त्रिचन्द्र क्याम्पसमा राजनीतिशास्त्रको अध्ययापन तथा २०५१ म निर्वाचन आयोगमा आयुक्तभई वि.सं. २०५१ र २०५६ को संसदीय चुनाव तथा २०५४ सालको स्थानीय निकायको निर्वाचनको अनुभव सँगालेका डा. वीरेन्द्र मिश्रसँग अब हुनलागेको स्थानीय तहको निर्वाचनका सम्भावित अप्ठ्यारा र विगतको अनुभवबारे रातोपाटीका लागि कुराकानी गरेका छन् नरेश ज्ञवालीले ।
वि.सं. २०५४ को स्थानीय निकायको निर्वाचनलाई तपाईंले कसरी सम्झनु हुन्छ ? विगतबाट शिक्षा लिनुपर्ने केही अनुभवहरु ?यी कुराहरु मैले बारम्बार आफ्ना लेखहरु मार्फत व्यक्त गर्ने गरेको छु । मलाई लाग्छ हामीकहाँ निर्वाचनको वास्तविक अर्थ नै बुझेका भनिएका मान्छेहरुले, नेताहरुले बुझेकै छैनन् । अरु त अरु संविधान लेख्नेहरुले बुझेका छन् जस्तो मलाई लाग्दैन । जनताले बुझने कुरै भएन । कहाँसम्म भयो भने संविधानलाई एउटा सत्ता पाउने साधनका रुपमा प्रयोग गरियो । जब कि निर्वाचन भनेको जनताले आफ्नो प्रतिनिधि छान्न पाउने अधिकारको कुरा हो । जोसँग कर्तव्य पनि जोडिएर आउँछ । म राजनीतिशास्त्रको विद्यार्थी भएको नाताले यसलाई कहिलै पनि कर्मचारीको दृष्टिकोणबाट हेरिनँ ।
यहाँ अर्को दुःखको कुरा कहिलै निस्पक्ष निर्वाचन हुन सकेन । ०५१ को मध्यावधि निर्वाचन घोषणासँगै हामीलाई निर्वाचन आयोगमा लगिएको हो । त्यसबेला प्रमुख निर्वाचन आयुक्त विष्णुप्रसाद शाह हुनुहुन्थ्यो । त्यतिबेला स्थानीय निकायको निर्वाचन गराउन ‘स्थानीय निकाय निर्वाचन सुधार समिति’ नामक कमिटी नै गठन भएको थियो । त्यति बेला नै हामीले स्थानीय निकायको वडाको सङ्ख्या बढाएको ।२०५४ वैशाख–जेठमा निर्वाचन गराउनुपर्ने हामीलाई समयसीमा थियो । त्यसबेला शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले निर्वाचनको म्याद थपौँ भनेर ३ महिना म्याद थप्नुभयो । तर उहाँको सरकार हटेर लोकेन्द्रबहादुर चन्दको सरकार गठन भयो । हाम्रो काम भनेको समयमै निर्वाचन गराउनुपर्ने थियो त्यसैले हामीले सरकारलाई नसोधीकनै निर्वाचनको मिति तोकिदियौँ र प्रधानमन्त्रीलाई जानकारी गरायौँ ।

कार्यकारीसँग सल्लाहा नै नगरी निर्वाचन घोषणा गर्नु ठीक थियो कि थिएन ?पहिलो तपाईंले ठहर्याउने ठीक र बेठीकको आधार के हो भन्ने प्रश्न उठ्छ । ऐनले जे भन्छ आयोगले त्यही गर्ने हो । निर्वाचन आयोग आफैमा निर्णायक गर्ने संस्था होइन । उसलाई जे अधिकार दिइएको छ त्यही गर्ने हो । त्यसबेला मात्र के भएको हो भने आयोगलाई दिइएको अधिकारलाई हामीले अलिक अगाडि सरेर व्याख्या गर्यौँ र निर्वाचनको मिति घोषणा गरिदियौँ । त्यसबेला आयोगमा हाम्रो धारणा के थियो भने २०४८ को निर्वाचन वास्तवमा निर्वाचन नै थिएन । किनभने काङ्ग्रेस–एमाले मिलेर राप्रपालाई निर्वाचनमा निर्वाद रुपमा सहभागी हुनै दिएका थिएनन् ।
त्यसैले हामीलाई धेरैभन्दा धेरै निर्वाचन निष्पक्ष होस् सबै विचारहरुको प्रतिनिधित्व होस् भन्ने थियो । जसको परिणाम हामीले ०५१ मा देख्न पाउँछौँ । ०५१ को निर्वाचनमा राप्रपा सशक्त रुपमा आयो । त्यो निर्वाचन दुई चरणमा भएको थियो । त्यसबेला सुरक्षा निकायको भनाइ पनि दुई चरणमा गरौँ भन्ने थियो । उनीहरुले एक चरणको चुनाव सकिएपछि दोस्रो चरणको चुनावका लागि १५ दिनको समय मागेका थिए तर हामीले जम्मा १० दिन मात्र दियौँ । जुन गल्ती हामीले ०५६ को निर्वाचनमा सुधार्यौँ । त्यो चुनाव पनि दुई चरणमा भएको थियो । त्यसबेला काङ्ग्रेस–एमालेले माओवादीलाई देखाएर दुई चरणमा निर्वाचन गर्न हुँदैन भन्दै थिए तर हामीले आफ्नो स्पष्ट मत राख्यौँ । निर्वाचन पनि सफल भयो । हामीले अघिल्लो पटक गरेका कुनै पनि गल्तीहरु प्छिल्लोमा नदोहर्उनु भनेकै शिक्षा हो ।
०५४ मा भएको निर्वाचनको कमजोरी के थियो भने निर्वाचन अधिकृत सिडियोलाई बनाइएको थियो । जसले गर्दा सरकारमा रहेका दलहरुले निर्वाचनलाई प्रभावित पार्न सक्थे । हामीले त्यसलाई परिवर्तन गर्न खोज्यौँ तर त्यो प्रावधानलाई परिवर्तन गर्न दिइएन । एमालेले ६५ प्रतिशत मत ल्यायो । त्यसबेलाका गृहमन्त्री बामदेव गौतम थिए । मेरो आफ्नो निष्कर्ष भनेको उनले आफ्नो मन्त्रालय मार्फत सीडीओहरुलाई प्रभावमा पारे । त्यस्तो परिणाम देखिएपछि मैले निर्वाचन अधिकृत सीडीओलाई बनाएकोमा गल्ती भयो कि भएन भनेर प्रश्न गरेँ । निष्पक्ष निर्वाचन नगराएको ठहर भएपछि हामीले दुइटा सीडीओलाई कारवाहीको गर्नुपर्ने भयो तर प्रधानमन्त्री चन्दले त्यसो नगरौँ कारवाहीले कर्मचारीतन्त्रमा गलत सन्देश जानसक्छ भनेपछि हामीले निर्वाचन अधिकृतमा परिवर्तन भन्ने समाचार बनाउन लगायौँ ।स्थानीय तहको निर्वाचन गराउँदा केही अप्ठ्याराहरु देख्नुभएको छ कि ?सुरुदेखि नै हाम्रा राजनीतिक दलहरुमा निर्वाचन भनेपछि विपक्षीलाई आउन नदिने खालको दृष्टिकोण अँगालेको पाइन्छ । भारतमा समते त्यस्तै भइरहेको छ । खैर म त्यसबारे यहाँ केही भन्दिन । त्यो भन्नुको मूल अर्थ के हो भने आफ्ना मान्छेलाई मात्र भोट खसाल्न लगाउने र आफ्नो उम्मेदवारलाई विजयी गराउने । पहिले पहिले प्रहरी प्रशासनको खर्चसमेत निर्वाचन आयोग मार्फत सुरक्षा निकायहरुमा जाने गर्दथ्यो । तर पछि त्यो जिम्मेवारी हामीले लिनेभन्दा पनि सम्बन्धित मन्त्रालयबाटै त्यसको पटक पटक चलाऊँ भनेर त्यही निर्णय गर्न लगाइयो । आज हरेक जिल्लामा निर्वाचन आयोगको आफ्नै कार्यालय छ भनेपछि पहिलेभन्दा सहज हुन्छ जस्तो लाग्छ ।
स्थानीय तहको निर्वाचनको कुरा चलिरहँदा कति जिल्लाहरुमा त्यसको पूर्ण खाका तयार भइसकेको देखिँदैन । त्यस्तोमा चुनाव गराउन असहज हुँदैन र ?मलाई सबैभन्दा धेरै हास्यास्पद के लाग्छ भने निर्वाचन आयोगले पटक–पटक हामीलाई निर्वाचन गराउने मिति तोक्नुपर्यो भन्छ । मलाई के लाग्छ भने निर्वाचन आयोगलाई निर्वाचन मिति किन चाहियो ? निर्वाचनको मूल आधार भनेकै मतदाता नामावली हो भने निर्वाचनको मिति घोषणाको कुरा किन चाहियो ? मतदाता नामावलीपछि चाहिने भनेको वडा हो । किनभने त्यो वडामा बस्ने मतदाताको सङ्ख्या र अरु कुराको रुजु गर्नुपर्ने हुन्छ । अब यहाँ त अवधारणालाई नै भत्काउन खोजेका छन् । ३–४ वटा गाउँलाई एउटैमा जोडिएको छ । गाउँमा कति वडा रहनेछन्, त्यसको पनि टुङ्गो छैन । मतदाताविना निर्वाचन हुनै सक्दैन । मतदाताको भूगोल के हो भन्ने त चाहियो नि ।
आजको मूल समस्या ?अहिलेको मूल समस्या भनेकै हामीले पद्धतिलाई राम्रो गरी अँगाल्न सकेनौँ । निर्वाचनलाई हेर्ने र बुझने हाम्रो दृष्टिकोण नै परिपक्व छैन । निर्वाचन एउटा लामो प्रक्रिया हो । जसमा राजनीतिक, कानुनी र न्यायिक जस्ता विषयहरु गासिएका हुन्छन् । यो चार मूल तत्व मिलेर बनेको हुन्छ । पहिलो– मतदाता, दोस्रो– उम्मेदवार, तेस्रो– निर्वाचन आयोग र चौथो– राजनीतिक अवस्था । निर्वाचन भनेको यो सबै प्रक्रिया मिलेर बनेको एउटा सिस्टम हो । हामीकहाँ मतदानलाई निर्वाचन भन्ने गरिन्छ । जब कि त्यो निर्वाचन प्रणालीको एउटा अङ्ग मात्र हो ।

निर्वाचनमा कुनै एक पक्ष मात्र सहभागी भएर पनि निर्वाचन हुँदैन । त्यसमा सबै पक्षको सहभागिता जरुरी हुन्छ । यो सबै नेताहरुले गरिरहेका छन् तर उनीहरुमा गम्भीरता आउनु जरुरी छ । अहिले सबैले आफ्नो दलीय स्वार्थ मात्र हरेका छन् । हाम्रा दलहरु दलीय स्वार्थभन्दा माथि उठ्नुपर्छ । बाँकी कुरा निर्वाचन आयोगका पदाधिकारीहरुलाई त्यसबारे राम्ररी थाहा होला भन्नु पर्यो । इङ्ल्यान्डमा २२ दिनमा चुनाव हुन्छ भने हामीले पनि त्यहाँबाट केही सिक्नुपर्यो । यहाँको समस्या भनेको मतपत्र छाप्ने, मतदाता नामावली रुजु गर्नेलगायतका केही प्राविधिक समस्या छन् होला ।
स्थानीय तह र प्रादेशिक निर्वाचनमा आयोगले र दलहरुले ध्यान दिनुपर्ने मुख्य कुरा ?हामी प्रयोगमा गइरहेको अवस्थामा छौँ । किनभने न हामी पूर्ण क्रान्तिकारी हुन सकेका छौँ, न पुरानो बाटोमा हिँड्न सकेका छौँ । डेमोक्रेसीमा स्थानीय तहको अथवा निकायको आवश्कता किन पर्यो भन्दा नागरिकलाई, अझ स्पष्ट गरी भन्दा एउटा व्यक्तिको एकाइलाई बलियो पार्न यस्तो व्यवस्था अँगालिएको हो । न कि प्रशासन र समाजलाई । म के देख्छु भने हाम्रा एमाले–काङ्ग्रेसका नेताहरु व्यक्तिको एकाईलाई बलियो पार्ने होइन कि प्रशासनलाई बलियो पार्न लागेका छन् । यसैले नै हामी कहाँ जाँदैछौँ भन्ने कुराको निर्धारण गर्नेगर्छ ।अहिले पहिले भएका गाविस सङ्ख्यालाई घटाएर आधाभन्दा पनि कम बनाइएको छ । के त्यसले जनताको उचित प्रतिनिधित्व हुन्छ ? त्यसले आवाजविहीनहरुको आवाजको प्रतिनिधित्व हुन्छ ? यो प्रश्न टट्कारो छ । त्यसैले नेताहरुमा डेमेक्रेटिक सोच आउन जरुरी छ । हामीले गर्ने विकास भनेको व्यक्तिको एउटा एकाईको हो न कि समग्र समाजको ।- रातोपाटी

Post a Comment