Websoft University

www.radiomakalu.com || 021-522512


‘दरौंदी ए’बाट उत्पादन हुने आधा विजुली खेर जाने

daraudi-a-hydropower
काठमाडौं,कार्तिक ११ गते । कात्तिक महिनाभित्रै गोर्खाको मुच्चोकस्थित दरौंदी खोलाबाट ६ मेगावाट विजुली व्यावसायिक उत्पादन हुने भएको छ । कालिका पावर कम्पनीले १ अर्ब २५ करोड रुपैयाँको लागतमा आयोजना निर्माण सम्पन्न गरेको हो ।

आयोजनाको विद्युत् व्यावसायिकरुपमा उत्पादन सुरु भएपछि गोरखाभर लोडसेडिङ नहुने बताइएको छ ।

तर, नेपाल विद्युत प्राधिकरणको गोर्खा बजारको सबस्टेसनमा रहेको ट्रान्सर्फमरको क्षमता ३ मेगावाटको मात्रै भएकाले आयोजनाबाट प्राधिकरणले ३ मेगावाट मात्रै विजुली किन्ने भएको छ ।


विद्युत प्राधिकरणले सोे सवस्टेसनलाई क्षमता बढाएर ८ केभीए क्षमताको बनाउने काम सुरु गरिसकेको छ । ‘सबस्टेसनको क्षमता विस्तार हुन केही महिना लाग्ने भएकाले यो आयोजनाबाट उत्पादिन आधा विजुली त्यसै खेर जाने भएको हो,’ कालिका पावरका सञ्चालक पदम गुरुङले अनलाइनखबरसँग भने ।

आयोजनाले दशैं अघिदेखि नै विभिन्न चरणमा परिक्षण उत्पादन गरिरहेको छ । आगामी एक हप्ताभित्र परिक्षण उत्पादन सम्पन्न गरी विद्युत प्राधिकरको गोर्खा सबस्टेसनमा जडान गरिने आयोजना निर्माण गर्ने गुरुङले बताए ।

‘असोज २२ गतेदेखि परिक्षण उत्पादन सुरु गरिरहेका छौं । आगामी एक हप्तामा परिक्षण उत्पादन पुरा गरिने छ । र, त्यसपछि १५ दिन विद्युत प्राधिकरणलाई पि|mमा दिन्छौं,’ गुरुङले भने, ‘कात्तिक अन्तिमदेखि व्यावसायिकरुपमा आयोजनाको बिजुली बल्छ ।’


आयोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले हिउँदमा प्रतिमेगावाट ८ रुपैयाँ ४० पैसा र वर्खायाममा ४ रुपैयाँ ८० पैसामा बिक्री गर्ने सम्झौता भएको छ ।

भूकम्प र नाकाबन्दीले एक वर्ष ढिलो

तीन वर्षअघि सुरु भएको आयोजना गत वर्ष नै सम्पन्न गर्ने लक्ष्य थियो । तर, भूकम्प र भारतीय नाकाबन्दीका कारण आयोजना निर्माण गर्न एक वर्ष ढिलो भएको उनले जानकारी दिए ।


यो आयोजनाको निर्माणस्थल ०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पको केन्द्रविन्दू बारपाकबाट २० किलोमिटर दक्षिण र गोरखा बजारबाट ५० किलोमिटर उत्तरमा पर्छ । ‘त्यत्रो ठूलो भूकम्प जाँदा पनि आयोजनाको भौतिक संरचनामा भने कुनै असर गरेन,’ उनले भने ।

१ अर्ब २५ करोड लागत

आयोजना निर्माण गर्न १ अर्ब २५ करोड रुपैयाँ खर्च भएको गुरुङले बताए । आयोजना स्थलबाट गोर्खा बजारमा रहेको प्राधिकरणको सब स्टेसनसम्म पुर्‍याउन १८ किलोमिटर लामो ३३ केभीए क्षमताको प्रसारणलाई आयोजना स्वयंले निर्माण गरिसकेको छ ।


प्रसारणलाइन निर्माण गर्न साढे ४ करोड रुपैयाँ खर्च भएको सञ्चालक गुरुङले बताए । आयोजनाको पावर हाउस चनौटेमा निर्माण गरिएको छ ।

हिउँदमा २ मेगावाट मात्रै

यो आयोजनाको प्रकृति रन अफ दि रिभर भएकाले वर्खायाममा ६ मेगावाटसम्म र हिउँदमा त्यसको ४० प्रतिशत अर्था २ मेगावाट मात्रै विजुली उत्पादन हुने सञ्चालक गुरुङले जानकारी दिए ।

१० मेगावाटको अर्को आयोजना बनाइँदै


यो आयोजनाबाट व्यावसायिकरुपमा विद्युत उत्पादन भएको केही महिनाभित्र दरौंदी खोलामै १० मेगावाटको अर्को आयोजना निर्माण थाल्ने गुरुङले जानकारी दिए ।

‘आगामी केही महिनाभित्रै १० मेगावाट विद्युत उत्पादन क्षमताको तल्लो दरौंदी आयोजनाको निर्माण कार्य सुरु गर्नेछौं,’ उनले भने, ‘त्यसका लागि विद्युत विकास विभागबाट उत्पादन अनुमति पाइसकेका छौं ।’-पुष्प दुलाल , अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget