Websoft University

www.radiomakalu.com || 021-522512


देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने, १५ वटामा सरकार र साझाको स्वामित्व


सेना र प्रहरीले पम्प खोल्ने जग्गा नै पाएनन्



काठमाडौं,चैत ७ गते । देशभर ७१ वटा सुविधासम्पन्न स्मार्ट पेट्रोल पम्पहरु खुल्ने भएका छन् । नेपाल आयल निगमले साना पम्प चलाउने साधारण विक्रेताका लागि नयाँ अनुमति नदिने निर्णय गरेपछि ७१ वटा ठूला पम्पका लागि प्रस्ताव परेको छ ।


नेपाल आयल निगमले निश्चित समय दिएर ठूला पम्प खोल्न चाहानेका लागि आवेदन मागेको थियो । तोकिएको अवधिमा १५ वटा ठूला सरकारी तथा सहकारी पम्पका लागि पनि आवेदन परेको आयल निगमका प्रवक्ता सीताराम पोखरेलले अनलाइनखबरलाई जानकारी दिए । ५६ वटा ठूला पम्पमा लागि व्यवसायिक र्फमहरुले आवेदन गरेका छन् ।

पूर्वाञ्चलमा १२ वटा स्मार्ट पम्पहरु खुल्ने भएका छन् । मध्यमाञ्चलमा २६ वटा सुविधासम्पन्न पम्पका लागि स्वीकृति मागिएको छ । त्यसैगरी पश्चिमाञ्चलका लागि १६ वटा र मध्य तथा सुदूरपश्चिमाञ्चलका लागि १-१ वटा ठूला निजी पम्पको लागि निगमसँग स्वीकृति मागिएको छ ।

निगमले ठूला र आधुनिक प्रविधि तथा सुविधायुक्त नमूना पम्प सञ्चालन गर्ने गरी बिक्रेता विनियमावलीमा संशोधन गरिसकेको छ । अब खुल्ने पम्प ठूलो क्षेत्रमा फैलिएका अत्याधुनिक र सवारीमैत्री हुनेछ ।

अब स्थलगत रुपमा पम्प खुल्ने स्थानको अनुगमन गरेर पम्प खोल्न अनुमति दिइने निगमका प्रवक्ता पोखरेलले बताए । ‘अब तोकिएको जति जग्गा छ कि छैन भनेर हरिनेछ । त्यसपछि आवश्यक प्रक्रिया पुर्‍याएर पम्प निर्माण्का लागि अनुमति दिइनेछ’ पोखरेलले भने ।

सरकारी पम्प पनि खुल्ने

ठूला पम्पहरु राख्न सरकारी संस्थान र सहकारीहरुले पनि आवेदन गरेका छन् । साझा सहकारीले देशभर ४ वटा ठूला पम्पहरु खोल्न आवेदन दिएको प्रवक्ता पोखरेलले बताए ।

त्यसैगरी साल्ट ट्रेडिङले पनि ४ वटा पम्प खोल्न अनुमति मागेको छ । नेशनल ट्रेडिङले प्रत्येक प्रदेशमा एक-एक्क वटा गरेर ७ वटा पम्प खोल्ने भएको छ । यी पम्पहरु राजमार्ग क्षेत्रमा ठूला पम्पहरु खुल्नेछन् । यी पम्पहरु खुलेपछि सवारीले आधुनिक पम्पमा तेल हाल्न पाउनेछन् । अन्तर्राष्ट्रिय स्तरका पम्प खुल्ने गरी सरकारले प्रस्ताव आह्वान गरेको थियो ।

ठूला पम्प खोल्न सेना, प्रहरी र सशस्त्रलाई पनि आग्रह गरिएको थियो । तर, सरक्षा निकायहरुले भने जग्गा नभेटिएको भन्दै आवेदन नै गरेका छैनन् । निगमले लामो समयदेखि मुख्य राजमार्ग क्षेत्रमा पम्प खोल्न अनुमति दिन रोकेको थियो । अहिले १५ सय साधारण विक्रेताहरु छन् । यिनिहरुमा सानो लगानी छ र सुविधा पनि खासै छैनन् ।

अब खुल्ने पम्प कस्ता ?

अब खुल्ने पम्पका लागि करोडौं लगानी आवश्यक हुनेछ । निगमले विभिन्न प्राविधिक शर्तहरु राख्दै मापदण्ड तोकेको छ । अब खुल्ने पम्पहरु अहिलेका जस्ता साँघुरा हुने छैनन् ।

ठूला पम्पहरुले राजमार्गको शोभा पनि बढाउनेछ । अब तराई क्षेत्रमा यस्तो पम्प खोल्न न्युनतम् एक बिगाह जमिन चाहिनेछ । योभन्दा कम जग्गा राखेर पम्प चलाउन नयाँ अनुमति नै दिइने छैन ।

पहाडी तथा हिमाली जिल्लामा पम्प खोल्न कम्तिमा ५ रोपनी जग्गा चाहिनेछ । भित्री मधेसका जिल्लाहरु उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, दाङ र सुर्खेत जिल्लामा पनि यही जग्गाको मापदण्ड तोकिएको छ ।

पहाडी क्षेत्रमा ५ रोपनीभन्दा कम जग्गा राखिएका नयाँ पेट्रोल पम्पलाई अब सञ्चालन अनुमति नदिइने पोखरेलले बताए । पम्पमा पुरुषका लागि दुईवटा शैचालयसहित ६ वटा युरिनरी र महिलाका लागि ४ वटा शौचालय तथा एउटा अपांगमैत्री शौचालय अनिवार्य गरिएको छ ।

पम्पभित्र सुरक्षित पिउने पानीको ब्यवस्था अनिवार्य हुनेछ । पम्पमा आकस्मिक अवस्थामा सोलार बिजुलीको व्यवस्था पनि हुनुपर्नेछ । अब पम्प छिर्ने र निस्कने सडक अनिवार्य रुपमा कालोपत्रे, कंक्रिट वा टयालिङ गरिएको हुनुपर्ने ब्यवस्था गरिएको छ । पम्पभित्र एप्रोच रोड, ट्यांक फार्म, बिक्री कक्ष, पार्किङ एरिया छुट्याउनुपर्नेछ  ।पम्पलाई पर्खालमार्फत सुरक्षित राख्नुपर्नेछ ।

अहिले देशभर अधिकांश पेट्रोल पम्पहरुमा पुरानै प्रविधिमा मेसिन छन् । धेरै पम्प त डिजिटल प्रविधिमा पनि गएका छैनन् । तर, अब स्थापना हुने ठूला पम्पले अनिवार्य रुपमा अटोमेटिक पेट्रोलपम्प जोड्नुपर्नेछ ।

पम्पभित्रै एटीएम सुविधा हुनुपर्ने पनि नयाँ विनियमावलीमा व्यवस्था गरिएको छ । जसको मद्दतमा एटीएमबाटै ग्राहकले सहजै तेल किन्न सक्नेछन् । सुरक्षाका लागि अग्नि प्रतिरोधी सिस्टम जोड्नुपर्ने र पम्पलाई सफा राख्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

अहिले सञ्चालनमा रहेका पम्पहरु एकदमै अव्यवस्थित छन् । थोरै नोजल राखिने कारण पम्पमा दुईवटा बढी सवारी आउनासाथ पालो कुर्नैपर्छ । तर, अब खुल्ने नमूना पम्पहरुमा धेरैवटा वटासम्म सवारी एकैपटक पम्प पुगे पनि पालो कुरिरहनुपर्ने छैन ।

यी पम्पमा न्युनतम् ८ वटा सवारीले एकैपटक तेल भर्न सक्ने हुनुपर्ने अनिवार्य गरिएको छ । एकपटकमा ४ वटा पेट्रोल र चार वटा डिजेल नोजल हुनुपर्ने ब्यवस्था छ । इलोक्ट्रोनिक कार्डबाट समेत भुक्तानी गर्न मिल्नेगरी कार्ड स्वरुप सुविधा पनि यस्ता पम्पमा रहनेछन् । यसले तेल किन्न रकम खल्तीमा बोक्नैपर्ने र जोखिम मोल्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

यस्ता पम्पमा सवारी रोक्दा यात्रुले त्यहाँ फाष्टफुड पनि किन्न पाउनेछन् । बिक्रीस्थलमा भेन्डिङ मेसिनसहित किराना पसल पनि हुनेछन् । यस्ता पसलमा यात्रु तथा चालकले आफूलाई आवश्यक खाजाहरु किन्न सक्नेछन् ।

यस्तै पम्पमा न्युनतम् १० जनाले आरामपूर्वक खान मिल्ने रिफ्रेसिङ हाउस हुनेछ । यतिमात्रै होइन कफीसप सहित रेष्टुरेन्ट पनि पम्पमै हुनेछ । विनियमावलीले नमूना पम्पका लागि यो सुविधा तोकेको छ ।
पम्पमा न्युनतम सान २० वटासम्म गाडी पार्किङ गर्ने सुविधा हुनुपर्नेछ । सवारीमा केही समस्या आएको भएर मर्मतका लागि पनि यस्ता पम्प सहयोगी हुनेछन् । गाडी धुने, टायरमा हावा भर्ने र समान्य मर्मत गर्ने केन्ऽ पनि पम्पभित्रै हुनुपर्ने गरी विनियमावलीले मापदण्ड तोकेको छ । पम्पमा २४ नै घण्टा सुरक्षा गार्ड राख्नुपर्नेछ । पम्पको तेल स्टोर गर्ने ट्यांकी पनि अत्याधुनिक सिस्टमको हुनेछन् । यसका लागि विभिन्न मापदण्डहरु तोकिएका छन् ।-रविन्द्र घिमिरे,अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget