Websoft University

www.radiomakalu.com || 021-522512


पित्त थैलीको पत्थरीः औषधि खाएर उपचार हुन्छ ?




विश्वको कुल जनसंख्याको लगभग १० प्रतिशत मानिसमा पित्त थैलीमा पत्थरी देखिन्छ । हाम्रो देशमा यस रोगको तथ्याङ्क नभएपनि कुल जनसंख्याको १० देखि १५ प्रतिशतमा पित्त थैलीको पत्थरी देखिने अनुमान गरिएको छ ।

यो रोग हरेक उमेर समूहमा देखिएपनि ३० बर्ष देखि ४० बर्षको उमेरमा तुलनात्मक रुपमा धेरै देखिने गरेको छ । यो रोग पुरुषहरुको तुलनामा महिलाहरुमा बढी देखिने गरेको बिभिन्न अध्ययन र अनुसन्धानहरुले देखाएका छन् ।

पछिल्ला अभ्ययन र अनुसन्धानले यो रोगको बंशाणुगत कारणले पनि हुनसक्ने कुरा पुष्टि भइसकेको छ । नेपालमा पनि पित्त थैलीमा पत्थरी हुने बिरामीहरुको संख्या बढ्दो क्रममा रहेको अनुमान गरिएको छ ।

कारण
पित्त थैलीको पथ्थरी कुनै रोग बिशेषको कारणले नभएपनि यस बिषयमा भएका अध्ययनहरुले यसका बिबिध कारणहरु रहेको देखाएका छन् ।
मोटोपना
मधुमेह
धैरै तौल घट्नु
निरन्तर ब्रत बस्नु
रक्तअल्पता
गर्भनिरोधक चक्कीको बढी सेवन

लक्षण
सामान्यतः पित्त थैलीको पत्थरीका बिरामीहरुमा कुनै लक्षण देखिँदैन । अरु कुनै कारणले पेटको भिडियो एक्सरे गर्दा पित्त थैलीमा पथ्थरी देखिन्छ । यसरी पत्थरी भएको फेला पर्नेहरु मध्ये करिब २० प्रतिशत मानिसहरुमा मात्र यसका कारणले लक्षणहरु देखिन सक्छन् जसमा, अधिकांशलाई पेट दुख्ने हुन्छ । पत्थरीका कारण हुने दुखाई दाहिने कोखा वा माथिल्लो पेटमा हुन्छ । यो दुखाई कहिले काँही दाहिने पाखुरा वा ढाडतिर पनि सर्नसक्छ । दुखाई चिल्लो खानेकुरा खाएपछि बढ्ने गर्छ । यसरी देखापरेको दुखाई २४ घण्टाभित्रै ठीक हुनेगर्छ । जटिल हुँदै गएपछि हरेक दिन जस्तो दुख्न थाल्छ । पित्त थैलीको पथ्थरीको अर्को मुख्य लक्षण भनेको पेट ढुस्स भएर फुलेजस्तो भान हुने, अपच हुने र डकार आउने हुन्छ ।

जटिलताहरु
पित्त थैलीको संक्रमण
कमलपित्त(जण्डिस)
अग्नाशयको संक्रमण
पित्त थैलीको क्यान्सर

उपचार

संसारभरी नै सबैभन्दा धेरै गरिने पेटको अप्रेशन मध्ये पित्त थैलीको पत्थरी झिक्न गरिने अप्रेशन पहिलो स्थानमा आउँछ । पित्त थैलीको पत्थरीको एकमात्र उपचार अप्रेशन गरेर निकाल्नु हो । आजभोलि यो अप्रेशन दूरबिन प्रबिधिबाट गरिन्छ ।



दूरबिन प्रबिधिबाट अप्रेशन गर्दा बिरामीलाई दुखाई र पीडा पनि कम हुन्छ । त्यसैगरी घाउमा संक्रमण हुने र पाक्ने समस्या पनि न्युन रहन्छ । दुखाई कम हुनाले अप्रेशन गरेको ४ देखि ६ घण्टा भित्रै बिरामी हिँडडुल गर्न सक्दछन् र सामान्य मानिस सरह खानेकुरा समेत खान सक्दछन् । अप्रेशन गरेको २४ घण्टामा बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरी घर पठाउन सकिन्छ भने अप्रेशनको ४८ घण्टादेखि ७२ घण्टामा बिरामी सामान्य जीवनशैलीमा कामकाज गर्न सक्ने हुन्छन् ।

भ्रम
हामीकहाँ आउने प्रायजसो बिरामीले औषधिले यसको उपचार हुन्छ कि हुँदैन ? भनेर सोध्ने गर्दछन् । यसको स्पष्ट जवाफ पित्त थैलीको पत्थरीको उपचार भनेकै शल्यक्रिया गरेर त्यसलाई निकालेर फाल्नु मात्र हो । हालसम्म कुनैपनि औषधिले यसको उपचार सम्भव भएको छैन ।

बिरामीको अर्को जिज्ञासा हुनेगर्छ, सानो पत्थरीको उपचार गर्नुपर्छ र ? हामीले उपचार गर्दा एउटा कुरामा विचार पुर्याउनुपर्छ, सानो पत्थरीले गर्दा पनि जटिल समस्याहरु उत्पन्न हुन सक्छ । त्यसैले सानो पत्थरी हुँदैमा यसले कम असर गर्छ भन्ने छैन । पित्त थैली निकालेमा मानिसलाई कुनै समस्या हुँदैन र उसले पहिले झै सामान्य मानिस सरह जीवनयापन गर्नसक्छ ।

(ल्याप्रोस्कोपिक, बेरियाट्रिक तथा ग्याष्ट्रो सर्जन साह ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी काठमाडौंमा कार्यरत छन् ।)-डा. राकेश कुमार साह

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget