Websoft University

www.radiomakalu.com || 021-522512


हिजो के गरे सिरहाका स्थानीय विकास अधिकारी पोख्रेलले ?



बिहान ५ः३० बजे उठेँ । सरसफाइ गरेँ । ६ देखि ७ बजेसम्म रातोपाटीलगायत अन्य अनलाइनमा प्रकाशित समाचार हेरें । मैले रातोपाटीमा प्रकाशन हुँदै आएको एलडीओबारे सामग्री हेरेको छु । यसले कुन जिल्लामा के हुँदै छ भन्ने सिधा जानकारी गराउँछ । आफूले काम गरेका कुरा पब्लिकमाझ राख्ने अवसर रातोपाटीले हामीलाई दिएको छ । यो सञ्चारजगत्मा नयाँ प्रयास हो । सबैका कुरा समेट्ने तपाईंहरुको कोसिस असाध्यै राम्रो लागेको छ । त्यसपछि चिया–नास्ता गरेर कार्यालयमा आज हुने कामको तयारी छलफलमा जुटेँ ।


टुवराज पोख्रेल, स्थानीय विकास अधिकारी, सिरहा

गत आर्थिक वर्षमा हामीले गरेका कामको सोमवारदेखि विभिन्न निकाय, राजनीतिक दल, विषयगत कार्यालय, संघ–संस्थाबीच समीक्षा गरिरहेका छौं । कार्यक्रमबाट आगामी दिनमा अझै बढी सुधार कसरी गर्न सकिन्छ भन्ने सुझावसमेत संकलन गरिरहेका छौँ । त्यसै कार्यक्रमको दोस्रो दिन मंगलवार हामीले विषयगत कार्यालय र संघ–संस्थासँग कामको प्रगतिबारे समीक्षा गर्ने कार्यक्रम बनाएका छौँ । त्यसको तयारीका लागि म आठ बजे कार्यालय गएँ ।

कार्यालयमा केही सिनियर कर्मचारी साथीहरु आउनुभएको थियो । हामीले भए–गरेका कामको विवरण तयार गर्ने, प्रस्तुतीकरणको तयारी, अन्य प्रगति र जिल्लाको योजनाबारे जानकारीका लागि शाखा प्रमुख साथीहरुसँग छलफल गरेँ ।

१० बजेतिर क्वार्टरमा गएर खाना खाएँ । १०ः३० मा कार्यालय गएँ र केही नियमित काम गर्नुपर्ने थियो । केही कागजमा तोक लगाउनु र गाविससचिवले अनियमितता गरेको भनी निवेदन परेको थियो, त्यसको छलफलका लागि साथीहरुलाई जिम्मा दिनेलगायतको काम गरेँ ।

११ बजे हामीले समीक्षा कार्यक्रम सुरु गर्यौँ । कार्यक्रममा जिल्लाका सबै सरकारी कार्यालयप्रमुखको उपस्थिति रहेको थियो । उहाँहरुले आफ्नो कार्यालयमार्फत वर्षभरि गरेका कामको विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले कहाँ–कहाँ कुन कार्यक्रम कसरी सम्पन्न भयो र बजेटमा भौतिक र वित्तीय प्रगति आदि विषयमा जानकारी गराउनुभयो । राजनीतिक दल र पत्रकार साथीहरुले बीचमा केही जिज्ञासा पनि राख्नुभएको थियो । त्यसमा सम्बन्धित कार्यालयप्रमुखले स्पष्टीकरण दिनुभयो । कार्यालयको आगामी नीति, रणनीति के–कस्तो हुने भन्नेबारेमा पनि छलफल भयो । समग्र जिल्लाको विकास निर्माणको अवस्थालाई हामीले सन्तोषजनक रुपमै लिएका छौँ । त्यो कार्यक्रम ५ः३० बजे सकियो ।

त्यसपछि म कार्यालय गएँ । वडाहरामाल गाविसबाट केही उपभोक्ता सिँचाइ अभावमा धान रोपाइँमा समस्या भएको भन्दै कुलो निर्माणमा सहयोग गरिदिन अनुराध गर्दै छलफलका लागि पर्खेर बस्नुभएको रहेछ । मैले उहाँहरुको समस्याबारे प्राविधिक टोली पठाएर अनुगमन गरेपछि त्यहाँ के गर्न सकिन्छ, दुई÷चार दिनभित्र गरौँला भनेँ ।
भोलि गाविससचिवसँग समीक्षा कार्यक्रम रहेको छ । त्यसको तयारीबारे कमचारी साथीहरुसँग सामान्य छलफल गरे । क–कसले के विषयमा प्रस्तुति गर्नुपर्ने हुन्छ भन्ने तयारी छलफल गरेँ । सबैलाई खबर गर्ने कामको पनि साथीहरुलाई जिम्मा दिएँ । त्यसका साथै कार्यालयका केही तोक लगाउने, चिठी हेर्ने, सिफारिस गर्नेलगायतका काम थिए, ती सबै सकेर म ६ः३० बजे क्वार्टर फर्कें ।

यतिबेला महेशपुर कटारी गाविससचिवले अनियमितता गरेको आरोपमा परेको निवेदनबारे के–कसरी छलफल भयो भनेर साथीहरुसँग कुरा गरिरहेको छु । जिविसका साथीहरुले छलफल गरेर मिलाएको जानकारी दिनुभयो ।
म यहाँ आएको एक वर्ष भयो । हामीले ४०० जति योजनाको लक्ष्य राखेको थियौँ । त्यसमा ८० प्रतिशत र वित्तीयतर्फ पनि ८० प्रतिशत जति प्रगति गरेका छाँै । सिरहाको समग्र जिल्लाको विकासलाई हेर्ने हो भने मुख्य सडकसँग नजोडिएका, क्षेत्र नम्बर २ का केही गाविस खोलाका कारण समस्यामा परेका छन् । सीमाक्षेत्रका गाविसमा सोचेजति प्रगति हुन सकेको छैन ।

सिरहालाई आठ स्थानीय तहमा विभाजन गर्न सकिने भन्ने सर्त आयोगले पठाएको छ । हामीले पुनःसंरचनाको विषयमा राजनीतिक दल, नागरिक समाज, पत्रकार, संघ–संस्था, सरकारी कार्यालयप्रमुख र नगरपालिका र गाविसप्रमुखसँग पनि यो विषयमा जानकारी गराएका छाँै । केही राजनीतिक दलले समग्र जिल्लालाई आठ तहमात्र सानो हुने भन्दै बढाउनुपर्ने तर्क गर्नुभएको थियो । त्यसपछि राजनीतिक रुपमा मधेसको सीमांकनबारे केन्द्रबाट समाधान नगरेसम्म यहाँ यो विषयमा थप छलफल गर्न सकेका छैनौँ ।

यहाँको समुदायको बुझाइको समस्या रहेको छ । भूगोलका हिसाबले पनि यहाँ अलि कम पानी पर्ने भएकाले सिँचाइको समस्या देखिन्छ । यहाँ धेरै बाटा अझ पिच हुन सकेका छैनन् । हामीले मुख्य बाटोसमेत पिच गर्न सामथ्र्य र स्रोतका कारण सकेका छैनौँ । चालु वर्षमा त्यसलाई पहिलो प्राथमिकतामा राख्छौँ । यतिबेला पानीका कारण जिल्लामा २० प्रतिशत सिँचाइ अझै हुन सकेको छैन ।

(सिरहाका स्थानीय विकास अधिकारी टुवराज पोख्रेलको २०७३ साउन २५ गतेको दैनिकी । रातोपाटीको “हिजोमात्रै” स्तम्भका लागि साउन २५ गते साँझ लोकराज जैसीसँगको टेलिफोन वार्तामा उनले आफ्नो दैनिकी बताएका हुन् । खुला प्रतिस्पर्धाबाट २०५४ मा शिक्षा सेवामा नायव सुब्बा तह हँुदै निजामती सेवामा प्रवेश गरेका पोख्रेल २०५९ मा खुला प्रतिस्पर्धाबाट शाखा अधिकृत र २०६७ उपसचिव भएका हुन् । उनी सुनसरीको इटहरी नगरपालिका–५, तुलसाटोलका बासिन्दा हुन् ।)
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget