Websoft University

www.radiomakalu.com || 021-522512


पहिलो किस्ता बुझ्ने ४ लाख ४४ हजार भूकम्प पीडितमध्ये २ सय ४० मात्रै दोस्रो किस्ताका लागि योग्य !



काठमाडौं, पुष १० गते । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोस्रो किस्ताको अनुदान वितरणको तयारी गरेको छ । पहिलो किस्ताको अनुदान प्राप्त गरी सरकारी मापदण्डअनुसार जग बसालेका भूकम्प पीडितले मात्रै दोस्रो किस्ता प्राप्त गर्न सक्छन् । तर, शुक्रबारसम्म २ सय ४० घरधुरी मात्रै दोस्रो किस्ताका लागि योग्य देखिएका छन् ।
डेढ वर्षमा संकलन भएको लगतअनुसार ६ लाख २५ हजार ९ सय ८६ पीडितमध्ये ४ लाख ४४ हजार ४ सय ६२ ले पहिलो किस्ता बापत ५० हजार लिएका थिए ।

तर, पहिलो किस्ता लिएर घर निर्माण सुरु गरेका घरसंख्या शुक्रबारसम्म १४ जिल्लामा जम्मा २४ हजार ८ घर मात्र रहेको भवन निर्माण कार्यान्वयन इकाइको तथ्यांकले देखाएको छ ।

भवन निर्माण कार्यान्वयन इकाइका अनुसार दोस्रो किस्ताको अनुदान माग गर्नेको संख्या शुक्रबारसम्म ४ हजार ९ सय ५३ मात्रै छन् ।

त्यस्तै, इकाइका अनुसार पुनर्निर्माणको मापदण्ड पुरा गरेर प्रमाणिकरण भइसकेकाको संख्या २ सय ४० मात्र छ । दोस्रो किस्ताको अनुदानका लागि योग्य तिनै प्रमाणिकरण भएका लाभग्राही मात्र हुन् ।

कार्यान्वयन इकाइ अन्तर्गतका इन्जिनियरले योग्य लाभग्राही सिफारिस गरेपछि मात्रै सम्बन्धित जिल्लाबाट पीडितले दोस्रो किस्ता बापतको अनुदान पाउँछन् ।

“हामीले भवन कार्यान्वयन इकाइका इन्जिनियरको सिफारिसपछि मात्रै दोस्रो किस्ता दिन्छौं,” स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्यन इकाइका आयोजना निर्देशक सहसचिव गणेश अवस्थीले भने ।

सरकारले एक तिहाई पीडितलाई दोस्रो किस्ताको अनुदान वितरण गर्ने तयारी गरेको छ । तर, वितरण सुरु गरेको छैन ।

अहिले गोरखा, मकवानपुर र सिन्धुलीमा वितरण भइरहेको दोस्रो किस्ता पनि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजिओ) को भएको बताइएको छ ।
आइएनजिओले १४ जिल्लाका २० हजार घर पुनर्निर्माणको जिम्मा लिएका छन् ।

त्यसैगरी इकाइको तथ्यांकमा पुनर्निर्माण सम्पन्न भएका लाभग्राहीको संख्या १ हजार ३ सय ९६ छन् भने आफैं निर्माण सम्पन्न गरेका घरको संख्या ९ हजार ६ सय रहेको छ । उनीहरुले मापदण्डअनुसार काम गरेको भए तेस्रो किस्ता समेत लिन सक्नेछन् ।

पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता डा. भिष्मकुमार भुसालले कार्यान्वयन इकाइमार्फत आएको तथ्याङ्क नै आधिकारिक भएको स्वीकार गरे । “प्राधिकरणले पनि सोही तथ्याङ्कका आधारमा काम गर्ने हो । त्यो निकै कम संख्या हो,” उनले भने, “हामीले अब यसलाई बढाउन र दोस्रो किस्ताको प्रक्रिया अगाडि बढाएपछि यसको संख्या बढ्छ ।”
अर्थले दियो दोस्रो किस्ताका लागि ७ अर्ब
दोस्रो किस्ता वितरणका लागि पुनर्निर्माण प्राधिकरणलाई आइतबार मात्र अर्थ मन्त्रालयबाट ७ अर्ब ३० करोड रुपैयाँ दिएको छ । प्राधिकरणले माग गरेको २८ अर्बमध्ये खर्च शीर्षकका आधारमा ७ अर्ब ३० करोड निकासा भएको जनाइएको छ ।

प्राधिकरणले दिएको जानकारीमा अर्थ मन्त्रालयले निकासा गरेको उक्त रकम भूकम्प प्रभावित सबै जिल्लामा पठाइने जनाइएको छ । अर्थले बाँकी २१ अर्ब रुपैयाँ पनि मंगलबारसम्म निकासा गर्ने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले दोस्रो किस्ता बापतको अनुदान रकम निकासा गरिए पनि घर पुनर्निर्माणको जग निर्माण पूरा गरेकालाई मात्र दोस्रो किस्ताको अनुदान रकम वितरण गरिने जनाएको छ । - अशोक पौडेल , बाह्रखरी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget