Websoft University

www.radiomakalu.com || 021-522512


भूकम्पपीडितलाई पैसा बाँड्ने हेलिकोप्टरमा श्रममन्त्री !


क्यासियर जिल्लामै छुटे, मन्त्रीले ग्रेटवालको किस्सा सुनाए
rahatma-heli
ओखलढुंगा, माघ १४ गते । श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङ सबैभन्दा ज्येष्ठ मन्त्रिपरिषद सदस्य हुन् । उनी दुई सय मिटर हिँड्न पनि राम्रोसँग सक्दैनन् । मन्त्रालयबाट निस्केर झण्डावाल गाडीसम्म पुग्न मन्त्री गुरुङलाई निकैबेर लाग्छ ।

तर, यिनै मन्त्री गुरुङ विहीबार हेलिकोप्टर चढेर ओखलढुंगाको रगनीमा भूकम्पपीडितलाई राहत बाँड्न पुगे । क्यासियरलाई जिल्ला सदरमुकाममै छाडेर अनावश्यक कर्मचारीहरु मात्रै रगनी पुगेका कारण मन्त्रीले राहत बाँड्न पाएनन् । र, चिनियाँको ग्रेटवालको कथा सुनाएर राजधानी फर्किए ।

भूकम्पपछिको पुनर्निर्माणमा श्रम मन्त्रालयको कुनै सम्बन्ध छैन । मन्त्री गुरुङ ओखलढुंगाका जनप्रतिनिधि पनि होइनन्, उनी ताप्लेजुङका हुन् । तर, श्रम मन्त्री अचानक रगनीमा ओर्लिए । यसका पछाडिको कारण हो राहतमा राजनीति ।

बुधबार बेलुकै राजधानीबाट गाडी चढेर पुगेका एमालेका केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनुवार प्रमुख अतिथि बन्ने दाउमा थिए । तर, अर्का सांसद रामहरी खतिवडाले मन्त्री गुरुङलाई हेलिकोप्टर चढाएर पूर्वनिर्धारित कार्यक्रमविनै रगनी पुर्‍याएपछि सुनुवार प्रमुख अतिथि बन्न पाएनन् ।

जिल्लाको गाम्नाङटार र पोकलीमा शिविर सम्पन्न भएपछि बिहीबार रगनीमा शुरु भएको ५० हजार रुपैयाँ वितरण गर्ने शिविरको उद्घाटन गर्न श्रममन्त्री गुरुङ पुगेका हुन् । शिविर उद्घाटनमा राजनीतिक भाषणबाजी भने औपचारिक रुपमा भएन । प्रमुख अतिथि गुरुङले कार्यक्रमलाई सम्बोधन गरे । उनले त्यहाँ आफू हिँडडुल गर्न सक्षम रहेको प्रमाण पेश गर्दै चीनको ग्रेटवाल चढेको कथा सुनाए ।

दिउँसो १ः१५ बजे मन्त्री गुरुङ, पुनः निर्माण प्राधिकरणका सहसचिव जर्नादन गुरागाई, सांसद रामहरि खतिवडा र प्रमुख जिल्ला अधिकारी दाहाल राजधानी फर्किए ।

क्यासियर जिल्लामै छुटेपछि समस्या

रगनी गाविसमा भूकम्प पीडितहरुलाई पहिलो किस्ता अनुदान वितरण गर्न बैंकका क्यासियरलाई जिल्लामै छाडेर मन्त्री, सांसद र प्रशासकहरु हेलिकोप्टरमा गाउँ पुगेपछि अनुदान वितरण शिविरस्थलमा तनाब भयो ।

राजधानीबाट हेलिकोप्टरमा श्रममन्त्री सूर्यमान गुरुङसहित सांसदहरु विहीबार बिहान १० बजे नै आधा दर्जन पत्रकार लिएर रगनी झरेका थिए । पैसा लिन सरदमुकाम ओखलढुंगा आएको अर्को हेलिकोप्टरमा प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहाल, स्थानीय विकास अधिकारी यज्ञबहादुर खत्री सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञवालीसहित जिल्लाका सुरक्षा प्रमुखसमेत पैसासँगै मन्त्रीको स्वागतमा रगनी पुगे ।
कुमारी बैंकका मेनेजर जयराम खड्का र एकजना कर्मचारी पनि रगनी गए । रगनीमा श्रम मन्त्रीको प्रमुख आतिथ्यतामा शिविर उद्घाटन त भयो, तर अनुदान लिन बिहानैदेखि लाममा बसेका पीडितहरुले अनुदान पाएनन् ।


रगनीमा पैसा बाँड्न आएको हेलिकोप्टर फर्किंदा रगनी-६ का रामबहादुर बुढाथोकीको घरको छाना हेलिकोप्टरको हावाले उक्काइदिएको छ । जस्ता उक्किएपछि गाह्रोको केही भागसमेत भत्किएको स्थानीयले बताए

प्रमुख जिल्ला अधिकारी सहितका प्रशासक चढेको हेलिकोप्टरले क्यासियरलाई जिल्लामै छोडेर गएपछि अनुदान वितरण दिउँसो १ बजेसम्म शुरु भएन । स्थानीयले होहल्ला गरेर नारा जुलुस गर्ने अवस्था आएको स्थानीय मेघराज घिमिरेले बताए । क्यासियर नभएपछि उद्घाटनका लागि तीन जनालाई दिइने रकमसमेत स्थानीय तहमै मुचुल्का गरेर शुभारम्भ गर्दै मन्त्री गुरुङ राजधानी फर्किए ।

स्थानीयले क्यासियर किन नलिई आएको भन्दै सिडियोको आलोचना गरे । क्षेत्र नं. १ का सांसद यज्ञराज सुनुवार पनि सिडियोसँग कड्किए । सिडियो दाहाललाई माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज बाबुराम गौतमले पनि ‘तपाई पर्यटक हो कि जनताको सेवक ?’ भनेर प्रश्न गरेका थिए ।

हेलिकोप्टर छुटेपछि बैंकका क्यासियरसहित दुईजना कर्मचारी जीप चढेर रगनीतर्फ हिँडेका छन् । उनीहरु शुक्रबारमात्रै पुग्ने भएकाले बिहीबार अनुदान शिविर चल्न सकेन । उनीहरुलाई सो क्षेत्रका सांसद यज्ञराज सुनुवारले जीपको व्यवस्था गरेर झिकाएका हुन् ।
बसबाट बुधबार रगनी आएका सांसद सुनुवार बसबाटै राजधानी फर्किएका छन् । अर्का सांसद रामहरि खतिवडा भने मन्त्री गुरुङसँगै हेलिकोप्टरबाट आएर हेलिकोप्टरमै फर्किएका छन् ।

रोकिएन राहतमा राजनीति

भूकम्पपीडितको राहत रकमबाटै हेलिकप्टर चढेर विवादमा मुछिएका यहाँका राजनीतिक दलका केही नेता, सांसद र प्रशासकहरु अझै पनि राहतमा राजनीति गरिरहेका छन् । उनीहरु नगद अनुदान वितरणमा जस लिन तँछाड-मछाड गर्दै गाउँ पुगेका छन् । त्रिपाल बाँड्ने बेलादेखि जस लिने होडबाजी गरेका दलका नेताहरुले पुनर्निर्माणको पहिलो किस्ता वितरणको बेलासम्म आफ्नो बानी छोडेका छैनन् ।

दुई महिनाअघि हेलिकप्टर विवादका कारण स्थगित भएको पश्चिमी तीन गाविसमा गत शनिबारदेखि पहिलो किस्ता वितरण शिविर शुरु भएको छ । गाम्नाङटार र पोकलीमा शिविर सम्पन्न भएपछि बिहिबार रगनीमा शुरु शिविरको उद्घाटन गर्न मन्त्री पुगेका हुन् । ‘हामीलाई पुर्ननिर्माणको पहिलो किस्ता चाहिएको हो, अहिले मन्त्री र सांसद आउन जरुरी थिएन ।’ एक स्थानीयले भने, ‘तैपनि मैले र मेरो पार्टीले गरेको भन्दै नेताहरु गाउँमा आउन लालायित भएको देखियो ।’

हेलिकोप्टर खर्च कसको ?

यसअघि फाप्लुु, फुलबारी र कालिका गाविसमा शिविर सञ्चालन गर्न एक हजारका दरले रकम असुलेर दलका, नेता, कार्यालय प्रमुख र सांसद हेलिकोप्टर चढेका थिए । यसपटक पनि पाँच सयका दरले रकम असुलिएको छ । पोकली र गाम्नागंटारको हेलिकोप्टरको इन्धन सांसद खतिवडाले ब्यहोरे पनि रगनीका दुईवटा हेलिकोप्टरको खर्च कसले कसरी गरेको हो भन्ने खुलेको छैन ।

प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले शिविर व्यवस्थापनका लागि पीडितसँग नअसुलिएको बताए । उनले हेलिकोप्टर भाडा लगायतका व्यवस्थापन खर्च प्रशासनको अनुरोध र समन्वयमा राजधानीबाटै गरिएको भन्दै अस्पष्ट जवाफ दिए ।

यसैवीच रगनीमा पैसा बाँड्न आएको हेलिकोप्टर फर्किंदा रगनी-६ का रामबहादुर बुढाथोकीको घरको छाना हेलिकोप्टरको हावाले उक्काइदिएको छ । जस्ता उक्किएपछि गाह्रोको केही भागसमेत भत्किएको स्थानीयले बताए । –शिव ढुंगानाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget