Websoft University

www.radiomakalu.com || 021-522512


सुजातालाई महिला संघको सर्वसम्मत अध्यक्ष बनाउन देउवा मानेनन्


Image result for sujata koirala

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई नेपाल महिला संघको अध्यक्षमा सर्वसम्मत गर्न राखेको प्रस्ताव सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्।

बुधबारदेखि सुरू हुन लागेको महिला संघको तेस्रो अधिवेशनमा नयाँ नेतृत्वका लागि सर्वसम्मत गराउन वरिष्ठ नेता रामचन्द्र पौडेलले राखेको प्रस्ताव सभापति देउवाले अस्वीकार गरेको पार्टी केन्द्रीय सदस्य कोइरालाले बताइन्।

‘पार्टीमा सर्वसम्मत निर्णय भएको भए म अध्यक्ष बन्न तयार थिएँ, तर सभापति देउवाले मान्नु भएन,’ कोइरालाले सेतोपाटीसँग कुरा गर्दै भनिन्।

पार्टीभित्र सहमतिको आधारमा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था नरहँदा अधिवेशनबाटै नेतृत्व चयन हुने अवस्थामा आफ्नो समर्थन वरिष्ठ नेता पौडेल समूहको प्रस्ताव अनुसार पार्टी नेतृ मीना पाण्डेलाई रहको उनले बताइन्।

महिला संघको नेतृत्वमा विगतदेखि नै देउवा निकट नेतृहरूको पकड रहेको कारण पनि चुनावबाट नेतृत्व लिन सहज नहुने देखिएपछि पौडेल पक्षले सहमतिका आधारमा कांग्रेस नेतृ कोइरालाको नाममा सर्वसम्मत गराउने प्रयास सभापति देउवाको असहमतिपश्चात असफल भएको हो।

मुलुकको सबैभन्दा पुरानो प्रजातन्त्रबादी राजनीतिक दल नेपाली कांग्रेसको भ्रातृ संस्था महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन पार्टी सभापति शेरबहादुर देउवाले बुधबार भृकुटी मण्डपमा उद्घाटन गरी सुरू गर्ने कार्यक्रम रहेको छ।

पार्टीको स्थापना भएलगत्तै महिला नेतृ मंगलादेवी सिंहको नेतृत्वमा २००४ सालमा गठन भएको महिला संघको राष्ट्रिय अधिवेशन भने नियमित रुपमा हुन सकेको छैन। विगत ६९ वर्षमा तेस्रोपटक महाधिवेशन हुन लागेको हो। यसअघि महिला संघको दोस्रो अधिवेशन २०६२ सालमा विराटनगरमा भएको थियो।

पार्टीका भ्रातृ संगठनमध्ये विद्यार्थी संघ र तरुण दल पश्चात तेस्रो महत्वपूर्ण संगठनको नेतृत्व आफ्नो पक्षमा पार्न कांग्रेसभित्रका तीन वटा गुटले आन्तरिक तयारी तीब्र बताएका छन्।

पार्टी नेतृत्वमा स्थापित भए पश्चात सभापति देउवा पक्षले सबै भ्रातृ संस्थामा आफ्नो पकड जमाउने रणनीति अनुरुप नेपाल विद्यार्थी संघको हालै सम्पन्न अधिवेशनमा सफलता प्राप्त गरेपछि महिला संघको नेतृत्वमा आफ्नै समूहको नेतृत्व कायम गर्न आन्तरिक छलफल गरिरहेका छन्।

सभापति देउवाले महिला संघको नयाँ नेतृत्वमा आफ्नो समूहबाट पूर्व उपसभामुख चित्रलेखा यादव अथवा महिला संघकी पूर्वअध्यक्ष उमा रेग्मीलाई अघि सार्ने तयारी गरिरहेको छ।

महिला संघको विधानअनुसार यादवको क्रियाशिल सदस्यता नवीकरण १० वर्षदेखिको निरन्तरता नभएको भन्दै कतिपय नेताहरूले रेग्मीलाई नै अगाडि सार्नु पर्ने सुझाव नेतृत्वलाई दिँदै आएका छन्।

वरिष्ठ नेता पौडेल पक्षले सभापति देउवा सर्वसम्मत नेतृत्व चयनमा असहमत भएपछि आफ्नो समूहबाट महिला नेतृ मीना पाण्डेलाई उठाउने निर्णय गरी आन्तरिक गृहकार्यमा जुटिसकेको छ।

उता पार्टीको १३ औ महाधिवेशनबाट नयाँ समूहको पहिचान बनाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, युवा नेता एवं् स्वास्थ्य मन्त्री गगन थापा लगायतका नेताहरूले महिला संघ र तरुण दलमा अलग्गै उम्मेदवारी दिने तयारी गरिरहेका छन्।

महिला संघकी अध्यक्ष डा. डिला संग्रौलाले संगठनको नेतृत्वमा पुनः रहिरहने चाहना देखाए पनि यसअघि पार्टीले गरेको निर्णय अनुसार अधिवेशनका लागि गठन भएका तदर्थ समितिका कुनै पनि पदाधिकारी र सदस्यले अधिवेशनमा भाग नलिने निर्णयका कारण सफल हुन सकिरहेकी छैनन्।

विद्यार्थी संघको अधिवेशनमा देउवा समूहसँग सहकार्य गरी प्राप्त सफलताबाट उत्साहित सिटौला समूहले धना खतिवडालाई अघि सार्ने तयारी गरिरहेको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget