Websoft University

www.radiomakalu.com || 021-522512


खेलाडीहरुको आत्मविश्वास: जित्नकै लागि जाँदैछौं

 





काठमाडौं , चैत्र १० गते । एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्ससँग चैत १५ गते हुने ‘अवे’ खेलको लागि नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । फिलिपिन्सको राजधानी मनिलामा हुने छनोटको पहिलो खेलअघि नेपाली राष्ट्रिय फुटबल टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अन्तिम तयारी गरिरहेको छ ।

नेपाली टोलीले बिहान दैनिक ३ – ४ घण्टा तयारी गरिरहेका छन् । फिलिपिन्सविरुद्धको खेलका लागि नेपाली टोलीलाई मुख्य प्रशिक्षक जापानिज ग्योतुकु कोजी, सहायक प्रशिक्षक राजुकाजी शाक्य र गोल किपर प्रशिक्षक उज्जवल श्रेष्ठको टोलीले प्रशिक्षण गराइरहेका छन् । र, नेपाली टोलीले शुक्रबार अन्तिम दिनको अभ्यास गर्नेछन् । अखिल नेपाल फुटबल संघ एन्फाले पनि नेपाली टोलीलाई शुक्रबार बिदाइ गर्ने कार्यक्रम राखेको छ ।

फिलिपिन्स फिफा वरियतामा नेपालभन्दा ४६ औं स्थान माथि छ । पछिल्लो समय एसियामा पावर हाउस बन्ने होडमा रहेको फिलिपिन्सका केही खेलाडीहरुको युरोपमा शीर्ष डिभिजनका लिग खेलेको अनुभव छ । त्यसमाथि फिलिपिन्सविरुद्ध नेपाली टोलीको पछिल्लो नतिजा सम्झन लायक छैन । तर, फिलिपिन्स जानुअघि टिममा परेका खेलाडीहरु हौसिएका छन् । उनीहरु फिलिपिन्सलाई पराजित गर्ने आत्मविश्वासमा पुगेका छन् ।

“फिलिपिन्ससँग डराएर खेल्नु पर्ने अवस्था छैन,” नेपाली टिमका कप्तान विराज महर्जनले ढुक्कका साथ भने, “जित्न जाँदैछांै ।” नेपालले पछिल्लो समय दोहामा भएको मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग ३–० को हार बेहोरेको थियो । यस्तै, नेपालले फिलिपिन्ससँग त्यसअघिको दुई मैत्रीपूर्ण खेल गुमाएको छ । नेपालले सन् २०११ मा भएको मैत्रीपूर्ण ४–० र २०१४ मा भएको मैत्रीपूर्णमा पनि ३–० ले नतिजा गुमाएको थियो ।

तर, त्यसयता नेपाली टोलीमा धेरै सुधार आएको छ । नेपालले गतवर्ष बंगलादेशमा बंगबन्धु, भारतमा सम्पन्न साग गेम्समा स्वर्ण र गत कात्तिकमा एएफसी सोलिडारिटी कप जितेर आफूलाई प्रमाणित गरिसकेको छ । जसको कारण पनि नेपाली टोली फिलिपिन्सबिरुद्ध जित्ने योजनामा रहेको कप्तान विराजको भनाइ छ ।

“हाम्रो ओभरअल तयारी राम्रो छ । केटाहरू फिट छन् । पहिले फिलिपिन्ससँग आफ्नै गल्तीका कारण हारेका थियौँ । तर, अहिले हामी फिलिपिन्सलाई पराजित गर्न नसक्ने भन्ने तथ्य छैन,” विराजले थपे, “पछिल्लो समय जितको मानसिकता बोकेका छौँ र त्यही अनुसार नतिजा आएको छ । हामी पूर्ण जित्ने योजनामा छौ ।” सदाझैँ नेपालले यो पटक अन्तर्राष्ट्रिय खेलअघि मैत्रीपूर्ण खेल खेलेन । तर, करिब दुई महिनायताको तयारीमा नेपाली टोली फिलिपिन्ससँग मैदान ओर्लदैछ । यसले टोलीलाई केही घाटा हुने कप्तान विराजको बुझाइ छ । “मैत्रीपूर्ण खेल टिमको लागि महत्वपूर्ण हुन्छ । हामीले यो समय मैत्रीपूर्ण खेल खेल्न सकेनौ । जसको कारण टिममा केही घाटा भने हुन्छ,” विराजले भने ।

फिलिपिन्सविरुद्धको खेलका लागि नियमित कप्तान अनिल गुरूङ परेका छैनन् । त्यस्तै, नियमित फरवार्ड नवयुग श्रेष्ठ चोटका कारण राष्ट्रिय टीमबाट बाहिरिएका छन् । यो पटक रोहित चन्द, जितेन्द्र कार्की र कर्ण लिम्बुले नेपाली टोलीमा पुनरागमन गरेका छन् ।

यस्तै, पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सबाट फर्किएर नेपाली टोलीमा सामेल भइसकेका छन् । किरण माल्दिभ्सको शीर्ष डिभिजन लिग उपविजेता ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्सबाट त्यहाँको शिर्ष लिग खेलिरहेका थिए । तर, फिलिपिन्ससँगको खेलका लागि किरण नेपाल फर्कदै बुधबारबाट टोलीको अभ्यासमा फर्किएका हुन् । र, नेपालले फिलिपिन्सलाई पराजित गर्नेमा किरण पनि आशावादी दखिए ।

“फिलिपिन्स त्यति धेरै राम्रो टिम हैन । हामीभन्दा केहि माथि हो । हामीले हराउन नसक्ने भन्ने छैन,” किरणले भने, “हामी पनि एक लेभलमा पुगेका टिम हौँ । फुटबलमा राम्रो र टप टिमले मात्र जित्दैन, टप टिमलाई सानो टिमले पराजित गरेको देख्दै आएको पनि छौँ । त्यसैले हामी जित्नको लागि जानेछौँ ।” त्यस्तै उनले नेपाली टोली फिलिपिन्ससँग अंक गुमाउने पक्षमा नरहेको बताए । किरणले थपे, “हामीले सक्ने प्रयास गर्नेछौं । मैले मेरो तर्फबाट सक्ने प्रयास पनि गर्ने छु । हामीले उसको मैदानमा अंक गुमाउनु हँुदैन । त्यसो भएमा हामीले हाम्रो मैदानमा उनीहरुसंग ३ अंक लिन सक्छौं ।”

होम एण्ड अवेका आधारमा चल्ने छनोटअन्तर्गत नेपालले आगामी १४ नोभेम्बरमा घरेलु मैदानमा फिलिपिन्ससँग खेल्ने छन् । त्यसअघि नेपालले दोस्रो खेलमा आगामी जुन १३ मा यमनसँग घरेलु भूमिमा खेल्नेछ । त्यस्तै नेपालले ५ सेप्टेम्बरमा ताजिकिस्तानसँग पनि घरेलु मैदानमा खेल्दा १० अक्टोबरमा नेपालले ताजिकिस्तानसँग उसैको मैदानमा खेल्नेछ । यस्तै नेपालले २७ मार्च, २०१८ मा छनोटको अन्तिम खेलमा यमनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

एएफसी एसियन कप छनोटमा ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो । ग्वामले छनोटबाट हात झिकेसँगै एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाललाई मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेको हैसियतमा छनोटमा सहभागिता गराएको हो । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget