Websoft University

www.radiomakalu.com || 021-522512


चुनावमा बाबुराम र प्रचण्डलाई मिलाउँछुः पासाङ शेर्पा

Prachanda-and-baburam-at-Newbaneshwor

काठमाडौं,भदौ १९ गते । के आगामी चुनावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईवीच एकता सम्भव होला ? नयाँशक्ति नेपालका केन्द्रीय नेता पासाङ शेर्पाले यी दुई नेतावीच ‘एकता’ सम्भव रहेको र आफूसँग यसको सूत्रसमेत रहेको दाबी गरेका छन् ।

‘आगामी चुनावमा बाबुराम र प्रचण्डलाई एकै ठाउँमा ल्याउन मैले सम्भव देखेको छु,’ नयाँ शक्तिका १ नम्बर प्रदेश संयोजकसमेत रहेका शेर्पाले अनलाइनखबरसँग भने- ‘मैले यो कुरा सम्भव देखेको छु र यसबारे अब चाँडै लविङ थाल्नेछु । बाबुराम र प्रचण्डमात्रै होइन, मधेसी मोर्चा पनि एउटै छातामुनि आएर चुनाव लड्नुपर्छ ।’

मधेसी र जनजातिलाई पछि हट्न आग्रह

तत्कालै संविधान संशोधन हुनुपर्ने माग गर्दै चुनावलाई अनिश्चित बनाइरहेका मधेसी मोर्चा र जनजाति पार्टीहरुलाई एक कदम पछि हट्न पासाङले आग्रह गरेका छन् ।

‘अहिले जति नै प्रयास गरे पनि एमालेले संविधान संशोधन गर्न दिँदैन, र यस्तो स्थितिमा संविधान संशोधन भइ नै हाले पनि पहिचान पक्षधर शक्तिको माग पूर्णरुपमा सम्बोधन हुँदैनन्,’ पूर्वएमाले सभासदसमेत रहेका शेर्पाले अनलाइनखबरसँग भने- त्यसैले अब पहिचानवादीहरुको एउटै गठबन्धन बनाएर चुनावमा जाऔं र दुईतिहाइ ल्याएर चुनावपछि संविधान संशोधन गरौं । अहिले केही समयका लागि आफ्ना मागहरु थाती राखौं ।’



चुनावअघि संविधान संशोधन सफल हुने संकेत नदेखिएको भन्दै शेर्पाले अब आफ्ना माग पूरा गर्नका लागि मधेसवादी दलहरुले एक कदम पछि हटेर चुनावको वातावरण बनाई माओवादीसँग चुनावी गठबन्धन गर्न तयार हुनुपर्ने बताए ।

प्रचण्ड र बाबुराम दुबै नेतासँग राम्रो सम्बन्ध रहेका शेर्पाले अनलाइनखबरसँग भने- आगामी चुनावमा मधेसी, आदिवासी-जनजाति, माओवादी र नयाँशक्ति आपसमा मिल्नैपर्छ, नमिली सुखै छैन ।’

को-को मिल्न सक्छन् ?

जनजाति नेता पासाङको प्रस्तावअनुसार माओवादी केन्द्र, मधेसी मोर्चामा आवद्ध फोरम, तमलोपा र सदभावना लगायतका सबै दलहरु एउटा गठबन्धनमा अटाउन सक्छन् ।

त्यस्तै लिम्बुवान पार्टी, थरुहट पार्टी र अन्य जातीय पहिचान पक्षधर साना पार्टीहरु पनि गठबन्धनमा सामेल हुन सक्छन् ।

पासाङका अनुसार यी सबैलाई मिलाएर नयाँ शक्ति नेपालसमेतको पहलमा वृहत राष्ट्रिय सम्मेलन आयोजना गर्न सकिन्छ र त्यहीँबाट एउटा चनावी मोर्चा बनाउन सकिन्छ । यसले देशभरिका प्रत्यक्ष सीटमा साझा उम्मेदवार तय गर्ने र समानुपातिकमा पनि एउटा विधि बनाएर सीट बाँडफाँड गर्न सकिने उनले बताए ।


पासाङ शेर्पा

भारतको बिहारमा क्षेत्रीय पार्टीहरुले यसैगरी गठबन्धन बनाएर ठूलो शक्तिलाई हराएको उनले दृष्टान्त दिए । साथै त्यहाँको केन्द्रीय चुनावमा पनि स्थायी गठबन्धनको संस्कार रहेको उनले तर्क गरे ।

नेपालमा बन्ने पहिचानवादीहरुको गठबन्धनको मूल राजनीति एजेण्डा संविधानको सर्वस्वीकार्य हुनुपर्ने उनको प्रस्ताव छ । संघीयता र सीमांकनलाई सहकार्यको मुख्य आधार बनाउन सकिने भन्दै शेर्पाले अहिलेको संसदीय शासन प्रणालीको ठाउँमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने प्रणालीलाई मुख्य साझा राजनीतिक एजेण्डा बनाउन सकिने अनलाइनखबरलाई बताए ।

मधेस र पहाड सबैतिर एकतावद्ध भएर आगामी चुनावमा दुई तिहाइ मत ल्याई संविधान संशोधन गरी यी एजेण्डाहरु कार्यान्वयन गर्न सकिने शेर्पाको दाबी छ ।

यसरी अघि बढ्दा माओवादी पार्टीभित्रको फुटले पार्ने नकारात्मक प्रभाव पनि रोकिने र परिवर्तनकारी शक्तिको विभाजनका कारण कांग्रेस-एमालेले फाइदा उठाउने सम्भावनाबाट पनि जोगिन सकिने नयाँ शक्तिका यी नेताको दाबी छ ।

साना दलको अस्थित्व रक्षा

निर्वाचनसम्बन्धी कानूनले थ्रेस होल्ड लगाउने निश्चित भएकाले अब एक/दुई सीट ल्याउने दलहरुको अस्थित्व लोप हुन सक्ने भन्दै शेर्पाले अब बन्ने वृहत् संघीय गठबन्धनबाट मात्रै साना पार्टीहरुको अस्थित्व जोगिने बताए ।

माओवादी, मधेसी र नयाँशक्तिको वृहत् गठबन्धनमा साना पार्टीका लागि समानुपातिकमा दुई/चार सीट सुरक्षित गर्न सकिने पासाङको दाबी छ । उनले भने- छुट्टै लड्दा थ्रेसहोल्ड लाग्छ र अस्थित्व लोप हुन्छ, मिलेर चुनाव लडियो भने संसदमा साना दलको पनि प्रतिनिधित्व सुरक्षित हुन सक्छ ।’

०४८ सालको भन्दा उन्नत मोर्चा

बाबुराम र प्रचण्डलाई आगामी चुनावमा एक बनाउने दाबी गर्नेक्रममा पासाङले ०४८ सालमा संयुक्त जनमोर्चाले चुनाव लडेको प्रशंग पनि कोट्याए । त्यसबेला डा. बाबुराम भट्टराई संयुक्त जनमोर्चाको अध्यक्ष थिए भने प्रचण्ड नेकपा एकताकेन्द्रको महामन्त्री थिए । चुनावमा पार्टीले मोर्चाका तर्फबाट भाग लिएको थियो ।

आगामी चुनावमा पनि त्यसैगरी पहिचानवादी दलहरुको संयुक्त मोर्चा बनाएर चुनावमा जान सकिने नयाँ शक्ति पार्टीका अभियन्ता शेर्पा बताउँछन् । उनले आफ्नो प्रस्तावबारे थप व्याख्या गर्दै भने- ‘कांग्रेस र एमाले जसरी चुनाव लड्छन् लडुन्, तर माओवादी, मधेसवादी, आदिवावासी-जनजाति र नयाँ शक्ति आपसमा मिलेर नयाँ गठबन्धन बनाऔं र चुनावमा जाऔं ।’

आगामी चुनावमा एक्लाएक्कै लड्दा माओवादी केन्द्र, मधेसी मोर्चा, नयाँ शक्ति नेपाल र साना दलहरु कसैको पनि भविश्य सुरक्षित हुन नसक्ने उनले बताए ।

पहिचान पक्षधर शक्तिको एउटै स्थायी गठबन्धन बनाएर चुनावमा जाने हो भने साना ठूला सबै दलको भविश्य सुरक्षित हुने र पुराना संसदवादी शक्तिको विकल्प बन्न सकिने उनको तर्क छ । यसलाई उनले ०४८ सालको संयुक्त जनमोर्चाभन्दा उन्नत गठबन्धनको संज्ञा दिएका छन् ।

बृहत मोर्चा बनाएर एउटै चुनावचिन्हमा निर्वाचनमा जाँदा प्रचण्ड, बाबुराम, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरुको हेडक्वार्टर बनाएर अघि बढ्न सकिने उनको प्रस्ताव छ ।

चुनौती के छ ?

पहिचानवादी शक्तिहरुको साझा गठबन्धन बनाएर चुनावमा जाने यो प्रस्ताव कार्यान्वयन हुन त्यति सहज छैन । प्रथमतः पार्टी विभाजनका कारण प्रचण्ड र बाबुराममा आएको मनमुटाव चाँडै घट्ने अनुमान लगाइहाल्न सकिन्न ।

दोस्रो, मधेसी मोर्चाका नेताहरु नै आपसमा हानाथाप गपररहेका बेला मधेसी-माओवादी गठबन्धन कति सम्भव होला ? यो प्रश्न पनि निकै अहम छ ।

तेस्रो चुनौती भनेको टिकट वितरणमा सबैले बढी दाबी गर्ने र मिलनविन्दु फेला नपर्ने स्थिति आउन सक्छ । नेताहरुमा गठबन्धन संस्कार धेरै कमजोर छ ।

तथापि माओवादी मधेसवादी र साना पार्टीहरु अहिले अस्थित्वको संकटमा छन् । नयाँ शक्ति पार्टी पनि यस्तै क्राइसिसमा छ । संविधानमा आफ्ना आकांक्षाहरु सम्वोधन नभएकोमा यी तीनैथरि शक्तिहरु असन्तुष्ट छन् । कांग्रेस र एमालेको शक्ति उनीहरुका लागि अभेद्दजस्तै बनिरहेको अवस्था छ । यही संकटपूर्ण स्थितिले गर्दा पहिचानवादीहरु एउटै मोर्चामा आउने र चुनावपछि आफू अनुकूल संविधान संशोधन गर्ने गरी अहिले एक कदम पछि हट्ने सम्भावना रहेको गठबन्धनका प्रस्तावक शेर्पाको दाबी छ ।

आफूले यो वृहत गठबन्धनको प्रस्ताव चाँडै नै आफ्नो पार्टीमा टेबल गर्ने शेर्पाले बताए ।-

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget