Websoft University

www.radiomakalu.com || 021-522512


नेपालमा सन् २०२० सम्म कुष्ठरोग निवारणकाे लक्ष्य



ललितपुर, माघ `१५ गते । सन् २०२० सम्म नेपाललाई पूर्ण रुपले कुष्ठरोग निवारण देश बनाउने लक्ष्य सरकारकोे छ ।

“समयमानै कुष्ठरोगको उपचार गराँैं, अपाङ्गता हुनबाट बचौंँ” भन्ने मूलनाराका साथ भोलि यो दिवस देशभरि मनाउने तयारी गरेको छ ।

अङ्ग्रेजी वर्ष जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाउने प्रचलन रहँदै आएको छ । विश्वमा प्रत्येक वर्ष दुई लाख र नेपालमा मात्र प्रत्येक वर्ष तीन हजार मानिसमा नयाँ रोग देखिने गरेको तथ्याङ्कले देखाएको छ ।

नेपालमा विसं २०६५ मा कुष्ठरोगको निवारण भएको घोषणा गरिए पनि यसले सार्थकता भने पाउन सकेको छैन । विश्वभरी एक लाख ७५ हजार कुष्ठरोगी बिरामीको उपचार भइरहेको अवस्थामा नेपालमा मात्र दुई हजार पाँचसय जनाको उपचार भइरहेको जनाइएको छ । संसारभरी कुष्ठरोगीको सङ्ख्या सुस्त ढङ्गले घटिरहेको अवस्थामा सन् २०१० यता नेपालमा भने घटेको देखिदैन । नेपालमा तीन हजार एकसय र विश्वभरिबाट दुईलाख १० हजार व्यक्ति बहुऔषधि उपचारले कुष्ठरोगबाट मुक्त भएको तथ्याङ्ले देखाएको छ ।

स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक एवम् कुष्ठरोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डेकाअनुसार दक्षिण एसियाली देशमा कुष्ठरोगीको सङ्ख्या अधिक रहेको छ । छिमेकीमुलुक भारतमा मात्र एकलाख ३७ हजार कुष्ठरोगीका बिरामी रहेको उहाँको भनाइ छ । भौगोलिक रुपले नेपालको तराई क्षेत्रमा यो रोगको प्रकोप अत्यधिक देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बाँके र बर्दिया जिल्लामा कुष्ठरोगीको सङ्ख्या अधिक रहेको छ ।

“खोपमुक्त गाउँ जस्तै कुष्ठरोग मुक्त” गाउँ बनाउने अभियान अन्तर्गत सप्तरी जिल्लाबाट कार्यक्रम सुरु गरिने उहाँले बताउनुभयो । कुष्ठरोग निवारण हुन बाँकी रहेका अछाम, मुगु, सुर्खेत, बर्दिया, कपिलवस्तु, नवलपरासी, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सुनसरी, मोरङ र झापा गरी १८ जिल्लालाई सन् २०२० सम्म कुष्ठरोग निवारण गर्ने सरकारको लक्ष्य रहेको कुष्ठरोग नियन्त्रण महाशाखा प्रमुख डा पाण्डेले बताउनुभयो ।

उहाँकाअनुसार ५० वटा जिल्ला कुष्ठरोग निवारणको अवस्थामा रहेको छ । डोल्पा, मुस्ताङ, मनाङ, रसुवा, सिन्धुपाल्चोक, सोलुखुम्बु र भक्तपुर गरी सातवटा जिल्ला कुष्ठरोग निवारण क्षेत्र रहेको पनि उहाँले बताउनुभयो ।

कुष्ठरोग मानिसको छाला र स्नायुमा प्रभाव पार्ने पुरानै रोग भएको ‘द लेप्रोसी मिसन’ नेपालद्वारा सञ्चालित आनन्दवन अस्पतालका मेडिकल निर्देशक डा इन्द्रबहादुर नापितले बताउनुभयो । यो अस्पताल कुष्ठरोगीको सेवा गर्ने नेपालकै एक मात्र अस्पताल भएको उहाँले बताउनुभयो ।

उक्त अस्पतालले सन् १९५७ देखि कुष्ठरोगका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । उहाँकाअनुसार कुष्ठरोगको किटाणुसँग लड्नसक्ने शक्ति मानिसमा ९९ प्रतिशत रहने गरेको अनुसन्धानबाट देखिएको छ । एकसय जना मानिसको शरीरमा कुष्ठरोगको किटाणु प्रवेश गरेमा एक जनामा मात्र यो रोग लाग्ने गरेको उहाँले बताउनुभयो । नेपालमा पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार कुष्ठरोगीको सङ्ख्यामा वृद्धि भइरहेको समेत प्रमुख पाण्डेले बताउनुभयो ।

अस्पतालका कुष्ठरोग तालिम संयोजक गोपाल पोखरेलका अनुसार मानवजातिमा मात्र यो रोग लाग्ने गरेको छ । कुष्ठरोग जुनसुकै उमेरका मानिसमा लाग्ने गरिए पनि विशेष गरी १०–१४ र ३५–४४ वर्ष उमेरका मानिसमा यो रोगको प्रभाव बढी देखिने गरेको उहाँले बताउनुभयो । यो रोग विशेष गरी मङ्गोलियन अनुहार भएकालाई बढी र आर्यन अनुहार भएकालाई कम देखिने गरेको बताइएको छ ।

कुष्ठरोग रोकथाम र जनचेतना फैलाउने अभिप्रायले दोलखा, बुटवल र चन्द्रनिगाहापुरमा महिनाको एकपटक शिविर सञ्चालन गर्ने गरेको उहाँले बताउनुभयो । मानिसको खुट्टा कमजोर हुँदै गएमा, हातखुट्टा पोल्ने र निदाएजस्तो भएमा, छालामा रातो वा फुस्रो रङ्गको दाग देखा परेमा, आँखी भौँं झरेमा वा पातलो भएमा, अनुहारको छाला र कानको लोती बाक्लो तथा चम्किलो भएमा, लगातार हातखुट्टा झमझम गरेमा, नाक थेप्चो भएर गएको भेटिएमा कुष्ठरोगको चिन्ह् र लक्षण हुने गरेको तालिम संयोजक पोखरेलले बताउनुभयो ।

यो रोगको उपचारका लागि कुष्ठरोगका धेरै किटाणु भएको व्यक्तिले लगातार एक वर्षसम्म रिफामपिसन, ड््याप्सोन र क्लोफाजामिन भन्ने तीन प्रकारको बहुऔषधिको सेवन गर्नुपर्ने उहाँले बताउनुभयो । यसैगरी कुष्ठरोगका थोरै किटाणु भएका व्यक्तिले छ महिनासम्म रिफामपिसन र ड्याप्सोन गरी दुई प्रकारको औषधि सेवन गर्नुपर्ने जनाइएको छ । यो औषधि निःशुल्क रुपमा पाइन्छ ।

उहाँका अनुसार कुष्ठरोग लागेका कारण वैवाहिक, रोजगारी, व्यक्तिगत, सामाजिक, धार्मिकलगायतका कार्यमा कुष्ठरोगीलाई समस्या आउने गरेको छ । कुष्ठरोग लागेका परिवारका सदस्यलाई खजुरीको नेपाल प्राइभेट लिमिटेडले वार्षिक रुपमा २० जनालाई रोजगारीको व्यवस्था गरिएको उहाँले बताउनुभयो । कुष्ठरोग माइको ब्याक्टेरियम लेप्रेका कारण हुने गरेको नर्वेका डा ग्ल्यानेरिक एन्रीक ह्यान्सनले सन् १८७३ मा पत्ता लगाएको थियो । यसैले यो रोगलाई ‘ह्यान्सन डिजिज’ नामले पनि चिनिने गरिन्छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget