काठमाडौं, माघ २५ गते । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक संकायका डीन डा. शिवलाल भुसालले नेपालमा संघीयता सहितको निर्वाचन हुन लागेकाले जापानी निर्वाचनको अनुभवबाट नेपालले धेरै सिक्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त आयोजनामा लोकतान्त्रिक मुलुकमा आमसञ्चारका माध्यममा निर्वाचन समाचार कसरी तयार गरिनुपर्छ भन्ने विषयमा आयोजित कार्यशालामा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
कार्यशालामा त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा. चिरञ्जीवी खनालले ‘नेपालमा निर्वाचनसम्बन्धी रिपोर्टिङ अवस्था’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नु हुँदै निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा गम्भीर हुन आग्रह गर्नुभयो ।

उहाँले नेपालमा निर्वाचन समाचार सम्प्रेषण गर्ने परम्परा छोटो रहेकाले नेपालको पत्रकारिता तथा आमसञ्चार विषयमा अब निर्वाचन समाचारलाई पाठ्यक्रममा समावेश गरिनेपर्ने बताउनुभयो ।
कार्यशालामा जाइकाका वरिष्ठ सल्लाहकार डा. केइची हासिमोतोले ‘निर्वाचन प्रक्रियामा आमसञ्चार माध्यमको प्रभाव ः पूर्वाग्रह र सन्तुलन’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपालका निर्वाचनमा तटस्थ, निष्पक्ष र शुद्धता अपनाउन सञ्चारकर्मीसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा त्रिवि पत्रकारिता तथा आमसञ्चार विभागका सहप्राध्यापक प्रवलराज पोखरेलले नेपालमा एक वर्षभित्रै तीनवटा निर्वाचन गर्नुपर्ने भएकाले जाइकासँग मिलेर नेपालको निर्वाचनको समाचार कसरी तयार गर्ने भन्ने विषयमा विभाग सहकार्य गरेर जान इच्छुक रहेको बताउनुभयो ।
कार्यशालामा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइटेल, जापानी सञ्चारविज्ञ ताकाओ कोवायाशी, जापानको एनएचकेका पत्रकार मासुहारा आन्दोलगायतले जापानी निर्वाचन अनुभव नेपालका निर्वाचनमा उपयोगी हुने धारणा राख्नुभयो ।
Post a Comment