Websoft University

www.radiomakalu.com || 021-522512


काठमाडौं कि धुलमाडौं ? धुलोका कारण बढ्यो बिरामीको चाप

 



काठमाडौं , चैत्र २० गते । पछिल्लो समय राजधानीका सडकहरू धुलाम्मे छन् । फाट्टफुट्ट रूपमा परेको पानीले सडक भिजाउँछ तर सुकेपछि धुलो उस्तै । मेलम्ची खानेपानी आयोजनाले पानी वितरणका लागि पाइप बिछ्याउन सडक खनेका कारण उपत्यकाबासी धुलोले आजित छन् ।
धुलो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकालगायत सम्बन्धित निकायले चासो नदेखाउँदा मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ ।

सडकमा पैदल यात्रा गर्ने यात्रु, फुटपाथमा व्यापार गर्ने व्यापारी र तिनका बालबालिका, फिल्डमा खटिएका ट्राफिक प्रहरी तथा सार्वजनिक यातायातका सहचालकहरूमा यसको प्रत्यक्ष र गम्भीर असर परेको छ ।

“अत्यधिक धुलोका कारण बाटो काट्ने पैदल यात्रु र गाडीहरूको नम्बर देख्नै गाह्रो पर्छ,” गौशाला चोकमा खटिएका एक ट्राफिक प्रहरीले भने, ‘‘एउटा पाइप पुर्न महिनौं लगाइदिँदा हामीलाई एकदमै समस्या परिरहेको छ । आँखा पोल्ने, खोकी लाग्ने र घाँटीमा धुलो पसेर खसखस हुने समस्याले सताइरहेको छ ।”



वीर अस्पतालमा बिरामीको चाप



धुलोका कारण राजधानीका अस्पतालमा बिरामीको चाप बढेको छ । त्यसमा वीर अस्पतालमा बिरामी चाप अत्यधिक छ । “बजारमा पाइने साधारण मास्कले धुलोका कणहरू रोक्नै सक्दैन,” वीर अस्पतालको बहिरंग कक्षमा भेटिएका चाबहिलका राजीव प्रधानले भने, “ अहिले दम झनै बढेर आएको छ । डाक्टरका अनुसार यसको कारण धुलो नै हो ।”

त्यसैगरी कलंकीकी राधिका पोखरेल पनि वीर अस्पतालको सोही कक्षमा भेटिइन् । “‘पहिला दिनमा एक गोली खाँदै थिएँ, अहिले यसको डोज बढाएर दिनमा दुई गोली खानुपर्ने सुझाव डाक्टरले दिएका छन्,” उनले भनिन् । एकोहोरो रूपमा लागिरहने खोकीका कारण पोखरेल अस्पताल भर्ना भएकी हुन् ।

“आँखा पोलेर जँचाउन आएको हुँ,” वीर अस्पतालको तेस्रो तलामा भेटिएका वनस्थलीका चक्र भूर्तेलले भने, ‘‘बिहानीपख आँसु आउने, कचेरा लाग्ने र अत्यधिक पोल्ने समस्याले ग्रस्त बनायो । बारम्बार औषधी प्रयोग गरें, तर धुलोका कारण बल्झिइरहन्छ ।”
वीर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. ध्रुव गैरेका अनुसार चैत महिनामा मात्रै धुलोका कारण खोकी, रुघा र दम फुल्नेजस्ता समस्या लिएर बहिरङ्ग विभागमा आउने बिरामीहरूको संख्यामा २५ प्रतिशत वृद्धि भएको छ ।

सोही अवधिमा अस्पतालमा भर्ना हुने बिरामीको संख्यामा पनि १५ देखि २५ प्रतिशत वृद्धि भएको छ । सडक किनारमा बेच्न राखिएका खानेकुरामा सडकबाट उडेको धुलो पर्ने र सोही खानेकुरा उपभोग गर्नेहरू पेट दुख्ने र झाडाबान्ता चल्नेलगायतका समस्या लिएर अस्पताल भर्ना हुने गरेको गैरेले बताए ।

“धुलोका कारण ट्राफिक प्रहरी, फुटपाथमा व्यापार गर्ने व्यापारी तथा तिनका बालबालिका, पैदल यात्री, सवारी सहचालकहरू बढी मात्रामा समस्याग्रस्त देखिएका छन्,” गैरेले बाह्रखरीसँग भने, “धुलोका कारण उत्पन्न हुने खोकी, रुघा र दम फुल्ने बिरामीहरूमा पछिल्लो समय समस्या बल्झिने र औषधीको मात्रा बढाउनुपर्ने अवस्थासमेत देखा परेको छ ।”



सम्बन्धित निकायको लापरवाही



उपत्यकाबासीमा यस्ता किसिमका समस्याहरू देखा परिरहँदा काठमाडौं महानगरपालिका भने त्यति जिम्मेवार बनेको देखिँदैन । व्यापक रूपमा आलोचना बढेपछि बल्ल गएको शुक्रबार महानगरले काठमाडौंको धुलो नियन्त्रणका लागि आगामी ६ महिनाभित्रमा १० वटा ब्रुमर खरिद गर्ने योजना सार्वजनिक गरेको छ ।

महानगरको यो योजना कत्तिको प्रभावकारी होला, त्यो आउने दिनहरूमा देखिने नै छ । तर धुलोकै कारण जनस्वास्थ्यमा परेको प्रतिकूल असरलाई तत्काल घटाउनका लागि महानगरपालिकाले कुनै किसिमको प्रभावकारी कदम चालेको भने पाइँदैन ।
मेलम्ची आयोजनाले पाइप बिछ्याउनका लागि सडक खन्नु र काम सकिनेबित्तिकै त्यसलाई नपुर्नु धुलो उत्पादनको मुख्य कारण हो । तर आयोजना भने सडकमा उडेको धुलोप्रति त्यति संवेदनशील देखिँदैन ।

“हाम्रो काम सकिएको ठाउँतिर धुलो उडेको छैन,” मेलम्ची आयोजनाका एक कर्मचारीले भने, “धुलो उडेर सर्वसाधारणलाई असर पुग्ने कुरामा सावधानी अपनाउँदै हामीले रातको समयमा काम गरिरहेका छौंँ ।”

यता सडक विभाग पनि धुलोलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरामा खासै गम्भीर छैन । तर सडक विभागका महानिर्देशक दयाकान्त झा भने आफूहरू यसबारे गम्भीर रहेको सफाइ दिन चुक्दैनन् । उनी भन्छन्, ‘‘धुलो नउडोस् भन्ने कुरामा हामी गम्भीर छौं, मेलम्चीले पत्राचार गरेका स्थानका सडकहरू हामीले मर्मत गरी धुलो नउड्ने बनाएका छौं ।’’

मेलम्चीले खन्दै गरेका सडकमा तत्काल सवारी साधन सञ्चालन नगरी सडक मर्मत गर्न चाहे पनि काठमाडौंमा वैकल्पिक सडकहरू नभएकाले खन्दै गरेको सडकमा गाडी सञ्चालन गर्नुको विकल्प नभएको र त्यसैले गर्दा धुलो उडेको झाको भनाइ छ ।



कसरी होला त धुलो नियन्त्रण ?



काठमाडौं महानगरपालिकाका निर्देशक सनतकुमार थापा काठमाडौंलाई धुलोरहित पार्न यहाँको खाली जग्गामा वृक्षारोपण तथा सडक किनारमा फूल रोप्नुपर्ने बताउँछन् ।

“काठमाडौंमा खुला रूपमा रहेको जग्गामा फूल र बिरुवाहरू रोप्नाले यहाँको वातावरण स्वच्छ हुन्छ र पर्यटकहरू पनि आकर्षित हुन्छन्,” थापाले भने ।

सडक विभागका महानिर्देशक झा सबै नागरिकले सडकको जतन गर्नुपर्ने बताउँछन् । “सडकमा खाल्डाखुल्डी नभएपछि त्यहाँ हिँउद होस् या बर्खा धुलो उड्दैन,” झा भन्छन् । -  सुरञ्जन घिमिरे
बाह्रखरीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget