Websoft University

www.radiomakalu.com || 021-522512


एमालेको मेची–महाकाली अभियान तीव्र



काठमाडौँ, माघ २५ गते । नेकपा (एमाले)ले आगामी फागुन २१ गतेदेखि गर्ने १५ दिने मेची–महाकाली राष्ट्रिय अभियान ऐतिहासिक हुने दाबी गरेको छ ।
विभिन्न पाँच भाषाको पोस्टर, पम्पलेट, बुकलेट, बुलेटिन लिएर विशेष तयारीका साथ तराई मधेशमा सुरु गर्न लागेको सो अभियानले एमालेविरुद्ध गरिएका झुठा प्रचार, भ्रम र अस्पष्टतालाई समेत चिर्ने नेताहरूको दाबी छ । अभियानले तराईका करिब ५० लाख जनतासँग प्रत्यक्ष, अप्रत्यक्ष सहकार्य गराउने एमालेको बुझाइ छ ।
अभियानको तयारीमा पार्टी पङ्क्ति जुटेको र त्यसको व्यवस्थापनका लागि विभिन्न कमिटी तथा उपकमिटी गठन गरिएको छ । तराई मधेश र मध्य तराईमा बोलिने भाषाहरू मैथली, भोजपुरी, थारू, डोटेली, अवधीमा अभियानमा दिने सन्देशका लागि बुलेटिन, पम्पलेट र पुस्तिका प्रकाशन गरिएको एमालेले जानकारी गराएको छ । यसअघि सो दलले पाँच भाषामा नयाँ संविधानको उल्था गरेर पुस्तिका प्रकाशन गरिसकेको छ ।
पार्टीका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलका अनुसार अभियान पार्टीको अस्तित्वसँग जोडिएकाले तीव्र तयारी थालिएको छ । एमालेविरुद्ध तराई मधेशमा फैलाइएका भ्रम र अस्पष्टतालाई १५ दिनमा पार्टीले चिर्ने र जनतामा नयाँ सन्देश दिने दाबी पोखरेलले गर्नुभयो । “यो अभियान एमालेका लागि ऐतिहासिक सावित हुनेछ, त्यसैले पूरै पार्टी पङ्क्ति एकढिक्का भएर तयारीमा जुटेको छ,” उहाँले भन्नुभयो ।
अभियानले नयाँ संविधान कार्यान्वयन, आगामी निर्वाचन र राष्ट्रियता र सार्वभौमिकताबारे गतिलो सन्देश जनतामा लग्नेछ भन्दै पूर्व मन्त्रीसमेत रहनुभएका पोखरेलले अभियानमा पार्टीका शीर्ष नेताहरूको सक्रिय उपस्थिति रहने बताउनुभयो । अभियानलाई सफल पार्न जिल्ला र क्षेत्रीयस्तरमा तीव्र तयारी थालिएको उहाँले जानकारी दिनुभयो ।
झापाको काँकडभित्ताबाट फागुन २१ गते सुरु हुने अभियान चैत ५ गते सुर्खेतमा जनसभा गरेर समापन हुने सो दलले जनाएको छ । अभियानमा सहभागिताका लागि पार्टीले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा टोली निर्माण गरेको छ । सो टोलीमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, सुवासचन्द्र नेम्बाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल रहनुभएको छ ।
त्यस्तै भेला तयारी र व्यवस्थापनका लागि सातवटै प्रदेशमा नेताहरूको जिम्मेवारी तोकिएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रदेश नं. १ का लागि सुवासचन्द्र नेम्बाङ र योगेश भट्टराई, प्रदेश नं. २ का लागि मुकुन्द न्यौपाने र केशव बडाल, प्रदेश नं. ३ का लागि सुरेन्द्र पाण्डे, अमृत बोहरा र पुष्प कँडेललाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै, प्रदेश नं. ४ का लागि सोमनाथ प्यासी, प्रदेश नं. ५ का लागि घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र शङ्कर पोखरेल, प्रदेश नं. ६ का लागि छविलाल विश्वकर्मा र प्रदेश नं. ७ का लागि पृथ्वीसुब्बा गुरुङलाई जिम्मेवारी तोकेको छ ।
‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान ः संविधानको कार्यान्वयन एमालेको अभियान’ मूलनारा तय भएको सो अभियानले तराई मधेशका नागरिकसँग एमालेको सम्बन्धलाई गाढा र सुदृढ बनाउने नेता श्रेष्ठले बताउनुभयो । -लक्की चौधरी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget