Websoft University

www.radiomakalu.com || 021-522512


मातृसम्मान नै आत्मसम्मान


मातृसम्मान नै आत्मसम्मान
'यदि मेरो शरीरबाट आत्मा छुट्ट्याएर
कसैले मलाई दुई फ्याक पारे पनि
आमा ! ए मेरी आमा !!
मलाई थाहा छ कसको प्रार्थनाले
फेरि मलाई एक पार्न सक्थ्यो ।'
-रुयार्ड किप्लिङ
आमाको प्रार्थनाले सन्ततिको मृतात्मालाई समेत देहमा पुनर्जागृत गराउन सक्छ भन्ने दृष्टांशमाथिको कविताको एक छेस्काले दिएको छ । वैशाख कृष्ण औंसीका दिन नेपालीले पनि आमाको मुख हेर्ने दिवस मनाउँछन् । गाउँघरमा यसलाई 'आमा खुवाउने औंसी' को नामले पनि चिनिन्छ । गाउँघरमा एउटा भनाइ पनि प्रचलित छ । 'छोराछोरी आमा खुवाउन आउँछन् र आमालाई नै खाएर जान्छन् ।' संस्कृति विकृत बन्दै गएको नमुना हो यो । च्यानलमा आउने सिरियलका संक्रमणले हाम्रा चाडपर्व सामाजिक रोगमा परिणत हुँदैछन् ।
Harihar-timsina
हरिहर तिमिल्सिना

कम्तीमा आमाको स्मरण गर्ने यो पावन दिनलाई 'मातृसम्मान दिवस' रूपमा विस्तार गर्नु आवश्यक छ । हुन त आफ्नी आमालाई सम्मान गर्न कुनै दिवस कुर्नु पर्दैन । दिवसको खानी हाम्रो देशमा अनेक दिवस आउँछन्, जान्छन्, तर आमाको ममता कहिल्यै आउने र जाने हुँदैन । यो त रहिरहन्छ अटंक, अविचलित । संसारमा प्रत्येक देशका प्रवर्तक छन् । हरेक राष्ट्रका जन्मदाता छन् । ती व्यक्तिहरू सम्बन्धित देशमा 'राष्ट्रपिता' भनेर पुजिन्छन् । सिंगै देशको जन्म दिनेलाई पनि 'राष्ट्रमाता' भन्ने हिम्मत नगरेर राष्ट्रपिता भन्छ दुनियाँले । सायद एउटी माताले एउटा सन्तान जन्माउनु भनेको कुनै राष्ट्र जन्माउनुभन्दा पनि महान् कर्म हो । त्यसैले 'आमा' शब्दभित्रको पवित्रता र गहिराइलाई विश्वका बडेबडे आध्यात्मिक, दार्शनिक र साहित्यिक व्यक्तित्वले पनि पूर्णरूपले निरूपण गर्न सकेका छैनन् ।
एउटा चराले कति जतनले आफ्नो गँुड बनाउँछ । त्यसभित्रका अन्डालाई ममताले छोप्छ । आँधी, हुरी, झरी र वज्रपातसित पौंठेजोरी खेलेर बचेरा कोरल्छ । चारो बटुल्छ र हुर्काउँछ । त्यो 'आमा-चरी' को एउटै स्वार्थ हुन्छ । सन्तति हुर्काउनु अनि सृष्टिको सुन्दर रचनामा एउटा आयाम थप्नु । संसारका सबै आमा त्यस्तै हुन् । बच्चा जन्माउनु र हुर्काउनुमा तिनको कुनै स्वार्थ लुकेको हुँदैन । संसारमा आमाको महत्ता दर्शाउने अनेक सिनेमा बनेका छन् । उपन्यास, कथा, गीत र कविता रचिएका छन् ।
पूर्वीय संस्कारले आमाबुबालाई जीवित देउता मानेको छ । पश्चिमी जगत्मा पनि मातापिताको स्मरण गर्ने दिवसहरू प्रचलनमा छन् । आमा हुने गुण केवल नारीलाई मात्रै दिएको छ प्रकृतिले । पुरुषले चाहेर पनि आमा बन्न सक्दैन । पुरुषले माता शब्दको गरिमालाई थाम्न पनि सक्दैन । आमा बन्ने रहर कहिलेकाहीं पुरुषभित्र पनि जाग्छ, तर त्यो रहर कुरूप कल्पनाभन्दा केही हुन सक्दैन । एकचोटि महात्मा गान्धीले आफ्नी नातिनी पर्ने कुमारी मनु गान्धीलाई भनेको थिए रे, 'म धेरैका लागि पिता बनें तर तिमी एकजनाको लागि माता नै हुँ ।' कुमारी मनुले, 'बापु-माई मदर' शीर्षकको किताबमा यो स्मरण लेखेकी छन् ।
संसारभरिका मानिसले अदव, गर्व र आदर्शसाथ उच्चारण गर्ने शब्द हो आमा । मा, माता, माई, अम्म्मा, जननी जे भने पनि सारभूत कुरा एउटै हो । भाषा अलग होला, भाव उही हो । संसारका सबै नारी आमा हुन् । आमा प्राणदाता हुन् । जन्म, कर्म, नाम, इज्जत, शान, मान, सबै आमाले सन्तानलाई दिएका नासो हुन् । आमा देवी हुन् । आमा शक्ति स्वरूपा हुन् । आमा सर्वशक्तिमान पीठ हुन् । आमा हाम्रै वरिपरि घुम्ने जीवनदेवी हुन् । आमाभन्दा शक्तिशाली शब्द एउटै मात्र छ यो संसारमा । त्यो शब्द 'आमा' नै हो ।
आमालाई माया गर्ने भुइँमान्छेहरू उन्नति र परिवर्तनको सपना साकार पार्न अझै पनि क्रान्तिको बिगुल फुकिरहेका छन् । आमालाई धोका दिनेहरूलाई खबरदारी गरिरहेका छन् ।
सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आमा धरती हुन् । अनि हाम्रा सबै दिदी, बहिनी, छोरी, चेली आमा हुन् । जीवनमा भेटिएका-नभेटिएका, देखिएका-नदेखिएका सबै नारी आमा हुन् । यस्तो गरिमामय आमा शब्दमाथि कतै हामी खेलवाड त गरिरहेका छैनौं ? मन चसक्क हुन्छ- आज पाँच वर्षीय अबोध आमा बलात्कृत हुन्छिन् । बैंसको पहिलो वसन्तको मुहार पनि राम्ररी हेर्न नपाएका युवती आमाहरू पशुसरह बेचिन्छन् । बम्बैको कोठीदेखि अफ्रिकाको डान्सबारसम्म नारीरूपी आमालाई कौडीको भाउमा विनिमय गरिन्छ । तुच्छ बस्तुजस्तो, मूल्यहीन सामानजस्तो, उपभोग गर, मिल्काऊ र कुल्चको भावमा लपेटिएको छ नेपाली पुरुषसत्ता । घरेलु हिंसा, भेदभाव, असमानत, यौन शोषण र श्रमशोषणका उदाहरण त पाइलैपपिच्छे देखिरहेका छौं हामी । आमाले कहिलेकाहीं अञ्जानमा गल्ती गर्छिन् कपूतहरू जन्माएर ।

कतिपय आमा आफ्नै सन्तानद्वारा परित्यक्त भएर सडक र वृद्धा श्रममा पुगेका छन् । आमाले आफ्नै कोखलाई धिक्कार्नुपर्‍यो भने त्योभन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ ? मेक्सिम गोर्कीको विश्वप्रसिद्ध उपन्यास 'आमा' मा पेलागया निलोभ्ना नामकी प्रमुख पात्र छिन् । तिनले एक ठाउँमा भनेकी छिन्, 'रगतको खोलाले पनि सच्चाइलाई डुबाउन सक्दैन, ए उल्लुहरू ! तिमीहरू जति अत्याचार गर्दै जान्छौ हाम्रो घृणा पनि त्यत्तिकै बढ्दै जानेछ ।' एउटी आमाले सन्तानलाई कदापि घृणा गर्न सक्दिनन्, तर एउटी नारीले दुष्ट पुरुषको अत्याचार सधैं सहनुपर्छ भन्ने पनि छैन ।
गोर्कीले सोभियत रूसमा व्यप्त निरंकुश, कठोर र अत्याचारी जारशाही शासन पद्धतिविरुद्ध धावा बोल्न पेलागयामार्फत माथिका शब्द प्रयोग गरेका थिए । कामदार र मजदुर वर्गमा अन्तर्निहित सुषुप्त शक्तिलाई जागृत गराउनु पनि उनको उद्देश्य थियो । हाम्रो सन्दर्भमा भने समाजले नारीमाथि गरेका अत्याचारलाई खबरदारी गर्न पनि गोर्कीको भाव उपयोगी छ । उसो त सबै नारी आमा हुन् । धरती आमाकी पनि आमा हुन् । त्यसैले धरतीलाई 'धरतीमाता' पनि भनिन्छ । धरतीमाता पनि विभिन्न महादेश, देश, प्रदेश र प्रान्तहरूमा विभक्त छिन् । त्यसैगरी नेपाल हाम्री आमाकी पनि आमा हुन् । यी नेपाल आमा शक्तिशाली सत्तासीनहरूको मात्रै पेवा होइनन् । इतिहास साक्षी छ इतिहासदेखि आजसम्म प्रत्येक सत्तासीनले नेपाल आमालाई धोका दिइरहे । गद्दारी गरिरहे । बरु नेपाल आमाका महान् सर्वसाधारण छोराछोरीले परिआएको बेलामा प्राणको आहुती गरेर क्रान्ति गरे ।
आमाको मुहार फेर्ने सपना देखेर आफ्नो सपना र जीवनलाई तिलाञ्जली दिए । आमालाई माया गर्ने भुइँमान्छेहरू उन्नति र परिवर्तनको सपना साकार पार्न अझै पनि क्रान्तिको बिगुल फुकिरहेका छन् । आमालाई धोका दिनेहरूलाई खबरदारी गरिरहेका छन् । कर्मवीर, परिवर्तनकामी, राष्ट्रभक्त र श्रमशील सन्तति जन्माउने यो धरतीका हरेक आमालाई मातृऔंसीको यो पावन दिनमा हार्दिक नमन छ । आफू जन्मेको, हुर्केको अनि बाँचेको धरतीलाई साक्षात् मातासमान सम्मान गर्न आजको दिनले नेपाल आमाका सबै सन्ततिलाई सद्प्रेरणा प्रदान गरोस् । मातृसम्मान दिवसको सार्थकता यसैमा झल्किनेछ । मातृसम्मान भन्नु आत्मसम्मान पनि त हो ।
मातृत्को जय ! समर्पणको जय !
आमा तिमीलाई ढोग सय सय !-- अन्न्नापूर्ण बाट


Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget