Websoft University

www.radiomakalu.com || 021-522512


धुलो दूध प्लान्टको क्षमता तेब्बर बनाईने

धुलो दूध प्लान्टको क्षमता तेब्बर बनाईने

मोरङ,  फागुन  ६ गते । एघार करोड रुपैयाँ लगानी थपेर दुग्ध विकास संस्थान विराटनगरले धुलो दूध कारखानामा उत्पादन क्षमता तेब्बर बनाउने भएको छ । संस्थानको विराटनगर शाखाका प्रबन्धक सरोजकुमार सिम्खडाका अनुसार चैतभित्रमा प्लान्टको क्षमता विस्तार भइसक्ने छ ।


चैत महिनामा दूध सङ्कलन कम हुने भएकाले कारखाना विस्तार सहज हुने अनुमान गरिएको छ । “हाल २० हजार लिटर दूधबाट धुलो दूध उत्पादन भइरहेको छ”, प्रबन्धक सिम्खडाले भन्नुभयो, “यसबाट एक हजार ६ सय किलोग्राम धुलो दूध उत्पादन हुन्छ । कारखानाको विस्तार गरिएपछि थप ४० हजार लिटर दूधबाट धुलो दूध उत्पादन गर्न सकिनेछ । दैनिक ६० हजार लिटर दूधबाट पाँच हजार किलोग्राम धुलो दूध उत्पादन गर्न सकिनेछ ।” धुलो दूधको कारखानाको विस्तार गरिएपछि पूर्वका किसानले ‘मिल्क होलिडे’को समस्या भोग्नु पर्दैन ।

प्रबन्धक सिम्खडाका अनुसार पूर्वक्षेत्रका किसानले जति दूध उत्पादन गरे पनि संस्थानले खरिद गर्नेछ । सो कारखानाबाट उत्पादित धुलो दूधको बजार काठमाडौँ हो । टेन्डर भएर संस्थानको परिसरमा मेसिन आइसकेको प्रबन्धक सिम्खडाको भनाइ छ । सो मेसिन जडान गरेपछि दूध उत्पादन बढ्नेछ । हाल किसानबाट सङ्कलित ३० हजार लिटर दूध विराटनगरस्थित आयोजनामा आइरहेको छ । विराटनगरमा सङ्कलन गरिने दूधमध्ये ६० देखि ७० प्रतिशत इलामबाट आउँछ ।

यसबाहेक पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी र सप्तरीबाट पनि दूध सङ्कलन भइरहेको छ । यसरी पूर्वाञ्चल क्षेत्र दूध र दूधजन्य पदार्थमा आत्मनिर्भर रहेको सिम्खडाको भनाइ छ ।

धुलो दूध मात्र नभई विराटनगरस्थित आयोजनाले उत्पादन गर्ने घिउ र मक्खनको ७० प्रतिशत बजार पनि काठमाडौँ हो । आयोजनाले दैनिक एक मेट्रिक टन मक्खन र त्यति नै मात्रामा घिउ उत्पादन गर्दै आएको छ ।

सो कारखाना स्व शैलजा आचार्य कृषिमन्त्री हुँदा संस्थानको विराटनगर कार्यालयस्थित परिसरमा स्थापना गरिएको थियो । सो कारखानालाई विसं २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गर्नुभएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget