Websoft University

www.radiomakalu.com || 021-522512


लोकनायक छन्, लायक छैनन्

लोकनायक छन्, लायक छैनन्


हिजोअस्ति प्रजातन्त्रवादी साम्यवादी समाजवादी पञ्च-अपञ्च राजावादी र नाराजी भन्दै नेपाली भूलोकभित्र राजनीतिमा लागेका वा तिनकै फोटो, सालिक ढोग्दै अनुवादी बन्दै गएकाहरूकै राजनीतिक हालीमुहाली अहिले पनि विद्यमान छ । राजनीतिक वंशवादी, नश्लवादी र रुढिवादी भयो भन्दै संघवादी, समावेशवादी एवं गन्तव्यवादी बन्दै उनीहरू नै अहिले नयाँ लोकतान्त्रिक नेपालका लोकनायक बनिरहेछन् । बितेको आठ दसकयता नेपाली राज्य प्रणालीमा प्राय: एक दशाब्दीमा आइरहने परिवर्तनको ऐतिहासिक क्रम उपक्रममा तैपनि त्यही प्रकारको वंशानुक्रम अनुक्रम, परम्परागत प्रवृत्तिक्रम यथास्थिति छ ।
लोकको राजनीतिमा लोकतान्त्रिक राज्य पद्धति र लोकसम्मत विधि व्यवस्था हुनुपर्छ । अनि त्यस्तो स्थिति प्रणालीलाई निरन्तर अघि बढाइराख्न तथा लोकको हित गर्दै लैजान लोकनायकहरूको अहं भूमिका पनि चाहिन्छ । लोकको चिन्तन गर्ने लोकमार्गमा हिँड्ने र लोकलाई डोर्याएर शिखरतर्फ लम्काउँदै जाने अनि त्यसनिम्ति त्यस्तै किसिमको सही नेतृत्व दिन सक्ने लोकनायकहरू भइदिए भने नै लोकको उध्र्वगामी रूपान्तरण हुने हो । अन्यथा उचो-उचो पुनर्संरचनाको कोरा कुरा मात्र गर्ने नाटकीय नायकीबाट देश उँभो लाग्दैन । यो लौकिक यथार्थ हो ।
राष्ट्रको राजनीति र राज्य प्रणाली राष्ट्रिय प्रकृति परिवेश एवं प्रवृत्तिअनुरूप कायम हुनुपर्छ । भूमण्डीकरण, विश्वग्राम र बदलिँदो अन्तर्राष्ट्रिय विधि, प्रविधिका जति नै कुरा गरे पनि हरेक राष्ट्रको पद्धति वा परिपाटी अन्तत: आफूअनूरूप नै हुनुपर्छ । अरू कसैको देखासिकी विश्वजनीन स्थिति तथा पारस्परिक निर्भरताको विधि, प्रणाली भनेर भनिने विषय विशेष अब विश्वले नै बदल्न खोजेको र बदल्दै जान थालेको देखिन्छ । त्यसैले विश्वका भिन्नभिन्न भूलोकभित्रका हरेक नायकहरूको लोकतान्त्रिक मान्यता पनि लोकसम्मतिअनुरूप मौलिकताको आधारमा केन्द्रित हुनुपर्ने देखिन्छ ।
नेपाल राष्ट्रको निरन्तर बदलिँदो राज्य पद्धति र खासगरी यताका एघार वर्षदेखिको स्थिति दृष्टिगत गर्दा विद्यमान हाम्रो लोकतन्त्र लोकतान्त्रिक मूल्यमा अघि बढ्न नसकेको देखिन्छ । हो, लोकमुखी, जनमुखी र लोकतान्त्रिक विधि नै उत्तम शासन पद्धति हो । आधुनिक विश्व व्यवस्थाको यो निर्विकल्प सत्यलाई नर्कान सकिन्न । तर लोकतन्त्र स्वयं साधन हुँदैन । त्यसलाई कुशलतापूर्वक सञ्चालन गर्ने लायक नायकहरू जब हुँदैनन् तब विधि मात्रको लोकतन्त्रले लोकको भलो गर्दैन । २०६३-७४ वर्ष संवत्सरको यो सँघारमा आइपुग्दा हामीकहाँ देखिने अवस्था यही हो । अनि यतिखेर हामीकहाँ राखिनुपर्ने हेक्का पनि यही नै हो ।
संघीय लोकतान्त्रिक गणतन्त्र पद्धति भनेर नेपालका नवनायकहरूले विगत एक दसकदेखि जति फलाके पनि नेपालीहरूले संघात्मक, लोकात्मक र गणात्मक फल पाइरहेका छैनन् । जीवन पद्धति एवम् लौकिक गतिविधिमा हुनुपर्ने आधारभूत आवश्यकता परिपूर्ति नेपाली जनता अद्यापि वञ्चित छन् । शिक्षा, स्वास्थ्य, बाटो, पानी, बत्ती, शान्ति, सुरक्षा, गाँस, बास, कपासका कुरा जति नै गरे पनि अनि मानवअधिकार सुशासन र न्यायको बखान जतिसुकै भए पनि वास्तवमा मानवीय जीवन व्यवहारमा ती सबैको परिप्राप्ति भइरहेको छैन । कारण त्यही हो- नेपालको राजपाटमा पुग्ने र पुग्न खोज्ने नायकहरू लायक भएनन् ।
नेपालमा प्रशस्त प्राकृतिक स्रोत छ, हाम्रो प्रकृतिभित्र अपार सम्पत्ति छ । तर यहाँको पानी घरघरका धारामा छैन । मान्छेलाई पिउने, नुहाउने, लुगा धुने, खाना पकाउने पानी छैन । हाम्रो पानी जुलुसका मान्छेका आँखा फुट्ने गरी फोहोरा बन्छ अनि हाम्रो पानी आफैंले खडा गरेको धुवाँ, धुलोले खान्छ । हाम्रो जमिन अन्नहीन खोपीहीन र उत्पादनहीन बन्दै जान्छ । हाम्रो ढुंगा, माटो, वन वनस्पति र औषधि कता जान्छ कता पुग्छ, तर त्यसले भूकम्पग्रस्त टहरावासीको घर बन्दैन, नेपाली रोगीहरूको स्वास्थ्य संरक्षण गर्दैन ।
पद्धति, विधि व्यवस्थामा सबै कुरा छ । शिक्षा, स्वास्थ्य, आवास, सुरक्षा आदिमा योजना, परियोजना, प्रबन्ध, परिपाटी सबै छन् तर ती तमाम जनताका निम्ति छैनन् । व्यय छ वृद्धि छैन । व्यवस्था छ अवस्था बाञ्छित छैन । सबथोक औपचारिक छ, व्यावहारिक छैन । कारण त्यही हो, राज्यका हाम्रा सञ्चालकहरू नायक छन्, लायक छैनन् ।

हाम्रो भूलोकमा संसद् छ, सरकार छ, न्यायिक निकाय छन् र अधिकारवादी भनिने संघसंस्था, संकायहरू पनि छन्, तर तिनमा न ताल छ न सुर छ । यो सबै पहुँच क्षमता नराख्ने मतिहीन गतिहीन शर्मनाक नायकहरूकै कारण भएको हो ।
लोकनायक वा राज्य सञ्चालकमा नीति-निष्ठा, आदर्श सिद्धान्त र कुशल चरित्रगत व्यावहारिक प्रतिबद्धता तथा गतिशील शैली हुनुपर्दछ । तर त्यस्तो देखिएन । हाम्रा नेताहरूको लोकको चिन्ताभन्दा पद प्राप्तिको भोक ज्यादा देखियो । अनि त्यसका निम्ति झोक, रोग प्रवृत्ति बढी हाबी हुँदै गयो । नौ महिनाका निम्ति भनेर गठन भएको गठबन्धित सरकारको आकार नौपटक फेरफार र विस्तार भयो तर घोषित लक्षपूर्तिमा नवौं महिनामा आइपुग्दा पनि कुनै नौवत देखिएन । यो सब हुनुको पछाडिको अर्थ र आशय त्यही हो कि राजनीति एवं राज्य व्यवस्थाका हाम्रा दलहरूमा कुनै दृष्टिकोण र दर्शन भएन ।
हालै सप्तरीमा दुर्दान्त दु:खद घटना भयो । सिंगो मधेस मर्माहत छ अनि उता कन्चनपुर वरपरका सिंगो सुदूर पश्चिम प्रताडित चिन्तित छ । तर हाम्रा प्रधानमन्त्री, गृहमन्त्री तथा दलदलका नायक-नायकबीच परस्पर आरोप-प्रत्यारोप मात्र छ । दुई दसकपछि देश स्थानीय सरकार चुनावी अभियानमा आयो भनिएको छ, तर त्यो स्थानीय तह के हो, को हो, कुन चराको नाम हो र त्यो हुनेनहुने के हो, कुनै ठेगान छैन ।
संसद् छ, सरकार छ, न्यायिक निकाय छन् र अधिकारवादी भनिने संघसंस्था, संकायहरू पनि छन्, तर तिनमा न ताल छ न सुर छ । हतार-हतारको लहड र लहरमा गुज्रिँदै गएको यो लामो संक्रमणको प्रहर अझै सङ्लो, उज्यालो, गतिलो हुने झिल्को देखिएको छैन । स्पष्ट गन्तव्यको पहुँच क्षमता नराख्ने मतिहीन गतिको शर्मनाक नायकहरूकै कार्य कारण हो यो ।
राजनीतिमा खेल खेलिन्छ, नाटक हुन्छ, लालसा हुन्छ र आआफ्नो आड अडान हुन्छ भनिन्छ । अनि राजनीतिमा दायाँबायाँ उत्तर दक्षिण हुन्छ- सदा स्थिर र सत्य ध्रुव हुँदैन भनिन्छ । त्यसैगरी राजनीतिमा सदा मित्रु र सदा शत्रु हुने होइन पनि भन्ने गरिन्छ । तर छिनछिनमै बदलिने बाँडिने, नजिकिने टाढिने हाम्रा नेपालको राजनीतिक एवं राज्य प्रणाली देख्दा, हेर्दा, सुन्दा, बुझ्दा यो फोहोरी खेल मात्र हैन, विचित्रको शर्मनाक नाटकजस्तो लाग्छ । नांगै भएर अरूलाई देखाइने यस्तो दृश्य देखाउनेलाई भन्दा देख्नेलाई लाजलाग्दो देखिन्छ ।
अहिलेको नेपाली राजनीतिक चित्रपट ऊँट झैं खडा छ । कांग्रेस के हो, माओवादी केन्द्र के हो, राप्रपा कताको हो र मधेसकेन्द्रित आठदस थरी दलहरूको दर्शन के हो र अरू एकदुई, पाँचसात सिट बटुलेर राजनीतिक दलका रूपमा दरिनेहरूको दरभाउ के हो ? कतै कुनै छेउटुप्पो भेटिँदैन । नेपाली लोकनायकहरूले देखाइरहेको यो शर्मनाक नाटकबाट नेपाली जनता अब नाक, कान, आँखा, मुख छोपेर घोप्टे भीरतिर घोप्टिएर घोत्लिनुपर्ने अवस्थामा भेटिन्छन् । गर्ने के ? भन्ने के ? सुनाउने कसलाई ? सुन्ने को ?- अन्नपूर्ण बाट 
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget