न्युयोर्क, चैत्र १५ गते । कुकुर ओसार पसार गर्न प्रयोग हुने काठको खोर (उडन क्रेट) मा लुकाएर अमेरिका भित्र्याउन लागिएको दश किलोग्रामभन्दा बढी प्रतिबन्धित कडा लागू औषध – हेरोइन अमेरिकी अधिकारीहरुले बरामद गरेका छन् । सो क्रेटमा नक्कली पीँधमा तयार पारी त्यस भित्र हेरोइन कोची भन्सारलाई झुक्याउन उक्त लागु पदार्थ अमेरिका भित्र्याउन खोजिएको प्रयासलाई प्रहरी अधिकारीहरुले बिफल तुल्याइ दिएका हुन् ।
पुर्टोरिकोबाट न्युयोर्कको जोन एफ केनेडि विमानस्थल हुँदै अमेरिकातर्फ तस्करी गर्न खोजिएको उक्त क्रेटमा एउटा एउटा लाब्य्राडर रिट्राइभर प्रजातिको कुकुर समेत रहेको जनाइएको छ । सो हेरोइन तस्करी गर्ने प्रयासमा संलग्न दुईजना अमेरिकी साझेदारहरुः न्युयोर्कको ब्रोङ्कस निवासी ३५ बर्षिय सामुएल सिब्रुक्स र न्युयोर्ककै कार्मेल निवासी २७ बर्षिय कार्लोस बेटनकोर्ट–मोराल्सलाई पक्राउ गरिएको छ ।
उनीहरुउपर प्रतिवन्धित लागूपदार्थ तस्करी गरेको तथा सरकारी अधिकारीलाई झुक्याउन खोजेको आरोपमा मुद्दा चलाइएको समेत क्वीन्स जिल्ला न्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
सरकारी वकिलको श्रोतबाट प्राप्त जानकारी अनुसार गत शुक्रबार राति ब्रोङ्कस आइएचओपि रेस्टुराँमा यी दुइजना युवकको भेटघाट भएको र त्यहीँ नै यी दुई जनाले सरसल्लाह गरी अमेरिकाभित्र लागूपदार्थ तस्करी गरी ल्याउने योजना तयार पारेका थिए । योजना मुताबिक यिनीहरुले पुर्टोरिकोका तस्कर समूहसँग सम्पर्क गरी कुकुर सहितको क्रेट आयात गरेका र बढ्तै मूल्य तिरी जोन एफ केनेडि विमानस्थल स्थित अमेरिकन एयरलाइन्सको प्रायोरिटि पार्सल सर्भिसको सेवा प्रयोग गरेका थिए ।
प्रायोरिटि पार्सल सर्भिसमार्फत् मगाइने सरसामानहरुको कमै मात्र भन्सार चेक जाँच हुने गर्दछ । त्यसमाथि पनि कुकुर थुनिएको क्रेट भएपछि भन्सार अधिकारीहरुलाई झुक्याउन सजिलो हुने नै भयो । यही भन्सार सुविधा, सहुलियतको दुरुपयोग गर्दै सो क्रेटलाई एउटा ट्रलीमा राखेर छिटो छिटो गुडाउँदै भन्सार परिसरबाट बाहिर निकाल्न लागेकै अवस्थामा यी दुइ युवक प्रहरीको फन्दामा परिहाले ।
नक्कली पीँध फुकालेर खोतल खातलपारी प्लास्टिकले बलियोसँग बेरेर पोका पारिएका दसवटा पार्सल भित्र २२ पाउण्ड (१० केजि) हेरोइन फेला पयो । बरामद भएको उक्त सबै हेरोइनको बजार मूल्य दसलाख अमेरिकी डलरभन्दा बढी पर्ने मूल्याङ्कन गरिएको छ । उक्त सबै पार्सलमा खेलकूदका सामाग्री उत्पादक कम्पनीः नाइकको लोगो र पाँचकोणयुक्त ताराको चिन्ह अङ्कित भएको पाइयो ।
न्युयोर्कका यी दुईजना युवकलाई लगाइएको अभियोग अदालतद्वारा प्रमाणित भएमा जनही बीस बीस बर्षको काराबासको सजायँ हुनेछ ।
यता, एक निर्दोष जनावरलाई प्रयोग गरी यत्रो परिमाणमा लागुपदार्थको तस्करी गर्न लागिएको भनी पशुअधिकारबादीहरुले यस घटनाको निन्दा गरेका छन् ।
अमेरिका भित्र्याइनुअघि बन्दरगाह, विमानस्थल वा प्रत्येक प्रवेश नाकामा पशु–पंक्षी (क्वारेन्टाइन) को राम्ररी जाँच पड्ताल गर्नु पर्ने भनी अमेरिकन ह्युम्यान सोसाइटिकी जिन स्याफिरोफले अमेरिकी सरकारलाई सतर्क गराएकी छिन् ।रासस ÷एपी
Post a Comment