थानीय तहमा आवश्यक पर्ने नेतृत्वको व्यावसायिकता विकासमा ध्यान नदिएको कुराको परिणाम हो यो । अब यो रिक्ततालाई पूर्ति गर्न पार्टीहरूले साँच्चै भविष्यउन्मुख, परिणाममुखी र दबाब झेल्न सक्ने खालको अडान लिनु आवश्यक छ । स्थानीय तहमा खासगरी मेयरको उम्मेदवार छनोट गर्दा आधाआधी भार पार्टीप्रतिको समर्पण र योगदानलाई दिए पनि बाँकी आधा भार योग्यता, ज्ञान र अनुभवजस्ता व्यावसायिक दक्षताका सूचकहरूलाई दिएमा पार्टीहरूले अपेक्षित रूपले सामाजिक उत्तरदायित्व निभाएको मान्न सकिन्छ।
कुनै पार्टी उसले स्थानीय तहको लागि आफ्ना उम्मेदवारहरूको छनोट केकसरी, कुन मापदण्डअनुरूप गरेको हो, सार्वजनिक रूपमै खुलाउन सक्छ भने त्यो त अहिलेको सन्दर्भमा धेरै सराहनीय काम हुन जान्छ ।
—भट्टराई विकासविद् हुन् ।

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget