Websoft University

www.radiomakalu.com || 021-522512


मुसो कमल थापा हात्ती बने !


 गोपाल बुढाथोकी
कमल थापा एकीकृत राप्रपाको अध्यक्ष बन्दैछन् । कमल थापा एकीकृत राप्रपाको अध्यक्ष बन्नु भनेको राप्रपामा नयाँ पुस्ता उदाउनु हो । कमल थापालाई नयाँ पुस्ताभन्दा धेरै मानिस हाँस्लान्, तर, राप्रपाको इतिहास हेर्ने हो भने यिनी नयाँ पुस्ता नै हुन् । हेर्दाहेर्दै राप्रपाको इतिहास तीन दशकको भएको छ ।

पञ्चायती व्यवस्थालाई पनि राप्रपाको इतिहाससंग गाँस्ने कि ? कतिपयले यस्तो प्रश्न पनि उठाउँछन् । सद्भावना पार्टीको इतिहास पञ्चायतकालमा सद्भावना परिषदबाट सुरु गर्न मिल्छ भने राप्रपाको इतिहास पनि पञ्चायती व्यवस्थासंग गाँस्न मिल्छ नै ।
राप्रपा पूर्व महापञ्चहरुको पार्टी हो । २०४७ सालमा बहुदल आएपछि पञ्चहरुले आत्तिंदै राप्रपा खोलेका थिए । एउटा राप्रपा खोल्ने भनेर कार्यक्रम घोषणा गरिएको थियो तर, घोषणा सभा दुई ठाउँमा भयो । अर्थात् दुईटा राप्रपा खुल्यो । एउटै नाममा पूर्व पञ्चहरुको दुईटा पार्टी खुलेपछि राप्रपा कमजोर बन्यो । बहुदल आएपछि कांग्रेस र एमालेको भीषण दवदबा अगाडि राप्रपा फुच्चे भयो । ०४७ सालको आमचुनावमा राप्रपाका नेताहरुले राम्रोसंग प्रचार गर्न समेत पाएनन् । कांग्रेस र एमालेले यिनीहरुलाई खोजीखोजी गाउँगाउँबाट लखेटे । चुनावमा हुनसम्म विजोग भयो राप्रपाको ।

प्रतिनिधिसभाको दोस्रो चुनाव हुँदासम्म कांग्रेस र एमालेको दबदबा धेरै घट्यो, राप्रपाले टाउको ठडाउने बातावरण बन्न थाल्यो । २०५ सदस्यीय प्रतिनिधिसभामा राप्रपाले १९ सिट जित्यो । संसदमा कुनै पार्टीको बहुमत आएन । राप्रपाले कांग्रेस र एमालेमध्ये जसलाई समर्थन गर्‍यो उसैको सरकार बन्ने अवस्था भयो । राप्रपाको स्वर्णयुग आयो । तर, यही युग नेपालको संसदीय इतिहास तथा राजनीतिक इतिहासमा कालो अध्यायका रुपमा दर्ज भयो । राप्रपाका सांसदहरु सरकार बनाउने मामिलामा विक्री भए । लीलामीमा चढे । यति उत्पात मच्चाए कि त्यसबेला यिनले थालनी गरेको सांसद खरीद बिक्रीको प्रथा आज पर्यन्त नेपाली राजनीतिको महारोगका रुपमा रहेको छ ।
सांसद खरीद विक्रीको त्यो युगमा राप्रपाले कांग्रेस र एमालेलाई फनफनी घुमायो मुसो खेलाए झैं गरेर । अनि, आफै पनि कांग्रेस र एमालेको खेलौना बनेर फुट्यो । रमाइलो त के छ भने राप्रपाको सांसद किन्ने कांग्रेस र एमालेहरु चाहिं चोखो ठानिए, राप्रपा चाहिं विकृत मानियो । विचरा राप्रपालाई घोर अन्याय भएकै हो त्यो बेला † सांसद खरीद विक्रीको त्यो बेला सर्वाधिक चर्चित शब्द बन्यो–‘मुसो’ । यो शब्द लोकेन्द्रबहादुर चन्दले कमल थापालाई इंगित गरेर भनेका थिए । चन्द प्रधानमन्त्री थिए, थापा मन्त्री थिए । कांग्रेसले सूर्यबहादुर थापालाई उकासेर चन्द सरकार विरुद्ध अविश्वास प्रस्ताव राख्यो । सूर्यबहादुरको सरकार बन्ने लक्षण देखिएपछि कमल थापा रातारात सूर्यबहादुरतिर लागे । दशैंको बेला थियो, प्रतिनिधिसभामा लोकेन्द्रलाई हटाएर सूर्यबहादुरलाई प्रधानमन्त्री बनाउने औपचारिकता चल्दै थियो । अविश्वास प्रस्तावको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा लोकेन्द्रले भने–जब जहाजमा प्वाल परेर पानी छिर्न थाल्छ, सबैभन्दा पहिले मुसो भाग्छ, सरकारबाट पनि फुत्तफुत्त मुसो निस्किएको छ ।
चन्दले भनेको त्यो मुसो प्रवृत्ति आज नेपाली राजनीतिमा झन फस्टाएको छ । चन्द पनि राजनीतिमै छन्, कमल थापा त्योबेला मध्यम तहका नेता मानिन्थे, अहिले समस्त राप्रपाको अध्यक्ष बनेका छन् । बहुदल आउनु अघि उनी पञ्चहरुको युवा नेता थिए । राप्रपा गठन हुँदा उनलाई केन्द्रीय सदस्य बनाइनु नै ठूलो कुरा थियो । मुसो बन्ने काम होस् या शाही कालमा राजा ज्ञानेन्द्रलाई साथ दिने काम, कमल थापाले जहिले पनि दुस्साहस देखाए । महाराजा ज्ञानेन्द्रको आडमा उनले राप्रपा फोरेर राप्रपा नेपाल बनाए । पहिलो संविधानसभामा राप्रपाभन्दा राप्रपा नेपालको आकार ठूलो भयो । दोस्रो संविधानसभामा त राप्रपाभन्दा राप्रपा नेपाल लगभग तेब्बर ठूलो भयो । अर्थात, कमलले करिश्मा देखाए ।
सूर्यबहादुर बिते, पदमसुन्दर लावती पनि रहेनन्, राप्रपाका एकसेएक दिग्गज बुढापाकाहरुलाई पछाडि पार्दै, पछाडि छाड्दै कमल थापा अगाडि बढे । पशुपति शमशेर, प्रकाशचन्द्र लोहनीलगायत दर्जन नेताहरुलाई साइड लगाएर, भित्तैमा पुर्‍याएर कमल थापा अध्यक्ष बनेका छन् । राप्रपाको इतिहास र कमल थापाको विगत उचाई हेर्दा यो उनको लरतरो सफलता होइन । उचाईमा पुग्नु र उचाईमा टिक्नु फरक कुरा हो । उचाईमा पुगेर टिकेर बस्न सजिलो हँुदैन । भनिन्छ, राप्रपा भनेको षडयन्त्र नै षडयन्त्रको पार्टी हो । दुई दशक अघि भन्ने गरिन्थ्यो– कि कम्युनिष्ट पार्टीभित्र षडयन्त्र हुन्छ, कि राप्रपामा हुन्छ । हुन पनि राप्रपाको विगत हेर्दा यो नाटकीय षडयन्त्रको अखडा हो । अहिलेको एकीकरण र महाधिवेशन नै हेरौं, निकै नाटकीय ढंगले भयो । कमलले अध्यक्षमा जित्छन् भन्ने पूर्वानुमान थियो तर अध्यक्ष निर्वाचित हुने क्रममा भएका नाटकीय घटना निकै रोचक रह्यो ।
समग्र राप्रपाको अध्यक्ष बन्नु, त्यो पनि महाधिवेशनबाट निर्वाचित भएर बन्नु कमलका लागि चानचुने सफलता होइन । यो सफलतालाई उनले अब केमा अनुवाद गर्छन् ? मुख्य प्रश्न यो हो । पहिलो पार्टी बन्ने नारा दिए पनि राप्रपाले ताक्ने भनेको तेस्रो पार्टीको हैसियत हो । माओवादी केन्द्र यही रफ्तारले ओरालो लाग्दै गयो भने राप्रपा नै तेस्रो बन्ने पूर्वानुमान गर्न गाह्रो छैन । तर, चुनावसम्म पुग्दा राप्रपाको एकता यथावत रहला ? कि पार्टी फुट्छ ? सत्ताका खुँखार खेलाडीहरुले भरिएको राप्रपाको संसदीय दल कसरी विभाजित हुने गरेको छ भन्ने विगतमा देखिएकै हो र विगतका अनुभवी खेलाडीहरु अहिले पनि छन् । अहिले पनि राप्रपा धेरै अर्थमा चाबी पार्टी हो । संविधान संशोधनमा त झनै चाबी पार्टी हो । भारतले राप्रपालाई चाबीको रुपमा उपयोग गर्न सक्छ कि सक्दैन ? अथवा, राप्रपा भारतको चाबी बन्छ कि बन्दैन ? अहिलेको मुख्य प्रश्न यो हो ।
हरेक नेताको इतिहास भूल–गल्तीहरुको इतिहास पनि हो । कमल थापाले पनि विगतमा धेरै गलत काम गरेका छन् । खुट्टा टेक्न सके, इमानजमानमा बस्न सके, मुसो प्रवृत्ति देखाएनन् भने र राष्ट्रवादी धार छाडेनन् भने कमलको राजनीतिक भविष्य राम्रो हुनसक्छ । यसबाट देशले पनि लाभ लिन सक्छ । मुसो उपाधि पाएका कमल अब हात्ती बनेका छन् । हात्तीकै जस्तो चौडा छाती बनाए भने, हात्तीको जस्तो चौडा कान बनाएर सबैको आवाज सुने भने उनले राप्रपालाई गति दिन सक्छन् । उनी हात्तीबाट पुन मुसो नै बन्ने हुन् कि ? यो आशंकाको जवाफ पनि यही संसदीय कालखण्डमा मिल्नेछ । कमल थापाबाट आश गर्न सकिन्छ तर भर पर्न सकिन्न । किनभने नेपालमा नेता नामका जीव कसैको पनि भर हुँदैन !
(वरिष्ठ पत्रकार गोपाल बुढाथोकी साँघु साप्ताहिकका सम्पादक हुन्)
gopaldai1@gmail.com

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget