Websoft University

www.radiomakalu.com || 021-522512


नेपालमा किन हराउँछन् विदेशी पर्यटक ?

एकैवर्ष ४ सय पर्यटक बेपत्ता, भूकम्पमा २ सय हराए

Tourist

पहिल्लो समय यसै वर्षको अक्टोवर १६ तारिखबाट इजरायली नागरिक अमित मोस्चे रिइचम्यान कास्कीको मर्दी हिमाल आधार शिविरबाट व्यपत्ता भएका छन् र उनको खोजी व्यापकरूपमा भइरहे पनि केहि पत्ता लाग्न सकेको छैन ।

गत जुलाई महिनाको २१ तारिखमा नेपालबाट फर्कनु पर्ने आफन्त उनको फ्लाइटमा नभेटिएपछि रोमानियन नागरिक एडिना मोनिका पोपेस्क्युका परिवारले नेपालमा सम्पर्क गरेर र उनी सम्पर्कविहीन भएको जानकारी गरे । उनी जुलाई महिनाकै ११ तारिखमा नेपाल प्रवेश गरेकी र जुलाई १२ तारिखका दिन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कार्यलयबाट पदयात्रा प्रवेश अनुमतिपत्र लिएको बुझियो ।

उनको पदयात्रा तालिका अनुसार जुलाईको १७ मा पदयात्राबाट फर्कने रहेको उल्लेख भएअनुसार उनि अन्नपूर्ण संरक्षण आयोजनाको चेक पोष्टको अभिलेखमा प्रवेश गरेको तर फिर्ता नभएको आधारमा खोजी गरियो । उनलाई खोज्न उनका आफन्त पनि नेपाल आए र अन्ततः उनी घान्दुकको सुइखोलामा बगेर मृत्यु भइसकेको अवस्थामा जुलाई २४ तरिखका दिन फेला परिन् ।

सन् २०१३ को नोभेम्बर महिनाको पहिलो सातामा अष्ट्रेलियन नागरिक म्याक्यु अल्पेस कास्कीको सिक्लेसबाट बेपत्ता भए । उनको परिवारको उपस्थितिमा हजारौ डलर खर्चेर उनको खोजि गरियो र केही महिनापछि सिक्लेसबाट मनाङ जाने बाटाको जङ्गलको अलि अफ्ट्यारो ठाउँमा उनको क्यामरा, झोला तथा आडैमा मानव हाडका केही अवशेष मात्र फेला परे र यसैको आधारमा उनि मरिसकेको अनुमानका साथ परिवार फिर्ता भए, तर उनि कसरी मारिए या मरे यो रहस्यमै रह्यो ।


रामचन्द्र अधिकारी

सन् २०१४ को अक्टोबर १४ का दिन भारतको हिन्द महासागरमा आएको हुद्हुद् आँधीको प्रभावले नेपालको उच्च हिमाली भेगमा ठूलो हिमपात प¥यो । पदयात्राको अति नै व्यस्त समय भएकोले अन्नपूर्ण, धवलागिरी, सगरमाथा लगाएतका क्षेत्रमा धेरै विदेशी तथा नेपाली पर्यटक र पर्यटन मजदुरहरूले ज्यान गुमाउन पुगे ।

सन् २०१५ कै अप्रिलमा साथीहरूको समूहमा नेपाल आएका मलेसियन नागरिक डेनिज लि कास्की र म्याग्दीको सीमाना खोप्रा डाँडाबाट हिँड्दा हिँड्दै बेपत्ता भए र हालसम्म पनि उनको कुनै पत्ता लाग्न नसकेको अवस्था छ ।

सन् २०१५ को अप्रिल २५ मा आएको महाभूकम्पमा पनि लाङटाङ, सगरमाथा लगायतका उच्च पर्यटकीय गन्तव्य तथा भूकम्पको उच्च प्रभावित विभिन्न जिल्लामा गरेर धेरै पर्यटक हताहत भए ।

सन् २०१५ कै अगष्टमा भूकम्प पीडितको सहयोगका लागि नेपाल अएकी ईजिप्ट्सीयन मूलकी अमेरिकी नागरिक डालिया यहिला केहि दिन गोरखा जिल्लामा गएर पोखरा आइन् । २० अगष्टमा उनको भिषा सकिने भए पनि उनि कतै सम्पर्कमा नआएपछि परिवारकै आग्रहमा उनको खोज सुरू भयो । उनको मोबाइलको ट्रयागिङ्को आधारमा खोजी भयो । लामो समयको अनुसन्धानपछि उनी उनकै नेपाली साथी कास्की धितालका नारायण गौतमबाट हत्या गरिएर बेपत्ता भएको पत्ता लाग्यो ।

यी त केही नेपालमा पर्यटक हराएका प्रतिनिधि उदाहरण मात्रै हुन् । नेपाल सरकार संस्कृति पर्यटन तथा नगरिक उड्यन मन्त्रालयसँग सन् २०१५ मा मात्र नेपालमा ४ सय २२ पर्यटकको विविध कारणले वेपत्ता तथा मुत्यु भएको तथ्याङ्क छ ।

सन् २०१५ को अप्रिल २५ तरिखका दिन आएको विनाशकारी महाभूकम्पमा मात्र २ सय बढी विदेशी पर्यटकले ज्यान गुमाउनु प¥यो । मन्त्रालयकै तथ्याङ्क अनुसार नेपालमा वर्षेनी ६ सय बढी पर्यटकले विविध हैरानी तथा दुःख झेल्नुपर्ने गरेको छ ।

थोमस कुकदेखि अहिलेसम्म

विश्व पर्यटनका पिता थोमस कुकले पर्यटन व्यापारका रूपमा १८ आैं शताब्दीतिरैबाटै विकास गरेको भए पनि तत्कालीन समयमा नेपालमा विदेशी पर्यटकलाई प्रवेश निषेध थियो । सन् १८७७ मा राजा गोर्ज भि र राजकुमार वालेस लाई नेपालमा शिकार खेल्न डाकिएको थियो ।

सन् १९५१ अर्थात् वि.स. २००७ सालमा नेपालमा प्रजातन्त्र आए पछिमात्र नेपाल विदेशि पर्यटकहरूका लागि औपचारिक रूपमा खुल्ला भएको थियो, यद्यपि सन् १९५० मै फान्सका २ जाना आरोहिले कास्कीमा अवस्थित अन्नपूर्ण प्रथमको सफल आरोहण गरे पछि नेपालमा विस्तारै ट्राभल्स तथा होटलहरूको स्थापना हुन थालेको थियो साथै पदयात्राका मार्गहरू पनि पहिचान तथा खुल्ला गरिएको थियो ।

सन् १९५३ मा विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण पछि भने नेपालमा व्यवसायिक पर्यटनको सुरूवात भएको छ । व्यवसायिक पर्यटन सुरू भएको ७५ वर्षको अनुभव अव नेपालले सङ्गालिसकेको छ भने अर्थतन्त्रको मुख्य पाटो पनि पर्यटन भएको छ ।

तर, यस्तो महत्वपूर्ण व्यवसाय भएर पनि हरेक वर्ष नेपाल आउने पर्यटक किन वेपत्ता तथा हताहत हुन्छन् त ? यो प्रश्न नेपाल सरकारका लागि मुख्य समस्या तथा पर्यटन पेशा व्यवसायसँग सरोकारवालाहरूका लागि चुनौतिका रूपमा रहेको छ ।

किन हराउँछन् त पर्यटक ?

हिमाल आरोहण, प्राकृतिक प्रकोप तथा सडक र हवाई दुर्घटना बाहेक पर्यटक वेपत्ता हुनुमा एकल यात्रा नै हो भन्ने धेरैको ठम्याइ छ । एकल यात्राका क्रममा कतिपय पर्यटक बाटो बिराएर वा कुनै खराब मान्छेहरूको फेला परेर वा पहाडबाट चिप्लेर लडेर, जङ्गली जनवारको आक्रमणका कारणबाट मर्ने वा वेपत्ता हुने गर्दछन् ।

उदाहरणकै क्रममा माथि उल्लेख गरिएका इजरायली नागरिक अमित मोस्चे रिइचम्यान, रोमानीयन नागरिक एडिना मोनिका पोपेस्क्यु, अष्ट्रेलियन नागरिक म्याक्यु अल्पेस एकल यात्राका क्रममा हराएका उदाहरण हुन् । डालीया यहिला भने खराब व्यक्तिको सङ्गतले गर्दा बेपत्ता भएकी थिइन् ।

त्यस्तै सन् २०१४ को अक्टोवरमा हिमपातका कारण हराएका वा वेपत्ता भएका पर्यटकहरू पनि अधिकांश एकल यात्री भएकाले खोजी तथा उद्धारमा कठिनाइ भएको थियो ।

एकल यात्राको जोखिम

पदयात्रा तथा भ्रमण गराउने एजेन्सीहरूले चर्को शुल्क लिने भन्ने भ्रम तथा गलत सूचनाको आडमा पर्यटकहरू एकल यात्रा मन पराउँछन् । एजेन्सी तथा गाइडहरूलाई तिर्ने पैसाले आफ्नो भ्रमण अवधि लम्ब्याउने सोचका कारण पनि पर्यटक एकल यात्रा मन पराउँछन् ।

यसो त हामीभित्रकै कतिपय विकृति तथा समस्याहरू पनि पर्यटकहरू हराउनु वा वेपत्ता हुनुमा सहायोगी बनिरहेका छन्, जस्तो–

१. व्यवसायिक मर्यादाः सरकारले पर्यटकका मुख्य गन्तव्यहरूमा निशुल्क सूचना केन्द्र नराख्नाले पनि यो समस्या आएको हो । भएका सूचना केन्द्रहरूमा पनि सही र चित्तबुझ्दो सूचना दिन सक्ने दक्ष जनशक्ति नहुनु वा राजनीतिक नियुक्ति गरेर आ–आफ्ना कार्यकर्ता भर्ती गर्ने नेपालको अत्यन्तै घीनलाग्दो राजनीतिक परिपाटीले पनि यस्तो हुन आउँछ ।

आफु कुन प्रकृतिको व्यवसायी हो र कस्तो सेवा दिने हो भन्ने भन्दा पनि पर्यटक भेटेपछि उसलाई विभिन्न जालमा पारेर कसरी लुट्ने हो भन्नेतिर व्यवसायीहरु लागिपरेका देखिन्छन् । उदाहरणका लागि होटल भनेर दर्ता तथा सञ्चालन गरिएको भवनको पहिले ढोकामै ‘हाम्रा सेवाहरू’ भनेर नेपालमा पर्यटकले गर्न मिल्ने सबै खालका क्रियाकलपहरू लेखेर टाँस्ने परिपाटीले पनि यो व्यवसायकै मर्यादामाथि खिल्ली उडाइरहेको देखिन्छ ।

एयरपोर्टबाट होटलसम्म सेवा दिँदै गर्दा एउटा ट्याक्सी चालकले पर्यटकसँग तेरो नेपालमा केके गतिविधि छ, म अरूको भन्दा सस्तोमा सेवा दिन्छु भन्दै भड्काउने र उस्तै पर्‍यो भने उसका हरेक बुकिङ नै रद्द गर्न समेत बाध्य तुल्याउनेसम्मको गतिविधि मौलाइरहेको पाइन्छ । तर, यस्ता कृयाकलाप रोक्ने राज्यसँग खै निकाय वा पोलिसी ?

यहाँ व्यवसायीले कति पैसा कुम्ल्यायो भन्ने प्रश्न हुँदाहुँदै पनि त्यो होटल सम्बन्धी ज्ञान भएको मान्छेले कसरी अन्य सूचना पर्यटकसँग प्रवाह गरिरहेकोछ त भन्ने प्रश्न पनि छ ।



वास्तवमा जुन प्रकृतिको अनुमति छ, त्यही प्रकतिको वाहेक अन्य धन्दा गर्नु कानुनसम्मत हुँदैन । यो त एउटा उदाहरण मात्र हो, यहाँ चिया पसल गर्ने मानिस हवाइटिकट बेचिरहेको छ । कपाल काट्ने सैलुनमा टे«किङ बेचिएको छ । पश्मिना बेच्ने कस्मिरे पसलमा के–के बेचिएको छ, के–के ? उल्लेख गरी साध्य छैन ! खै नियन्त्रण र नियमन गर्ने निकाय ?

पर्यटनजस्तो संवेदनशील क्षेत्रमा पनि व्यक्ति वा व्यवसायीबाट मात्रै नभई राज्यबाटै पनि लापरवाही बढेको छ ।

सन् १९९९ मा समग्र पर्यटन विकासका लागि भनेर स्थापना भएको पर्यटन बोर्ड विदेशी लगानी भित्राउने नाममा राजनीतिक कार्यकर्ता भर्ति गर्ने केन्द्र तथा भ्रष्टचारको थलो बनिरहनु पनि ठूलो दुर्भाग्यको रूपमा लिन सकिन्छ । २÷४ जना वकिलको झुटो कागजातका आधारमा जस्तो पायो, त्यस्तैलाई व्यपारिक भिषा जारी गरिनु अनि तिनै विदेशीबाट जथाभावी होटल, रेष्टुराँ खोल्न दिनु र त्यहाँभित्रबाट विभिन्न धन्दाहरू मौलाउनुले पनि पर्यटनमा विकृति आएको छ ।

विदेशी लगानीकर्तालाई पनि राज्य तथा सरोकारवालाहरूले कुन प्रकारको व्यवसायका लगि अनुमति पाएको हो, त्यो बाहेकका गतिविधिहरू नगर्न तथा नगराउन आवश्यक ऐन निर्माण तथा नियमित अनुगमन आवश्यक छ ।

२. व्यवसायिक दक्षताः पर्यटन क्षेत्रमा व्यवसायी तथा मजदुरहरू सम्वन्धित व्यवसायमा दक्ष हुनु आवश्यक छ । विषयगत दक्षता नहुनाले पनि विभिन्न समस्याहरू देखापरेका छन् ।

विभिन्न पार्टीका भातृ संगठनका रूपमा मजदूर संगठनहरू उम्रे पनि वास्तविक मजदुरहरु सेवा सुविधाबाट बञ्चितै छन् । संघ संगठनहरू मजदूरको कार्यदक्षतामा सुधार ल्याउनु भन्दा पनि पार्टीको राजनीति गर्ने थलो बनाइनु वास्तविक मजदुरहरूका लागि दुरभाग्यपूर्ण छ ।

पर्यटन क्षेत्रमा कामगर्ने मजदुरहरु अरू क्षेत्रका मजदुरभन्दा असाधारण हुनु जरूरी छ । एउटा पर्यटक नेपाल प्रवेश गरिसकेपछि उसको अधिकांश समय मजदुरसँगै बित्ने गर्छ । यो समयावधिमा मजदुरको व्यवहार, उसले दिने जानकारीहरू नै नेपालको प्रतिनिधि सन्देश बनेर जाने गर्छ । अब यस्तो महत्वपूर्ण व्यक्ति दक्ष नभएको खण्डमा नेपालबारे गलत सूचनाहरू बाहिर जाने गर्छन् । यसकारणले गर्दा पनि पर्यटनका कुनै पनि निकायमा काम गर्ने व्यवसायी तथा मजदुरहरू सबै दक्ष हुन आवश्यक छ ।

कतिपय कम्पनीहरूले दक्ष मजदुर भन्दा पनि नातावाद कृपावादका आधारमा गैरमजदूरहरू प्रयोग गरिदिनाले सही सूचना प्रवाहमा असर परिरहेकोप्रति सचेत हुन आवश्यक छ ।

हामीकहाँ पर्यटकको मुख्य आगमनस्थल विमानस्थल तथा बसपार्कमै पर्यटक मजदुरहरूबाटै दुव्र्यवहारको शिकार हुन्छन् । त्यसपछि ट्याक्सी चालकबाट पनि अपमानित तथा सुरक्षित महसुस हुन सकेनन् भने उनीहरुले विस्तारै नेपाली र नेपालप्रति नै छुट्टै नकारात्मक धारणा बनाउँछन् । त्यसपछि उनीहरु या त एकल यात्राका लागि अभिप्रेरित हुने गर्दछन् या त अर्कोचोटि नेपाल आगमनमै अरुची देखाउन थाल्छन् ।

३. प्रविधिको प्रयोगः नेपालमा अन्य विकसित मुलुकको जस्तो प्रविधिको विकास नभए पनि पर्यटन क्षेत्रमा यसको प्रयोग अधीक गरिएको छ । यहाँ सञ्चालनमा रहेका होटल, ट्रेकिङ् तथा ट्राभल्स् कम्पनीहरू, रेष्टुराँ लगायतले आ–आफ्नो जानकारी तथा उत्पादनको बिक्री अनलाइनबाटै गर्ने गर्दछन्, जुन आजको आवश्यकता पनि हो । तर, यसरी वेभसाइडहरू निर्माण गरेर नेपालको सूचना प्रवाह आ–आफ्ना तरिकारले गर्दा कतै गलत सूचना प्रभावह त भइरहेको छैन ? यसको पनि अनुगमन तथा मापदण्ड निर्धारण गर्ने प्रभावकारी निकाय नेपालमा छैन ।

अझ भनौं, नेपाल सरकारसँग सम्भवतः स्पष्ट कानुन पनि छैन । अहिलेका सामाजिक सञ्जालहरूले त सूचना क्षणभरमै विश्वको कुनाकुनामा पुर्‍याइरहेको छ । अनुगमन गर्ने निकाय नभए पनि नेपाल सरकारमा दर्ता भएर व्यवसाय सञ्चालन गरेका कम्पनीहरूले त यसरी इन्टरनेटमा आफ्नो व्यवसाय राखेर प्रचार–प्रसार गर्ने तथा आफ्ना उत्पादनहरू बेच्ने तथा विभिन्न फरक प्याकेजहरू बनाएर पर्यटन आकर्षित गर्ने गरे पनि पछिल्लो समयमा स्वतन्त्र व्यक्तिले पनि यस्ताखालका वेभसाइडहरू बनाएर विभिन्न सूचना राखेर आफ्ना उल्पादनहरू बेच्ने गरेको पाइन्छ ।

पर्यटन क्षेत्रमै काम गर्ने अझ ट्रेकिङ्ग मजदुरका रूपमा काम गर्ने अधिकांंश पथप्रर्दशक तथा भरियाहरूले समेत यसरी आफूखुसी सामाजिक सञ्जालहरू तथा वेभसाइडहरूमा नेपाल सम्बन्धी सूचनाहरू प्रकाशित गर्ने तथा पर्यटकलाई प्रतिश्पर्धाका आधारमा जथाभावी मूल्यहरू निर्धारण गर्नाले पनि पर्यटनमा विकृति आएको छ ।

वास्तवमा यस्ता गैरकानुनी ढङ्गले इन्टरनेटको दुरूपयोग हुनु पनि नेपालको पर्यटनमा दीर्घकालीन नकारात्मक असर परिरहेको देखिन्छ ।

४. व्यवसायिक एकताः पछिल्लो समयमा पर्यटन क्षेत्रमै पनि रहेका भिन्न–भिन्न प्रकृतिका व्यवसायीबीच समन्वय नहुनाले विभिन्न विकृति तथा भ्रमहरू पर्यटकहरू माझ फैलिएको पाइन्छ । एयरलाइन्स तथा ट्राभल्स् एजेन्सीहरू बीच समन्वय नहुँदा एजेन्सीहरू पीडित छन् । पछिल्लो समय एयरलाइन्स कम्पनीहरूले आफ्नो अनलाइन पोर्टलमा एजेन्सीहरूलाई दिनेभन्दा सस्तो दरमा टिकट छोड्ने गरेकाले ट्राभल्स एजेन्सीहरूको व्यवसाय नै सङ्कटमा परेको गुनासो एजेन्सीहरूको छ । यस्ता घेरै क्षेत्र छन् झट् हेर्दा केही होइनन् जस्तो लाग्छन् । तर, यी वास्तविक समस्या हुन् । यिनमा अब राज्यको उपस्थिति अनिवार्य जस्तै भएको छ ।

५. राजनीति हावीः राज्यको कानुनभन्दा माथि कोही पनि नहुनुपर्ने हो । तर, देशमा राजनीतिको आडमा मौलाइरहेको दादागिरी र गुण्डागर्दीका कारण देश विकासले उचित गति लिन नसकेको स्पष्टै छ । यसको मार नेपालको पर्यटनमा पनि परिरहेको छ ।

कहिले सिन्डिकेटको मारले पर्यटकले दुःख पाइरहेका छन् त कहिले विभिन्न पार्टी भनाउँदाको बन्द आन्दोलनले । पोखरेली पर्यटन पनि यस्ता समस्याको शिकार भइरहेको छ । उदाहरणका लागि पोखराको फेवाताल र यस वरिपरिको गतिविधिलाई लिन सकिन्छ । सरकारले आफैले बनाएको कानुन मिचेर यहाँका ठूलावडाहरूले फेवालालको आयतन दिनानुदिन घटाइरहेका छन् । भवन निर्माणका लागि अनुमतिनै नभएका ठाउँमा ठूल्ठूला आलिशान भवनहरू निर्माण भइरहेका छन् । तर, यहाँको प्रशासन मूकदर्शक भइरहेको छ ।

पछिल्लो समय फेवातालको किनारमा हिँड्ने बाटो बनाएपछि त झन् मापदण्डभित्र अस्थाई घरटहरा निमार्ण भएर विभिन्न रेष्टुराँहरू सञ्चालन गरी फेवताललाई कुरूप बनाउने कार्य बढ्नुले फेवातालको आयु तिव्र घटाउने कार्यमा यहाँका व्यवसायीहरू तथा भूमाफियाहरू सक्रिय रहेको भान हुन्छ ।



६. नीतिमा परिवर्तनः सरकारले उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्न चाहनेहरूका लागि दुईजना पर्यटक र एकजना सहयोगी पथपर्दशक रहनुपर्ने व्यवस्था अनिवार्य गरिनुपर्छ । पछिल्लो समय नेपाल ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) तथा केही मजदुर संघठनहरूले ‘नो ट्रेकिङ विथआउट गाईड एण्ड पोर्टस्’ भन्ने माग सरकारसँग उठाए पनि यसको नीति बनाउनेतर्फ सरकारले ध्यान पुर्‍याउन सकिरहेको छैन ।

हाल केही निषेधित क्षेत्रका रूपमा रहेका बाहेकका उच्च जोखिम क्षेत्रहरूको पहिचान गरेर ती क्षेत्रमा नेपाली सहयोगी अनिवार्य गरिनुले स्वदेशमै रोजगारी सिर्जना गर्न पनि सहयोग गुग्छ । यसका लागि सम्वन्धित व्यवसायी तथा विज्ञहरूले कुनकुन क्षेत्र भनेर स्पस्ट तोकिदिने र त्यही अनुरूपका आवश्यक पूर्वाधारहरू निर्माण गरिदिनु आवश्यक छ ।

जथाभावी ट्राभल्स तथा ट्रेकिङ र हिमाल अरोहणसम्वन्धी कम्पनीहरू दर्ता गर्ने परिपाटीलाई परिमार्जन गरेर निश्चित मापदण्ड कायम गरिनुपर्छ ।

यसका लागि उद्देश्य अनुरूप आवश्यक जनशक्ति तथा पूर्वाधारहरू नभई इजाजत नदिने र नियमित अनुगमन गर्ने । हाल सञ्चालनमा रहेका कम्पनीहरूलाई अनुगमन गरी उनीहरूसँग आवश्यक पूर्वधार नभए अनुमति रद्द गर्नसमेत पहल गर्नेसम्मको कामकारवाही सरकारले गर्नु आवश्यक छ ।

स्वतन्त्र मजदुरका नाम भएका वेभसाइडहरू सरकारले छानविन गरी गलल सूचना प्रवाह गर्नेहरुको कारोबार बन्द गराइनुपर्छ । यदि सञ्चालन गर्न दिने नै हो भने पनि उसलाई पनि करको दायरामा ल्याउन आवश्यक छ ।

सरकारले पर्यटन सुधारका लगि विभिन्न प्रलोभनमूखी कार्यक्रमहरू ल्याउन जरूरी छ । र, साथसाथै गुणस्तरीय पर्यटन सेवामा पहल गर्नुपर्छ । नेपाल प्रवेश गर्ने वित्तिकै नेपालका बारेमा सत्य–तथ्य सूचना हरेक पर्यटकले पाउने सहज व्यवस्था गरिनुपर्छ ।

नेपालको प्राकृतिक, भौगोलिक, सांस्कृतिक तथा ऐतिहासिक जानकारीका साथसाथै वर्षेनी कति पर्यटकले के–के मा कसरी दुःख पाइरहेका छन् भन्ने सार्वजनिक जानकारी पर्यटकलाई दिइनुपर्छ जसले गर्दा उ सचेत हुन सकोस् र त्यहीअनुरूप आफूलाई अनुकुलतातर्फ लैजाओस् ।

(पर्यटन व्यवसायी अधिकारी टान पश्चिमाञ्चल क्षेत्रीय संघ र एनएमए अन्नपूर्ण च्याप्टरका कार्यसमिति सदस्य हुन्)
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget