Websoft University

www.radiomakalu.com || 021-522512


बरका अटवारी पर्व मनाइँदै



दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी पर्व मनाउँदै छ ।


कञ्चनपुरसहित थारु समुदायको बसोबास रहेका कैलाली, बाँके, बर्दिया र दाङ लगायत क्षेत्रमा ‘आइतबारी’ पर्वलाई विशेष महत्वका साथ मनाइन्छ । भाद्र शुक्ल पक्षको प्रथम आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगामा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने प्रचलन छ । व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्याई बाँकी भाग वर्तालुले खाने चलन रहेको थारु अगुवा कालीप्रसाद चौधरीले बताए।

वर्तालुले पकवान खानुअघि केही हिस्सा दिदीबहिनीका लागि निकाल्ने गर्छन्, जसलाई ‘कहार्नी’ भनिन्छ । व्रत बसेको दिन साँझपख बहरी भन्ने कोठामा गाईको गोबरले लिपपोत गरी गन्यारी भन्ने काठबाट तीन चार जना मिली आगो बालेर पवित्र रोटी र परिकार पकाउने गरिएको थारु अगुवा दानसिं दहितले बताउनुभयो । रोटी र परिकार बनाउने ठाउँमा वर्तालु बाहेक अन्यलाई जान र छुन समेत वर्जित छ ।

रोटीसँगै अन्य पकवानलाई वर्तालु सबैको भागसँगै अर्को भाग छुट्टयाउने गरिन्छ जसलाई ‘अग्रासन’ भन्ने गरिन्छ । व्रतालुले आआफ्ना भागबाट अर्को भाँडामा खानेकुरालाई अलग्याएर राख्ने गर्छन् । अलग्याएर राखिएको खानेकुरालाई आइतबारको भोलिपल्ट दिदीबहिनीलाई दिने चलन छ।
दिदीबहिनीहरु दाजुभाइ आउने व्यग्र प्रतीक्षामा हुन्छन् । वर्षभरि माइत आउन नपाएका दिदीबहिनीले दाजुभाइसँग भलाकुसारी गर्छन् । अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गछन् । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चा लगायत पकवान र माछाको सिद्रा वर्तालुले ग्रहण गर्छन् ।

यो पर्व थारु समुदायको दसैँपछिको ठूलो पर्वका रुपमा रहेको छ । पौराणिक राजा दङ्गिशरणलाई शत्रुबाट बचाउन पाँच पाण्डवमध्येका भीमले सहायता गरी शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि अटवारी पर्व मनाइँदै आएको थारु बुद्धिजीवीको भनाइ छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget