Websoft University

www.radiomakalu.com || 021-522512


कुकुरपालन ः सुरक्षा कि सोख



काठमाडौँ, चैत १९ गते । ललितपुर कुपण्डोलका सञ्जय तण्डुकारले तीन वर्षदेखि ‘पग’ नामक कुकुर पाल्दै आउनुभएको छ । घरको सुरक्षा र कोही नभएको समयमा आमालाई पनि साथी हुने भएकाले उहाँले कुकुर पाल्नुभएको हो । साथीले ल्याएको देखेर तण्डुकारलाई पनि कुकुर पाल्न रहर लाग्यो । उहाँले रु २० हजारमा कुकुर किनेर ल्याई पाल्न थाल्नुभएको हो ।

कैलाली धनगढीका लोकबहादुर खड्काले स्थानीय माइतीघरस्थित रोयल केनलबाट रु १० हजार ५०० मा जर्मन सेफर्ड जातको कुकुर किनेर पाल्न थाल्नुभयो । घरमा त्यही जातको कुकुर हुँदाहुँदै उहाँले त्यही जातको पोथी किनेर ल्याउनुभएको हो । डोटी घर हुँदा खड्का भोटे कुकुर पाल्नुहुन्थ्यो । अहिले भोटे कुकुर पाइन छाडेपछि उहाँले उन्नत जातका कुकुर पाल्न थाल्नुभएको हो । “दुईटा हुने भएपछि आपसमा खेल्न सजिलो हुने भएकाले त्यही जातको अर्को कुकुर किनेको हुँ, घरको सुरक्षा मात्र नभई सोखको रुपमा पालेको हुँ,” खड्का भन्नुहुन्छ ।

गाउँघरतिर अहिले पनि सुरक्षाका लागि कुकुर पाल्ने गरिन्छ । सहरमा भने सुरक्षा र बढी सोखले कुकुर पाल्ने चलन बढ्दो छ । दुई दशकदेखि कुकुरको व्यापार गरिरहुभएका रोयल केनलका सञ्चालक केशरसिंह केसी सहरमा मानिसले घरको सुरक्षासँगै सोखका लागि कुकुर पाल्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कुकुर २४ सै घन्टा घरमा हुने हुँदा मान्छे घरमा आएपछि उसको भुक्ने शैलीले आफन्त वा चोर आएको हो भन्ने सजिलै थाहा पाउन सकिन्छ, त्यसैले धेरैले सुरक्षागार्डको सट्टा कुकुर पाल्ने गरेका छन् ।” अन्य घरपालुवा जनावरभन्दा मानिससँग खेल्ने भएकाले पनि मानिस कुकुर पाल्न बढी रुचाउँछन् ।

चाँड ैबच्चा उत्पादन हुने र एउटा बच्चाको रु तीनदेखि १० हजारसम्म बिक्री हुनाले मानिसहरु बच्चा बेचेर आम्दानी गर्नका लागि पनि कुकुर पाल्ने गर्छन् । काठमाडौँ उपत्यकामा करिब सय घरपरिवारले बच्चा उत्पादन गरेर बिक्री गर्छन् । पग, जर्मन सेफर्ड, बक्सर, ल्याब्रा डोर, ककर स्पाइनल र जापानी स्पिज जातका कुकुर बढी बिक्री हुने गर्छ । सुरक्षाका लागि जर्मन सेफर्ड अधिक रुचाइन्छ ।

नेपालमा विसं २०४८ देखि व्यावसायिक रुपमा कुकुर पाल्न थालिएको हो । एक दशकअघिदेखि भने उपत्यकामा कुकुरपालन ह्वात्तै बढको बताइन्छ । उपत्यकामा कुकुरको व्यवसाय गर्ने ३५ केनल(कुकरघर) सञ्चालनमा छन् । महिनामा सय कुकुर बेच्ने रोयल केनल माइतीघरमा १२ प्रजातिका कुकुर छन् ।

माउन्ट एभरेस्ट केनल क्लब मध्यबानेश्वरका सञ्चालक सुरेश शाह सुरक्षाभन्दा पनि सोखका रुपमा कुकुर पाल्नेहरु रहेको बताउनुहुन्छ । “सुरक्षाका लागि कुकुर पाल्दा कुकुरलाई आक्रामक बनाउनु पर्छ, त्यसो गर्दा कुकुरले अन्य मानिसलाई टोक्ने हुँदा जोखिम मोलेर मानिस सुरक्षाका लागि पाल्न हच्किन्छन्, बरु खेलेर आनन्द लिन रुचाउँछन्,” एभरेस्ट केनल क्लबका शाह भन्नुहुन्छ ।

कतै बाहिरबाट काम सकेर घरमा आएपछि कुकुरसँग दुई चार मिनेट खेल्दा मानिस आफ्नो दिनभरिको थकाइ मरेको अनुभव गर्छन् । “त्यसैले कुकुरलाई अहिले आफ्नो साथीका रुपमा बढी लिने गरिन्छ” शाह थप्नुहुन्छ ।

एभरेस्ट केनलमा बिक्रीका लागि सेन्ट वर्नाट, गोल्डन रिटिभर, ककर ल्यापे, पग, जापानिज स्पिज, जर्मन सेफर्ड गरी २० जातका कुकुर छन् । अरु जनावरलाई भोक लागेपछि खानेकुरा दिँदा आनन्द मान्छन् तर कुकुर खानेकुरा सँगसँगै मानिससँग खेल्न रुचाउँछन् । अन्यजस्तो नभई मानिससँग पनि आफ्नो प्रतिक्रिया बुझ्ने जनावरका रुपमा कुकुरलाई लिइन्छ । बाहिरबाट मानिस आएपछि पुच्छर हल्लाएर स्वागत गरेपछि आफूले पनि कुकुरलाई त्यस्तै प्रत्युउत्तर दिनुपर्छ ।

विदेशी कुकुरका बच्चा नेपालमै

एक दशकअघिसम्म भारत, चीन र थाइल्यान्डबाट ५० प्रतिशत हाराहारीमा कुकुर आयात गरिन्थ्यो । अहिले नश्ल सुधारमार्फत नेपालमै उन्नत जातका कुकुर उत्पादन गरिन्छ । अझै २० प्रतिशत कुकुर भारत र थाइल्यान्डबाट आयात गरिने केसी बताउनुहुन्छ ।

यहाँ सञ्चालित बच्चा उत्पादन गर्ने ठाउँ (ब्रिड हाउस) मा नै विदेशी कुकुर ल्याएर बच्चा उत्पादन गर्न थालिएको छ । विदेशबाट सधैँ ल्याउन सम्भव नभएकाले नेपालमा ती जातका भाले र पोथी ल्याएर बच्चा उत्पादन थालिएको व्यवसायी बताउँछन् । “विदेशबाट ल्याइएका कुकुर यहाँको वातावरणमा मिल्न गाह्रो हुन्छ” केसी भन्नुहुन्छ, “नेपालमा उत्पादन गरेका विदेशी कुकुर यहाँको हावापानीअनुसार घुलमिल हुन्छन् ।”

सर्वसाधारणले रु १५ देखि ५० हजारसम्मका कुकुर बढी पाल्ने गर्छन् । व्यवसायीका अनुसार नेपालमा सामान्यतया कुकुरको मूल्य रु पाँच हजारदेखि दुई लाखसम्म पर्छ । एक दुई घरमा भने भोटे जातको रु १० लाख पर्ने कुकुर पालेको पाइन्छ । बुलडगलाई रु दुई लाख, साइबेरिया हस्की, नेपोलियन म्यास्ट्रिफ र अमेरिकन बुलीलाई रु एक लाख तथा सेन्ट बर्नाट, कट् वारडा, ग्रेड डेन र पोमोरियन जातका कुकुरको रु ५० हजार पर्छ ।

सबभन्दा बढी बिक्री हुने जर्मन सेफर्ड रु १५ देखि २० हजार र जापानिज स्पिजको मूल्य रु पाँच हजार पर्छ । कुकुरलाई बिहान बिस्कुट त्यसपछि खानामा अनिवार्य मासु र डगफुड खुवाइन्छ । कुकरहरु बिहान र साँझका खानामा भँैसीको मासु बढी रुचाउँछन् । आहारामा दैनिक रु १५० देखि ५०० खर्च हुने गर्छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget