Websoft University

www.radiomakalu.com || 021-522512


नगर उद्यान बन्यो काँसघारी




झापाका सबै गाविस कार्यालयको काम ठप्प
झापा, माघ १९ गते । सरकारले घोषणा गरेको ‘एक नगर, अनेक उद्यान’ कार्यक्रमअन्तर्गत भद्रपुर नगरपालिका–१० मा निर्माण गरिएको नगर उद्यान काँसघारीमा परिणत भएको छ । डेढ वर्षअघि तारघेरा, फूल तथा वृक्षरोपण गरिएपनि त्यसयता उद्यानको स्याहार सम्भार नगरिँदा उद्यान काँसघारीमा परिणत भएको हो । आर्थिक वर्ष २०७१÷७२ मा भद्रपुर नपा र जिल्ला वन कार्यालय झापाले संयुक्तरुपमा नगर उद्यानको घोषणा गरेका थिए ।

नगरपालिका र वन कार्यालयबीच भएको सम्झौता अनुरुप उद्यानको निर्माणमा रु १० लाख लगानी गरिसकिएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बताउनुभयो । “सम्झौताअनुसारको काम गरेर हामीले उद्यान जिम्मा लगायौँ”– उप्रेतीले भन्नुभयो, “उद्यानको गुरुयोजना बनाएर नगरपालिकाले काम गर्नुपर्ने हो ।”

नगरपालिकाले उपलब्ध गराउने भनिएको रु छ लाख हालसम्म उपलब्ध नगराएको उद्यान उपभोक्ता समितिका अध्यक्ष धनजुजु श्रेष्ठले बताउनुभयो । “नगरपालिकाले लगानी कबोल गरेको रु छ लाख हालसम्म प्राप्त हुन सकेको छैन”– उहाँले भन्नुभयो, “त्यसैले उपभोक्ताले व्यहोर्ने रु एक लाख ५९ हजार पनि लगानी गर्न सकिएको छैन ।”

जम्मा ८६७,६३५ वर्ग मिटर क्षेत्रफलको उद्यान निर्माण गर्न तारघेरा, फूल तथा वृक्षरोपणका लागि वन कार्यालयले बजेट विनियोजन गरी एक वर्षसम्म त्यसको रेखदेखका लागि पालेसमेत राखेको थियो । त्यसपछि नगरपालिका कार्यालयमा मालीको दरबन्दी भएपनि उद्यान स्याहार सम्भारविहीन बनेको छ ।

नगरपालिकाले उद्यान निर्माणका लागि चालु आवमा समेत रकम विनियोजन गरेको छैन । सरोकारवालाको बेवास्ताका कारण नगरको शोभा बढाउने उद्यान अलपत्र अवस्थामा रहेको स्थानीय दिप लिम्बूले बताउनुभयो ।

नगर उद्यान निर्माणका लागि नगरपालिकासँग तत्काल कुनै स्रोत नभएको नगरपालिकाका अधिकृत काजीमान राईले बताउनुभयो । “स्रोत नभएकाले काम अघि बढेको छैन”– उहाँले भन्नुभयो, “हामी स्रोत जुटाउने कोसिस गरिरहेका छौँ ।” रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget